शीर्ष टोली दिल्लीमाथि आरसिबीको रोमाञ्चक जित

दुबई, (खेलाडी)- शिखर भारतले अन्तिम बलमा छक्का प्रहार गर्दै इन्डियन प्रिमियर लिग (आइपिएल) को खेलमा शुक्रबार रोयल च्यालेन्जर्स बेङलोरलाई दिल्ली क्यापिटल्समाथि सात विकेटको रोमाञ्चक जित दिलाएका छन् । 
 
ग्लेन म्याक्सवेलले तीन पटकसम्म विपक्षी फिल्डरबाट जीवनदान पाएको खेलमा म्याक्सवेल र भारतले अर्धसतकीय इनिङ खेलेपछि एक सय ६५ रनको लक्ष्य पछ्याएको आरसिबीले तीन विकेटको क्षतिमा एक सय ६६ रन बनाएर जित हासिल गर्‍यो।  

आरसिबीलाई कठिन बन्दै गएको खेलमा जित दिलाउन म्याक्सवेल र युवा ब्याटर शिखर भारतले चौथो विकेटका लागि अविजित एक सय ११ रनको साझेदारी गरे । 

६ रन बनाएको अवस्थामा श्रेयर ऐरले सहज क्याच लिन नसक्दा म्याक्सवेलले जीवनदान पाएका थिए । त्यसपछि पनि दुई पटक जीवनदान पाएका म्याक्सवेलले त्यसको भरपूर फाइदा उठाउँदै ३३ बलमा ५५ रन बनाए । यसक्रममा उनले आठ चौका प्रहार गरेका थिए । 

यसैगरी भारतले ५२ बलमा ७८ रनको सनसनीपूर्ण इनिङ खेले । भारतले तीन चौका र चार छक्का प्रहार गरे । 

म्याक्सवेल र भारतले इनिङ सम्हाल्नुअघि आरसिबीले २.१ ओभरमा ६ रन बनाउँदा दुई विकेट गुमाइसकेको थियो । टोलीका ओपनर देवदत्त पाडिकल गोल्डेन डक भएका थिए भने कप्तान विराट कोहली पनि आठ बलमा चार रन बनाएर पवेलियन फर्किएका थिए । 

आरसिबीका लागि एबी डी भिलियर्सले २६ बलमा २६ रनको योगदान गरे । उनले दुई चौका र एक छक्का प्रहार गरेका थिए । 

दिल्लीका एनरिक नर्टजीले दुई तथा अक्षर पटेलले एक विकेट लिए । 

यसअघि टस हारेर पहिला ब्याटिङ गरेको दिल्लीका लागि ओपनिङ जोडी पृथ्वी शाँ र शिखर धवनले पहिलो विकेटका लागि ८८ रनको साझेदारी गरेपछि टोली निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै एक सय ६४ रनको योगफल बनाउन सफल भएको थियो । 

३१ बल खेलेका पृथ्वीले चार चौका र दुई छक्कासहित ४८ रनको योगदान गर्दा धवनले ३५ बलमा तीन चौकार दुई छक्कासहित ४३ रन बनाएका थिए । 

दिल्लीका लागि शिमरोन हेटमायरले २२ बलमा दुई चौका र दुई छक्कासहित २९ रन बनाए भने श्रेयर ऐरले १८ तथा कप्तान ऋषव पन्तले १० रनको योगदान गरे । 

आरसिबीका मोहम्मद सिराजले दुई विकेट लिँदा युजभेन्द्र चहल, हर्शल पटेल र डन क्रिस्टियनले एक/एक विकेट लिए ।  

दिल्ली क्यापिटल्सले पहिलो क्वालिफायरमा आइतबार चेन्नई सुपर किंग्ससँग प्रतिस्पर्धा गर्नेछ भने आरसिबीले सोमबार इलिमिनेटरमा कोलकाता नाइट राइडर्सको सामना गर्नेछ ।