भिनिसियसको दुई गोलमा रियालको बराबरी

मड्रिड (खेलाडी) – भिनिसियस जुनियरको दुई गोलप्रेरित रियाल मड्रिड स्पेनिस ला लिगामा लेभान्टेसँग ३–३ गोलको बराबरीमा रोकिएको छ । लेभान्टेको मैदानमा भएको खेलमा भ्रमणकारी मड्रिडले सुरुआतमा अग्रता लिएको थियो ।

गत सिजन टोटेनह्याममा बिताएर स्पेन फर्किएका ग्यारेथ बेलले रियालका लागि पाँचौ मिनेट गोलको खाता खोलेका थिए । बेलको करिब दुई वर्षपछि रियालका लागि त्यो गोल गरेका थिए । पहिलो हाफको इन्जुरी समयमा रोजर मार्टीले लेभान्टेका लागि बराबरी गोल फर्काएका थिए ।

दोस्रो हाफको सुरुआतदेखि नै आक्रामक बनेको लेभान्टेले ५७औं मिनेटमा जोस क्यापनाको गोलसँगै २–१ गोलको अग्रता लिएको थियो । तर, ७३औं मिनेटमा भिनिसियर जुनियरले रियालका लागि बराबरी गोल फर्काएका थिए ।

नाटकीय खेलको ७९औं मिनेटमा रोबर पिएरले गोल गर्दैै पुन: लेभान्टेलाई ३–२ को अग्रता दिलाएका थिए । तर, दुई पटकको अग्रता जोगाउन नसक्दा लेभान्टे अंक बाँड्न बाध्य भयो ।

निर्धारित ९० मिनेटको खेल सकिन ५ मिनेट बाँकी रहँदा जुनियरले व्यक्तिगत दोस्रो गोल गर्दै रियालको पराजय टारेका थिए । घरेलु टोलीका एइटर ८७औं मिनेटमा रातो कार्डको सामना गर्दैै मैदानबाट बाहिरिएका थिए ।
 
लिगका सुरुआती दुई खेलबाट चार अंक जोडेको रियल तालिकाको दोस्रो स्थानमा छ । त्यस्तै, दुई खेलबाट दुई अंक जोडेको लेभान्टे भने तालिकाको आठौं स्थानमा छ ।