Breaking News
गृहपृष्ठ / खेलाडी
Image

संगीना वैद्य

जन्म मिति : 15 April, 1976
उमेर : 45 बर्ष
उचाई : 5.6
तौल : 56

प्रोफाइल

काठमाडौं, (खेलाडी)– नेपाली खेलकुदमा सबभन्दा सफल महिला खेलाडीको नाम हो, संगीना वैद्य । आइसिसीले दिने वाइल्डकार्डको भरमा विश्व खेलकुदको सबभन्दा ठूलो खेलमेला ओलम्पिकमा सहभागिता जनाउँदै आएको नेपालको इतिहास सन् २००४ को एथेन्स ओलम्पिकमा यीनै बहादुर महिलाले परिवर्तन गरेकी थिइन ।


एथेन्स ओलम्पिकअघि नेपालले कहिल्यै पनि छनोट प्रतियोगिता पार गरेर ओलम्पिकमा सहभागिता जनाउन सकेको थिएन । आइओसीले दिने वाइल्डकार्ड ओलम्पिकमा नेपालको झण्डा फहराउने एकमात्र आधार थियो । 


त्यसोत अन्तर्राष्ट्रिय खेलकुदमा नेपालको कुनै गौरव गर्न लायक नतिजा थिएन, छैन पनि । तर संगीनाले नेपाली खेलकुदलाई एउटा गर्व गर्न लायक नतिजा दिइन । एथेन्स ओलम्पिकका लागि तेक्वान्दोको छनोटमा एसिया र ओसियाना क्षेत्रको प्रतियोगिता संयुक्त रुपमा भएको थियो । थाइल्यान्डको बैंककमा भएको उक्त प्रतियोगिताको महिला फ्लाई–वेइटमा धेरैको अनुमान विपरित संगीनाले विजय हासिल गरिन र ओलम्पिकमा छनोट भएरै सहभागिता जनाउने पहिलो नेपाली खेलाडीको रुपमा कहिल्यै कसैले पनि तोड्न नसक्ने कीर्तिमानमा नाम लेखाइन ।


संगीनाले त्यसअघि नै एसियाली च्याम्पियनसिपमा स्वर्ण पदक जितेर आफूमा क्षमता भएको प्रमाण दिइसकेकी थिइन । तर त्यसअघिसम्म नेपाली खेलकुदमा ‘पोस्टर गर्ल’ का रुपमा बनेको उनको छवि ओलम्पिकमा छनोट भएपछि भने नेपाली खेलकुदकै शिखर महिलाका रुपमा स्थापित भयो । सन् २००४ को फेब्रुअरीमा ओलम्पिकको टिकट काटेकी संगीनाले त्यसको ६ महिनापछि एथेन्समा पदक जित्ने लक्ष्य भने पूरा गर्न सकिनन् । 


नुवाकोटको विदुर नगरपालिकास्थित त्रिशुली कोलोनीमा जन्मिएकी संगीनाले स्कुल पढ्दा रहरले खेलेको वीरेन्द्र शिल्डबाट करियर सुरु गरेकी थिइन । वीरेन्द शिल्डमा जितेका पदकहरुबाट हौसिएकी उनी २०४८ सालमा एसएलसीपछि उच्च शिक्षाका लागि काठमाडौं आइन । तर किशोरावस्थामा आर्नोल्ड, भ्यान ड्याम र स्टालोनका एक्सन फिल्म हेर्ने संगीनालाई काठमाडौं आएपछि उच्च शिक्षाले भन्दा बढि मार्शल आर्टसले बढि लोभ्यायो । पब्लिक युथ क्याम्पस भर्ना भए पनि हरेक विहान उनको गन्तब्य भने दशरथ रंगशाला हुन थाल्यो । त्यसपछि त उनले कलेज नै छाडेर तेक्वान्दो रोजिन । 


खेल्न थालेको केही महिनामै सफताका सिँढीहरु चढ्न सुरु गरेकी उनले त्यसपछि कहिल्यै पनि पछाडि फर्केर हेर्नु परेन । तालिम गर्न थालेको चार महिनामै राष्ट्रिय प्रतियोगितामा बाग्मती अञ्चलको प्रतिनिधित्व गर्ने मौका पाइन । त्यसपछि राष्ट्रिय टिमको तालिममा सहभागि हुन पाइन । २०४९ सालको सुरुआतमै दक्षिण एसियाली स्तरको पहिलो अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागि भएकी उनले २०५० सालमा देशको प्रतिनिधित्व गर्दै फिलिपिन्सको मनिलामा भएको १०औं एसियाली तेक्वान्दो च्याम्पियनसिपका रजत पदक जितिसकेकी थिइन । लगत्तैको वर्ष फेरी मनिलामै भएको प्रतियोगिताको ११औं संस्करणमा पनि उनी रजत पदकको भागिदार बनेकी थिइन ।


त्यसको तीन वर्षपछि २०५३ सालमा अस्ट्रेलियामा भएको १३औं एसियाली तेक्वान्दो च्याम्पियनसिप संगीनाको खेल जीवनको अर्को मुख्य उत्कर्ष थियो । जहाँ उनले स्वर्ण पदक जितेकी थिइन । आधिकारिक एसियाली च्याम्पियनसिपमा नेपाली खेलाडीले स्वर्ण पदक जितेको त्यो पहिलो अवसर थियो ।


अस्ट्रेलियामा जितेको स्वर्ण पदक देशका लागि निक्कै महत्वपूर्ण थियो । त्यसैकारण राष्ट्रिय खेलकुद परिषदले त्यसको सम्मानस्वरुप संगीनालाई अधिकृतस्तरको प्रशिक्षकको जागिर दिएको थियो । जसमा उनी अहिलेसम्म पनि कार्यरत छिन् । डेढ वर्षअघि नेपालमै सम्पन्न १३औं दक्षिण एसियाली खेलकुद (साग)मा सहभागि नेपाली तेक्वान्दो टोलीमा संगीना प्रशिक्षकको भूमिकामा थिइन । १३औं सागमा नेपालले ५१ स्वर्ण, ६० रजत र ९५ कांस्यसहित कुल २ सय ६ पदक जितेर दोस्रो स्थान हासिल गर्दा १२ स्वर्ण, ६ रजत र ११ कांस्य गरी २९ पदकमा तेक्वान्दोको योगदान थियो । जहाँ प्रशिक्षकको रुपमा संगीनाको प्रत्यक्ष भूमिका थियो । 


खेलाडीको रुपमा पनि संगीनाले सागमा तीन पदक जितेकी छिन् । २०५६ सालमा काठमाडौंमै भएको आठौं साफमा पहिलो पटक तेक्वान्दो समावेश गरिँदा स्वर्ण पदक जितेकी उनले त्यसको चार वर्षपछि पाकिस्तानको इस्लामाबादमा सम्पन्न नवौं संस्करणमा पनि स्वर्ण पदक जितिन । तर श्रीलंकाको कोलम्बोमा २०६२ सालमा सागको नाममा प्रतियोगिताको १०औं संस्करण हुँदा भने उनी कांस्य पदकमा सिमित भइन, र स्वर्णको ह्याट्रिक गर्ने अवसरबाट चुकिन ।


खेलाडीका रुपमा कुल ३१ अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउँदै संगीनाले नेपालका लागि २० स्वर्ण, १ रजत र ४ कांस्य गरी २५ पदक जितेकी छिन् । तर एउटा भयानक दूर्घटनामा परेर घाइते भएका कारण २०५५ मंसिरमा थाइल्यान्डको बैंककमा भएको १३औं एसियाली खेलकुदमा सहभागिता जनाउन नपाउनु भने उनको खेल जीवनकै सबभन्दा ठूलो दूर्भाग्य हो । आफ्नो तौल समूहमा एसियाकै एक नम्बर खेलाडीको हैसियतमा हुँदा त्यो दूर्घटनाका कारण सहभागिताबाट बञ्चित हुनु नपरेको भए उनले त्योबेला स्वर्ण पदक जित्ने पक्का जस्तै थियो । अहिलेसम्म एसियाली खेलकुदबाट कुनै नेपाली खेलाडीले स्वर्ण पदक जित्न सकेका छैनन् । 

थप खेलाडी

Image

मन्देकाजीको कराते मन

कराँते

Image

पलेशाले सिकेको पाठ

पारा तेक्वान्दो

Image

संगीता बस्याल

तेक्वान्दो

Image

दीपक श्रेष्ठ

कराँते

Image

अनु अधिकारी

कराँते खेलाडी

Image

राजुकाजी शाक्य

फुटबलर

Image
\