काभा महिला च्यालेन्ज कप

इतिहास कोर्दै नेपाली भलिबल

काठमाडौं । भौगोलिक रूपमा विकट देश नेपालमा कुनै यस्तो ठाउँ छैन, जहाँ भलिबल खेल नभएको होस् । यही कारण राष्ट्रिय खेलको मान्यता पाएको भलिबल समग्रतामा नेपालको सबैभन्दा लोकप्रिय खेल हो ।

विद्यालय, क्लब, प्रदेश र केन्द्र जतासुकै भलिबल प्रतियोगिता भइरहेका हुन्छन् । केन्द्रदेखि प्रदेश, जिल्ला हुँदै स्थानीय तहसम्म गरिने विभिन्न खालका खेलकुद महोत्सव वा रमाइलो मेला नै किन नहुन एउटा चिज प्रायः छुट्दैन, त्यो हो भलिबल ।

स्थानीयस्तरमा हुने विभिन्न महोत्सवमा पनि भलिबल खेल समावेश गरिएकै हुन्छ । अनि यी प्रतियोगितामा दर्शकको दरिलो उपस्थितिले यस खेलको लोकप्रियता प्रत्येक दिन प्रमाणित गरिरहेकै हुन्छ ।

नेपालमा २०३३ सालमा अनुप शमशेर राणाको अध्यक्षतामा नेपाल भलिबल संघको स्थापना भएको थियो । त्यसअघि पनि देशका विभिन्न स्थानमा यो खेल खेलिन्थ्यो । प्रतिस्पर्धाहरू पनि हुन्थे । तर, त्यसले औपचारिक मान्यता पाएको थिएन । औपचारिक रूपमा यसलाई नियमन गर्ने संघ गठन भएको थिएन ।

अनुप शमशेरपछि वाशुदेव प्रधानले संघको नेतृत्व गरे । प्रधानपछि प्रकाश थपलियाको अध्यक्षतामा नेपाल भलिबल संघ अगाडि बढ्यो । २०५४ पछि गंगाबहादुर थापा भलिबलको अध्यक्ष भए । थापाले १४ वर्ष विना गतिविधि संघ चलाए । उनीपछि २०६८ सालमा दानबहादुर तामाङ अध्यक्ष भएर एक कार्यकाल भलिबलमा नेतृत्व गरे । दानबहादुरलाई अध्यक्षका रुपमा मनोरञ्जन रमण शर्माले स्थानान्तरण गरे । गत वर्ष भएको निर्वाचनबाट निर्वाचित जितेन्द्रबहादुर चन्द नेपाल भलिबल संघको पछिल्ला अध्यक्ष हुन् ।

स्थापनाको पाँच वर्षपछि २०३८ सालमा नेपाल भलिबल संघले अन्तर्राष्ट्रिय भलिबल महासंघ (एफआइभी) र एसियाली भलिबल महासंघ (एभिसी) को सदस्यता प्राप्त गरेको थियो ।

अन्तर्राष्ट्रिय मान्यता पाए पनि नेपाली भलिबल स्थापनाको केही समयसम्म निक्कै गतिसिल रहयो । तर २०४६ पछि लामो समयसम्म गतिविधि शून्यजस्तै रह्यो । अझ गंगाबहादुर थापा अध्यक्ष हुँदाको १४ वर्ष नेपाल भलिबल संघको गतिविधि ठप्प नै भएको थियो ।

थापापछि दानबहादुर तामाङ भलिबल संघको नेतृत्वमा आएपछि यो खेलमा एकाएक क्रान्ति आयो । देशव्यापी रूपमा प्रतियोगिताहरू हुन थाले । तामाङले नेपालमा भलिबल खेललाई पुनर्जीवन दिए ।

सन् १९७६ मा पाकिस्तानमा भएको काइदे आजम प्रतियोगिता नेपालको पहिलो भलिबलको अन्तर्राष्ट्रिय सहभागिता थियो । नेपाली पुरुष भलिबलले सन् १९७८ को बैंकक एसियाली खेलकुदमा पनि सहभागिता जनाएको थियो । 

त्यसपछि लगातार नेपालले सन् १९८२, १९८६ र २०१८ को एसियाली खेलकुदमा उपस्थिति जनायो । तर, नेपालको अन्तर्राष्ट्रिय सहभागिता दक्षिण एसियाली खेलकुदमै खुम्चिएको थियो । सन् २०१५ देखि एभिसी सेन्ट्रल जोन पुरुष भलिबल च्याम्पियनसिप नेपालको अन्तर्राष्ट्रिय सहभागिता जनाउने अर्को गन्तव्य बनेको छ ।

नेपाली पुरुष भलिबल टोलीले प्राप्त गरेको अहिलेसम्मको सबैभन्दा ठूलो सफलता भनेको माल्दिभ्समा सम्पन्न एबीसी सेन्ट्रल जोन भलिबल च्याम्पियनसिपमा कांस्य पदक जित्नु हो ।

पछिल्लो समय नेपालमा पुरुषभन्दा महिला भलिबलले अन्तर्राष्ट्रिय सफलता प्राप्त गरिरहेको छ । लगातार दुई पटक एभिसी सेन्ट्रल जोन महिला भलिबल च्याम्पियनसिपमा नेपालले स्वर्ण पदक जितेर आफूलाई क्षेत्रीय शक्तिको रूपमा स्थापित गरेको छ । यसअघि नेपाली महिला टोलीले प्राप्त गरेको सबैभन्दा ठूलो सफलता भनेको सन् १९९९, २००६ र २०१६ को दक्षिण एसियाली खेलकुदमा कांस्य पदक जित्नु रहेको थियो ।

तर २०१९ मा बंगलादेशमा सम्पन्न एभिसी सेन्ट्रल जोन महिला भलिबल च्याम्पियनसिपमा स्वर्ण पदक जित्दै नेपाली टोलीले अन्तर्राष्ट्रिय जगतमा उदाउँदो टोलीको छवि बनाएको थियो । सोही वर्ष नेपालमै सम्पन्न १३औं सागमा नेपाली महिला भलिबल टोलीले रजत पदक जितेको थियो । यस क्रममा नेपाल भारतसँग पराजित भएको हो । सन् २०२१ मा नेपालले एभिसी सेन्ट्रल जोन महिला भलिबल च्याम्पियनसिपको उपाधि रक्षा गरेको थियो ।

नेपालले सोमबारदेखि काभा महिला भलिबल च्याम्पियनसिप आयोजना गर्दै छ । जुन प्रतियोगिता नेपाली महिला भलिबल टोलीलाई आफ्नो क्षमता प्रमाणित गर्दै घरेलु मैदानमा उपाधि राख्ने राम्रो अवसर हो ।

त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा जेठ १४ सम्म हुने प्रतियोगितामा नेपालसहित भारत, श्रीलंका, बंगलादेश, माल्दिभ्स, काजकिस्तान, किर्गिस्तान र उज्वेकिस्तान गरी ८ राष्ट्रको सहभागिता रहने छ ।

नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्रबहादुर चन्द सेन्ट्रल एसियन भलिबल एसोसिएसनसँगको सहकार्यमा सेन्ट्रल एसियामा उत्कृष्ट खेल खेलिरहेका महिला भलिबल टोलीलाई आमन्त्रण गरेर काभा महिला भलिबल च्याम्पियनसिप आयोजना गर्न लागेको र यो नेपाली भलिबलका लागि ठूलो अवसरका रूपमा रहेको बताउँछन् ।

‘यो आफैंमा एक ठूलो प्रतियोगिता हो । हामीले राम्र्रो तयारी गरेका छौं । नेपाली महिला राष्ट्रिय भलिबल टोली विगत तीन महिनादेखि निरन्तर प्रशिक्षणमा छ,’ अध्यक्ष चन्द भन्छन्, ‘हामी उत्कृष्ट नतिजाको पर्खाइमा छौं । एसियाली खेलकुदमा सहभागिता जनाउने तयारीमा रहेको महिला भलिबल टोलीकख लागि यो प्रतियोगिता आफ्नो क्षमता प्रमाणित गर्ने सुनौलो अवसर हो ।’

चन्दले काभा सन् २०१५ बाटै सक्रिय रहे पनि गत वर्षबाट मात्र एफआइभीको मान्यता पाएको बताए । चन्द काभाका कोषाध्यक्षसमेत हुन् ।

चन्दले विगतमा नेपाली भलिबल टोली साग मात्र कुरेर बस्ने गरे पनि अहिले भने त्यो बाध्यता अन्त्य भएको बताए ।

‘हाम्रा लागि दक्षिण एसियाली खेलकुद नै एक मात्र अन्तर्राष्ट्रिय प्रतियोगिता हुन्थ्यो । तर प्रत्येक दुई वर्षमा आयोजना हुनुपर्ने प्रतियोगिता कहिले पनि निर्धारित समयमा भएन । जसले हामीलाई मारमा पारेको थियो र खेलाडीहरू पनि पलायन भए,’ चन्दले भने, ‘तर अहिले नेपालले विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगिताका साथै मैत्रीपूर्ण खेलमा पनि सहभागिता जनाइरहेका छौं ।’

नेपालको भौगोलिक अवस्थाअनुसार जुनसुकै स्थानमा पनि सहजै खेल्न सकिने भएकाले सरकारले भलिबललाई राष्ट्रिय खेलको मान्यता दिएको थियो । जसले यो खेलको लोकप्रियतामा झनै वृद्धि गर्यो ।

तर आन्तरिक लोकप्रियताकै भरमा मात्र खेलको चौतर्फी विकास सम्भव छैन । स्तरीय खेलाडी उत्पादनका लागि देशैभर विकासे कार्यक्रम, पर्याप्त मात्रामा घरेलु प्रतियोगिता आयोजना, आवश्यक अन्तर्राष्ट्रिय एक्सपोजर र सुविधाजनक पूर्वाधार भएपछि मात्र खेलको वास्तविक विकास हुने कुरा अध्यक्ष चन्दले राम्ररी बुझेका छन् ।

भन्छन्, ‘विगतमा नेपाली भलिबल टोलीले अन्तर्राष्ट्रिय सहभागिता नजनाएका कारण लामो समयसम्म त हामी अन्तर्राष्ट्रिय वरीयतामा समेत समावेश थिएनौं । अन्तर्राष्ट्रिय सहभागिता जति धेरै गर्न सक्यो, त्यति नै वरीयता प्राप्त गर्ने र सुधार्ने मौका मिल्छ । त्यसतर्फ हामी सचेत छौं ।’

हाल नेपाली महिला भलिबल टोली एसियामा १७औं स्थानमा छ । एफआइभीको अन्तर्राष्ट्रिय वरीयतामा भने नेपाली महिला भलिबल ८७औं वरीयतामा छ । पुरुषमा भने नेपाल एफआइभी वरीयताको एक सय ३७औं र एसियाको ४१औं स्थानमा छ ।

चन्दले नेपालको राष्ट्रिय खेल भलिबल भए पनि त्यसका लागि आवश्यक भौतिक पूर्वाधार नभएको र त्यसले यस खेलको विकासमा ठूलो समस्या झेल्नुपरेको बताए ।

‘नेपालको राष्ट्रिय खेल भलिबलको विकासका लागि हामीसँग क्षमतावान खेलाडी छन्,’ चन्दले थपे, ‘मेचीदेखि महाकालीसम्म ७७ वटै जिल्लामा भलिबल खेलिन्छ । तर हामीसँग एउटा पनि अन्तर्राष्ट्रिय स्तरको भलिबल कभर्डहल नहुँदा त्यसले धेरै असर गरेको छ ।’

संघले गत सातामात्र राष्ट्रिय खेलकुद परिषद् (राखेप)को पहलमा कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर ६ मा भलिबल कभर्डहल निर्माणका लागि ६३ रोपनी जग्गाको लागि सम्झौता गरेको थियो ।