विश्वकप छनोटमा डेनमार्कको सतप्रतिसत नतिजा

पेरिस, (खेलाडी)- डेनमार्कले विश्वकप छनोट प्रतियोगितामा सतप्रतिसत नतिजायात्रालाई पाँचौं खेलसम्म निरन्तरता दिने क्रममा गए राति फारो आइल्यान्डमाथि १-० को नतिजा निकालेको छ । 

घरेलु मैदानमा १० खेलाडीमा सिमित भएर मैदान छोडेको फारो आइल्यान्डले अन्तिम समयमा गोल खाँदै डेनमार्कलाई नतिजा सुम्पिएको थियो । 

८४औं मिनेटमा दोस्रो पहेलो कार्डसँगै रातो कार्ड सामना गरेर रेने जोइन्सनले मैदान छोडेपछि फारो आइल्यान्डले बाँकी समय १० खेलाडीमा सिमित भएर संघर्ष गरेको थियो । 

विपक्षी टोलीमा एक खेलाडी कम भएको एक मिनेट नबित्दै माथियास जेन्सनको पासमा जोनास वाइन्डले गोल गरेर डेनमार्कलाई लगातार पाँचौं जित दिलाए । वाइन्डले त्यसअघि पहिलो हाफको अन्तिम मिनेटमा पनि गोल गरेका थिए । तर भिडियो सहायक रेफ्री (भिएआर) को सहयोगमा रेफ्रीले गोल गर्नुअघि वाइन्ड अफसाइड पोजिसनमा भएको भन्दै त्यसलाई मान्यता नदिँदा डेनमार्क अग्रता लिनबाट चुकेको थियो । 

लगातार पाँचौं खेलमा जित हासिल गरेको डेनमार्क समूह ‘एफ’मा १५ अंकका साथ शीर्ष स्थानमा छ । एक अंकमा सिमित फारो आइल्यान्ड भने पाँचौं स्थानमा छ । समान एक अंक भएको अर्को टोली मोल्डोभा पुछारमा छ । 

ग्लास्गो भ्रमणमा मोल्डोभा गएराति स्कटल्यान्डसँग पराजित भएको थियो । ह्याम्पडेन पार्कमा लिन्डन डिकेसले १४औं मिनेटमा गरेको गोल घरेलु टोली स्कटल्यान्डको जितका लागि पर्याप्त भएको थियो । 

समूहको अर्को खेलमा इजरायलले अस्ट्रियामाथि ५-२ को जित हासिल गर्‍यो । जितपछि पाँच खेलमा १० अंक जोडेको इजरायल दोस्रो स्थानमा रहँदा स्कटल्यान्ड आठ अंकका साथ तेस्रो तथा अस्ट्रिया सात अंकका साथ चौथो स्थानमा छन् ।