‘अनुभव, नयाँ जोस र कर्पोरेट सेक्टर मिलाएर ब्याडमिन्टन हाँक्ने छु’

ब्याडमिन्टन नेपालमा खेलिने गरेको पुरानो खेलमा पर्दछ । सानो ठाउँमा खेल्न सकिने भए पनि सामग्री जोहो गर्ने हिसाबमा चाहिँ यो खेल महँगो छ । त्यसैले यसको व्यवस्थापन सहज छैन । सधैंको अस्थिरता र विवादबीच अगाडि बढ्ने नेपाली खेलकुदमा नेपाल ब्याडमिन्टन संघको पनि कार्यकाल सकिएको एक वर्षभन्दा बढी भइसकेको छ । कोभिड-१९ महामारीका कारण लामो समय सुस्ताएको खेल कोर्टमा जबरजस्त रूपमा फर्किन थालेको छ । यही समयमा नेपाली किशोर खेलाडी प्रिन्स दाहाल जुनियरतर्फ विश्व वरीयताको शीर्षस्थानमा पुगेका छन् । नेपालको ब्याडमिन्टन, यसको वर्तमान अवस्था र सम्भावना, संघका योजनालगायतका विषयमा पूर्वराष्ट्रिय च्याम्पियन तथा ब्याडमिन्टन संघका अध्यक्ष रामजीबहादुर श्रेष्ठसँग खेलाडी डटकमका लागि उमेश दाहालले गरेको कुराकानीको सम्पादित अंश:

- ब्याडमिन्टनका गतिविधि कसरी चलिरहेका छन् ?

कोभिड-१९ को महामारीबाट विस्तारै मुक्त हुँदै जानेक्रममा नेपाल ब्याडमिन्टन संघ एकदम चलायमान बनेको छ । देशभर नै ब्याडमिन्टनको माहोल छ अहिले । हरेक जिल्ला, हरेक क्लब, विभागीय टोलीहरूदेखि लिएर सबै ठाउँमा लगातार गेमहरू भइरहेका छन् । कोभिडका कारण हामीले गर्ने भनेको राष्ट्रिय च्याम्पियनसिप सरिरहेको छ । वैशाखमा गर्ने योजनामा थियौं, तर अन्य प्रतियोगितासँग जुधेकाले जेठमा लानुपर्ने भएको छ । हामी त्यसको तयारीमा पनि छौं । देशै ब्याडमिन्टनमय भएको छ ।

- कोभिडले गर्दा रोकिएका प्रतियोगिता अहिले भइरहेका छन् भन्न खोज्नुभएको हो ?

हो । कोभिडको विश्वव्यापी महामारीको प्रभाव नेपालमा पनि प-यो । अहिले तिनै प्रतियोगिताहरू भइरहेका छन् । देशभर कुनै प्रदेश स्तरीय, कुनै राष्ट्रियस्तरका प्रतियोगिता भइरहेका छन् । जस्तै भर्खरै सम्पन्न पुष्पलाल स्मृति प्रतियोगिता पनि राष्ट्रिय स्तरको हो । भक्तपुरको पनि राष्ट्रिय स्तरको थियो ।

जिल्ला संघहरूले पनि राष्ट्रिय स्तरका प्रतियोगिताहरू गरिरहेका छन् । त्यसबाहेक प्रदेशस्तरका प्रतियोगिता भइरहेका छन् । क्लब स्तरका पनि भइरहेका छन् । समग्रमा धेरै प्रतियोगिता भइरहेका छन् ।

- संघतर्फ फर्कौं, ब्याडमिन्टन संघको कार्यकाल सकिएको होइन र ?

हाम्रो कार्यकाल सकिइसकेको छ । हाम्रो चारवर्षे कार्यकाल बढेर ५ वर्षभन्दा पनि धेरै भइसकेको छ । हाम्रोमात्र होइन, ३०-३५ संघहरूको अवस्था हाम्रोजस्तै छ । हामीले कार्यकाल सकिनु अगाडि नै राष्ट्रिय खेलकुद परिषदमा अधिवेशन गरेर चुनावमा जान पाउँ भनेर निवेदन गरेका थियौं । तर, नयाँ खेलकुद ऐन आउने कुरा भएकाले त्यो रोकियो । अहिले ऐन आइसकेको छ । तर, त्यसमा अधिवेसनबारे स्पष्ट कार्यविधि नभएकाले परिषद्ले साधारणसभा रोकिराखेको छ । अब परिषदले निर्देशित गरेपछि चाँडै चुनाव गर्छौं ।

- संघले पनि चुनाव गर्न नचाहिरहँदा परिषदको कदम राम्रो बहाना भएको हो ?

त्यस्तो नभनौं । त्यस्तो होइन । तर, कहिलेकाहीं त्यस्तो देखिन्छ पनि । हाम्रो (चुनाव) नभइरहेको, परिषदले निर्देशित नगरिरहेको र वातावरण पनि त्यस्तै देखिएको हुनाले त्यस्तो लाग्न सक्छ । तर, वास्तवमा बहाना गरेका होइनौं ।

- वातावरण भन्नाले ब्याडमिन्टन संघमा विवाद छ भन्ने सुनिन्छ, त्यही भन्न खोज्नुभएको हो कि ?

होइन, होइन । ब्याडमिन्टन एउटा चलायमान संघ हो । पैसा त्यत्तिकै नहोला, तर फुटबल र क्रिकेटलाई टक्कर दिने संघ भइसकेको छ । त्यति चलायमान छ । देशभर यति धेरै खेलाडीले ब्याडमिन्टन खेल्छन् कि नेपालमा सबैभन्दा धेरै खेलिने खेल नै ब्याडमिन्टन भइसकेको छ । यसरी संघ ठूलो हुँदा स-साना कुराहरू हुन्छन् । हामी कार्यक्रम गर्दा छलफल गर्छौं । विवाद होइन । कहिलेकाहीं एउटै घरमा त भाँडाकुँडा बज्छन्, त्यस्तो हुन्छ । खासै विवाद होइन ।

कामको क्रममा छलफल हुने हो । छलफलमा विवाद हुन्छ । निष्कर्ष निस्कन्छ । त्यस्तो अरू केही विवाद छैन ।

- नेपाली ब्याडमिन्टनको स्तर अहिले कहाँनिर छ र यसको सम्भावना कत्तिको छ ?

स्तरको कुरा गर्दा... नजिकको कुरा जुनियरतर्फ विश्व वरीयताको शीर्षस्थानमा रहेका प्रिन्स दाहाललाई हेर्न सकिन्छ । यस्तै, जुनियर महिलातर्फ पनि रसिला महर्जन डबल्सको सातौं वरीयतामा छिन् । त्यस्तै, रत्नजित तामाङ शीर्ष १०० जनामा परेका खेलाडी हुन् । दीपेश धामी त्यस्तै राम्रो खेलाडी हुन् ।

खासमा ब्याडमिन्टनको पावर हाउस नै एसिया हो । एसियामै खेलेर यति राम्रो वरीयता हासिल गर्नु, नतिजा दिनु, देशभर ब्याडमिन्टनको माहोल हुनु, खेलाडीको स्तरअनुसार  प्रतियोगिता बढी हुनु, अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता धेरै भइरहेको छ । हामी दुई वटा एसियाली खेलकुदमा पाँचौं भयौं । एसियामा टिम इभेन्टमा पाँचौं हुनु भनेको हाम्रा लागि ठूलो उपलब्धि हो । त्यसका साथै पाकिस्तानमा स्वर्ण पदक, सागमा पाँचवटा पदक, प्रिन्सले दुबईमा जितेको दुई स्वर्ण पदक, यु-२१ को रिजनल गेमको फाइनल पुग्यौं । समग्रमा हाम्रो कार्यकालमै १ सय १० वटा अन्तर्राष्ट्रिय पदक जितेका छौं । यसले पनि ब्याडमिन्टनको स्तर कहाँ पुगेको छ भन्ने प्रस्ट हुन्छ ।

- ब्याडमिन्टनका लागि पर्याप्त भौतिक संरचना छन् त ?

ब्याडमिन्टनका संरचना नपुग होइन, राम्रै छ । तर, एउटा विडम्बना के भने ब्याडमिन्टन संघको आफ्नै कभर्डहल छैन । हामीले तीन वर्षअगाडि नैकापमा आफ्नै कभर्डहल बनाउने भनेर शिलान्यास पनि गरेका थियौं । तत्कालीन सदस्यसचिव केशवकुमार विष्ट हुँदा उहाँले शिलान्यास गर्नुभएको थियो । जबकि त्यो अझैसम्म बनाउन सकिएको छैन ।

त्यो हुन नसक्नुका केही कारणहरू छन् । तीमध्ये प्रमुख कारण कोभिड हो । त्यस बेलामा हामीलाई एक पटक ५० लाख र एक पटक ३५ लाखको बजेट आएको थियो । त्यो बजेटले हामीले फाउन्डेसन तयार गरेर ६ वटा कोर्टका लागि पुग्ने गरी पिलरहरू उठाएका छौं । त्यसपछिको बजेटमा कोभिडले गर्दा भएन । त्यो बेलामा पनि दुई वर्ष २-२ करोड बजेट हालिदिएको भए ६ वटा कोर्ट भएको ब्याडमिन्टन संघको आफ्नै कभर्डहल तयार भइसक्थ्यो । जिल्लाबाट खेलाडी ल्याएर खेलाउने अवस्था आइसक्थ्यो । त्यो गर्न नसक्नु एउटा विडम्बना भएको छ ।

अहिले कोभिडको प्रभाव विस्तारै सकिँदै गएको छ । आशा गरौं, चाँडै नै सरकारबाट बजेट छुट्टिएला र तयार गर्न सक्छौं भन्ने विश्वास छ ।

- तपाईं आफैं खेलाडी, नेतृत्वमा पुग्नुभएको छ । नेतृत्वमा पुगेर गर्न चाहेका कुरा यति नै हुन् त ?

अवश्य पनि यति मात्रै होइनन् । म पहिलेदेखि नै जुझारु मान्छे । मिडलक्लासबाट आएको मान्छे भएकाले म मिहिनतमै विश्वास गर्छु । र, मिहिनेत गरेर आएको मान्छे, ९/१० वर्षको उमेरदेखि मैले खेल्न सुरु गरें ।

त्यसपछि मैले तीन पटक सिंगल्स-डबल्स जुनियर च्याम्पियनसिप जितें । त्यसपछि मैले तीन पटक मेन्स सिंगल्स जितें । ६ पटक मेन्स डबल्स जितें । त्यसक्रममा मैले बंगलादेशमा भएको इन्टरनेसनल लगायत अन्तर्राष्ट्रिय पदक पनि जितें । म त्यो बेलादेखि नै जुझारु खेलाडी थिएँ । अझै पनि मिहिनेत गर्नुपर्छ र ब्याडमिन्टनलाई एउटा स्तरमा पुर्याउनुपर्छ भन्ने नै मेरो ध्येय हो । त्यसैले साथीभाइहरूले पनि तिमी पहिलेदेखि मिहिनेत गर्ने मान्छे हौं, अब ब्याडमिन्टनको विकास गर्न हामी लाग्नुपर्छ भन्ने भएपछि त्यसै हिसाबले म आएको हुँ । पहिले महासचिव भएर र अहिले अध्यक्ष भएर काम गरिरहेको छु । अहिले ब्याडमिन्टन जुन स्तरमा पुगेको छ, त्यतिमात्रै गर्छु भनेर आएको पक्कै पनि होइन ।

गर्न धेरै बाँकी छ । तर, धेरै विकास गर्न संघले मात्रै गरेर नपुग्ने रहेछ । सबैभन्दा पहिले आर्थिकको कुरा आउने रहेछ । सरकारले कत्तिको समर्थन गरेको छ ? खेलाडी उत्पादनको कुरा... किनभने.. स्तरवृद्धि भनेको खेलाडीबाट हुने हो । खेलाडीले प्रतियोगिता जित्नु पर्यो नि...। यसै  खेल भनेर खेलाडीले जित्दैनन् । खेलाडीलाई जित्ने बनाउन धेरै मिहिनेत गर्नुपर्छ । उसलाई पोषणदेखि लिएर रहनसहनसम्म हेर्नुपर्छ । एउटा खेलाडीले ढुक्क भएर खेल्न पाओस्, भविष्य मेरो के हुन्छ, के गर्नुपर्छ भन्ने उसले सोच्नु पनि नपरोस् ।

म फ्री छु । म ब्याडमिन्टन खेल्छु । म ब्याडमिन्टनको विश्वस्तरमा पुग्छु भन्ने खेलाडीलाई त्यो कुरा दिमागमा राखेर खेलाउन सक्ने अवस्था सबै ठाउँबाट हुनुपर्छ । यसमा सरकारी पक्ष, नेपाल ब्याडमिन्टन संघ, राष्ट्रिय खेलकुद परिषद लाग्नुपर्यो । ओलम्पिक कमिटी लाग्नुपर्यो, कर्पोरेट सेक्टरले पनि खेलकुद बुझेर समर्थन गर्नुपर्यो ।

समग्रमा सबै मिलेर लाग्ने हो भने ब्याडमिन्टन एकदमै सम्भावना भएको खेल हो । किनभने शारीरिक रूपमा पनि नेपालीलाई विश्वमा नम्बर एक हुन सुहाउँदो खेल हो यो । त्यसैले ब्याडमिन्टन एकदमै सम्भावना भएको खेल हो । भविष्यमा अझै राम्रो हुनसक्ने देखिन्छ ।

- क्रिकेट र फुटबललाई टक्कर दिने भयौं पनि भन्नुहुन्छ । विश्वमा नम्बर एक हुने सम्भावना बोकेको पनि भन्नुहुन्छ अनि संघले मात्रै गरेर पुग्दैन भन्नु बहाना जस्तो भएन र ?

उनीहरूले कहिलेकाहीं कोभिडकै कारण चलायमान होस् भनेर ५ हजार डलर दिन्छ, यसलाई क्रिकेट-फुटबलसँग तुलना गर्दा सयौं गुणा बढी हुन्छ होला । मैले भन्न खोजेको उहाँहरूसँग देशको माटो सुहाउँदो खेल भएकाले हामी प्रतिस्पर्धा पनि गर्न सक्छौं । तर एउटा चुनौती भनेको चाहिँ आर्थिक कारण हो । त्यसैले यो कुरा जोड्न चाहेको हो ।

क्रिकेट र फुटबललाई किन जोड्न चाहें भने ती यसै प्रतिष्ठित खेलहरू हुन् । मास गेम हुन् । अहिले फुटबल र क्रिकेटले जे हासिल गरिरहेको छ, त्यो सराहनीय छ । हामी तीन करोड नेपालीले नै त्यसको एप्रिसिएट गर्नैपर्छ । तर उहाँहरूलाई के सहज पक्ष छ भने अन्तर्राष्ट्रिय संस्था फिफा र आइसिसी धेरै बलिया छन् । आर्थिकको मैले कुरा गरें नि ? भोलि एउटा प्रतियोगिता गर्न, खेलाडी प्रमोट गर्न, संघको व्यवस्थापनमा अलिकति कम सोच्दा पनि पुग्छ । किनभने उहाँहरूलाई आर्थिक सहयोग हुन्छ । तर, ब्याडमिन्टनलगायत अन्य खेलहरूले त्यसबारे अलि धेरै सोच्नुपर्छ । किनभने वल्र्ड फेडेरेसन, ब्याडमिन्टन एसिया त्यति सम्पन्न छैनन् ।

उनीहरूले कहिलेकाहीं कोभिडकै कारण चलायमान होस् भनेर ५ हजार डलर दिन्छ, यसलाई क्रिकेट-फुटबलसँग तुलना गर्दा सयौं गुणा बढी हुन्छ होला । मैले भन्न खोजेको उहाँहरूसँग देशको माटो सुहाउँदो खेल भएकाले हामी प्रतिस्पर्धा पनि गर्न सक्छौं । तर एउटा चुनौती भनेको चाहिँ आर्थिक कारण हो । त्यसैले यो कुरा जोड्न चाहेको हो ।

- भावी योजना केही छन् ?

अब हुने साधारणसभामा अध्यक्षको दाबेदार म पनि छु । अहिलेकै टिमलाई निरन्तरता दिने योजना छ । अहिले जिल्लामा पनि सक्रिय साथीहरू हुनुहुन्छ । उहाँहरूलाई पनि मिलाएर लैजाने छु । अनुभव, नयाँ जोस र कर्पोरेट सेक्टर सबैलाई लिएर आगामी कार्यकालमा जाने योजना बनाएको छु ।

- ब्याडमिन्टन संघको चाहिँ अबको योजना के हो त ?

हामी तुरुन्तै नेसनल च्याम्पियनसिप गर्छौं । त्यसपछि हाम्रो योजनाअनुसार नेपाल इन्टरनेसनल च्याम्पियनसिप गर्नेछौं । जुन सन् २०१६ देखि निरन्तर भइरहेको छ । त्यो वर्ष हामीले १० हजार डलरको सिरिज गर्यौं, सन् २०१७ मा त्यसैलाई निरन्तरता दियौं । २०१८ मा आएर सिरिजसहित यु-२१ रिजनल सिरिज गर्यौं । सन् २०१९ मा आएर चारवटा अन्तर्राष्ट्रिय प्रतियोगिता गर्यौं ।

१० हजार डलरको सिरिज, २५ हजार डलरको नेपाल इन्टरनेसनल च्यालेन्ज, जुनियर इन्टरनेसनल र साग पनि गरेका थियौं । जुन हामीले लामो समयदेखि निरन्तर गरिरहेका थियौं । त्यो पनि यो वर्षदेखि गर्छौं । ब्याडमिन्टन संघले गर्ने ती प्रतियोगिताहरू हुन् । बाँकी रिफ्रेसर कोर्सदेखि लिएर अम्पायर कोर्सलगायत नियमित कार्यक्रमहरू पनि हामी गर्छौं ।

- अन्तर्राष्ट्रिय प्रतियोगिता पछिल्लो समय नहुनुका खास कारण के हो ?

मुख्य कारण कोभिड नै हो । सन् २०२० को फेब्रुअरीसम्म हाम्रो संघ एकदम चलायमान थियो । त्यसबेला हामीले ओलम्पिक लक्षित गर्दै रत्नजित (तामाङ) लाई युरोप पठाएका थियौं । त्यो बेला उसले युरोपका ६ वटा प्रतियोगिता, एउटा सर्किट नै खेल्न पाएका थिए ।

सुपर सिरिज पनि भारत, थाइल्यान्ड र युरोपका केही देशमा मात्रै भइरहेका छन् । जहाँ एकदमै स्वास्थ्य मापदण्ड ख्याल गरेर, खेलाडी र देश पनि सीमित गरेर मात्रै प्रतियोगिता भइरहेका छन् । हाम्रोमा नभएको चाहिँ कोभिडले गर्दा हो । दुई वर्ष ग्याप भयो, अब हामी सुरु गर्छौं ।

योसँगै हामीले प्रिन्सलाई युरोपका दुई वटा प्रतियोगिता जुनियर इन्टरनेसनलमा खेल्न पठाएका थियौं । त्यसपछि ठ्याक्कै कोभिडको मार भएर अन्तर्राष्ट्रिय क्यालेन्डर पनि स्थगित भए । अहिले आएर बल्ल एक-डेढ महिनादेखि ती प्रतियोगिता सुरु भएका छन् ।

सुपर सिरिज पनि भारत, थाइल्यान्ड र युरोपका केही देशमा मात्रै भइरहेका छन् । जहाँ एकदमै स्वास्थ्य मापदण्ड ख्याल गरेर, खेलाडी र देश पनि सीमित गरेर मात्रै प्रतियोगिता भइरहेका छन् । हाम्रोमा नभएको चाहिँ कोभिडले गर्दा हो । दुई वर्ष ग्याप भयो, अब हामी सुरु गर्छौं ।

हामीले कोभिडबाट प्रभावित हुनुअघि सन् २०१९ मा चारवटा इन्टरनेसनल च्याम्पियनसिप गर्यौं । प्रतियोगिताबाहेक एक जिल्ला एक कोचको अवधारणा महासचिवले ल्याउनुभएको थियो । त्यो ल्याउनुको कारण त्यसबेला हामीले ४० जना कोच तयार गरेका थियौं । त्यो समयमा हामीले एकदमै धेरै कार्यक्रम गरेका कारण २०७६ सालमा नेपाल सरकारले उत्कृष्ट संघको अवार्ड प्रदान गरेको थियो । त्यसरी बढिरहेका थियौं । त्यो समयमा ठ्याक्कै कोभिडका कारण मान्छे बाहिर निस्किनै नसक्ने अवस्था भएकाले ब्याडमिन्टन संघका नियमित कार्यक्रम रोकिन गएको हो ।

- अब फेरि २०७६ सालको ब्याडमिन्टन संघ देख्न पाइन्छ ?

अवश्य पाइन्छ । अब हामीले त्यो समयमा जुन हिसाबले कार्यक्रम गर्यौं, ब्याडमिन्टन एसियामा पनि हामी साफ रिजनमा भारतपछि सबैभन्दा धेरै कार्यक्रम गर्ने नेपाल थियो । त्यो कुरा ब्याडमिन्टन एसियाले पनि एप्रिसिएट गरेको थियो । अब हामी फेरि त्यही हिसाबले अगाडि बढ्ने तयारीमा छौं ।

कोभिडको समय ब्याडमिन्टन हराएजस्तो भएको थियो, तर अहिले त्यो चिरिइसकेको छ । विगत ६ महिनायता हेर्नुभयो भने यो महिनामात्रै चारवटा प्रतियोगिता हुँदै छ । बुटबलमा इन्टरनेसनल स्ट्यान्डर्डको हुन लागेको छ । भक्तपुरमा सकियो, जेष्ठ ब्याडमिन्टन एकेडेमीले गर्न लागेको छ । पुष्पलाल स्मृति भयो अरू पनि हुँदै छ । योभन्दा अगाडि पनि जिल्लामा एकदम चलायमान भएको छ । खेलाडीलाई फुर्सद नै छैन ।

अब ब्याडमिन्टन पुरानै लयमा आउने क्रम सुरु भइसकेको छ । म दर्शकहरूलाई पनि ब्याडमिन्टन एउटा स्वच्छ गेम हो, यसलाई हेरिदिनुहोला, माया गरिदिनुहोला, यसको विकास गर्न तलदेखि माथिसम्म लागिदिनुहोला, हामी सबै एकजुट भएर मात्रै ब्याडमिन्टन विकास गर्न सकिन्छ भन्न चाहन्छु । एकदम सम्भावना भएको र खेलाडी पनि अनुशासित हुने खेल हो । खेलाडीलाई जागिर दिएर जसरी सहयोग गर्नुभएको छ, विभागीय टिमलाई पनि म धन्यवाद भन्न चाहन्छु । जिल्लाबाट पनि सहयोग छ । सबै ब्याडमिन्टनप्रेमी परिवारलाई धन्यवाद दिँदै सधैं माया गरिरहनुहुन आग्रह गर्छु ।