स्तर, स्थिति र इपिएल

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदान अहिले व्यस्त छ । झकिझकाउ छ । क्रिकेटमय भइरहेछ । विश्वका नाम चलेका क्रिकेटरहरूको बलिङ र ब्याटिङले नेपाली घरेलु लिगको उचाइलाई माथि पुर्‍याइरहेको मान्न सकिन्छ ।

कीर्तिपुरमा आयोजना भइरहेको छ एभरेस्ट प्रिमियर लिग (इपिएल) को चौथो संस्करण । जुन नेपाली क्रिकेटका लागि स्मरणीय प्रतियोगिता बन्नेछ । सन् २०१८ मा नै तेस्रो संस्करण सम्पन्न भए पनि विश्वव्यापी फैलिएको कोभिड १९ को महामारीका कारण यो संस्करण लगातार प्रभावित बन्न पुगेको थियो । बहुप्रतीक्षित चौथो संस्करण गत सप्ताहन्तमा सुरु भएको छ ।

नेपाली फ्रेन्चाइज लिग क्रिकेटमा यसले नयाँ उमंग जगाउने अपेक्षा गरिएको छ । समग्र एसोसिएट क्रिकेटकै लागि इपिएल एउटा अवसर बन्ने देखिएको छ । एसोसिएट राष्ट्र सिंगापुर, क्यानाडा र मलेसियाका साथै क्रिकेटमा बामे सरिरहेको भुटानका क्रिकेट खेलाडीका लागि पनि इपिएल माध्यम बन्नसक्नेमा दुईमत नहोला ।

यसले त्यहाँका क्रिकेटरहरूको करियरमा पनि नयाँ उचाइ थप्ने विश्वास गरिएको छ । किनकि उनीहरूले टेस्ट राष्ट्रका अनुभवी क्रिकेटरसँग खेल्ने अवसर पाइरहेका छन् । कम्तीमा ड्रेसिङ रूम भए पनि 'सेयर' गर्न पाएका छन् । यसले उनीहरूको मनोबल बढाइरहेको छ । टेस्ट खेल्ने खेलाडीको सहभागिताले एसोसिएट राष्ट्रका युवा क्रिकेटरले अनुभव  बटुल्न पाइरहेका छन् । त्यसैले यसअघिको तुलनामा चौथो सिजन बहुप्रतीक्षित प्रतियोगिता हो, जहाँ युवा क्रिकेटरका लागि नयाँ गोरेटो पनि ।

विश्वस्तरीय खेलाडीको सहभागिता, पुरस्कार, टेस्ट राष्ट्रका क्रिकेटरको आक्रामक ब्याटिङ र बलिङ, अत्याधुनिक ब्रोडकास्टिङका हिसाबले यस संस्करण विशेष बनेको छ । चौथो संस्करण सन् २०१९ मा नै हुने तय थियो । तर, कोभिड १९ महामारीका कारण प्रभावित बन्न पुग्यो । 

त्यो संस्करण भएको भए त विश्व क्रिकेटकै अर्का लिजेन्ड तथा युनिभर्स बोस नामले परिचित क्रिस गेलले इपिएल खेल्ने थिए । उनलाई पोखरा राइनोजले अनुबन्ध गरेको थियो । तर, महामारीका कारण प्रतियोगिता सर्‍यो र जहाँ नेपाली क्रिकेटले नै ठूलो अवसर गुमाउनुपर्‍यो ।

इन्डियन प्रिमियर लिग (आइपिएल) मा सहभागिता कारण उनले इपिएलबाट हात झिके । महामारी पूर्ण रूपमा नियन्त्रणमा थिएन । तर, यसपालि नेपाली खेलकुदमा फ्रेन्चाइज क्रिकेट प्रतियोगिताको बीउ रोपेका नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वखेलाडी आमिर अख्तरले इपिएल आयोजना गर्ने जोखिम लिए ।

खेलाडीडटकमसँगको अन्तर्वार्तामा आमिरले नै भनेका थिए, 'हरेक कुरामा मानिस स्वार्थी हुनुहुँदैन । आइपिएल दुई भागमा गर्नुपर्‍यो, त्यो पनि भारतबाहिर । स्वाभाविक रूपमा इपिएललाई पनि घाटा भएको छ । तर स्वार्थी भएर सोच्नुहुँदैन । यो सबैका लागि अप्ठेरो बेला हो । हामी अहिले पनि त्यही अप्ठेरोबाट गुज्रिइरहेका छौं । कतिपय कुरा सहज भइसकेको छ । अब विश्व सामान्यीकरणतर्फ गइरहेको छ । सबैभन्दा ठूलो कुरा क्रिकेट फर्किएको छ ।’ 

उनको यो जोखिमले नेपाली क्रिकेटलाई एक हदसम्म ठूलो फाइदा पुर्‍याएको छ । नेपाली खेलाडीले म्याच एक्सपोजर पाएका छन् । नेपाली राष्ट्रिय टोलीका पूर्व कप्तान र हाल टोलीको नेतृत्व गरिरहेका ज्ञानेन्द्र मल्लले इपिएल नखेल्नु फरक कुरा हो । खेलाडीसमेत सहभागी रहेको नेपाली क्रिकेटको राजनीति र आपसी शक्ति संघर्षका कारण पारस र ज्ञानेन्द्रले इपिएल नखेलेको जानकारहरु बताउँछन् ।

आयोजक एभरेस्ट प्रिमियर लिग प्रालिले लगानीका हिसाबले हारे पनि खेलाडीले जित्नेछन् भन्ने आमिरको भनाइ थियो । उनले भनेजस्तै नेपाली क्रिकेटरले यस प्रतियोगितामा फाइदा निकाल्छन् त ? यसको खेलको समापनसम्म सबैले नै थाहा पाउनेछन् । तथापि, आयोजकले पनि एक हिसाबले यस संस्करणबाट ठूलो नाफा पाइसकेका छन्, ‘त्यो हो ब्रान्ड ।’ यस्तो समयमा पनि विश्वस्तरीय खेलाडीलाई सहभागी गराएर आयोजकले आफ्नो ब्रान्ड विश्वस्तरीय नै बनाएको छ । आयोजकले क्रिकेटको विश्व समुदायमा गेलले खेल्न लागेको र नामुद पाकिस्तानी क्रिकेटर साहिद अफ्रिदीले खेलेको लिग भनेर इपिएललाई स्थापित गरेको छ ।   

महामारी तंग्रिएको अवस्थाबीच आयोजित इपिएलमा विश्व क्रिकेटकै हस्ती खेलाडी प्रतिस्पर्धी थिए, छन् । पाकिस्तानी साहिद अफ्रिदी, बंगलादेशका कप्तान तमिम इकवाल, जिम्बावेका सिकन्दर राजा, अफगानिस्तानका मोहम्मद साहजाद, अजमतुल्लाह ओमारजाई, श्रीलंकाका उपुल थरङ्गा, धम्मिका प्रसाद, सन्दुन विराकोडी, असेला गुणरत्ने तथा वेस्ट इन्डिजका चन्द्रपाल हेमराज र केसरिक विलियम्सजस्ता खेलाडीले सहभागिता जनाइरहेका छन् । सबैको चासो थियो, उनीहरूको प्रदर्शन कस्तो रहला ? वर्षाले गर्दा अझै उनीहरूले खुलेर आफ्नो प्रदर्शन देखाउन पाइरहेका छैनन् । यद्यपि जति खेल सम्भव भएको छ, स्वाभाविक रूपमा टेस्ट क्रिकेटरहरूले इपिएलमा आफ्नो प्रभाव जमाइरहेका छन् ।  

तर, इपिएलले जति माहोल पाउनुपर्ने हो त्यति पाउन सकिरहेको छैन । अझ भनौं आशातीत रहन सकेन । त्यसको कारण थियो, उद्घाटनको भोलिपल्टदेखिको लगातार वर्षा । महामारीले लामो समय प्रताडित यस संस्करणलाई अहिले वर्षाले गर्दा रौनकमा असर पुर्‍याएको छ । वर्षाकै कारण दुई खेलका लागि नेपालका आएका अफ्रिदीको खेल हेर्ने नेपाली समर्थकका चाहना पूर्ण रूपमा सफल हुन सकेन । पहिलो खेलमा चार ओभर बलिङ गरेका अफ्रिदीले दोस्रो इनिङमा ब्याटिङ गर्ने अवसर नै पाएनन् । 

दोस्रो खेलमा उनको ब्याटिङ र बलिङ दुवै हेर्ने नेपाली समर्थकको चाहनामा पनि वर्षा नै बाधक बन्यो । तथापि, उनले सामाजिक सञ्जालमा नेपाल आफ्ना लागि घरजस्तै रहेको र कैयौं यादगार पल बोकर फर्किएको उल्लेख गरेका छन् । उनले दुई देशबीच खेलकुदका योजनाहरूका लागि आफू लागिपर्ने वचन दिएका छन् । उनको यो भनाइले नेपाली क्रिकेटरका लागि अफ्रिदीले केही योगदान गर्दैछन् कि भन्ने आशा जगाएको छ ।

तमिल इकवाल, उपुल थरङ्गा, धम्मिका प्रसाद, सिकन्दर राजा, ओमारजाइको प्रदर्शनले इपिएलमा सनीसनी मच्चाइरहेको छ । यीमध्ये अफगानी क्रिकेटर ओमारजाईको अलराउन्डर प्रदर्शनले मन्त्रमुग्ध बनाएको छ । अन्य विदेशी क्रिकेटरले पनि प्रभाव जमाएका छन् । धेरै रन बनाउने सूचीको शीर्ष ६ मा विदेशी क्रिकेटर नै छन् । 

बलिङमा भने नेपालका युवा क्रिकेटरले आशा जगाएका छन् । युवा क्रिकेटर सागर ढकाल र दुर्गेश गुप्ताले राम्रो बलिङ प्रदर्शन गरिरहेका छन् । अनुभवी बलर जितेन्द्र मुखिया, अलराउन्डर करण केसीले स्वाभाविक लय देखाइरहेका छन् । ब्याटिङमा भने करणसँगै घरेलु ब्याटरहरूले राम्रोसँगै चल्न या स्वाभाविक लय देखाउन सकेका छैनन् ।

सिजनको समाप्तिसम्म इपिएलबाट प्रतिभावान् क्रिकेटरको जन्म हुन्छन् कि भन्ने आशा बाँकी नै छ । यसबीच वर्षाका कारण दुई दिन प्रभावित भएपछिका केही खेलमा उच्च योगफलका ब्याटिङ भएका छन् । यस सिजनका ११ औं खेलमा विराटनगर वारियर्सविरुद्ध ललितपुर प्याट्रियट्सले इपिएल इतिहासकै सर्वाधिक २ सय २६रनको योगफल बनायो । 

विराटनगरले पनि जवाफमा आक्रामक ब्याटिङ प्रस्तुत गर्‍यो । यी खेलमा पनि विदेशी क्रिकेटरको ब्याटिङ हेर्नलायक रह्यो । उनीहरूको निडरतापूर्वक ब्याटिङलाई नेपालका क्रिकेटरले पनि नजिकबाट नियाल्न पाएका छन् । यसबाट पक्कै पनि नेपालका युवा क्रिकेटरले धेरै सिक्न सक्ने अनुमान लगाउन सकिन्छ । आशा, गरौं इपिएलको अन्तसम्म नेपालबाट धेरै प्रतिभाशाली क्रिकेटरको जन्म हुनेछ । इपिएलका प्रमुख आमिरले भनेजस्तै यो सम्भव हुँदा नेपाली क्रिकेटको फ्रेन्चाइज लिगले एउटा उचाइ छुने छ ।