स्टोन्सले लम्ब्याए सिटी बसाई

लन्डन, (खेलाडी)- इङ्ल्यान्डका अन्तर्राष्‍ट्रिय रक्षक जोन स्टोन्सले इङ्लिस प्रिमियर लिगको च्याम्पियन म्यानचेस्टर सिटीसँग सम्झौता नवीकरण गर्दै इत्तिहाद बसाई थप चार वर्षका लागि लम्ब्याएका छन् । 

प्रिमियर लिगको प्रतिद्वन्द्वी एभर्टनबाट २०१६ मा ६ करोड ६० लाख डलरमा सिटी आएका स्टोन्सले विद्यमान सम्झौताअवधि एक वर्ष बाँकी रहँदै थप चार वर्षे सम्झौता गरेका हुन् । नयाँ सम्झौतापछि उनी अब २०२६ सम्म इत्तिहादमै बस्‍ने पक्का भएको छ । 

२७ वर्षे स्टोन्स सिटीको एकेडेमीमा हुर्किएका सेन्टर ब्याक हुन् । स्टोन्सले सिटीका लागि १ सय ६८ खेल खेलिसकेका छन् । सिटीको टिमबाट स्टोन्सले तीन पटक प्रिमियर लिग, दुई पटक लिग कप, एक पटक एफए कप र दुई पटक कम्युनिटी सिल्डको उपाधि जितेका छन् ।

‘सिटीसँगको सम्बन्ध थप चार वर्षका लागि लम्ब्याउन पाउँदा म खुसी छु । सिटी भनेको विश्‍वकै सर्वोत्कृष्‍ट प्रतिभावान खेलाडीहरु भएको टोली हो । यहाँबाट अरु थुप्रै ठूला सफलता हासिल गर्ने अवसर छ । म त्यही अवसरका लागि यहाँ छु,’ सम्झौता नवीकरण गरेपछि स्टोन्सले भने । 

स्टोन्सले इङ्ल्यान्डका लागि ४९ अन्तर्राष्‍ट्रिय खेल खेलेका छन् । उनले पछिल्लो पाँच वर्ष सिटीमा रहँदा हासिल गरेको सफलता सव्दमा बयान गर्न नसकिने बताए ।