Breaking News

प्रोफाइल

नेपाली क्रिकेट इतिहासकै सफल ओपनरमध्ये एक हुन्, सुवास खकुरेल । २०२० दशकको सुरुआती तीन चार वर्ष उनी नेपालीका क्रिकेटका भरपर्दा ओपनर रहे । 

नेपाली क्रिकेटको परम्परागत समस्या खराब ब्याटिङ हो । त्यतिबेला कैयन् पटक टोलीलाई सुवासको दरिलो साथ मिल्दथ्यो । क्रिकेटका बलिया या ठूला टोलीविरुद्ध उनले राम्रोसँग इनिङ्स अगाडि बढाउँथे । त्यसको उदाहरण हो, सन् २०१३ मा सिंगापुरमा भएको इमर्जिङ टिम्स कपमा उनले गरेको प्रदर्शन । त्यस प्रतियोगितामा भारत, पाकिस्तान, बंगलादेश, श्रीलंकाका यू २३ क्रिकेट टोलीले खेल्दा नेपालको भने सिनियर टोली खेलेको थियो । 

त्यस प्रतियोगितामा पनि नेपाली टोलीले ब्याटिङमा निकै संघर्ष गर्नुपर्‍यो । तथापि सुवासको ब्याटिङ भने तुलनात्मक रूपमा राम्रै रह्यो । बाबर आजम, मोहम्मद रिजवान, उस्मान कादिर र एहसान आदिलको पाकिस्तानी टोलीविरुद्ध नेपाली टोली १ सय ५६ रनमा सीमित भएको थियो, जहाँ सुवासको ७८ रन समावेश थियो । यीबाहेक अन्य ठूला टोलीविरुद्ध पनि उनले आत्मविश्वासी इनिङ्स खेलेका उदाहरण छन् ।

सन् २०११ देखि ०१५ सम्म नेपाली क्रिकेटले ओपनिङमा सुवासबाट निकै राम्रो साथ पायो । यसबीचमा नै नेपाली क्रिकेटले ट्वान्टी २० विश्वकप यात्रादेखि कैयन् सफलता पनि चुम्यो । यी सफलतामा सुवासको योगदान पनि अतुलनीय रहेकोमा दुईमत छैन । 

त्यसका कैयौँ उदाहरणहरू उनले संकटमा परेको टोलीको इनिङ्समा आफ्नो ब्याटबाट बटुलेका रन हुन् । तर, पछिल्ला केही वर्षयता भने सुवासको ब्याट थन्किएको छ । मैदानबाहिर ‘सुवास.. सुवास..’ भन्दै गुन्जिने समर्थकका आवाजहरू शून्यमा हराएझै भएका छन् । अझ भनौं उनी केही समयका लागि गुमनामजस्तै भएका छन् ।

नेपाली क्रिकेटमा कैयन् विजयरेखा कोर्न सफल ओपनर सुवास एकाएक किन हराए त ? 

यो प्रश्नको जवाफ केही हदसम्म नेपाली क्रिकेटलाई नजिकबाट नियाल्नेहरूलाई राम्रोसँग थाहा छ । पटकपटक उनले चोट बोक्नुपर्‍यो । जसको असर सुवासको प्रदर्शन पर्न गयो । उनले पुनरागमन नै गर्न सकेनन् । सीमित अवसर पाए, तर भाग्य उनको साथमा रहेन । 

त्यतिमात्र होइन, उनको पुनरागमनमा नेपाली क्रिकेटको खराब पद्धति पनि बाधक रह्यो । १० वर्षे करियरमा दायाँहाते ओपनरले नेपालका लागि थुपै्र पटक ‘म्याच विनिङ’ इनिङ्स खेले । यसक्रममा खकुरेलले विश्व क्रिकेट लिग डिभिजन ४ देखि विश्व क्रिकेट लिग च्याम्पियनसिप तथा सन् २०१४ को ट्वान्टी २० विश्वकप र विश्वकप लिग २ मा नेपालको प्रतिनिधित्व गरेका छन् ।

यी खेलमा उनको ब्याट चल्दा खुबै जयजय पनि भयो । तर, जब उनलाई अप्ठ्यारो पर्‍यो, उनले कहीबाट साथ पाएनन् । विशेषतः नेपाली क्रिकेट संघ (क्यान) बाट । 

चोटका कारण टोलीबाट बाहिरिएका उनको पुनरागमनका लागि माध्यम कमै सिर्जना भए । सन् २०१६ पछि उनले धेरै पटक चोट बेहोरे । ती चोटलाई जित्दै उनले घरेलु प्रतियोगितामा राम्रो खेलेपछि सन् २०१८ मा नेदरल्यान्ड्ससँगको एकदिवसीय क्रिकेटमा अवसर पाए । सन् २०२० मा पनि उनले घरेलु मैदानमा भएको त्रिदेशीय एकदिवसीय शृंखलामा अवसर पाएका थिए । खासमा उनी टोलीबाहिर रहे । तर, शरद भेषावकर घाइते भएपछि उनलाई टोलीमा बोलाइयो । 

त्यसपटक छोटो तयारीको भरमा उनी सिधै अन्तर्राष्ट्रिय प्रतिस्पर्धाका लागि मैदानमा पुगे । तर उनको ब्याट पुरानो शैलीमा चल्न सकेन । सिनियर टोलीमा उनको पुनरागमनको प्रयासले त्यसपटक पनि सार्थकता पाउन सकेन ।

त्यसपछि पनि उनले टोलीमा पुनरागमन प्रयास नगरेका होइनन् । घरेलु मैदानमा सम्पन्न शृंखलामा ब्याटिङ चल्न नसकेपछि उनले आफ्नो लय फर्काउने प्रयास गरे । उनी दैनिकजसो त्रिभुवन विश्वविद्यालय (त्रिवि) क्रिकेट मैदानको इन्डोर हलमा अभ्यासका लागि धाउँथे । बिहान नेपाली टोलीले अभ्यास गर्थ्यो । उनी बेलुका अभ्यासका लागि त्यहाँ पुग्थे । नेतृत्वले उनको प्रशिक्षणमा रोक लगाइदियो । 

राष्ट्रिय टोलीमा फर्कन एउटा खेलाडीले धेरै नै मिहिनेत गर्नुपर्छ । त्यसमा पनि लामो समय टोलीबाट बाहिर रहेको र चोटले पटकपटक थलिएको खेलाडीमा आत्मविश्वास गुमेको हुन्छ । त्यसैले शून्यबाट मिहिनेत गरेमात्र पुनरागमन सम्भव रहन्छ । यस्तोमा संघ, सहकर्मी र प्रशिक्षकको साथ अनि अभ्यासको वातावरण भएमात्र एउटा खेलाडीले पुनरागमन गर्न सक्दछ । तर, सुवासलाई सरोकारवाला सबैबाट पुनरागमनका लागि उर्जा दिनुको साटो हतोत्साहित गर्ने काम भयो ।  

‘हाम्रो देशमा एउटा क्रिकेटरले पुनरागमन गर्ने वातावरण छैन । त्यही एउटा टियु मैदान हो । त्यसैले मैले टोलीबाट बाहिरिनेबित्तिकै मेसिनको बलमा अभ्यास गरें । बिहान राष्ट्रिय टोलीको अभ्यास थियो । एक दिन बेलुका अभ्यास गर्न गएँ । भोलिपल्ट त ढोका बन्द भएछ । मैले त्यहाँ रहेका स्टाफलाई ढोका खोलिदिन आग्रह गरें । तर, गुरुले जसलाई पायो त्यसलाई ट्रेनिङ गर्न नदिनु भन्नुभएको छ भनेर उहाँहरूले ढोका खोलिदिनुभएन,’ सुवासले भने, ‘क्यानमा पनि कुरा राखें । तर, त्यहाँबाट सबैका लागि दिन सकिन्नँ भन्ने जवाफ आयो ।’ 

त्यो दिन उनी निकै दुःखी भए । यतिका वर्ष मैले कसका लागि खेलेछु भन्ने प्रश्न उनले आफैंसँग गरे । चोटले केही समयबाहिर हुँदा उनी ‘जो पायो त्यही’ भएछन् । यस्तो प्रवृत्तिले एउटा खेलाडीलाई क्रिकेटप्रतिको लगाव घट्नसक्ने उनमा चिन्ता छ । 

टेस्ट खेल्ने सपना देख्ने हो भने बल महँगो भयो या मेसिन बिग्रिन्छ भनेर साना कुरामा अल्झिन नहुने उनको सुझाव छ । ‘मैले त यहाँ यस्तै छ भनेर चित्त बुझाएँ । तर, सबैका लागि यस्तो बुझाइ नहुन सक्छ,’ उनी भन्छन् ।

चोटका कारण एक वर्षसम्म दैनिकजसो उनी ग्रान्डी अस्पताल धाउने गर्थे । त्यसकारण पनि उनी लामो समय क्रिकेटबाट बाहिर रहे । त्यसको असर ब्याटिङमा परेको उनी सुनाउँछन् । 

अहिले राष्ट्रिय टोलीमा कुशल भुर्तेल र आशिफ शेखलगायत थुप्रै राम्रा क्रिकेटर आएको उनी बताउँछन् । त्यसैले टोलीमा फर्कन निकै मिहिनेत र परिश्रमले मात्र सम्भव हुने उनलाई थाहा छ । तर अन्य खेलाडीको तुलनामा राष्ट्रिय टोलीमा आफूलाई कमै अवसर दिइएकामा भने सुवासको केही दुखेसो छ ।

पूर्वकप्तान पारस खड्का र प्रशिक्षक जगत टमाटासँग उनको खराब सम्बन्ध रहेको पनि बेलाबेलामा चर्चा हुने गर्छ । कहिलेकाहीं विचार फरक भए पनि खराब सम्बन्ध नै रहेको भनाइलाई भने उनी सरासर नकार्छन् । 

‘धेरै खेलाडीको ब्याटिङ चल्न नसक्दा म मात्र टोलीबाहिर रहें । मैले थोरैमात्र अवसर पाउँथे । तर, त्यो टोलीको आवश्यकता पनि होला । उहाँहरूको बुझाइ र मेरो बुझाइ फरक हुनसक्छ,’ सुवासले भने, ‘तर सम्बन्ध नै खराब भने होइन । उहाँहरू पनि मेरो पुनरागमन हेर्न चाहनुहुन्थ्यो ।’

नाताले दाइ पर्ने राजन खकुरेलको प्रेरणामा क्रिकेट खेल्न थालेका सुवासको करियरले ह्वाइटहाउस कलेजमा पुगेपछि उचाइ लियो । जहाँबाट त्यतिबेला नै विनोद दास, पारस खड्का, लाक्पा लामा र प्रेम चौधरी खेल्थे । 

उनको कक्षा कोठाबाट नेटहरू स्पष्ट देखिन्थे । त्यहाँ स्टारहरू खेलेको देखेर नै उनमा थप उर्जा मिलेको थियो । त्यतिबेला लाक्पा लामा उनका प्रशिक्षक थिए । लामाकै प्रशिक्षणमा धेरै कुरा सिकेको उनले सुनाए । त्यहीं खेलेका केही प्रतियोगिताबाट उनले राष्ट्रिय टोलीबाट ‘डेब्यु’ गर्ने अवसर पाए । सन् २०११ मा एसिसी ट्वान्टी २० क्रिकेटमा कुवेतविरुद्धको खेलमार्फत अन्तर्राष्ट्रिय प्रतिस्पर्धाको मञ्चमा आफूलाई पहिलो पटक उभ्याए । ‘डेब्यु’ खेलमै उनले उनले ४० रनको योगदान गरेका थिए । 

त्यसपछि केही खेलमा संघर्ष गर्नुपरे पनि उनले छिट्टै लय समाते । नेपाली क्रिकेटमा भरपर्दा ब्याट्सम्यानको छवि बनाए । त्यसपछि उनले विश्वकपसम्मको यात्रा तय गर्न र डिभिजन क्रिकेटमा सफलता दिलाउन मद्दत पुग्ने खालका धेरै इनिङ्स खेले । 

तर, उनै सुवास अहिले पुनरागमनको पर्खाइमा छन् । अहिले नेपालकै सबैभन्दा ठूलो फ्रेन्चाइज प्रतियोगिता एभरेस्ट प्रियिमर लिग (इपिएल) मा उनी काठमाडौं किंग्स ११ बाट खेल्दैछन् । काठमाडौं किंग्सले दिएको अवसर सदुपयोग गर्दै उनले राष्ट्रिय टोलीमा फर्कने लक्ष्य राखेका छन् । उनको टोलीबाट विश्वकै नामुद क्रिकेट साहिद अफ्रिदीले पनि खेल्नेछन् ।

‘सबैभन्दा ठूलो लक्ष्य नै यो प्रतियोगितामा राम्रो नतिजा ल्याउने हो । साथै व्यक्तिगत प्रदर्शनमा पनि सुधार गर्नसके मेरा कैयन् ढोका खोलिनेछन्,’ सुवासले भने ।   

धेरै प्रयोग भइरहँदा ब्याटिङमा असर परिरहेको उनको बुझाइ छ । ‘यदि एक वा दुई वटा खेलमा खेल्ने सकेन भने टोलीबाहिर पुगिहाल्छ र नयाँ खेलाडी टोलीमा ल्याइन्छ । यसले गर्दा ब्याटिङ पोजिसनमा पनि असर पर्ने गरेको छ,’ सुवास अनुभव सुनाउँछन्, ‘यस्तो हुँदा ब्याट्सम्यानको आत्मविश्वास गुमिरहेको हुन्छ ।’ 

पछिल्लो समय नेपाली टोलीमा धेरै क्षमतावान् क्रिकेटरको आगमन भइरहेको छ । तर, ती खेलाडीले अन्तर्राष्ट्रिय खेलमा राम्रोसँग एक्सपोजर नपाइरहेको सुवासको बुझाइ छ । 

‘एक या दुईवटा खेलमा चल्न सकेन भने ती खेलाडी टोलीबाट बाहिर पुगिहाल्छन् । त्यसले गर्दा क्षमतावान् युवा खेलाडीमा आत्मविश्वासको कमी आइरहेको छ,’ सुवास भन्छन्, ‘उनीहरूलाई केही समय दिन सके, पक्कै पनि नेपालको ब्याटिङमा राम्रा खेलाडी आउँछन् ।’

Image
\