सानोछँदा दशरथ रंगशाला छिर्नेक्रममा सुशील घिमिरे कल्पना गर्थे, ‘हाम्रो हेटौंडामा पनि एउटा रंगशाला भए कस्तो हुन्थ्यो होला ?’
अहिले ४१ वर्षको उमेरमा उनी ढुक्कले भन्न सक्ने भएका छन्, ‘हो, हाम्रो हेटौंडामा पनि एउटा रंगशाला छ ।'
'अझ त्यो रंगशाला हामी आफैंले बनाएका हौं’ भन्दा दक्षिण एसियाली खेलकुदमा रजत पदक जितेका यी बक्सरको छाती गर्वले चौडा हुन्छ ।
|
नहोस् पनि किन ? त्यो उनले आफ्नै नेतृत्वमा बनाएको रंगशाला हो । पिप्ले क्याम्पा रंगशाला । हेटौंडा बजारबाट साढे दुई किलोमिटर पूर्वतिर मदन भण्डारी राजमार्गको छेवैमा । कर्रा खोलाको बगरमा । कुनै बेला कर्रा खोलाले वितण्डा मच्चाउँदै बग्ने गरेको उजाड ठाउँमा ।
राष्ट्रिय/अन्तर्राष्ट्रिय रूपमा नेपाली फुटबलको ठेक्का लिएर बसेको अखिल नेपाल फुटबल संघ (एन्फा)ले चासो नदिइरहेका बेला, नेपाली खेलकुदको सर्वोच्च निकाय भन्दै आफूअन्तर्गतका संघहरूलाई डण्डा चलाउन मस्त रहेको राष्ट्रिय खेलकुद परिषदको धमिरा लागेको प्रशासनले नसकिरहेका बेला, समाजसेवाको उदाहरण पेस गर्ने दाबीका साथ देश/विदेशमा उत्तिकै चर्को हल्ला र चन्दा आतंक मच्चाउनाका बाबजुद धुर्मुस–सुन्तलीले हात उठाइसकेका बेला, स्वयं सरकार असफल भइरहेका बेला सुशील र उनका साथीहरूले सुटुक्कै बनाएको ठूलो पूर्वाधार हो, यो रंगशाला ।
‘हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले यसमा हामीलाई ठूलो सहयोग गर्नुभयो । वडा नम्बर ५ का अध्यक्ष एवं हाम्रो पिप्ले युवा क्लबका पूर्वअध्यक्ष राजेश बानियाँले रंगशाला निर्माण अभियानमा मेरुदण्डको भूमिका निर्वाह गरिदिनुभयो,’ रंगशाला निर्माणको अगुवाइ गरेका क्लबका वर्तमान अध्यक्ष घिमिरे सहयोगीलाई जस दिन कत्ति पनि कञ्जुस्याँइ गर्दैनन् ।
|
सुशीलको त्यही स्वभावले त हो पिप्लेमा एक वर्षको बीचमै रंगशाला ठडिएको । सम्पूर्ण हेटौंडाले रंगशालाप्रति स्वामित्व लिने वातावरण बनेको छ । स्पष्ट योजना र इमानदारी भए जस्तोसुकै चुनौतीपूर्ण काम पनि सहजै गर्न सकिन्छ भन्ने उदाहरण स्थापित गराएका छन्, यीनै युवाले ।
वर्षमा पौने अर्ब रुपैयाँको बजेट चलाउने एन्फाका नेताहरूले वर्षौंदेखि गनगन गरिरहे पनि एउटा ढंगको पूर्वाधार बनाउन नसकेका बेला हेटौंडामा केही युवाको अग्रसरतामा ५ हजार दर्शक क्षमताको सिंगो रंगशाला ठडिनु पक्कै सानो कुरा थिएन । त्यो पनि बनाउन सुरु गरेको एक वर्षमै । हो, गत वर्ष कर्रा खोला बगेर बनेको गहिरो डुँडलाई पुरेर निर्माणको काम सुरु गरेको एक वर्ष पनि नबित्दै त्यही रंगशालामा वाग्मती प्रदेश खेलकुदको उद्घाटन समारोह भइसकेको छ ।
राज्यले गरेको प्रदेशस्तरको महत्वाकांक्षी खेलकुद गर्न सक्षम रंगशाला बनाउँदा सुशील र उनका साथीहरूले अपनाएको मोडल झनै प्रेरणादायी छ । कसैसँग चन्दा नमाग्ने, आफूखुसी दिनेलाई नाइँ नभन्ने उनीहरूको योजना थियो । समाजसेवा गर्दै छु भनेर हल्ला त विल्कुलै नगर्ने उनीहरूको अठोट थियो । जसमा उनीहरूको इमान्दार प्रयास सफल पनि भयो । त्यही कारण त हो, रंगशाला ठडिइसक्दा समेत पनि फुटबलमै लागेका कैयौं पदाधिकारीहरू वाग्मती प्रदेशको राजधानीमा भइरहेको यो ठूलो अभियानबाट बेखबर थिए । प्रदेश खेलकुदको उद्घाटन एउटा नयाँ रंगशालामा भएको देखेपछि मात्र देशभरका फुटबलकर्मीले यसको खबर पाएका हुन् ।
‘कसैसँग पनि चन्दा नमाग्ने र समाजसेवाको नाममा जोरजबरजस्ती नगर्ने हाम्रो योजना थियो । हाम्रो जिल्लामा नभएको पनि, सबैको चाहना, हेटौंडा खेलकुदको हब, खेलाडी उत्पादन गर्ने ठाउँमा यो काम आँट्दा सजिलै स्वस्फूर्त रूपमा सहयोग पाइयो,’ सुशील भन्छन्, ‘एउटा राम्रो शुभकार्य गरिरहेको देखेर हाम्रा स्थानीय समाजसेवी, व्यवसायीहरू, शुभचिन्तकहरू प्रभावित भएर जन्मोत्सव, एनिभर्सरीजस्ता अवसरमा आफैं आएर ५ हजार, १० हजार सहयोग गर्नुभयो । कत्तिले जिन्सी सहयोग गर्नुभयो । बालुवा, गिट्टी, सिमेन्टजस्ता निर्माण सामग्री सहयोग गर्नुभयो । साना नानीहरूले आफ्नो टिफिन काटेर, सामान्य आर्थिक अवस्थाका मानिसहरूले पनि कुखुरा बेचेर, खसी बेचेर रंगशाला बनाउन सहयोग गर्नुभएको छ ।’
स्वस्फूर्त सहयोग गर्न अघि सरेकामध्ये एउटा घटनाले सुशीलको मन निकै रसायो । १०–१२ वर्षका एक बालक लिएर उनकी आमा एकाबिहानै सुशीलको घरमै आइपुगिन् । ‘आज मेरो छोराको जन्मदिन, हामी आमाछोराको तर्फबाट यो सहयोग लिइदिनुस्,’ भनेर ८ सय रुपैयाँ दिइन् । त्यसले सुशीललाई निकै भावुक बनायो ।
‘त्यो ८ सय रुपैयाँ हाम्रा लागि सरकारी स्तरबाट आउने करोडौं रुपैयाँभन्दा बढी महत्वपूर्ण छ । उहाँहरूजस्तैको सहयोगले यो रंगशाला सम्पूर्ण हेटौंडाको स्वामित्वमा तयार भइरहेको छ । हामी पनि त्यस्तै स–साना नानीहरूको भविष्यका लागि खेलकुदको एउटा राम्रो उर्वर भूमि बनाउने लक्ष्य लिएर अगाडि बढिरहेका छौं,’ उनी भावुक भए ।
|
सुशीलका अनुसार ३ हजार दर्शक क्षमताको पक्की प्यारापिट, २ हजार क्षमताको फलामे प्यारापिट, दुईटा शौचालय, अन्तर्राष्ट्रिय मापदण्डअनुसारको एथलेटिक्स ट्र्याक (हाललाई माटोको), तारबार र मैदानसमेत एक वर्षबीचमा बनाइसक्दा एक करोड ७० लाखको हाराहारीमा मात्र लगानी भएको छ । त्यसमा हेटौंडा उपमहानगरको एक करोड ११ लाख छ भने बाँकी स्थानीय तथा देश/विदेशमा रहेका शुभचिन्तकको नगद तथा जिन्सी सहयोग सामेल छ । वडा नम्बर ५ का अध्यक्ष बानियाँको पहलमा प्रदेश सरकारले प्यारापिटमा छानो हाल्न ३० लाख रुपैयाँ दिइसकेको छ । जसको काम धमाधम भइरहेको छ ।
ललितपुरको सातदोबाटोस्थित एन्फा मुख्यालयको भवनमा सामान्य रेनोभेसन, फर्निसिङ र एयर कन्डिसन जडान गर्न मात्र अढाइ करोड रुपैयाँभन्दा बढी रकम खर्च भएको सम्झने हो भने त भ्रष्टाचार, कुशासन र अदूरदर्शिताको खाडलमा आहल बसेको नेपाली फुटबलमा सुशील र उनका साथीहरूले गरेको कामलाई ‘महान’ दर्जा दिन कञ्जुस्याँइ गर्नु जरुरी छैन ।
सुशीललगायतका अगुवाहरूले ५ हजार दर्शकक्षमताको रंगशाला हेटौंडाका लागि पर्याप्त हुने सोचेका थिए । तर प्रदेश खेलकुदका क्रममा उर्लिएको जनसागर देखेपछि उनीहरूलाई लाग्न थालेको छ, ‘यत्तिले पुग्दैन । अब मैदानलाई वरिपरीबाटै प्यारापिटले घेर्नुपर्छ । त्यसो भए १० देखि १२ हजार दर्शक सजिलै अटाउँछन् । त्यति चाहिँ हेटौंडाको फुटबलको आवश्यकता हो ।’
अहिले रंगशालाको पूर्वतिर सिमेन्टको पक्की प्यारापिट ठडिएको छ । पश्चिमतिर फलामको प्यारापिट छ । स्थानीय स्तरबाट भएको योगदानलाई निरन्तरता दिँदै राज्यकै तहबाट पनि सहयोग जुटाएर बाँकी आवश्यकता पूरा गर्ने योजना उनीहरूले बनाएका छन् ।
‘हामीले पहिला नगरपालिका र स्थानीय समाजसेवी तथा व्यवसायीको सहयोगमा हजारौं ट्रक माटो र ग्राभेल हालेर यो ठाउँ पुर्ने काम गर्यौं । त्यसपछि खोलापट्टि माटोकै अग्लो ड्याम बनाएर त्यसैलाई माटोको प्यारापिटका रूपमा प्रयोग गर्न थालेका थियौं,’ सुशीलले उत्साही हुँदै एक वर्षअघिको स्मरण गरे, ‘हाम्रो उपमहानगरका मेयर हरिबहादुर महत बेलाबखत यहाँ आइरहनुहुन्छ । उहाँले यस्तो माटोको प्यारापिट बनाएर हुँदैन । पक्की बनाउनुपर्छ । हामी सहयोग गर्छौं, तपाईंहरू आँट्नुस् भनेर हौसला दिनुभयो । वडाध्यक्षले पनि त्यस्तै भन्नुभयो । त्यसपछि हामीले आटेका हौं । आज हेर्न र खेल्नलायक रंगशाला ठडिएको छ । अब राज्यको ध्यान तानिनुपर्छ । त्यसो भए सहज हुन्छ ।’
मत्स्य विकास केन्द्रअन्तर्गत खोलाको भाग पुरेर बनाएको तीन बिघा १४ धुर जग्गामा निर्मित रंगशालाका लागि वडा कार्यालयले बाटो तथा पार्किङको पर्याप्त व्यवस्था गरिसकेको छ । रंगशाला बनाउन सुशीलले थालेको अभियानले एक चरणको सफलता प्राप्त गरिसकेको छ ।
को हुन् सुशील ?
खासमा सुशील बक्सिङका अन्तर्राष्ट्रिय पदक विजेता खेलाडी हुन् । श्रीलंकाको कोलम्बोमा सन् २००६ मा सम्पन्न १०औं दक्षिण एसियाली खेलकुद (साग) मा उनले नेपालका लागि रजत पदक जितेका थिए । त्यसअघि २००४ मा पाकिस्तानको इस्लामाबाद तथा २०१० मा बंगलादेशको ढाकामा सम्पन्न ११औं संस्करणका साथै २००६ मा कतारको दोहामा भएको एसियाली खेलकुदमा पनि उनी नेपालको प्रतिनिधित्व गर्दै रिङमा उत्रिएका थिए । तर ती तीनवटै अवसरमा उनी पदकबाट विमुख भए । इस्लामाबादमा त उनले भारतका स्टार खेलाडी विजेन्दर सिंहसँग प्रतिस्पर्धा गर्नुपरेको थियो । तत्कालीन समयका विश्वस्तरीय खेलाडी सिंहले इस्लामाबादबाट फर्किएको केही महिनापछि ग्रिसमा भएको ओलम्पिकमा कांस्य पदक जितेका थिए ।
|
सुशीलको करियर बक्सिङबाटै सुरु भएको चाहिँ होइन । सुरुमा उनी करातेका खेलाडी हुन् । १० वर्षको उमेरमै करातेको गी लगाउन सुरु गरेका उनले ८ वर्षपछि बक्सिङलाई गन्तव्य बनाएका हुन् ।
‘त्यतिबेला राष्ट्रिय क्राउन प्रिन्स प्रतियोगिता हुन्थ्यो । मैले त्यो प्रतियोगितामा किक बक्सिङतर्फ स्वर्ण र करातेमा रजत पदक जितेको थिएँ । किक बक्सिङ खेल्ने भएकाले बक्सिङमा मेरो राम्रो हुनु स्वाभाविक थियो । हाम्रो जिल्लामा बक्सिङका खेलाडी अभाव थियो । त्यही भएर ध्रुव गुरुले मलाई ‘बक्सिङमा आऊ, राम्रो हुन्छ’ भन्नुभयो,’ १८ वर्षकै उमेरमा बक्सिङतिर लागेका उनले सुनाए, ‘यसैबाट देशका लागि पदक जित्न सकें । तीनपल्ट साग र एकपल्ट एसियाली खेलकुदमा देशको प्रतिनिधित्व गर्न सकें ।’
१० वर्षअघि बक्सिङको यात्रामा पनि पूर्णविराम लगाउँदै सुशील वैदेशिक रोजगारीका लागि मकाउ हानिए । मकाउमा सात वर्ष परिश्रम गर्दै घर–परिवारप्रतिको आर्थिक दायित्व पूरा गरेर उनी २०७५ सालमा फर्किएका थिए ।
खेल्न छोडे पनि बक्सिङप्रतिको लगाव उनले छोड्न सक्ने कुरा थिएन । आफू नभए पनि हेटौंडाबाटै अरू धेरै सुशील उत्पादन गर्नुपर्छ भन्ने हुटहुटीले उनलाई मकाउमा पनि कहिल्यै छोडेको थिएन । आकर्षक आम्दानी छोडेर देश फर्किनु पछाडिको एउटा मुख्य कारण त्यो पनि थियो । आउनेबित्तिकै उनले स्थानीय स्तरबाटै बक्सिङका खेलाडी उत्पादन गर्नुपर्छ भनेर पिप्ले बजारनजिकै रहेको बाल विकास माविमा एउटा कभर्डहल निर्माण अभियान थाले ।
सुशीलको अभियानमा स्थानीय स्तरबाट सोचेभन्दा धेरै साथ र सहयोग मिल्यो । एक वर्ष नहुँदै कभर्डहल ठडियो । त्यही कभर्डहलमा उनैले प्रशिक्षित गरेका दुई खेलाडीले हालैमात्र भएको जुनियर राष्ट्रिय च्याम्पियनसिपमा पदक जितेका छन् । उनका उत्पादनमध्ये अरुण सापकोटाले स्वर्ण पदक जित्दा सिलेन वाइबाले रजत जितेर सुशीलको अभियानको सार्थकता प्रमाणित गरे । त्यो कभर्डहलले अहिले बक्सिङमात्र नभई अन्य इन्डोर खेललाई पनि सेवा दिइरहेको छ ।
|
‘खासमा भन्ने हो भने त्यही कभर्डहल बनाउँदाको उत्साहले हामी रंगशाला निर्माणको अभियानमा जुटेका हौं,’ पिप्ले युवा क्लबका सचिव दीपेन्द्र ढकाल भन्छन्, ‘सुशील दाइको सोच, वडाध्यक्ष र मेयर’साबको साथ, दाताहरूको सहयोग अनि हामी युवाहरूको मिहिनेतबाट यो सम्भव भयो । सुरुमा उहाँले आफैंले मकाउबाट कमाएर ल्याएको पैसाबाट कभर्डहल सुरु गरेका हौं । त्यसमा राजेश दाइ (वडा अध्यक्ष)ले पनि पैसा हाल्नुभयो । त्यो कभर्डहलको योजना सफल भएपछि हामीले ‘अबको अभियान क्याम्पा रंगशाला निर्माण’ भनेर सुरु गरेका हौं ।’
ढकालको भनाइमा सहमति जनाउँदै वडा नम्बर ५ को नेतृत्व गरिरहेका क्लबका पूर्वअध्यक्ष बानियाँ थप्छन्, ‘हाम्रो क्लबका अध्यक्ष सुशीलजीले निर्माण अवधिभर आफैं लेभरसरह मसला बनाउने काम गर्नुभयो । प्रदेश खेलकुदपछि मात्र उहाँ अलि सुकिलो लुगा लगाएर आउन थाल्नुभएको हो । नत्र उहाँ पनि काम गरिरहेका कामदारमध्ये एक जस्तै देखिनुहुन्थ्यो । उहाँको बास नै यही रंगशाला हो । उहाँ त यहाँको गोठालो नै हो नि ।’
सुशीलको प्रशंसासँगै नेपाली कांग्रेसबाट निर्वाचित वडा अध्यक्ष बानियाँले केन्द्रीय नेता प्रकाशमान सिंहलाई भेट्दाको एउटा प्रसंग गर्वका साथ सुनाए ।
उनले भने, ‘प्रकाशमान दाइ केही दिनअघि हेटौंडा आउनुभएको थियो । परिचय भएपछि उहाँले मलाई वडा अध्यक्ष भएपछि के चाहिँ गर्यौं भनेर सोध्नुभयो । मैले बाटो बनाएँ भनेर जवाफ दिएँ उहाँले मैले बनाएको बाटो चिन्नुहुन्नथ्यो । तैपनि मैले व्यक्तिगत रूपमा यो–यो गरें, तर हामीले सामूहिक रूपमा चाहिँ एउटा रंगशाला बनायौं भनें । उहाँले कहाँ बनायौं भन्नुभयो । मैले प्रदेश खेलकुद भएको रंगशाला भनें । उहाँले प्रदेश खेलकुदको उद्घाटन हेर्नुभएको रहेछ । एक वर्षमा बनेको भनेर समाचार पनि पढ्नुभएको रहेछ । त्यो कुरा सम्झिनुभयो र एकदमै धन्यवाद दिनुभयो । हामीले यो एउटा पहिचान बनाउने काम गरेका छौं ।’
गन्तव्य पुग्ने निश्चितता भनेकै सुरुआत हो । सुरु गरियो र इमानदारीसाथ यात्रा अगाडि बढायो भने गन्तव्यमा पक्कै पुगिन्छ । पिप्ले क्याम्पा रंगशालाको यात्राले त धेरै घुम्ती पार गरेर सिधा बाटो समाइसकेको छ । मैदानलाई वरिपरीबाट प्यारापिटले घेर्ने गन्तव्य प्राप्त हुने नै छ ।
तर, कभर्डहल निर्माणबाट सुरु भएर रंगशाला उभ्याउनेसम्मको सफलता हासिल गरिसकेका सुशीलको आगामी गन्तव्य चाहिँ के त ?
|
उनी भन्छन्, ‘त्यसपछि हेटौंडामा एउटा ठूलो (४–५ वटा ब्याडमिन्टन कोर्ट अटाउने) कभर्डहल र पौडीपोखरी बनाउन सके प्रदेश वा राष्ट्रिय खेलकुद गर्दा यही जिल्लाले सबै खेल आयोजना गर्नसक्ने थियो । यसपालि प्रदेश खेलकुदमा हेटौंडामा पर्याप्त पूर्वाधार नभएकै कारण त धेरै जिल्लामा छरेर प्रतियोगिता गर्नुपर्यो ।’
सुशीलका भाइ सुविन चाहिँ फुटबलका पूर्वखेलाडी र वर्तमान प्रशिक्षक हुन् । २०६० को दशकमा काठमाडौंका क्लबबाट शीर्ष डिभिजनको फुटबल खेलेका सुविनकै प्रशिक्षणमा पिप्ले युवा क्लबले राजर्षिजनक कपमा यही वर्ष उपाधि रक्षा गर्यो । राजर्षिजनक कपमा दुई तथा सिमरा गोल्डकपमा एकसहित सुविनको नेतृत्वमा क्लबले मोफसलका ६ प्रतिष्ठित उपाधिमा कब्जा जमाइसकेको छ ।
दाजु पूर्वाधार निर्माण अनि भाइ फुटबल भनेर खेलकुदमै मात्र केन्द्रित हुँदा परिवार कसरी व्यवस्थापन गरिरहनुभएको छ ? भनेर खेलाडी टिमले सुशीललाई प्रश्न सोधेको थियो ।
त्यसमा उनको सहज जवाफ थियो, ‘मेरो घरमा बुबा हुनुहुन्न । मम्मी, श्रीमती, छोरा, भाइबुहारी र छोरी छन् । परिवारको दायित्वका लागि मैले व्यवस्था गरेको छु । श्रीमती शिक्षिका हुन् । हातमुख जोर्न गाह्रो छैन । भाइको पनि व्यवसाय छ । घर मज्जासँग चलेको छ । हामी दाजुभाइले नाम कमाएको देख्दा, मानिसहरूले तपाईंको छोराहरूले राम्रो गरिरहेका छन् भन्दा आमा पनि खुसी हुनुहुन्छ । परिवारमा सबै खुसी छन् । यही नै ठूलो सन्तुष्टि हो ।’