काठमाडौं । नेपाली भलिबलले पछिल्लो समय हासिल गरेका सफलतालाई रहस्य मान्ने हो भने ती दिनरात नभनी भलिबलमै आफूलाई समर्पित गरेका प्रशिक्षकहरू पनि हुन् । र, नेपाली भलिबललाई सारथिले झै डोर्याइरहनेमध्ये एकको नाम हो, जगदीश भट्ट ।
लामो समय भइसक्यो उनले महिला राष्ट्रिय टोलीलाई मुख्य प्रशिक्षकका रूपमा नेतृत्व दिन थालेको । उनकै नेतृत्वमा त हो, महिला टोलीले सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) च्याम्पियनसिपको पहिलो दुई संस्करणमा स्वर्ण पदक र सागमा रजत पदक जितेको ।
वर्तमान राष्ट्रिय टोलीमा सरस्वती चौधरी, पुनम चन्द, निरुता ठगुन्नाजस्ता प्रतिभावान खेलाडी उनकै प्रारम्भिक खोजको नतिजा हो । पुरुष टोलीमा पनि भट्टकै खोजबाट अगाडि बढेका धेरै खेलाडी छन् । विभागीय टिममा पुग्नुपर्छ, पुरुष र महिला दुवैतिर उल्लेख्य संख्यामा उनको ग्रासरुट अभियानले अगाडि ल्याएका खेलाडी भेटिन्छन् ।
कुनै बेला नेपाली राष्ट्रिय टोलीका स्टार खेलाडी भट्टले करियरलाई नयाँ मोड दिएको ठ्याक्कै दुई दशक पूरा भयो । जगदीश भट्टको भलिबल करियरका उतारचढाव आफैंमा निकै रोचक छन्, कुनै मसालेदार फिल्म जस्तो ।
भट्ट आफ्नो जमानामा राष्ट्रिय टोलीका सबैभन्दा अग्ला खेलाडी थिए । भलिबल स्वभावैले अग्ला खेलाडी आवश्यक पर्ने खेल । तर, नेपालीको औसत उचाइ नै विदेशीको तुलनामा निकै कम । तर, ६ फिट ३ इन्चका भट्टको उपस्थितिले कम्तीमा दक्षिण एसियाली प्रतियोगिताहरूमा नेपाल प्रस्तुत हुँदा टोलीलाई थोरै भए पनि राहत हुन्थ्यो ।
२०६० सालमा धनगढीमा राष्ट्रिय भलिबल प्रतियोगिता भएको थियो । भट्ट त्यसमा सर्वोत्कृष्ट खेलाडी घोषित भए । लगत्तै केही महिनापछि २०६१ को सुरुमै पाकिस्तानको इस्लामाबादमा नवौं दक्षिण एसियाली महासंघीय खेलकुद (साफ, हाल साग) थियो । नेपाली भलिबलका तत्कालीन सुपरस्टार भट्ट टिममा नपर्ने कुरै भएन ।
भरत शाहको कप्तानीमा रहेको टिम पूरा साफको प्रतिनिधिमण्डलसँगै भारतको बाटो हुँदै बस र रेल यात्राबाट चार दिन लगाएर इस्लामाबाद पुग्यो । खेल इस्लामाबादको जिन्हा स्पोर्टस कम्प्लेक्सको कभर्डहलमा थियो ।
अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि जर्सी समेत ठिक नभएर खेल्न नपाएपछि भट्टको मन नराम्ररी कुँडियो । तत्काल आँखाबाट आँसुको झार्दै जिन्हा स्पोर्टस कम्प्लेक्सबाटै उनले सीमित नेपाली पत्रकारको बीचमा संन्यास घोषणा गरे ।
खेल हुने दिन बिहानसम्म पनि नेपालबाट भलिबल टिमको जर्सी आइपुगेको थिएन । जसोतसो खेल हुनुभन्दा दुई घण्टाअघि कभर्डहलमै नेपाली टिमको जर्सी आइपुग्यो । तर, भट्टका लागि भनेर बनाइएको जर्सी उनको ज्यानमै छिरेन । जबरजस्ती गर्दा महिलाले ब्लाउज लगाएजस्तो भयो ।
औसत उचाइका नेपालीको टिमका एक्लो अग्ला खेलाडी टिमको अपरिहार्य सदस्य पनि हुनुपर्ने थियो । नेपालीमाझ अग्ला देखिए पनि खासमा भलिबलकै लागि त भट्टको उचाइ औसतमात्र हुन्थ्यो । तर, नेपालको तत्कालीन खेल प्रशासनले आफ्नै खेलाडीको शारीरिक बनोटसमेत ध्यान नदिँदा अन्तिम समयमा भट्टले साफ खेल्न पाएनन् ।
कुनै पनि खेलमा राम्रो प्रदर्शनका लागि खेल पोसाकको ठूलो भूमिका हुन्छ । पोसाक शरीरमा राम्ररी ठिक भएन भने, आरामदायी भएन भने, गह्रौं भयो भने खेलाडीले स्वाभाविक प्रदर्शन गर्न सक्दैन । विश्व खेलकुदले विज्ञानलाई मज्जासँग अँगालिसकेको थियो । तर, आफूले भने अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि जर्सी समेत ठिक नभएर खेल्न नपाएपछि भट्टको मन नराम्ररी कुँडियो । तत्काल आँखाबाट आँसुको झार्दै जिन्हा स्पोर्टस कम्प्लेक्सबाटै उनले सीमित नेपाली पत्रकारको बीचमा संन्यास घोषणा गरे ।
‘म अलि झोंक्की स्वभावको मानिस छु । अन्याय र गलत कुरा सहन सक्दिनँ । तत्काल प्रतिक्रिया जनाइहाल्छु । त्यो बेला पनि त्यस्तै भयो । जुन देशको टिमबाट खेल्दा मैले जर्सी समेत पाउँदिन र मैदान उत्रिनबाट वञ्चित हुन्छु भने त्यहाँ खेललाई निरन्तरता दिएर काम छैन,’ उनी सम्झिन्छन्, ‘मलाई त्यो बेला त्यस्तै लाग्यो । अब भलिबलमै लागेर नयाँ पुस्ताका खेलाडीलाई प्रेरित गर्छु । मैले भोगेको समस्या नयाँ पुस्ताले भोग्नु नपर्ने वातावरण बनाउन प्रयास गर्छु भनेर तत्काल मैले संन्यास लिएको हुँ ।’
भट्टले त्यसको दुई वर्षअघि नै भारतमा गएर स्पोर्टस साइन्समा डिप्लोमा गर्ने मौका पाएका थिए । त्यसले उनलाई संन्यास लिएपछि नयाँ भूमिकामा रहेर पनि भलिबलमै लागिरहन सहयोग पुग्यो । ‘भलिबल छोडेर त म कहीँ जान सक्ने अवस्थै थिएन । मैले सानैदेखि खेलेकोमात्र नभई बाँचेको नै भलिबलमा थियो । यो बाहेक मैले जानेको पनि केही थिएन,’ भट्ट सुनाउँछन्, ‘त्यो साफ खेलेर फर्किएपछि खेलाडीका रूपमा संन्यास लिएर खेलाडी उत्पादनमा लाग्छु भन्ने नै थियो । तर त्यो योजनाअनुसार भएन । दुखद तरिकाले भयो भन्नेमा मात्र गुनासो हो ।’
पाकिस्तानबाट फर्केलगत्तै भट्टले गृहनगर कञ्चनपुरको महेन्द्रनगरमा समुदायको सहयोगमा एउटा भलिबल प्रशिक्षण केन्द्र खोले । सुदूरपश्चिमका दुर्गम गाउँहरूको भ्रमण गर्न थाले । गाउँ–गाउँ पुग्ने, शारीरिक रूपमा अलि अग्ला र बलिया किशोर किशोरी देख्यो कि तिनलाई र तिनका अभिभावकलाई सम्झाइबुझाइ गरेर महेन्द्रनगर ल्याएर प्रशिक्षण गराउने उनको दैनिकी बन्न थाल्यो ।
यस्तै दैनिकीले वर्षौंसम्म निरन्तरता पाउँदा दर्जनौं राष्ट्रिय स्तरका खेलाडी उत्पादन भए । उनको मोडल थियो, गाउँगाउँबाट प्रतिभा खोजेर ल्याउने, प्रशिक्षण केन्द्रमा नियमित निखार्ने, स्थानीय विद्यालयसँग सहकार्य गरेर पढाइको व्यवस्था मिलाउने, खानपिन र बसोबासका लागि खेलप्रेमी व्यक्ति तथा संस्थाहरूसँग सहकार्य गर्ने, त्यसपछि खेलाडीको खेलले एकखालको आकार लिएपछि विभागीय टोली वा देशका विभिन्न स्थानमा रहेर भलिबलमा काम गरिरहेका क्लब तथा शैक्षिक संस्थामा पठाउने ।
भट्टको काम गर्ने त्यही मोडलका कारण अचेल नेपाली भलिबलमा कुनै न कुनै रूपमा उनको योगदानबाट अगाडि बढेका खेलाडीको बाहुल्य छ । सुदूरपश्चिमका खेलाडी नभएको कुनै क्लब वा राष्ट्रिय टिम छैन ।
गाउँगाउँ घुमेर कोरा प्रतिभा खोज्ने, तिनलाई स्याहार्दै परिपक्व खेलाडीमा रूपान्तरित गर्ने, गाउँका स्कुल, कलेज र समुदायमा खेलकुदको जनचेतना जगाउने, खेलकुदको महत्व बुझाउँदै हिँड्ने भट्टको बानी लतमा परिणत भयो । त्यसपछि सुदूरपश्चिमको घेराले उनको अभियान रोक्न सकेन । अचेल उनी पूरा देशभर नै त्यसैगरी घुमिरहेका भेटिन्छन् ।
नेपालले सन् २०१९ र २०२१ मा बंगलादेशमा सम्पन्न काभा च्याम्पियनसिपको सुरुका दुई संस्करणमा स्वर्ण पदक जितेको थियो । त्यतिमात्र होइन, पाँच वर्षअघि घरमै दक्षिण एसियाली खेलकुद (साग) को १३औं संस्करण आयोजना हुँदा पनि नेपाली महिला टोलीले ऐतिहासिक रूपमा रजत पदक जित्यो ।
‘तर पछिल्लो समय राष्ट्रिय टोलीको जिम्मेवारीले गर्दा त्यसमा खास समय दिन पाएको छैन । यहाँको जिम्मेवारी सम्हाल्दिने कोही भए र परिषदको जागिरे जीवनले अवसर दिए गाउँगाउँ घुमेर राम्रा खेलाडी ल्याउँदाको सन्तुष्टि अरू केहीले दिँदैन,’ उनी थक्थकाउँछन् ।
सुदूरपश्चिमका भट्टले गाउँगाउँ घुम्दा बुझेको अर्को यथार्थ के हो भने परिस्थितिले नै नेपालीलाई निकै बलियो, जुझारु र संघर्षशील बनाएको हुन्छ । स्कुल जानका लागि घण्टौं हिँड्नुपर्ने, सामान्य गुजाराका लागि सानै उमेरदेखि पानी लिन घण्टौं उकालीओराली गर्नुपर्ने, भारी बोकेर लामो दुरी तय गर्नुपर्ने जस्ता परिस्थितिले नेपालीलाई खेलकुदका लागि बलियो बनाएको छ ।
यही जटिल परिस्थितिका कारण नेपालको अन्तर्राष्ट्रिय खेलकुदमा निकै ठूलो सम्भावना भट्टले देखेका छन् । नेपाली समाजमा बालबालिका हुर्कंदा भोग्नुपर्ने यस्ता जटिल बाध्यतालाई अवसरमा बदल्न राज्यले उचित नीति ल्याएर कार्यान्वयन गरे खेलकुदकै माध्यमबाट नेपाललाई विश्वकै अग्रणी राष्ट्र बनाउन सकिने विश्वास उनमा छ ।
‘संसारमा कतिपय देश धनी भएर खेलकुदमा राम्रो गरेका छन् । कतिपय देशले खेलकुदमा राम्रो गरेर धनी भएका छन् । हामी दोस्रो विकल्पका लागि उपयुक्त छौं,’ भट्ट भावुक भए, ‘हामीलाई परिस्थितिले दिएको जटिलताबाट देशले फाइदा उठाउन सक्नुपर्छ । नेपालमा खेलाडीलाई धेरै थोक दिनु पनि पर्दैन । आवश्यक खुराक, राम्रा प्रशिक्षक, खेल्ने ठाउँ, खेल सामग्री र पढ्ने व्यवस्थाजस्ता आधारभूत सुविधा, थोरै पैसा अनि सम्मान भए पुग्छ । नेपालले केही वर्षको योजनाबद्ध तयारी गरे छोटो समयमै विश्वस्तरमा केही गर्न सक्छ ।’
नेपालले सन् २०१९ र २०२१ मा बंगलादेशमा सम्पन्न काभा च्याम्पियनसिपको सुरुका दुई संस्करणमा स्वर्ण पदक जितेको थियो । त्यतिमात्र होइन, पाँच वर्षअघि घरमै दक्षिण एसियाली खेलकुद (साग) को १३औं संस्करण आयोजना हुँदा पनि नेपाली महिला टोलीले ऐतिहासिक रूपमा रजत पदक जित्यो ।
त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा भारतविरुद्धको फाइनलका पहिलो दुई सेटमा पछि पर्नाका बावजुद उत्कृष्ट पुनरागमन जनाउँदै भट्टका चेलीहरूले खेललाई पाँचौं सेटसम्म पुर्याउन सफल भए । तर अन्तर्राष्ट्रिय स्तरमा ठूला प्रतिस्पर्धात्मक खेलको अनुभवमा कमजोर हुँदा नेपालले अन्तिम सेटमा नतिजा भारतलाई सुम्पिनुपरेको थियो ।
सुरुका दुई संस्करणमा च्याम्पियन भएको काभा च्याम्पियनसिपको तेस्रो संस्करण नेपालमै आयोजना गर्दा भने गत वर्ष नेपालको नतिजा विगतजस्तो रहेन । स्वर्ण पदकको ह्याट्रिक गर्ने योजनासाथ घरेलु कोर्टमा उत्रिएको नेपालले कांस्य पदकमा चित्त बुझाउनुपरेको थियो ।
अन्तर्राष्ट्रिय भलिबलको इतिहास र अनुभवका हिसावमा भारत र इरान नेपालभन्दा बलिया टिम हुन् कम्तीमा कागजमा । तर, लामो समयदेखि नेपाली महिला टोलीलाई नेतृत्व गरिरहेका प्रशिक्षक भट्ट यसो मान्न तयार छैनन् ।
नेपालमा गत वर्ष भएको संस्करणसँगै प्रतियोगिताको नाम काभा च्याम्पियनसिपबाट फेरिएर काभा महिला नेसन्स लिग भएको छ । प्रतियोगिताको चौथो संस्करण पनि नेपालमै भइरहेको छ । नेपाली टोली पनि गत वर्षको निराशामा महम लगाउने लक्ष्यसहित प्रतियोगितामा बेग्लै जोस र उर्जाका साथ प्रतिस्पर्धारत छ ।
बिहीबार सुरु प्रतियोगिताको उद्घाटन खेलमै नेपालले श्रीलंकामाथि प्रभावशाली जित हासिल गर्दै सुखद सुरुआत गरेको छ । नेपालले श्रीलंकामाथि २५-१९, २५-१८, २५-१९ को नतिजामा जित पाएको थियो । प्रारम्भिक चरणमा नेपालले आज शनिबार भारतसँग दोस्रो खेल खेल्नेछ । पाँच टोली सहभागी प्रतियोगितामा आइतबार इरान र सोमबार माल्दिभ्सविरुद्ध नेपालको खेल हुनेछ ।
अन्तर्राष्ट्रिय भलिबलको इतिहास र अनुभवका हिसावमा भारत र इरान नेपालभन्दा बलिया टिम हुन् कम्तीमा कागजमा । तर, लामो समयदेखि नेपाली महिला टोलीलाई नेतृत्व गरिरहेका प्रशिक्षक भट्ट यसो मान्न तयार छैनन् ।
भन्छन्, ‘हामी पनि कोहीभन्दा कम छैनौं । यहाँ सबै टिम १९/ २० का छन् । हामीले पहिलाजस्तो भारत वा इरान भनेर डराउनुपर्दैन । जति हामी उनीहरूसँग सचेत हुन्छौं, उति नै उनीहरू पनि हामीसँग सचेत भएर खेल्छन् ।’
राखेप कभर्डहलमा बुधबारसम्म चल्ने प्रतियोगितामा स्वर्णको एकमात्र लक्ष्य लिएर प्रतिस्पर्धा गरिरहेको उनी बताउँछन् । ‘हामीले विगतमा पनि दुई पटक उपाधि जितिसकेका छौं । एसियाली खेलकुद र सागमा पनि राम्रो खेलेका थियौं । केही दिनअघि काठमाडौंमै रुसी टिमसँगको मैत्रीपूर्ण खेलमा हाम्रो प्रदर्शन आसलाग्दो थियो । त्यही प्रदर्शनलाई निरन्तरता दिन सके हामीबाट स्वर्ण पदक कसैले खोस्न सक्दैन,’ प्रशिक्षक भट्ट विश्वस्त छन् ।