काठमाडौं । केही वर्षअघि नेपालमा बास्केटबल क्रेज व्यापक थियो । तर, अहिले कोमामा छ भन्दा फरक पर्दैन । किनभने अहिले नेपालमा पनि बास्केटबल खेलिन्छ र ? भन्ने अवस्था पुगिसकेको छ । बास्केटबलका प्रतियोगिताहरू भएका छैनन् । चाहे त्यो राष्ट्रिय होस् या अन्तर्राष्ट्रिय स्तरको । राष्ट्रिय स्तरका स्पर्धा नै नभएपछि अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिताको त कुरै भएन ।
खेल सुस्ताउँदै जाँदा पनि बास्केटबल खेलाडी सदिना श्रेष्ठ भने चर्चामा छिन् । उनी चर्चामा हुनुका कारण विविध होलान् । तर उनी सधैं चर्चामै हुन्छिन् । जसको एउटा मूल कारण बास्केटबलमा उनले गरेको निरन्तरको संघर्ष नै हो । अझ भनौं, एक महिला खेलाडी भएर नेपाली खेलकुदमा गरेको संघर्ष हो ।
दशकभन्दा लामो समययता उनी निरन्तर राष्ट्रिय बास्केटबल टोलीमा छन् । बास्केटबल टोलीकी सदस्यमात्र होइनन्, कप्तानको रूपमा नेतृत्व पनि गरिरहेकी छन्, सदिना । र, त्यो क्रम अहिले पनि जारी छ ।
यति लामो समयसम्म बास्केटबलमा निरन्तर लाग्न कसरी सम्भव भयो त ? यदि परिवारको साथ सहयोग हुँदैनथ्यो भने त्यो कसरी सम्भव हुन्थ्यो होला र ? सदिनासँग यी सबै प्रश्नको जवाफ छ । परिवारको साथ छ त सदिना बास्केटबलकी खेलाडी बन्न पाइरहेकी छन् ।
‘पुरुषको दाँजोमा महिलालाई अझै पनि खेलकुदमा लाग्न सहज छैन । सहरी भेगमा त्यति धेरै समस्या नहोला तर ग्रामीण भेगमा अहिले पनि कठिन नै छ,’ महिला भएर नेपाली खेलकुदमा लाग्न कति कठिनाइ छ भन्नेबारे सदिना भन्छिन्, ‘तर मेरो हकमा भने त्यति गाह्रो भएन । किनकि मेरो परिवार नै खेलकुद पृष्ठभूमिबाट आएको छ ।’ उनका दिदीहरू नै खेलाडी, दाइहरू पनि खेलाडी । भन्छिन्, ‘त्यसैले खेलकै कारण मैले अहिलेसम्म त्यस्तो समस्या भोग्नुपरेको छैन ।’
सदिनाकी दिदीहरू फुटबलमा सक्रिय छन् । उनीहरूले भर्खरै मात्र ललितपुर महिला टोली नै बनाएका छन् । सानो हुँदा सदिना पनि दिहीहरूकै पछि लागेर खेल्न थालेकी हुन् । सदिना कहाँ पहिलो बास्केटबल खेलाडी थिइन् र ! उनी त सुरुमा फुटबल नै खेलाडी थिइन् । उनले फुटबलमा राष्ट्रियस्तरका थुप्रै प्रतियोगिता खेलेकी छन् ।
‘त्यस्तै ८–९ वर्षकी थिएँ होला । दिहीहरूको पछि लागेर फुटबल खेल्थें । मेरो खेल करियर त्यहींबाट सुरु भएको हो । हामी जावलाखेलमा प्रशिक्षण गथ्र्यौं । फुटबलमा मेरो पहिलो क्लब फ्रेन्ड्स हो,’ सदिनाले बाल्यकाल सम्झिइन् ‘पछि मैले स्कुल परिवर्तन गरें । रिब्समा भर्ना भएँ । त्यो स्कुलमा बास्केटबलमात्र प्राथमिकतामा पथ्र्यो । स्वाभाविक रूपले म पनि बास्केटबलमै आकर्षित भएँ ।’
सदिनाले फुटबलमा यू–१६ का लागि छनोटमा प्रतिस्पर्धा गरेकी थिइन् । तर, छनोट हुन सकिनन् । त्यतिबेला राम्रो खेल्दाखेल्दै पनि टिममा नराखिएको सदिनाको बुझाइ आजको दिनसम्म पनि कायमै छ । त्यसैले त उनी भन्छिन्, ‘अहिले जस्तो म भएको भएँ, किन टिममा परिनँ भनेर त्यतिबेला झगडा नै गर्थें होला । राम्रो खेल्दाखेल्दै पनि टिमबाट निकालियो । त्यसपछि फुटबलप्रतिको मोह घट्दै गयो । तथापि मनको कहींकतै कुनामा फुटबलप्रतिको माया अझै छ ।’
स्कुल परिवर्तनपछि बास्केटबलमा तानिएकी सदिना सन् २०११ मा पहिलो पटक राष्ट्रिय टोलीमा स्थान बनाउन सफल भइन् ।
त्यसपछि उनी निरन्तर राष्ट्रिय टोलीमा छन् । नेपालले श्रीलंकामा ‘थ्री अन थ्री’ बास्केटबल प्रतियोगिता खेलेको थियो । सदिनाको पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता त्यही रह्यो । त्यसको एक वर्षपछि चीनमा सम्पन्न अर्को प्रतियोगितामा सदिनाले कप्तानी जिम्मेवारी पाइन् । राष्ट्रिय टोलीबाट खेलेको कतिपय खेलाडी विदेशिए, कति पलायन भए । तर सदिनाको यात्रा भने निरन्तर चलिरहेको छ । एउटी खेलाडीको रूपमा, एउटी लिडरको रूपमा र एउटी प्रशिक्षकको रूपमा ।
सदिनाले दक्षिण कोरियामा सम्पन्न एसियाली खेलकुद खेलेकी थिइन् । जुन सदिनालाई जीवनकै महत्वपूर्ण प्रतियोगिता लाग्छ । त्यो प्रतियोगिता खेल्न पाउनुमा आफ्नो लागि भाग्यमानी ठान्छिन् । अन्तिम समयमा मात्र महिला टोलीले दक्षिण कोरियामा भाग लिने निर्णय भएको थियो ।
उक्त प्रतियोगितामा नतिजा भने सन्तोषजनक आउन सकेन । नेपालले एक खेल जितेको थियो । त्यो पनि वाकओभर पाएर थियो । कतारले नेपाललाई वाकओभर दिएको थियो । बाँकी खे काजकिस्तान, मंगोलिया र हङहङसँग नेपाल हारेको थियो ।
सदिनाले ग्रिसमा वल्र्ड च्याम्पियनसिप पनि खेलिन् । त्यो भने थ्री अन थ्री थियो । नेपालमै सम्पन्न सन् २०१६ को साबा च्याम्पियनसिप पनि सदिनाको स्मरणमा आउने अर्को प्रतियोगिता हो । त्यसबाहेक २०१९ मा नेपालमै सम्पन्न १३ औं दक्षिण एसियाली खेलकुद (साग) बिर्सने त कुरै भएन । जहाँ नेपाली महिला बास्केटबल टोलीले ऐतिहासिक कांस्य पदक जितेको थियो ।
आजभोलि बास्केटबलका प्रतियोगिता हुन छाडेका छन् । फाट्टफुट्ट हुने प्रतियोगितामा पनि आयोजकले राष्ट्रिय खेलाडीलाई खेल्न नपाउने प्रावधान राखिदिन्छन् । अनि कहाँ गएर खेल्ने राष्ट्रिय टोलीका खेलाडीले ? सदिनाको प्रश्न सधैं यही हुन्छ ।
बास्केटबल खेलको विकास गर्ने जिम्मेवारी लिएको नेपाल बास्केटल संघ निदाएको छ । पूर्वअध्यक्ष लामा टेण्डी शेर्पा बिरामी परेपछि संघ पनि थलियो । अन्य पदाधिकारीले ढलेको सिन्का उठाएनन्, उठाउन सकेनन् । लामो समय नसा रोगबाट थलिएका टेण्डी शेर्पाको निधन भइसकेको छ । संघमा नयाँ पदाधिकारीले जिम्मेवारी पाएका छन् । नयाँ पदाधिकारीले जोश देखाए पनि उनीहरुको काम भने खेलाडीले नजिकबाट नियालिरहेका छन् ।
सदिनाको गुनासो त्यही छ, ‘संघमा नयाँ पदाधिकारीहरु आउनुभएको छ । लामो समय टेण्डी सर विरामी पर्दा संघ निस्कृय रहयो । त्यो बेला हामीले पदाधिकारीहरुलाई बरु प्रायोजक हामी खौज्छौं, प्रतियोगिता गर्नुस भन्दा पनि कानमा बतास लगाउनुभएन । अब नयाँ पदाधिकारीहरुबाट केही हुने आशा राखेका छौं ।’
एक समय जताततै बास्केटबल हुने गथ्र्यो । कलेजहरूले बास्केटबल खेलाडीलाई छात्रवृद्धि दिएर राख्ने गर्थे । बास्केटबलमा अहिले त्यो ‘चार्म’ घटेको छ । कलेजहरूले आयोजना गर्ने प्रतियोगितामा न्युन अवस्थामा छन् । नयाँ खेलाडी उत्पादनमा कमी आएको छ । तथापि केही स्कुल तथा कलेजले अहिले पनि बास्केटबललाई निरन्तरता दिएका छन् ।
ती स्कुल तथा कलेजमा सदिनाले बास्केटबलको प्रशिक्षण पनि दिन्छिन् । खेल अनुभवकै आधरमा सदिनाले प्रशिक्षण थालेकी होइनन् । उनले सन् २०१७ मा जर्मनीबाट इन्टरनेसनल कोचिङ कोर्स पनि गरेकी छन् । उनले त्यहाँ छात्रवृत्तिमा प्रशिक्षण गरेकी हुन् । त्यसको संयोजन बास्केटबल संघ र नेपाल ओलम्पिक कमिटीले गरिदिएका थिए ।
जर्मनी र नेपालमा बास्केटबल सिकाइको अवस्था कस्तो छ त ? सदिना भन्छिन्, ‘आकास–जमिनको फरक छ । त्यहाँ र यहाँको सोचमा सबभन्दा ठूलो अन्तर छ । सिकाइ पद्धति धेरै फरक छ । मैले त्यहाँ जे सिकेर आएँ । त्यहीअनुसार काम गर्छु भन्यो भने यहाँको वातावरणले दिँदैन । मेरो दिमागमा होला, तर यहाँको यस्तो वातावरणले मैले त्यस्तो गर्न पाउँछु जस्तो लाग्दैन ।’
महिलाको पीडा
शारीरिक रूपमा महिला र पुरुषमा केही भिन्नता छन् । त्यसैले महिला र पुरुष भएका छन् । शारीरिक बनावटले पनि महिलाको आफ्नै समस्या छ । तर नेपाली खेलक्षेत्रमा महिलाको त्यो समस्या बुझ्ने खेल प्रशासक छैनन् ।
‘बास्केटबलमा मात्र नभई सबै खेलमा क्षेत्रमा एउटै होला भन्ने लाग्छ । कति महिलालाई पिरियड हुँदा धेरै समस्या हुन्छ । तर सम्बन्धित निकायले अहिलेसम्म त्यसबारे केही सोचेकै छैन । प्रशिक्षक र व्यवस्थापकबाहेक अन्यले केही यस विषयमा केही ध्यान दिएको हँुदैन । कुरा सामान्य हो । तर सानो कुरामा ध्यान नदिनु महिला खेलाडीका लागि पीडादायी कुरा हो ।’
नेपालमै सम्पन्न १३औं दक्षिण एसियाली खेलकुदको प्रसंग सम्झँदै सदिनाले थपिन्, ‘नेपाल आर्मीको कोर्टमा टे«निङ गरेका थियौं । ट्वाइलेट एउटामात्र थियो । पानी पनि थिएन । महिलालाई युरिन इन्फेक्सनलगायतका अन्य समस्या हुन्छन् । केटा पनि त्यही ट्वाइलेटमा, महिला पनि त्यहीं । त्यो सानो कुराले खेलाडीलाई कति समस्या हुन्छ । खेलाडीको प्रदर्शनमै कति असर गर्छ । तर त्यस्तो कुरामा सरोकारवालाहरूको ध्यान नै जाँदैन ।’
अझ प्रतियोगिता खेल्न गयो । महिलालाई ड्रेसिङ रूमको व्यवस्था नै हुँदैन । फुटबलमा यो समस्या केही कम छ । तर, अन्य खेलमा यही विषय समस्या हुन्छ । सदिना भन्छिन्, ‘ड्रेसिङ रूम त मैले बास्केटबल खेल्दादेखि नै थाहा पाएको छैन । फुटबलमा मात्र हो ड्रेसिङ रूम हुने । क्लबहरूमा ट्रेनिङ गर्दाबाहेक अन्य कुनै पनि प्रतियोगितामा हामीले ड्रेसिङ रूम देखेका छैनौं । सम्पन्न सागमा मात्र हो देखेको । यति सामान्य कुरा त हुँदैन । अरू त के आश गर्नु ?’