Breaking News
गृहपृष्ठ/ फुटबल
Image
Image
Image
Image
- खेलाडी

खेलाडी कुट्न सर्मथक मैदान छिरेपछि लिग वानको खेल स्थगित

पेरिस (खेलाडी) – खेलाडी कुट्न समर्थक मैदानमा उत्रिएपछि फ्रान्स लिग वानअन्तर्गत आइतबार राति भएको निस र मार्सेबीचको खेल स्थगित भएको छ । घरेलु टोलीका समर्थक मार्सेका खेलाडीलाई कुट्न मैदानमा प्रवेश गरेपछि खेल स्थगित भएको हो ।

निसको मैदान एलिएन्ज राइभेरियामा जारी खेलको ७४औं मिनेटमा निसका समर्थकले मार्सेका डिमिट्री पाएटमाथि बोतल प्रहार गरेका थिए । बोतलले लागेर मैदानमा ढलेका पाएटले उठेर समर्थकतिरै त्यो बोतल फालेपछि अवस्था तनावग्रस्त भएको थियो । त्यसपछि समर्थक मैदानमै उत्रिएर मार्सेका खेलाडीमाथि जाइलागेका थिए । 

निसका केही खेलाडीले मार्सेका खेलाडीलाई रोक्ने प्रयास गरेका थिए । त्यस्तै, निसका केही समर्थक मैदानमा प्रवेश गरेर विपक्षी खेलाडीमाथि हातपात गर्नेलाई रोकिरहेका थिए । घटना एक्कासी भएकाले सुरक्षार्थ खटिएका सुरक्षाकर्मीले पनि भिड सम्हाल्न सकेका थिएनन् । समर्थकको आक्रमणले मार्सेका तीन खेलाडी घाइते भएको बुझिएको छ ।

रेफ्री बेनोइत बास्टिएनले केही समयका लागि खेल रोकेर दुवै टोलीलाई टनेलमा लगेका थिए । केही समयपछि पनि खेल पुनः सुचारु गर्ने वातावरण नबनेपछि रेफ्रीले खेल रद्द गर्ने निर्णय गरे । लिग वानले भने खेल पुनः सुचारु गरिनुपर्ने अडान राखेको थियो । खेलअघि बढाउन निसका खेलाडी मैदान प्रवेश गर्दा मार्सेका खेलाडी भने खेल्न उचित वातावरण नरहेको बताउँदै मैदानमा उत्रिएनन् ।

त्यसअघि खेलमा निसले १-० को अग्रता लिएको थियो । कास्पर डोलबर्गले ४९औं मिनेटमा अग्रता दिलाएका थिए ।

लिग आयोजकको निर्देशन अनुसार रेफ्रीले खेल सुचारु गरेका थिए । मैदानमा मार्सेका खेलाडी नै उपस्थित नभएपछि लिगको नियमावली अनुसार खेल ३-० ले निसको पक्षमा जित दिइएको छ । तर, मार्सेले यस विषयमा अपिल गर्ने निर्णय गरेको छ । रेफ्रीले नै खेल सुचारु गर्न राम्रो वातावरण नरहेको बताइरहँदा आयोजक लिग वानको दबाबमा खेल गरेको मार्सेको दावी छ ।

समर्थकको आक्रमणबाट पाएटको ढाडमा चोट लागेको छ । यसै सिजन क्लबमा आएका मिडफिल्डर माटेओ गुएन्डोजी र लुइस पेरेसको घाँटीमा पनि निलडाम रहेको छ । यस्तै, अन्य खेलाडीले पनि सामान्य चोट बोकेका छन् । खेलको नतिजा निसको पक्षमा गए पनि टोलीले ठूलो जरिवाना बेहोर्नुपर्ने सम्भावना देखिएको छ ।

प्रतिक्रिया दिनुहोस

\