नयाँ खेलाडी ल्याउने अवस्था छैन : नागेल्सम्यान

म्युनिख, (खेलाडी)- जर्मन बुन्डेसलिगाको महारथी बायर्न म्युनिखका प्रशिक्षक जुलियन नागेल्सम्यानले कोभिड १९ महामारीले उत्पन्‍न गराएको आर्थिक संकटका कारण क्लब नयाँ खेलाडी अनुवन्धन गर्ने सहज अवस्थामा नरहेको बताएका छन् । 

हालै मात्र आरबी लिपजिगबाट म्युनिख आएका नागेल्सम्यानले महामारीसिर्जित आर्थिक संकटले क्लबलाई नयाँ खेलाडी अनुबन्ध गर्न अफ्ठ्यारो परिस्थितीमा पुर्‍याएको बताए । 

‘हामी अहिले चाहेअनुसार पैसा खर्च गर्न सक्ने अवस्थामा छैनौं’, प्रशिक्षक नागेल्समेनले जर्मन सुपर कपमा मंगलबार बोरुसिया डर्टमन्डसँग खेनुअघि भने, ‘हामीसँग राम्रो टोली छ, तर सधै कुरा चोटको आउने गर्छ ।’ 

बार्यनका प्रशिक्षक नागेल्सम्यानले फ्रेन्च राइट ब्याक बेन्जामिन पाभार्डको खुट्टामा चोट लागेको उल्लेख गरे । यसको अर्थ बेन्चमा रहेका जोसिप स्टानिशिकले बुन्डेशलिगाअन्तर्गत शुक्रवार हुने बोरुसिया मोान्चेनग्लाडबाचविरुद्धको खेलमा पहिलो रोजाईबाट खेल्नेछन् । बार्यनका अल्फोन्सो डेभिज र लुकाश हर्नान्डेज पनि घाइते छन् ।

डेविड अलावा, जोरिमी बोयटिङ, डगलस कोस्टा र जाभी मार्टिनेजले यो सिजन बार्यन छोडेका छन् । रक्षक डायोट उपामेकानो र ओमर रिचर्डस उनीहरुको स्थानमा क्लब भित्रिएका छन् ।

‘पछिल्लो दुई सिजनलाई हेर्ने हो भने हामीले निक्कै खेलाडीहरु गुमाएका छौं । सरुवा बजार निक्कै कठिन छ । हामी धेरै पैसा खर्च सक्दैनौं,’ नागेल्सम्यानले भने ।  

महामारीका कारण दर्शक प्रतिवन्धका बावजुद बायर्नले पछिल्लो सिजन १ करोड ७० लाख युरो नाफा कमाएको थियो भने वार्षिक कारोबार ६९ करोड ८० लाख युरो रहेको सार्वजनिक भएको थियो ।