सानदार सुनील

काठमाडौं । अघिल्ला तीन वर्षतिर फर्किने हो भने खासै लयमा थिएनन्, सुनील बल । उनले शीर्ष डिभिजनको लिग २०७५ सालमा थ्री स्टार र २०७६ सालमा च्यासल युथ क्लबबाट खेलेका थिए । जहाँ सुनील र उनका क्लबले खासै छाप छोड्न सकेनन् । प्रदर्शन औसतभन्दा पनि तलकै रह्यो ।

त्यसैले सुनील यसपालि केही राम्रो गरेर देखाउन चाहन्थे । यसैबीच मछिन्द्र फुटबल क्लबले सुनीलमाथि नजर लगायो । लिगभन्दा एक महिनाअघि माल्दिभ्समा सम्पन्न १३ औं साफ च्याम्पियनसिपमा सुनीलले गजबको प्रदर्शन गरेका थिए ।

कोभिड–१९ महामारीका कारण गत वर्ष नेपालमा लिग भएन । अघिल्लो वर्ष लिग नभएपछि खेलाडीहरू कसैसँग आबद्ध थिएनन् । सुनील पनि कुनै क्लबको बन्धनमा थिएनन् । जोसका साथ फुटबलमा होमिएको मछिन्द्रको प्रस्ताव सुनीलले स्वीकार गरे ।

अघिल्लो दुई सिजन राम्रो गर्न नसकेको इख बोकेका सुनील यसपालि उच्च  लयमा थिए । साफ च्याम्पियनसिप तथा विश्वकप छनोटका लागि लामो समयदेखि राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा थिए । त्यसैले उनी पछिल्लो दुई वर्षको तुलनामा लिगमा फेरिएको प्रदर्शन दिन सफल भए ।

सुरुबाटै उम्दा प्रदर्शन गरेका सुनीलको लय पूरा लिगभर एकनासको रह्यो । त्यसैले त मछिन्द्रलाई लगातार दोस्रो पटक उपाधि जिताउन उनको योगदान उच्च देखियो । योगदानको कदरस्वरुप गत साता सम्पन्न लिगकै सर्वोत्कृष्ट खेलाडी पुरस्कारको हकदार बने उनी ।

चोटका कारण लिगका पछिल्ला दुई खेल खेल्न नपाएका सुनीलले ११ खेलमा ८ सय ८७ मिनेट (इन्जुरी समयबाहेक) खेल्दै ६ गोल गरे । मछिन्द्रका लागि ‘डेब्यु’ खेलमै सुनीलले एनआरटी फुटबल क्लबविरुद्ध दुई गोल गरेर विशेष छाप छोडे । मैदानमा प्राविधिक अनुशासनको घेराभित्र रहेका सुनीलले पूरा लिग अवधिमा एक पटकमात्र पहेँलो कार्ड सामना गरेका थिए ।

लिगमा गोल गर्नेक्रम पहिलो खेलपछि रोकियो । दोस्रो र तेस्रो खेलमा उच्च प्रदर्शनका बावजुत स्कोरसिटमा नाम लेखाउन असफल भएका उनले चौथो खेलबाट गोल गर्ने लय फेरि समाए । चौथो खेलमा हिमालयन शेर्पाविरुद्ध गोल गरेका सुनीलले त्यसपछि मनाङ मर्स्याङ्दी, नेपाल पुलिस क्लब र च्यासल युथ क्लबविरुद्ध एक÷एक गोल गरेका थिए ।

सात खेलमा पूरा समय (परिवर्तन नभई) खेलेका सुनीलले मैदानमा बिताएका प्रत्येक मिनेटप्रति पूरा न्याय गरे । २०७८ साल खेलजीवनमा अहिलेसम्मकै सफल वर्ष थियो सुनीलका लागि । अन्तर्राष्ट्रिय फुटबलमा गरेको लोभलाग्दो प्रदर्शनपछि हेटौंडा स्थायी घर भएका सुनीलले लिगमा सर्वोत्कृष्ट खेलाडीको ३ लाख रुपैयाँ पुरस्कार प्राप्त गरे ।

सुनील ‘टिम गेम’मा विश्वास गर्ने खेलाडी हुन् । खेलजीवनको पहिलो लिग उपाधि र सर्वोत्कृष्ट खेलाडीको व्यक्तिगत पुरस्कार पाउनुको रहस्य यसैलाई मान्छन् उनी ।

‘म टिम गेममा विश्वास गर्छु । सबै खेलमा हामीले पूरा टिमको तालमेलपूर्ण मिहिनेतमै नतिजा हात पारेका हौं । समग्रमा हाम्रा लागि यो लिग राम्रो भयो, धेरै खुसी छु,’ २४ वर्षीय सुनील रोमाञ्चित हुन्छन् ।

तेस्रो पटक शीर्ष डिभिजन लिग खेल्नेक्रममा यसपालि उनले पहिलो पटक विजेताको पदक लगाउने अनुमान धेरैले गरेका थिए । अनुमान गर्न पनि सजिलो थियो । मछिन्द्रले लिग उपाधि रक्षा गर्नका लागि देशमा उपलब्ध सबै स्टार खेलाडी अनुबन्ध गरिसकेको थियो । राष्ट्रिय टोलीमा मुख्य खेलाडीको हैसियत बनाइसकेका सुनील मछिन्द्रले अनुबन्ध गरेकामध्ये कहलिएका आठ आक्रामक खेलाडीमध्ये एक थिए ।

यसअघि थ्री स्टार र च्यासलका लागि पनि सुनीलले यस्तै प्रदर्शनको प्रयास नगरेका होइनन् । त्यहाँ के मिलेन भन्ने सुनील स्वयंलाई थाहा छैन, तर उनको प्रदर्शन र टोलीका नतिजामा खुसी हुने ठाउँ भेटिएन ।

थ्री स्टारबाट खेल्दा पूरा सिजनमा एक गोलमात्र गरेका उनले च्यासलबाट त्यति पनि गर्न सकेका थिएनन् ।

‘पहिला र अहिलेको टिममा फरक केही छैन । यति भनिरहँदा पनि अहिलेको टिम अलि सहज चाहिँ भन्नैपर्छ । अहिले टिममा जुनियर भाइहरूसँगै सिनियर दाइहरू पनि हुनुहुन्छ । सबैलाई टिमप्रति उत्तिकै विश्वास छ । टिमप्रतिको त्यही विश्वास नै हाम्रो सफलताको रहस्य हो,’ सुनीललाई आफ्नो टोलीमाथि गर्व छ ।

अखिल नेपाल फुटबल संघको एन्फा एकेडेमीका उत्पादन सुनीलको विशेषता भनेको विंग्सबाट तीव्र गतिमा बल दौडाउनु मात्र होइन । पाएका अवसरमा नचुक्नु मात्र पनि होइन । आक्रमणमा केन्द्रित भए पनि आवश्यकता पर्दा रक्षामा सघाउनुमात्र होइन । गोलका लागि सहयात्रीलाई अवसर सिर्जना गर्नुमात्र होइन । सम्पूर्ण रूपमा खेलमा प्रतिबद्ध भएर मैदानभित्र आफ्नो टिमका लागि आवश्यक सबैखाले प्रयास गर्ने खेलाडी हुन् सुनील ।

सुनील हेटौंडामा जिल्ला लिग खेल्दै गर्दा २०६८ सालमा एन्फा एकेडेमीको १४ वर्ष मुनिको टोलीमा छानिएका थिए । एकेडेमीमा रहँदा उनले १६ र १९ वर्षमुनिको राष्ट्रिय टोलीबाट विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेका छन् ।

२०७२ साल भदौमा घरेलु मैदानमा भएको यु–१९ साफ च्याम्पियनसिपको पहिलो संस्करणमा नेपालले उपाधि जित्दा सुनील नायक थिए । युवा साफ च्याम्पियनसिपको सफलतापछि चाहिँ सुनीलको प्रदर्शनमा उतारचढाव आइरह्यो । राष्ट्रिय टोलीमा पनि प्रदर्शनले उकाली र ओरालीको यात्रा गरिरह्यो ।

२०७४ सालमा बंगलादेशको ढाकामा सम्पन्न १२औं साफ च्याम्पियनसिपमा पहिलो पटक नेपाली राष्ट्रिय टोलीमा परेका उनले त्यसपछि लगातार टिममा स्थान बनाउन सकेनन् । तथापि नेपालको जर्सीमा उनले १७ अन्तर्राष्ट्रिय खेल खेलिसकेका छन् ।

फुटबलले गत वर्षबाट स्वीकार गरेको नेपाल सुपर लिग (एनएसएल) फ्रेन्चाइज फुटबल प्रतियोगितामा सुनील पहिलो सिजन विराटनगर सिटी एफसीमा आबद्ध थिए । कुल ६ खेलमा ४ सय ६७ मिनेट (इन्जुरी समयबाहेक) खेलेका सुनीलले त्यही प्रतियोगिताबाट आफू फर्ममा रहेको प्रमाण दिएका थिए ।

सुनीलको त्यो फर्म अहिले पनि निरन्तर छ । जसको प्रमाण भर्खरै सम्पन्न सहिद स्मारक ‘ए’ डिभिजन लिग हो । लिग दौरान मनाङ मर्स्याङ्दी क्लबविरुद्ध पाएको जितसँगै मछिन्द्रले पहिलो पटक नेपालको प्रतिनिधित्व गर्दै एएफसी कपमा सहभागिता जनाउन पायो । त्यो खेलको इन्जुरी समयमा सुनीलले नै निर्णायक गोल गर्दै मछिन्द्रलाई महत्त्वपूर्ण ३ अंक दिलाएका थिए । झन्डै २५ यार्डको दुरीबाट सुनीलले प्रहार गरेको फ्रिकिक सिधै जालीको सम्पर्कमा पुगेको थियो । सुनील बितेको लिग स्मरण गर्दा त्यही क्षणलाई नै सबैभन्दा विशेष मान्छन् ।