रहेनन् युथ ओलम्पिकका जन्मदाता ज्याक्स रग

जेनेभा, (खेलाडी)- अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आइओसी) का पूर्व अध्यक्ष ज्याक्स रगको ७९ वर्षको उमेरमा मृत्यु भएको आइओसीले आइतबार राति जनाएको छ । 

रगले आइओसीलाई आठौं अध्यक्षका रुपमा २००१ देखि २०१३ सम्म नेतृत्व प्रदान गरेका थिए । त्यसयता उनी मानार्थ अध्यक्षका रुपमा ओलम्पिक अभियानमा सम्मानित थिए ।

स्पोर्टस मेडिसिनमा विशेषज्ञता हासिल गरेका रग एक अर्थोपेडिक सर्जन थिए । 

बेल्जियन रग्बी च्याम्पियन भइसकेका रगले रग्बीमा आफ्नो देशलाई प्रतिनिधित्व गर्दै विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेका थिए । उनी सेइलिङका पनि उच्चस्तरीय खेलाडी थिए । सेइलिङमा उनी १६ पटक राष्ट्रिय च्याम्पियन हुनुका साथै एक पटक विश्व च्याम्पियन पनि भएका थिए । सेइलिङमा उनले १९६८, १९७२ र १९७६ गरी तीन पटक ओलम्पिकमा पनि सहभागिता जनाएका थिए ।

खेल जीवनपछि बेल्जियन ओलम्पिक कमिटी तथा युरोपियन ओलम्पिक कमिटीको अध्यक्ष भएका रग २००१ मा आइओसीकै अध्यक्ष निर्वाचित भएका थिए । 

आइओसी अध्यक्ष भएपछि विश्वभर ओलम्पिक अभियानलाई प्रभावकारी ढंगमा चलाउँदै आइओसीको मुहार फेर्ने काममा विशेष योगदान पुर्‍याएको भनेर उनलाई स्मरण गरिन्छ । युथ ओलम्पिकको अवधारणा उनैले ल्याएर कार्यान्यन गरेका थिए ।

आइओसीले एक विज्ञप्ति जारी गर्दै रगको मृत्युमा शोक प्रकट गर्दै उनको मृत्युले ओलम्पिक अभियानलाई ठूलो धक्का पुगेको जनाएको छ । 

रगको सम्मानमा ओलम्पिक हाउसको ओलम्पिक झण्डा पाँच दिनसम्म झुकाइने भएको छ । यसैगरी आइओसीले ओलम्पिक संग्रहालय, आइओसीका विभिन्न निकायहरु तथा राष्ट्रिय ओलम्पिक कमिटीहरुलाई पनि यसैगरी पाँच दिनसम्म ओलम्पिक झण्डा झुकाउन आह्वान गरेको छ ।