Breaking News
गृहपृष्ठ / खेलाडी
Image

अनु अधिकारी

जन्म मिति : 12 January, 1993
उमेर : 28 बर्ष
उचाई : 5.5
तौल : 54

प्रोफाइल

किशोरावस्थामा प्रवेश गर्दै गर्दा परिवारले उनलाई पढाईमा ध्यान दिन दबाब दिन्थ्यो । तर अनु अधिकारीको मन भने कराँतेतिर एकोहोरिएको थियो । परिवारको दबाबलाई चुनौती दिँदै उनले कराँते डोजो धाउने जिद्धी कायम राखिन । जसको फल अहिले उनी नेपाललाई अन्तर्राष्‍ट्रिय मञ्‍चमा सधै गौरव दिलाउने थोरै मध्येको एक खेल कराँतेकी स्टार भएकी छिन् । 

स्कुल पढदा मोटो शरिर घटाउने उद्देश्यमा साथीहरुको लहैलहैले अनुलाई करातेतिर आकर्षित गरेको थियो । तर नुवाकोटकी २७ वर्षे चेलीको लक्ष्य अहिले त्योभन्दा धेरै माथि उठिसकेको छ । स्कुले जिवनमा लहैलहैबाट सुरु भएको कराँतेको यात्राले जिल्ला, अञ्‍चल हुँदै देशको सिमाना पनि नाँघिसकेको छ । अब उनी विश्‍व स्तरमा प्रतिस्पर्धाको तयारीमा केन्द्रित छिन् ।  

दक्षिण एसियाली खेलकुद (साग), एसियाली खेलकुद र अरु थुप्रै अन्तर्राष्‍ट्रिय प्रतियोगिताहरुमा देशको प्रतिनिधित्व गर्दै पदक पदक जितिसकेकी अनुको पछिल्लो लक्ष्य बनेको छ, दुई महिनापछि जापानमा हुने टोकियो ओलम्पिक । त्यसैका लागि अहिले लामो समयदेखि दिनरात अभ्यासरत छिन् । 

कोरोना कहर र लकडाउनका बावजुद दैनिक ओलम्पिकको अभ्यासका लागि उनी एकाविहानै सातदोबाटोस्थित कराँते हल पुग्‍ने गरेकी छिन । तर जापानको ओलम्पिक यात्राका लागि उनले अन्तर्राष्‍ट्रिय ओलम्पिक काउन्सिल (आइसिसी)बाट वाइल्डकार्ड पाउने पक्का भइसकेको छैन । आइओसीले महिलाका लागि विश्‍वभरबाट दुईवटामात्र वाइल्डकार्ड उपलब्ध गराउने निर्णय गरिसकेको अवस्थामा विश्‍व कराँते महासंघमा नेपाल कराते महासंघ नवीकरण नै नभएका कारण खासमा वाइल्डकार्ड पाउने सम्भावना अत्यन्तै न्यून छ । तथापि वाइल्डकार्ड पाउने झिनो आशामा भए पनि उनी दैनिक अभ्यासमा पसिना बगाइरहेकी छिन् ।

डेढ दशकअघि परिवारको अवरोधका बावजुद जबरजस्ती खेल्न थालेको करातेले उनलाई सुरु गरेको एक हप्तामै उपत्यकास्तरीय च्याम्पियनसिपको अनुभव दिएको थियो । ललितपुरमा २०६३ सालमा भएको त्यो प्रतियोगितामा अनुले कुनै पनि पदक जित्‍न सकिनन् । तर त्यो हारले उनको कराँते यात्रालाई भने हराउन सकेन । १४ वर्षको उमेरमा २०६५ सालमा सम्पन्‍न पाँचौं राष्‍ट्रिय खेलकुदमा राष्‍ट्रिय च्याम्पियन बनेकी उनी लगत्तै २०६६ सालमा बंगलादेशको ढाकामा सम्पन्‍न ११औं सागमा रजत पदक जित्‍न सफल भइन । ढाकामा पहिलो पटक अन्तर्राष्‍ट्रिय प्रतियोगिता खेल्ने क्रममा नै रजत पदक जितेपछि उनको हौसला झनै उकासियो ।

२०७५ सालमा इन्डोनेसियाको जाकार्तामा भएको एसियाली खेलकुदमा पनि अनुको प्रदर्शन तारिफयोग्य थियो । तर दुई बाउट जित्‍नाका बावजुद तेस्रो बाउटमा जापानकी मिहाहारा मिहोसँग पराजित भएपछि उनको एसियाली खेलकुदमा कम्तिमा कांस्य पदक जित्‍ने अवसर चुकेको थियो । एसियाली स्तरमा पदक जित्‍न नसके पनि उनले ढाका सागमा स्वर्ण जित्‍न नसकेको पीडामा डेढ वर्षअघि सातदोबाटोस्थित कराँते हलमा मलम लगाइन । २०७६ मंसिरमा नेपालमै सम्पन्‍न १३औं सागमा उनले स्वर्ण पदक जितेकी थिइन । त्यसअघि २०७२ सालमा भारतको गुवाहटी र सिलोङमा भएको १२औं संस्करणमा कराँते समावेश थिएन । भारतले पनि कराँते समावेश गरेको भए सायद अनुको खातामा दुई वटा सागका स्वर्ण पदक भइसक्थ्यो ।

विश्‍व कराँते महासंघको महिला एकल वरियताको १ सय सातौं स्थानमा रहेकी ५५ केजी तौल समूहकी अनु गत महिना हुने विश्‍व कराँते प्रिमियर च्याम्पियनसिपमा भाग लिने तयारीमा थिइन । कोभिड १९ को महामारीका कारण विश्‍व वरियताक्रमको शीर्ष २ सयभित्रका खेलाडीले मात्र खेल्न पाउने त्यो प्रतियोगितामा उनले भाग लिन पाइनन् । त्यसमा भाग लिएर राम्रो प्रदर्शन गर्न सकेको भए उनले ओलम्पिकको वाइल्डकार्ड पाउने सम्भावना बलियो हुन्थ्यो । तथापि वाइल्डकार्ड पाउने आशामा ओलम्पिकका लागि कठिन अभ्यास गरिरहेकी छिन् ।

टोकियो ओलम्पिकको वाइल्ड कार्ड पाए त्यो सायद उनको करियरको अन्तिम प्रतियोगिता हुन सक्छ । किनकी उनी अब खेलाडी जीवनमा पूर्णविराम लगाएर प्रशिक्षणतिर केन्द्रित हुन खोजिरहेकी छिन् । पहिलो पटक कराँते समावेश गरिएको ओलम्पिकमा सहभागिता जनाउन मात्र पाए पनि अनुको खेलाडी जीवनले हकलाग्दो सुखद क्लाइमेक्स पाउने थियो । 
 

थप खेलाडी

Image

मन्देकाजीको कराते मन

कराँते

Image

पलेशाले सिकेको पाठ

पारा तेक्वान्दो

Image

संगीता बस्याल

तेक्वान्दो

Image

दीपक श्रेष्ठ

कराँते

Image

राजुकाजी शाक्य

फुटबलर

Image

गंगाराम महर्जन

कराँते खेलाडी

Image
\