रोनाल्डोलाई युनाइटेडमा पनि सात नम्बरकै जर्सी

म्यानचेस्टर, (खेलाडी)- इङ्लिस प्रिमियर लिगको महारथी म्यानचेस्टर युनाइटेडले यो सिजन क्रिस्टियानो रोनाल्डोलाई सात नम्बरको जर्सी दिने भएको छ । 

विश्वकप छनोटअन्तर्गत बुधबार राति आयरल्यान्डविरुद्ध पोर्चुगलका लागि दुई गोल गर्दै लामो समयदेखि इरानका अली दाईको नाममा रहेको सर्वाधिक अन्तर्राष्ट्रिय गोलको कीर्तिमान तोडेका रोनाल्डो सरुवा बजारको अन्तिम दिन युभेन्टसबाट पुरानो क्लब युनाइटेड फर्किएका थिए । 

युनाइटेडबाट जर्ज बेस्ट, इरिक क्यान्टोना र डेविड बेकहमजस्ता हस्तीले सात नम्बरको जर्सी लगाएका थिए । 

यसअघि २००९ मा टुंगिएको पहिलो कार्यकालमा पनि युनाइटेडबाट रोनाल्डोले सात नम्बरकै जर्सी लगाएका थिए । रियाल मड्रिडमा पहिलो सिजन उनले नौं नम्बरको जर्सी लगाएका थिए । क्लबका हस्ती राउल गोन्जालेज २०१० मा साल्के प्रस्थान गरेपछि भने रोनाल्डोले रियालमा सात नम्बरको जर्सी पाएका थिए । 

त्यसयता रोनाल्डोले रियाल, युभेन्टस र पोर्चुगलको राष्ट्रिय टोलीबाट पनि सधै सात नम्बरकै जर्सी लगाउँदै आएका छन् । युनाइटेडबाट जर्ज बेस्ट, इरिक क्यान्टोना र डेविड बेकहमजस्ता हस्तीले सात नम्बरको जर्सी लगाएका थिए । 

युनाइटेडले सात नम्बर जर्सी रोनाल्डोलाई दिने बताए पनि यही सिजन उनले त्यो पाउनेमा भने शंका छ । युनाइटेडले यसअघि नै आफ्नो टोलीका खेलाडीहरुको जर्सी नम्बर दर्ता गरिसकेको छ । टोलीमा इडिन्सन काभानीले सात नम्बर जर्सी लगाउँदै आएका थिए । उरुग्वेका फरवार्ड काभानीले उल्भस भ्रमणमा सिजनको पहिलो खेल खेलिसकेका छन् ।

अर्कै खेलाडीको नाममा दर्ता रहेको जर्सी रोनाल्डोलाई दिने निर्णय गरेको युनाइटेडले अब नम्बर परिवर्तनका लागि प्रिमियर लिगमा विशेष अनुरोध गर्नेछ । 

‘फेरी सात नम्बरको जर्सी पाउने कुरा सम्भव हुनेमा मलाई दुविधा थियो । त्यसैले म यो जर्सी मलाई दिने निर्णय गरेकोमा क्लब र त्यसमा खुसीसाथ सहमति जनाउने काभानीप्रति आभार प्रकट गर्न चाहन्छु,’ युनाइटेडमा पहिल्यैदेखि हस्तीहरुले लगाउने गरेको जर्सी पुन : प्राप्त गरेपछि रोनाल्डोले इन्स्टाग्राममा लेखेका छन् । 

टुरिनमा काभानीले २७ नम्बरको जर्सी लगाएका थिए । युनाइटेडमा पनि ड्यानिअल जेम्स मंगलबार लिड्स सरुवा भएपछि २७ नम्बरको जर्सी खाली छ । उरुग्वेको राष्ट्रिय टिमबाट भने २०१०-११ यता उनले २१ नम्बरको जर्सी लगाउँदै आएका छन् ।