काठमाडौं । भलिबल नेपालका लागि सबैभन्दा उपयुक्त टिम खेल हो । सानो ठाउँ नै पर्याप्त हुने भएकाले भौगोलिक रूपमा विकट नेपालका सबै ७७ जिल्लामा खेल्न सकिन्छ ।
भलिबल स्वभावले इन्डोर खेल हो, तर धुलाम्मे आउटडोर मैदानमा खेल्दा पनि कुनै समस्या हुन्न । नेपालमा त अधिकांश खेल आउटडोरमै हुन्छन् । नेट र बल महँगो छैन । पोलका लागि गाउँघरमै पाइने बाँसले काम चल्छ । पोसाकलगायतका अन्य खेल सामग्री पनि तुलनात्मक रूपमा सस्तो पाइन्छ ।
आर्थिक सीमितता, भौगोलिक असहजता, पूर्वाधारको कमीलगायत बग्रेल्ती समस्या भोगिरहेको नेपाली खेलकुदमा यही कारण हो, भलिबललाई राष्ट्रिय खेल घोषणा गरिएको । जसले पनि खेल्न सक्ने, जहाँ पनि खेल्न सकिने । अत्यन्तै रोमाञ्चक अनि नियमको जटिलता पटक्कै छैन । बुझ्न एकदमै सजिलो ।
सरकारले राष्ट्रिय खेलको दर्जा दिए पनि नेपाली भलिबलसँग अहिलेसम्म आफ्नै लागि एउटा पनि कभर्डहल छैन । सामाजिक संरचनाहरू त झन पटक्कै खेलमैत्री छैनन् । अझ महिलाको हकमा सबै तगारोहरू पुरुषको दाँजोमा झनै अग्ला बनिदिन्छन् । तथापि नेपाली भलिबलको एउटा अकाट्य सत्य चाहिँ के हो भने सबैभन्दा बढी अपहेलित र असहज अवस्था भए पनि महिला भलिबलले नै नेपाली खेलकुदको साख राख्ने काम निरन्तर गरिरहेको छ ।
महिला भलिबल अन्य टिम खेलको तुलनामा ज्यादै लोकप्रिय छ । दर्शकले टिकट काटेरै यो खेललाई जीवन्त बनाइरहेका छन् । गाउँगाउँबाट प्रतिभाको स्काउटिङ गरेर उनीहरूलाई उच्चस्तरीय प्रशिक्षणको व्यवस्था मिलाउनेतिर भलिबल प्रशासन उदासीन छ ।
खेल्ने र खेलाउने व्यवस्थापनमा एकहिसाबमा भन्ने हो भने भलिबल संघ औपचारिकतामै सीमित छ । आर्थिक उपार्जन हुने र लोकप्रियता हासिल गर्न सकिने सीमित अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना र सहभागितामै नेपाली भलिबल प्रशासन रुमल्लिइरहेको छ ।
खेल्ने ठाउँ छैन । प्रतिभावान खेलाडीलाई फक्रन पाउने उपयुक्त वातावरण पाइँदैन । आर्थिक अवस्था दयनीय छ । सामाजिक सोचले खेलाडी बन्न निरुत्साहित मात्र गरिरहन्छ । त्यसका बावजुद महिला भलिबलले कसरी निरन्तर नेपाली खेलकुदको सान बढाइरहेको छ त ?
यो खेलको तपस्यामा लिन केही योगी र त्यस्तै संस्थाहरूको स्वतःस्फूर्त भलिबलप्रेम सायद सही जवाफ हुनसक्छ । यस्तै भलिबल तपस्यामा लीन योगीमध्ये एक हुन्, कुमार राई अनि न्यु होङ्वान्जी न्यु डायमन्ड भलिबल सेन्टर उनको योगस्थल ।
तर त्यही न्यु डायमन्ड समर्थकको अपार माया पाउनुका बावजुद आफ्नै कोर्ट नहुदाँ वर्षाैंदेखि प्रशिक्षणका लागि सास्ती खेपिरहेको छ । पहिलेदेखि अभ्यास गरिरहेको स्थानमा सम्झौता सकिएपछि यतिबेला न्यु डायमन्डसँग प्रशिक्षणका लागि कोर्टको अभाव छ । यही कारण संस्था आफ्नै कोर्ट निर्माणमा लागिपरिरहेको छ ।
नेपाली खेलकुदमा विद्यमान अनगिन्ती समस्या पार लगाउँदै अगाडि बढ्ने क्रममा न्यु डायमन्डले घरेलु प्रतियोगिताहरूमा बलियो दाबेदारी दिँदै आइरहेको छ । नियमित प्रशिक्षणका साथै सेवासुविधा भरपूर रहेका घरेलु प्रतिद्वन्द्वी विभागीय टोलीहरू नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब र सशस्त्र प्रहरी बल (एपिएफ)लाई दबाब दिन न्यु डायमन्ड सफल भइरहेको छ ।
पछिल्लो समय अधिकांश प्रतियोगिताहरूको फाइनलमा पुगे पनि न्यु डायमन्ड उपविजेतामै चित्त बुझाउन बाध्य थियो । तर, हालै सम्पन्न छैटौं शेरबहादुर खड्का स्मृति राष्ट्रिय महिला भलिबल प्रतियोगितामा टोलीको नियति बदलियो । न्यु डायमन्ड च्याम्पियन भयो । त्यसक्रममा फाइनलमा राईको फुच्चे टोलीले एपिएफलाई ३-१ को सेटमा पराजित गरेको थियो । यो करिब एक वर्षपछि न्यु डायमन्डले उचालेको पहिलो उपाधि थियो ।
न्यु डायमन्ड नेपाली भलिबलमा राष्ट्रिय टोलीका लागि नियमित रूपमा सुपरस्टार खेलाडी दिइरहने टोली हो । कुनै बेलाकी सुपरस्टार रमिला तण्डुकार न्यु डायमन्डकै उत्पादन थिइन् । रमिला विदेसिएपछि राष्ट्रिय महिला टोलीको आक्रमण कस्ले सम्हाल्ला भन्ने चिन्ताले नेपाली भलिबललाई पिरोल्यो । तर राईको प्रेरणादायी नेतृत्वमा रहेको न्यु डायमन्डसँग रमिलाको विकल्पमा प्रतिभा माली तयार थिइन् । उनै प्रतिभाले अहिलेसम्म पनि रोल मोडलको रूपमा नेपाली महिला भलिबलको सेवा गरिरहेकी छन् ।
राष्ट्रिय टोलीलाई न्यु डायमन्डले दिएको स्टार नाम यही दुईमात्र होइन । कृपा अधिकारी, रेश्मा भण्डारी र सलिना श्रेष्ठ पनि न्यु डायमन्डकै उत्पादन हुन् । देशको महिला भलिबलमा रहेको यो गौरवशाली विरासत थेग्न न्यु डायमन्ड र प्रशिक्षक राई पछिल्लो समय नयाँ युवा टोलीमा केन्द्रित भएका छन् । यही कारण हो, प्रगति नाथ, एन्जिला प्रधान, रीमा कुुवँर, सुमित्रा रेग्मीलगायतका खेलाडीले आगामी दिनमा आफूलाई राष्ट्रिय खेलाडीको रूपमा स्थापित गर्ने विश्वास लिन सकिन्छ ।
न्यु डायमन्डलाई जन्माउने, हुर्काउने र नेपाली महिला भलिबलको गौरवका रूपमा स्थापित गर्ने श्रेय राईमा जान्छ । उनले काठमाडौंको नैकापमा आफनै विद्यालय न्यु डायमन्ड एकेडेमी सञ्चालन गरी ससाना नानीहरूलाई भलिबलको प्रशिक्षण दिन थालेको धेरै वर्ष भइसक्यो । जहाँ उनको भूमिका भलिबल प्रशिक्षक, विद्यालयको शिक्षक वा सञ्चालकमा सीमित छैन । उनी त त्यहाँका सबै खेलाडीका लागि अभिभावक पनि हुन् । आर्थिक रूपमा विपन्न खेलाडीका लागि अध्ययन तथा भलिबलका लागि खर्चसमेत उनी आफैं व्यवस्थापन गर्ने गरेका छन् । जहाँ उनले पाउने पारिश्रमिक सबै खर्च हुन्छ ।
संखुवासभाको मध्यमवर्गीय परिवारमा काइलो सन्तानका रूपमा जन्मिएका राईले ६ कक्षामा अध्ययनरत रहँदादेखि रमाइलोका लागि भलिबल खेल्न थालेका थिए । खेलाडी बनेर राष्ट्रको झण्डा बोक्ने भाग्य उनमा थिएन । यही कारण उनले प्रशिक्षक बन्नमा रुचि देखाए ।
२०४५ सालमा एसएलसी सकेपछि उच्च शिक्षाका लागि काठमाडौं आएका उनले राजधानीको महँगीमा थेगिन पढाइसँगै नैकापको ब्राइट फ्युचर स्कुलमा पढाउने काम सुरु गरेका थिए । अध्यापनका साथै आफूले निकै माया गरेको भलिबल खेल्ने मेलो पनि उनले सुरु गरे । आफू पनि खेल्ने र विद्यार्थीलाई पनि सिकाउने ।
ब्राइट फ्युचरमा रहँदै राईले भलिबलमार्फत आफू र स्कुलको परिचय विस्तार गरिसकेका थिए । एउटा समय आयो, उनले आफ्नै विद्यालय खोल्ने सोचसाथ २०६२ सालमा न्यु डायमन्ड एकेडेमी सञ्चालनमा ल्याए । न्यु डायमन्डमा सुरुआती दिनहरूमा केटाहरूलाई मात्र भलिबलको प्रशिक्षण दिने गर्थे ।
पुरुष टोलीको प्रदर्शनबाट सन्तृष्ट नभएपछि २०६४ सालबाट महिलालाई पनि प्रशिक्षित गराउन थाले । पहिलो ब्याचअन्र्तगत न्यु डायमन्डका रेश्मा भण्डारी, रमिला तण्डुकार, रञ्जना खड्का, मुना थापा, ममता थापा, निशा खड्का र बिना मोक्तानले प्रतियोगिता खेल्दा प्रशिक्षक राईका छोरी प्रनामिका राई र प्रतिभा माली भर्खर भलिबलमा होमिएका थिए ।
पहिलो ब्याचको लगाव र प्रदर्शनले राईको उर्जा बढाउने काम गर्यो । त्यसपछि उनले कहिल्यै पछाडि फर्केर हेरेनन् । राष्ट्रिय टोलीलाई नियमित रूपमा स्टार खेलाडीहरू दिइरहेका छन् ।
‘भलिबल खेलाउने चाहना भएकै कारण अब यसैमा निरन्तरता दिन्छु । आर्थिक अभाव बढ्दो छ । बीचमा छोडौं जस्तो पनि लाग्छ । तर, क्लबलाई यति माथि लगिसकें अब छोड्दा लाज हुन्छ भन्ने लाग्छ । किनकि न्यु डायमन्डले थुप्रै सर्मथक कमाइसकेको छ । यसैलाई निरन्तरता दिनुबाहेक मसँग केहि विकल्प छैन,’ राई भन्छन्, ‘यसैमा लागेर अहिलेसम्म आर्थिक रूपमा केही जोड्न सकेको छैन । उल्टै आफ्नो सम्पूर्ण कमाइ केटाकेटीको प्रशिक्षणमै खर्चिरहेको छु । अब यहाँबाट राष्ट्रियस्तरका खेलाडी जन्मिने क्रममा छन् । थुप्रै नयाँ युवा खेलाडी आउने तरखरमा छन् ।’
महिलालाई पुरुषसरह नै शक्तिशाली बनाउने लक्ष्य लिएको बताउने राई महिला खेलाडीलाई सधैं केटाहरूले जस्तै आक्रामक शट हान्न प्रेरित गरिरहन्छन् । त्यसो भए आगामी दिनमा दर्शकले महिलाको खेल हेर्नमा उत्तिकै रुचि देखाउने उनको विश्वास छ ।
घरेलु प्रतियोगितामा मात्र सीमित रहेको न्यु डायमन्डलाई अब देशबाहिर लगेर खेलाउने उनको अर्को लक्ष्य छ । ‘मेरो अबको अर्को मुख्य लक्ष्य भनेकै देशबाहिर गएर विदेशी टोलीसँग प्रतिस्पर्धा गर्नु हो । हाम्रो टोलीले पनि ठूला विदेशी प्रतियोगिता खेलेको हेर्न चाहन्छु,’ राईले थपे ।