नेपाली क्रिकेट

क्लिन स्विपले जगाएको क्रिकेट आशा

काठमाडौं । गत डिसेम्बरमा नेपालले आइसिसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक शृंखलाका लागि नामिबियाको भ्रमण गर्यो ।

तत्कालीन प्रशिक्षक मनोज प्रभाकरको दाबी थियो, ‘नेपाली ब्याटिङ लाइनअप उत्कृष्ट छ र नामिबिया भ्रमणमा सुखद नतिजासहित विश्वकप छनोट सम्भावना बलियो बन्नेछ ।’

नतिजा ठीक उल्टो आयो । चारमध्ये नामिबियाविरुद्ध एक खेल वर्षाले प्रभावित हुँदा नेपाल एक अंकमात्र जोड्न सफल भयो । बाँकी तीन खेलमा नेपाल नामिबियासँग एक र स्कटल्यान्डसँग दुई खेलमा पराजित भएको थियो ।

प्रभाकरले दाबी गरेभन्दा विपरीत देखिएको थियो नेपाली ब्याटिङ लाइनअप । निकै निरीह ब्याटिङसहित नेपालको विश्वकप छनोट लक्ष्यसँगै एकदिवसीय मान्यतासमेत धरापमा परेको थियो । उक्त लज्जास्पद प्रदर्शनपछि प्रभाकर सुटुक्क राजीनामा दिएर भारत प्रस्थान गरेका थिए । 

नेपालले यसै साता घरेलु भूमिमा नामिबिया र स्कटल्यान्डसँग त्रिकोणात्मक शृंखला खेल्यो । यसपालि पनि अवस्था त्यही नै थियो र चासो पनि । नयाँ प्रशिक्षक मोन्टी देसाईको प्रशिक्षणमा नेपालले कस्तो प्रदर्शन गर्छ भन्ने चासोको सुखद नतिजासहित अन्त्य भएको छ ।

नेपालले शृंखलाका चारै खेल जित्दै शृंखला क्लिन स्विप मात्र गरेन, विश्वकप छनोटसँगै एकदिवसीय मान्यता बचाउने सम्भावना पुनः बलियो पारेको छ । जितका क्रममा थुप्रै व्यक्तिगत र टिमको कीर्तिमान पनि बनेको छ ।

नामिबिया र स्कटल्यान्डसँगका समान दुई खेल नेपालले आफ्नो पक्षमा पार्यो । प्रशिक्षक देसाईले शृंखलाको पूर्वसन्ध्यामा भनेझै टोलीमा एकता बेजोड देखियो । नेपाल सबै पक्षमा अब्बल रह्यो । बलिङ र ब्याटिङमा आस गरिएका खेलाडीले नेपाली समर्थकलाई दुःखी बनाएनन् ।

नेपालका कप्तान रोहित पौडेलले १२औं खेलाडीको संज्ञा दिएका समर्थक धेरैपछि उल्लेख्य रुपमा मैदानमा देखिए । शृंखलाको पहिलोदेखि अन्तिम खेलसम्म त्यस्तै उपस्थिति रह्यो । जसले खेलाडीको मनोबल उकास्यो ।



यसअघि ओपनरको भूमिकाबाट हटाइएका कुशल भुर्तेललाई देसाईले त्यही भूमिकामा फर्काएका थिए । कुशलले नामिबियासँग पहिलो खेलमा शतक प्रहार गर्दै आफ्नो भूमिकामा न्याय गरे । खेलपछि कुशलले आफूलाई ओपनरको भूमिका नै सहज लाग्ने प्रतिक्रिया दिएका थिए ।

शृंखलाका चारै खेलमा टस जितेको नेपालले तीन खेलमा २ सय ७० रनभन्दा माथि र एक खेलमा २ सयभन्दा माथिको स्कोर पछ्याएर जित हासिल गरेको हो ।

नेपालको ब्याटिङमा रोहितले कप्तानी इनिङ्स खेले । चार खेलमा रोहितले दुई अर्धशतकसहित कुल २ सय १२ रन जोडे । जसमध्ये अन्तिम खेलमा रोहितले स्कटल्यान्डविरुद्ध अविजित ९५ रनमात्र जोडेनन्, नवौं विकेटमा करण केसीसँग अविजित ७५ रनको साझेदारी गरेर टोलीलाई सनसनीपूर्ण जित दिलाए । कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी र ज्ञानेन्द्र मल्लले अर्धशतक पूरा गरेका थिए ।

नाबालिग बलात्कारको मुद्दामा तीन महिना पुर्पक्षका लागि थुनामा परेर २० लाख धरौटीमा छुटेका पूर्वकप्तान सन्दीप लामिछाने पनि टोलीमा फर्केका थिए ।

उच्च अदालत पाटनको आदेशपछि उनी धरौटीमा छुटेका हुन् । त्यसपछि नेपाल क्रिकेट संघ (क्यान)ले सन्दीपमाथिको निलम्बन फुकुवा गर्दै टोलीमा फिर्ता बोलाउने विवादास्पद निर्णय लिएको थियो । त्यसअघि नेपाली क्रिकेटको दीर्घकालिन भविश्य नै धरापमा पार्ने गरि जबरजस्ती गरिएको नेपाल टी-२० लिगमा पूर्वानुमान गरिएझै बेटिङ र फिक्सिङका ठूल्ठुला स्क्यान्डल आएपछि त्यसबाट ध्यान अन्यत्र मोड्न क्यानले रणनीतिक रुपमा कम्तिमा अनुशासनको कार्वाही गर्नुपर्ने सन्दीपलाई पुनरागमन गराएको थियो । जसमा क्यान सफल भयो ।

यद्यपि सन्दीपले पनि टोलीमा पुनरागमन सुखद बनाए । उनले प्रतियोगितामा कुल १३ विकेट लिए । अदालतले सर्तहरुसहित रिहा गरेका कारण उनको विदेश यात्रा भने नहुने भएको छ । सर्वोच्च अदालतको पछिल्लो आदेशपछि उनी युएई भ्रमणमा जान पाउने छैनन् ।

घरेलु मैदानमा पाएको सफलताले हौसिएको नेपालले यसै आज युएई भ्रमणमा निस्कँदै छ । युएई र पपुपा न्युगिनीसम्मिलित त्रिकोणत्मक शृंखलाले नेपालको एकदिवसीय विश्वकप छनोट र एकदिवसीय मान्यताबारे थप स्पष्ट पार्नेछ ।

नेपाल २८ खेलमा २६ अंकसहित लिग २ को छैटौं स्थानमा छ । स्कटल्यान्ड ३६ खेलमा ५० अंक बटुल्दै च्याम्पियन भइसकेको छ । टोलीले जिम्बाब्वेमा हुने एकदिवसीय विश्वकप छनोटमा स्थान बनाइसकेको छ । समान खेलमा ४४ अंकसहित दोस्रो स्थानमा रहेको ओमानले पनि विश्वकप छनोट खेल्ने छ । नामिबिया ३५ खेलमा ३७ अंकसहित तेस्रो, अमेरिका ३६ खेलमा ३५ अंकसहित चौथो, युएई २७ खेलमा  २९ अंकसहित पाँचौ र पपुवा न्युगिनी २८ खेलमा पाँच अंकसहित सातौं स्थानमा छन् ।

तेस्रो स्थानमा रहँदै एकदिवसीय विश्वकपमा छनोट हुने दौडमा नामिबिया, युएई र नेपाल छन् । लिग २ मा नामिबियाले युएईविरुद्ध दुई खेल खेल्न बाँकी छ । नेपालले लिग २ मा अब आठ  खेल खेल्न बाँकी छ । आठ खेलमा शतप्रतिशत नतिजा ल्याएको खण्डमा नेपालको तेस्रो स्थानमा बस्दै विश्वकप छनोट खेल्ने पक्का हुनेछ ।  शीर्ष पाँचमा बस्दै एकदिवसीय मान्यता जोगाउन भने नेपाललाई आठमध्ये पाँच खेल जिते पनि पर्याप्त बन्न सक्छ ।

प्रशिक्षक देसाई घरेलु मैदानमा निकालेको सफलताले नेपालको मनोबल बढ्दा युएई भ्रमण सुखद हुने दाबी गर्छन् ।

‘टोलीले घरेलु मैदानमा निकै आत्मविश्वासी भएर प्रदर्शन गर्यो,’ देसाईले भने, ‘यो सकारात्मक पक्ष हो । टोलीको मनोबल बढेको छ । हाम्रासामु यो लय कायम राख्दै विश्वकपको छनोटमा स्थान बनाउने चुनौती छ र त्यो चुनौती पार गर्छ भन्नेमा म विश्वस्त छु । योजनाअनुसारकै प्रदर्शन गर्ने हो भने विश्वकप छनोटको टिकट काट्न असम्भव छैन ।’