पोखरा । पेसाले मनिष थापा चिकित्सक हुन् । आर्मीका जागिरे । इन्टरभेन्सनल रेडियोलोजीका विज्ञ थापा नेपाली सेनाका मेजर हुन् । काठमाडौंको ज्ञानेश्वरका स्थायी बासिन्दा थापाले ३८ वर्षको उमेरमा अर्को एउटा पनि व्यावसायिक परिचय स्थापित गरेका छन् ‘फेन्सरको’ ।
पोखरा रंगशाला अहिले नवौं राष्ट्रिय खेलकुदको माहोलमा रन्किएको छ । शुक्रबार उपराष्ट्रपति नन्दबहादुर पुनले उद्घाटन गरेपछि राष्ट्रिय खेलकुद औपचारिक रूपमा सुरु भयो । तर त्यसअघि नै राष्ट्रिय खेलकुदअन्तर्गत फेन्सिङको प्रतियोगिता भने सम्पन्न भइसकेको थियो ।
दुई विभागीय टोली तथा चार प्रदेशको सहभागिता रहेको प्रतियोगितामा १२ स्वर्ण पदकका लागि प्रतिस्पर्धा भएको थियो । त्यही प्रतिस्पर्धामा नेपाली सेनाको टोलीलाई कप्तानको रूपमा नेतृत्व गरेका डा. थापाले स्वर्ण पदक जिते । टिम सेबरमा उनीसँगै रघुबहादुर चन्द, उपेन्द्र शाही र नूरथापा मगरको टोलीले फाइनलमा वाग्मती प्रदेशलाई निराश पार्दै स्वर्ण पदक जित्यो ।
प्रत्येक खेलाडीका लागि राष्ट्रिय खेलकुदको सहभागिता विशेष रहने गर्छ । अझ पदक जित्न सक्यो भने त्यो सहभागिता झनै विशेष बन्छ । स्वर्ण पदक जित्दाको उत्साह त झनै विशेष हुने नै भयो । डा. थापाका लागि यसपालिको राष्ट्रिय खेलकुद त्यस्तै विशेष रह्यो । सायद उनीसँगै स्वर्ण पदक जित्ने अरू खेलाडीको भन्दा पनि विशेष ।
‘राष्ट्रिय स्तरको प्रतियोगितामा यो मेरो पहिलो सहभागिता हो । पहिलो पटक नै स्वर्ण पदक जित्न सकियो । ३८ वर्षको उमेरमा पहिलो प्रतियोगिता खेल्दा नै सफलता हात परेकाले पनि यो मेरा लागि निकै विशेष छ । यात्राको सुरुआत नै सुखद भयो । यसले अझै अगाडि बढ्न उर्जा मिलेको छ,’ डा. थापाले खेलाडी डटकमसँग भने ।
मेडिकल साइन्सका विद्यार्थी भएकाले उनले सही उमेरमा खेलकुदमा लाग्ने मौका पाएनन् । ३० कटिसकेपछि हो उनले फेन्सिङबारे थाहा पाएको । खेल्न थालेको त चार वर्षमात्र भयो, त्यो पनि सबै काम भ्याइसकेपछिको फुर्सतमा मात्र । तथापि फेन्सिङको नसाले सेनाका डाक्टरलाई लठ्याइसकेको छ । यो खेलबाट अब छुट्टिनै कुनै सम्भावना छैन ।
सात वर्षअघि डा. थापा रेडियोलोजीमा एमडी गर्न भारतीय आर्म फोर्स मेडिकल कलेज पुने गएका थिए । त्यहाँ उपचारका लागि घुँडामा समस्या लिएर आउने बिरामीको उनले उपचार गर्नुपर्थ्यो । बिरामीमा केही नेपाली गोर्खाहरू पनि हुन्थे । नेपाली बिरामी र नेपाली नै चिकित्सक भएपछि स्वाभाविक रूपमा स्वास्थ्य समस्याबाहेक पनि कुरा हुन्थे । अपनत्व भनेको त्यही त हो ।
‘मकहाँ आएका केही बिरामीको समस्या खेलाडीको जस्तो थियो । मैले कुन खेल खेल्नुहुन्छ भनेर सोधेपछि उनीहरू फेन्सिङ खेल्ने रहेछन् भन्ने थाहा भयो । पछि उनीहरूले मलाई पनि खेल्न निम्तो दिए । रमाइलो हुन्छ भनेपछि म पनि गएँ,’ फेन्सिङ खेलसँग भएको पहिलो साक्षात्कार डा. थापाले सम्झिए, ‘त्यहाँ पुग्दा त अफिसरहरू फेन्सिङ ड्रेस लगाएर सानका साथ खेल्दा रहेछन् । त्यो देखेपछि मलाई झनै रमाइलो लाग्यो । आफू पनि खेल्न मन लाग्यो । त्यसपछि तिनै मकहाँ उपचारका लागि आउने गोर्खाहरूले मलाई अलिअलि सिकाए । फुर्सतमा कहिलेकाहीं गएर यसो खेल्थेँ ।’
एमडी गर्न गएको विद्यार्थीले पढाइ र अस्पतालबाट समय निकाल्न गाह्रो थियो । त्यसकारण फेन्सिङ रमाइलो लागे पनि उनले पुनेमा खासै खेल्न चाहिँ पाएनन् । तर, सन् २०१८ मा नेपाल फर्किएपछि भने उनलाई यो खेल खेल्ने वातावरण नेपाली सेनाको त्रिभुवन आर्मी क्लबले जुराइदियो । उनी फर्किँदासम्म क्लबमा फेन्सिङ भित्रिइसकेको थियो ।
आफूलाई मनपर्ने खेल भएकाले उनले फुर्सतको समय क्लबमा गएर फेन्सिङ र्याम्पमा तरबार खेलाएर बिताउन थाले । जति खेल्दै गयो, उति नै यो खेलको नसा पनि बढ्दै गयो । त्यसमाथि फेन्सिङ संघका अध्यक्ष सुनीलकुमार श्रेष्ठ, महासचिव सुजनलाल श्रेष्ठ लगायतका पदाधिकारीसँगको भेटपछि झनै उत्साह बढ्यो । खेलाडी बन्ने र प्रतिस्पर्धाहरूमा भाग लिने हुटहुटीले सताउन थाल्यो । त्यहीअनुसार केही समयअघि काठमाडौंमा सम्पन्न वीर गणेशमान सिंह राष्ट्रिय फेन्सिङ प्रतियोगितामा भाग लिन उनले सबै तयारी गरिसकेका थिए । उच्च फर्ममा रहेका बेला भएकाले उनलाई त्यहाँ व्यक्तिगत स्पर्धामै स्वर्ण पदक जित्ने आशा थियो ।
तर, इन्टरभेन्सनल रेडियोलोजीको ट्रेनिङका लागि नयाँ दिल्ली जानुपरेकाले उनले त्यो प्रतियोगिता खेल्न पाएनन् । दिल्लीबाट ट्रेनिङ सकेर फर्किएको एक महिनामात्र भयो । दिल्लीमा रहँदाको एक वर्ष फेन्सिङसँग उनको नाता टुटेजस्तै भएको थियो । नेपाल फर्किनेबित्तिकै नवौं राष्ट्रिय खेलकुद हुन लागेको थाहा पाएपछि उनले एक महिना बिहान एक घण्टाका दरले अभ्यास गर्न थाले ।
‘गणेशमान फेन्सिङ खेल्न पाएको भए राम्रो नतिजा आउँथ्यो । त्यो बेला राम्रो फर्ममा थिएँ । तर दिल्लीमा एक वर्ष खेल्न नपाउँदा लय बिग्रियो । तैपनि एक महिनाको अभ्यासले राम्रै गर्यो,’ व्यक्तिगत स्पर्धाको क्वार्टरफाइनलमै पराजित भएका डा. थापाले भने, ‘म अहिले फेन्सिङमा सबभन्दा बढि उमेरको खेलाडी हुँ । नेपाली वरियताको शीर्ष आठसम्म पुगेको छु । योभन्दा माथि जाने लक्ष्य छ । राष्ट्रिय खेलकुदको अनुभवले झनै उत्साह थपिएको छ ।’
फेन्सिङ शारीरिक खेल हो । यसका लागि उच्चस्तरको फिटनेस चाहिन्छ । डा. थापाको अनुभवमा यसले फिटनेस बढाउने काम पनि गर्छ । यो खेल नियमित व्यायाम गर्नेका लागि उपयुक्त हुने उनको सुझाव छ । खेल पोसाक र सामग्री महँगो हुनुका साथै आकर्षक पनि हुने भएकाले खासगरि विश्वभर नै सम्भ्रान्तहरूको यो खेलमा लगाब बढी पाइन्छ । नेपालमा पनि स्वस्थ रहन ठूलो रकम खर्चेर फिटनेस क्लब धाउनेका लागि फेन्सिङ अर्को राम्रो विकल्प हुनसक्ने उनको भनाइ छ । फेन्सिङको पोसाक र तरबारलगायतका सबै सामग्री एक सेटको २५ हजारदेखि एक लाख रुपैयाँसम्म पर्छ ।
शारीरिक रूपमा ‘डिमान्डिङ’ हुनुका साथै फेन्सिङ मानसिक खेल पनि हो । फेन्सिङको दर्शनले यसलाई ‘बडी चेस’ (शारीरिक बुद्धिचाल) भन्छ । ‘यो शारीरिक फिटनेसका भरमा मात्र खेल्न सकिन्न । यो दिमागले खेल्ने खेल हो । हातमा तरबार लिएपछि विपक्षीले कसरी हान्छ, त्यसलाई कसरी रोक्ने र त्यहीअनुसार आफूले कसरी आक्रमण गर्ने भन्ने कुरा तत्काल निर्णय गर्नुपर्छ,’ डा. थापाले फेन्सिङको बयान गरे, ‘यही कारण हो विदेशमा फेन्सरको निकै इज्जत छ । फेन्सिङ खेल्ने मान्छे भनेपछि विदेशमा पाउने सम्मान नै विशेष हुन्छ ।’
चालिस पुग्न लागिसकेका डा. थापाको शीर्ष वरीयताप्राप्त खेलाडी बन्ने इच्छा छ । ‘तर के गर्नु, दुर्भाग्यवश केटाहरू अनुभवी र फुर्तिला छन् । यो उमेरमा खेलेर पनि शीर्षस्थान हासिल गरेर म उदाहरण बन्न चाहन्थें । दुर्भाग्य, यसलाई प्रमाणित गर्न पाइएन,’ उनले हाँस्दै भने, ‘तर यो त सुरुआतमात्र हो । वास्तविक यात्रा अब सुरु हुन्छ । फेन्सिङको नसा लागिसक्यो । शीर्ष खेलाडी बन्ने र नेपालको प्रतिनिधित्व गरेर अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने सपना उस्तै छ ।’
नेपालमा भेट्रान फेन्सिङको सुरुआत भइसकेको छैन । डा. थापा ४० वर्ष पुगेपछि भेट्रान फेन्सिङ सुरु गर्ने योजनामा छन् । भेट्रान फेन्सरको रूपमा पनि देशलाई प्रतिनिधित्व गर्दै अन्तर्राष्ट्रिय र्याम्पमा तरबार चलाउने उनको सपना छ ।