फ्लिकले प्रशिक्षण सम्हालेपछि जर्मनीको तीन खेलमा तीन जित

पेरिस, (खेलाडी)- ह्यान्सी फ्लिकले नेतृत्व लिएयता तेस्रो खेलसम्म विजयी यात्रालाई निरन्तरता दिने क्रममा जर्मनीले गए राति विश्वकपको युरोपेली छनोट खेलमा आइसल्यान्डमाथि ४-० को एकतर्फी जित हासिल गरेको छ । 

फ्लिकले मुख्य प्रशिक्षकका रुपमा नेतृत्व लिएपछि लिचेस्टिन र अर्मेनियामाथि जित हासिल गरेको टोलीले गाए राति समूह ‘जे’को खेलमा सहज जित हासिल गरेको हो । 

सेर्गी जिनाब्री र एन्टोनियो रुडिगरको गोलमा जर्मनीले २४ मिनेटमै दुई गोलको अग्रता लिइसकेको थियो । जहाँ दोस्रो हाफ सुरु हुने वित्तिकै लेरोए सानेले गोल गर्दै टोलीको अग्रता ३-० ले फराकिलो पारे । 

सानेको पासमा सहज ट्याप गर्दै जिनाब्रीले जर्मनीलाई चौथो मिनेटमा अग्रता दिलाएका थिए । जोसुआ किमिचको पासलाई हेडमार्फत गोलमा परिणत गरेर २४औं मिनेटमा रुडिगरले भ्रमणकारी टोलीको अग्रता दोब्बर पारे ।

५६औं मिनेटमा लियोन गोरेट्ज्काको पासमा सानेले टोलीका लागि तेस्रो गोल गरे । वेर्नेरले भने गोलका लागि काई हाभार्टजको पास उपयोग गरेका थिए ।

यसबीचमा गोरेट्ज्काले ६४औं मिनेटमा गरेको गोल भिडियो सहायक रेफ्री (भिएआर)बाट मान्यता पाउन सफल भएन । तर टिमो वेर्नेरले समय सकिन एक मिनेट बाँकी रहँदा गोल गरेर जर्मनीको जित अन्तर फराकिलो पारे । 

गए राति नै भएको समूहको अर्को खेलमा नर्थ मेसेडोनिया र रोमानियाले गोलरहित बराबरी नतिजा निकाले । 

गएरातिका नतिजापछि समूह ‘जे’मा ६ खेलको समाप्तीमा १५ अंकका साथ जर्मनी शीर्ष स्थानमा रहँदा अर्मेनिया ११ अंकका साथ दोस्रो तथा १० अंक जोडेको रोमानिया तेस्रो स्थानमा छ । यसैगरी नर्थ मेसेडोनिया ९ अंकका साथ चौथो स्थानमा रहँदा आइसल्यान्ड चार अंकका साथ पाँचौं तथा लिचेस्टिन एक अंकका साथ पुछारमा छन् ।