रोनाल्डो १२ वर्षपछि फर्किए ओल्ड ट्राफोर्ड

म्यानचेस्टर, (खेलाडी)- क्रिस्टियानो रोनाल्डोले १२ वर्षपछि पुनरागमन गरेको म्यानचेस्टर युनाइटेडबाट दोस्रो कार्यकालको औपचारिक सुरुआत गरेका छन् । 

इङ्लिस प्रिमियर लिगअन्तर्गत अहिले घरेलु ओल्ड ट्राफोर्ड रंगशालामा जारी न्युक्यासलविरुद्धको खेलबाट उनले पहिलो रोजाईबाट दोस्रो कार्यकालको ‘डेब्यु’ गरे । उनी आफ्नै प्रिय सात नम्बर जर्सीमा युनाइटेडबाट मैदान उत्रिएका छन् ।

पहिलो पटक २००३ देखि २००९ सम्म युनाइटेडबाट खेल्ने क्रममा २ सय ९२ खेलमा १ सय १८ गोल गरेका थिए । पाँच पटकका बालन डी अर विजेता रोनाल्डो युरोपेली क्लब फुटबलमा सबैभन्दा ठूलो प्रतियोगिता च्याम्पियन्स लिगमा इतिहासकै सबैभन्दा बढी गोल गर्ने खेलाडी हुन् । उनले करिअरमा अहिलेसम्म च्याम्पियन्स लिगमा १ सय ३४ गोल गरिसकेका छन् । 

अन्तर्राष्ट्रिय फुटबलमा इरानका अली दाइको सर्वाधिक गोलको कीर्तिमान अघिल्लो साता तोडेपछि रोनाल्डो करिअरको अर्को कोसेढुंगा पार गर्न सफल भए । पुरानो क्लब फर्किएको उत्साहमा अन्तर्राष्ट्रिय फुटबलमा सर्वकालीन उच्च गोलकर्ता बनेको उर्जा थपिएको छ । 

त्यही उर्जाका साथ पुरानो क्लब फर्किएका रोनाल्डोलाई युनाइटेडका समर्थकले आजको खेलमा ओल्ड ट्राफोर्डमा भव्य स्वागत गरेका थिए ।