लियोनेल मेसी

रोनाल्डोलाई पछि पार्नु थप प्रेरणा नभएको मेसीको दाबी

पेरिस । कीर्तिमानी सातौं पटक बालन डी अर जितेपछि अर्जेन्टिनी स्टार लियोनेल मेसीले चिरप्रतिद्धन्द्धी पोर्चुगिच स्टार क्रिस्टियानो रोनाल्डोलाई पछि पार्नु थप प्रेरणा कहिल्यै नभएको बताएका छन् ।

फ्रेन्च लिग वानको क्लब पेरिस सेन्ट जर्मन (पिएसजी) का स्ट्राइकर मेसीले सोमबार रोवर्ट  लेवान्डाेवस्कीको कडा चुनौतीलाई पन्छाउदै सातौं बालन डी अर जितेका थिए ।

‘म सधै अरुलाई जित्ने भन्दा पनि आफैलाई जित्न चाहन्थे । रोनाल्डोको सन्दर्भमा एकै लिगमा हामीबिच धेरै वर्षसम्म प्रतिद्धन्द्धीता चलेको थियो,’ मेसीले भने, ‘यो निकै रोमाञ्चक थियो र प्रतिद्धन्द्धीताले हाम्रो करियरलाई अझ उत्कृष्ट बनाउँन सहयोग पनि गर्यो । तर एकअर्कालाई नहेरी म सधै आफूलाई मात्र जित्न चाहन्थे, म उत्कृष्ट बन्न चाहन्थे । तर अरुलाई पछि पार्ने बारे कहिल्यै सोच्दिनथे ।’

सन् २००८ देखि पछिल्लो १३ मध्ये १२ बालन डी अर मेसी र रोनाल्डोले जितेका छन् ।