काभा महिला भलिबल च्यालेन्ज कप

काभा च्यालेन्ज कप : स्तर सुधारिएको विश्वास

काठमाडौं ।  नेपाली भलिबल इतिहासमै एनभिए-काभा महिला भलिबल च्यालेन्ज कप २०२३ घरेलु भूमिमा आयोजित प्रतिष्ठित अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिता बनेको छ । तर, तेस्रो स्थानमा सीमित भएसँगै नेपाली महिला राष्ट्रिय भलिबल टोलीले घरैमा ट्रफी उचाल्ने अवसर भने गुमाएको छ ।

सन् २०१९ र २०२१ मा बंगलादेशमा सम्पन्न एभिसी सेन्ट्रल जोन महिला भलिबल च्याम्पियनसिप जितेको नेपालले यस प्रतियोगितालाई उपाधिमाथि ह्याट्रिक गर्ने अवसरको रूपमा लिएको थियो ।

बंगलादेश, भारत र किर्गिस्तानसँगै नेपाल समूह ‘ए’ मा रहेको थियो । समूहमा बलियो भारत र नेपाललाई सेमिफाइनल पुग्ने टोलीको रूपमा हेरिएको थियो ।

भयो पनि त्यस्तै । नेपालले पहिलो दुई खेलमा किर्गिस्तान र बंगलादेशमाथि समान ३-० को सोझो सेटमा जित निकाल्दै एक खेलअगावै सेमिफाइनलमा स्थान बनायो । भारत पनि किर्गिस्तान र बंगलादेशविरुद्ध सहज जित निकालेर एक खेलअगावै सेमिफाइनल पुग्यो ।

नेपाल र भारत समूह विजेताका लागि भिडेका थिए । जहाँ भारतले बाजी मार्यो । नेपालले भारतलाई ३-१ को सेटमा नतिजा सुम्पिएसँगै उपविजेता भएर अन्तिम चारमा पुग्यो ।

सन् २०१९ मा घरेलु भूमिमा सम्पन्न १३औं दक्षिण एसियाली खेलकुद (साग) को फाइनलमा भारतसँग ३-२ को सेटमा पराजित हुँदै रजत पदकमा समेटिएको नेपाल यसपालि पनि भारतको चुनौती पार गर्न असफल भयो ।

नेपालले सेमिफाइनलमा प्रतियोगिताकै बलियो टोलीको रूपमा देखिएको काजकिस्तानसँग ३-२ को प्रतिस्पर्धात्मक सेटमा नतिजा सुम्पिएको थियो । काजकिस्तानविरुद्ध पहिलो सेट गुमाए पनि दोस्रो र तेस्रो सेट जित्दै जित नजिक पुगेको नेपाल चौथो र पाँचौं सेटमा निरीह देखिएपछि फाइनलको टिकट काट्न असफल भयो ।

तेस्रो स्थानका लागि भएको खेलमा भने नेपालले उज्वेकिस्तानलाई ३-१ को सेटमा हराएको थियो । भारत भने काजकिस्तानलाई हराउँदै उपाधि जित्न सफल भयो ।

घरेलु भूमिमा आयोजना हुने प्रतिष्ठित प्रतियोगिताका लागि नेपालले तीन महिनायता बन्द प्रशिक्षण सुरु गरेको थियो । प्रतियोगिताको सफल आयोजना र उपाधिमा ह्याट्रिक गर्ने चुनौती रहेको भन्दै नेपाल भलिबल संघले पटक–पटक रटान लगाएको थियो । तर, उपाधि ह्याट्रिक गर्ने सपनामात्र देखेको भलिबल संघले पर्याप्त मैत्रीपूर्ण खेल नखेलाउनुको गतिलो मूल्य भने चुकाएको छ ।

किर्गिस्तान र बंगलादेशमाथिको जितपछि नेपालका प्रशिक्षक यान डे ब्रान्टले भारतसँग आफ्नो टोलीको असली परीक्षा हुने बताएका थिए ।

भारतविरुद्ध खेल गुमाएपछि नेपालकी कप्तान अरुणा शाहीले आफूभन्दा बलियो टोलीहरूसँग पर्याप्त अभ्यास खेल खेलको भए नतिजा आफ्नो पक्षमा ल्याउन सक्ने बताएकी थिइन् ।

‘हामीले प्रतियोगिताका लागि राम्रो तयारी गरेका थियौं,’ कप्तान शाहीले भनेकी थिइन्, ‘तर अनुभवी भारतसामु हामी चुक्यौं । सायद प्रतियोगिताअघि बलियो टोलीहरूसँग पर्याप्त अभ्यास खेल खेलेको भए हामीले हाम्रो टोलीको स्तर थाहा पाउने थियौं र तयारी पनि त्यहीअनुरुप गर्ने थियौं । यद्यपि टोलीले गरेको प्रदर्शनप्रति भने म सन्तुष्ट छु ।’

काजकिस्तानसँग पनि नेपालको अवस्था उही रह्यो । युवा खेलाडीले भरिएको काजकिस्तान टिमले आफ्नो स्तरअनुरुप खेल्दै नतिजा आफ्नो पक्षमा पार्यो । उक्त खेलपछि प्रशिक्षक ब्रान्टले अहिलेको तयारीले भारत, काजकिस्तान जस्ता बलिया टोलीलाई हराउन गाह्रो हुने बताएका थिए । उनले भनेका थिए, ‘भारत र काजकिस्तानका खेलाडी राम्रा छन् । ब्लक राम्रो गर्छन् । हामीले ब्लकबाट जम्मा एक तथा काउन्टरबाट २\३ अंकमात्र ल्याउन सक्यौं ।’

प्रशिक्षक ब्रान्टले थपे, ‘डिफेन्स र सर्भिस पनि राम्रो भएन । टोलीमा अनुभवी खेलाडी कम छन् । हामीले राम्रोसँग अभ्यास पनि गर्न पाएनौं । ट्याक्टिकल रूपमा उनीहरू राम्रा रहे । अहिलेको तयारीमा हामीले भारत र काजकिस्तानलाई हराउन गाह्रो छ ।’

कप्तान अरुणा शाहीले तयारीअनुसार टोलीले राम्रो प्रदर्शन गरेको दाबी गरिन् । उनले भनिन्, ‘फाइनल पुग्नु मात्रै ठूलो हैन । स्तर कस्तो थियो । कस्तो प्रदर्शन गर्यौं त्यो पनि हेर्नुपर्छ । काजकिस्तान हामीभन्दा हाइ लेभलको छ । पहिलाभन्दा राम्रो प्रदर्शन गरेका छौं । फिजिकल रूपमा सशक्त टोलीविरुद्ध यो प्रदर्शन राम्रो हो । अहिलेको टोली नै सबैभन्दा राम्रो हो । सोचेजस्तो खेलेका थियौं । टोलीमा नयाँ खेलाडी छन् । कम समयको तयारीले यत्तिको प्रदर्शन गर्नु नराम्रो होइन । ब्लकमा समस्या छ । त्यसमा सुधार गर्नुपर्छ ।’

उनी काभा महिला च्यालेन्ज कपमा प्राप्त अनुभव एसियाली खेलकुदका लागि फाइदाजनक हुने बताउँछिन् । ‘हामीले एभिसी सेन्ट्रल जोन भलिबल जित्दा भारत र काजकिस्तानजस्ता बलियो टोलीविरुद्ध खेल्नुपरेको थिएन,’ अरुणाले भनिन्, ‘तर यसपालि हामीले यी दुई बलियो टोलीविरुद्ध खेल्ने अवसर पायौं । उपाधि जित्न असफल भयौं तर यहाँ प्राप्त अनुभव हाम्रा लागि एसियन गेम्समा निकै फाइदाजनक हुनेछ । त्यहाँ हामीले अझ माथिल्लो स्तरको टोलीविरुद्ध खेल्नुपर्छ । हामीसँग प्रशिक्षणका लागि अझ केही महिना बाँकी छ । एसियन गेम्सका लागि टोलीमा केही खेलाडी थप हुनेछन् ।’

प्रशिक्षक ब्रान्टले राम्रोसँग तयारी गर्न पाएको खण्डमा टोली अर्कै स्तरको बन्ने सुनाएका छन् । ‘यो टोलीको भविष्य राम्रो छ । नयाँ खेलाडीको राम्रो सुरुआत छ । ४-५ जना टेक्निकल्ली रूपमा राम्रा छन् । एसियन गेम्सका लागि राम्रोसँग तयारी पाए उत्कृष्ट प्रदर्शन गर्न सक्छौं । सबै खेलाडी सबै पोजिसनमा राम्रा छन् । टोली अर्को स्तरको बन्न सक्छ ।’

व्यक्तिगत विधातर्फ चार भारतले, दुई काजकिस्तान, नेपाल र उज्वेकिस्तानले १-१ उपाधि जितेका थिए । नेपालका लागि सलिना श्रेष्ठले उत्कृष्ट लिबेरोको ट्रफी दिलाइन् ।