अहिले एनएसजेएफ पल्सर स्पोर्टस अवार्डले जुन रूप लिएको छ । २५ वर्षअगाडि के यसलाई प्रदान गर्न सुरु गर्दा अहिले जस्तो हुन्छ भनेर कसैले सोचेका थिए होलान् र ? यसको उत्तर सजिलो छैन । इतिहासलाई फर्केर हेर्दा ती सुरुआती दिनकै कारण अहिलेको स्पोर्ट्स अवार्डको जग बसेको भने मान्न सकिन्छ ।
नेपाल खेलकुद पत्रकार मञ्चको स्थापना ०५२ सालमा भएको थियो । स्थापनाको एक वर्षपछि नै मञ्चले वर्ष खेलाडी पुरस्कार ०५३ को आयोजना गरेको थियो ।
|
मञ्चको स्थापनाको मुख्य उद्देश्य नै एकातर्फ खेल पत्रकारिताको विकासमा टेवा पुर्याउने थियो भने अर्कोतर्फ नेपाली खेलकुद विकासमा पत्रकारिताको माध्यमबाट योगदान दिने । यसकै एउटा प्रयास थियो वर्ष खेलाडी सम्मानको आयोजना गरी खेलाडीको हौसला बढाउने । अवार्डको पहिलो संस्करणमा कुल चार विधा थिए । पुरुषतर्फ फुटबलका देवनारायण चौधरी उत्कृष्ट चुनिए भने महिलातर्फ तेक्वान्दोकी संगीना वैद्य । यस्तै प्रशिक्षकमा उत्कृष्ट चुनिए भारोत्तोलनका पार्थ सारथी सेन गुप्त ।
लाइफटाइम एचिभमेन्ट अवार्ड भने एथलेटिक्सका जितबहादुर केसीलाई प्रदान गरिएको थियो । पहिलो संस्करणको यस पुरस्कार कार्यक्रम धेरै अर्थमा ऐतिहासिक रह्यो । यसैले नै नेपालमा खेलकुदको सर्वोच्च अवार्डको जग बसाउने काम गरेको थियो । तर हामीसँग त्यस बेलाको पुरस्कार कार्यक्रमबारे पर्याप्त जानकारी भने छैन । मञ्चको स्थापनापछि यसले पहिलो वर्षमै खेलाडी पुरस्कारको आयोजना त गर्यो, तर यसलाई निरन्तरता भने दिन सकेन ।
पहिलोपल्ट ०५३ मा आयोजना गरेपछि यसको दोस्रोपल्ट आयोजना हुन सात वर्षको लामो समयको अन्तराल रह्यो । मञ्चले ०५४ सालमा पुरस्कारको घोषणासम्म गरेको थियो, तर पुरस्कार भने दिन सकेन । यस्तोमा त्यो वर्ष कुनै कार्यक्रम नै हुन सकेन । वर्ष खेलाडी पुरस्कारको वास्तविक पुनरुत्थान भयो, ०६० सालमा । अझ यसलाई वर्ष खेलाडी अवार्डको वास्तविक सुरुआत भने पनि हुन्छ । त्यो त्यही वर्ष थियो, जतिबेला मञ्चको कार्यसमितिले पनि नयाँ र जीवन्त स्वरूप पाएको थियो ।
यसअघि मञ्च अस्तित्वमा रहे पनि यसले कुनै प्रकारको काम गरिरहेको थिएन, त्यो कागजमै सीमित थियो । जतिबेला मञ्चको नयाँ समिति बन्यो, त्यसको पहिलो उद्देश्य नै थियो, वर्ष खेलाडी सम्मानलाई पुनर्जीवित पार्ने । वर्ष ०६० को कार्यक्रम नयाँ बानेश्वरस्थित बेइजिङ डक रेस्टुरेन्टमा आयोजना गरिएको थियो । यसको स्वरूप तथा आकार दुवै निकै सानो थियो । पुरस्कारको कार्यक्रम अगाडि नै विजेता घोषणा गरिएको थियो । मुख्य कार्यक्रमको दिन पुरस्कारमात्र दिइएको थियो ।
|
त्यस वर्ष जम्मा दुई विधामा मात्र पुरस्कार प्रदान गरिएको थियो । पुरुषतर्फ उत्कृष्ट खेलाडी रहे एथलेटिक्समा राजेन्द्र भण्डारी र महिलातर्फ उत्कृष्ट रहिन् तेक्वान्दोकी संगीना वैद्य । मञ्चले प्रदान गर्दै आएको वर्ष खेलाडी पुरस्कारको अहिलेको वास्तविक स्वरूप ०६१ को संस्करणयता हो । भलै, त्यस संस्करणमा तीन विधामात्र थिए, तर अवार्डले अहिलेको आकार लिएको त्यसै वर्षदेखि नै हो । यसअघि ०६० सालमा दुई विधामा मात्र पुरस्कार दिइएको थियो, त्यसको एक वर्षपछि एक विधा थपियो । त्यो थियो युवा वर्ष खेलाडीको ।
यो त्यही वर्ष थियो, जहिलेदेखि कार्यक्रमकै अवसरमा मात्र विजेता घोषित गरिएको थियो । त्यसअगाडि तीनै विधामा मनोनयनमा परेका पाँच–पाँच खेलाडीको नाम जारी गरिएको थियो । मुख्य कार्यक्रम भएको थियो, ललितपुरको याक पार्टी प्यालेसमा । यसअघिका वर्ष खेलाडी पुरस्कारको तुलनामा अझ केही बृहत भएको अवसर थियो ०६२ को संस्करण । केही हदसम्म भव्य थपे पनि हुन्छ, त्यस वर्षको कार्यक्रमलाई लिएर । त्यो वर्षको कार्यक्रम विशेषतः दुई कारणले महत्त्वपूर्ण रहे ।
पहिलो यो कार्यक्रममा नेपाल खेलकुद पत्रकार मञ्चले पहिलोपल्ट प्रायोजक भित्र्याएको थियो । त्यसैले पूरा पुरस्कार कार्यक्रमको नाम नै रह्यो, एलजी स्पोर्टस अवार्ड ०६२ । पुरस्कार कार्यक्रमसँग पहिलोपल्ट कर्पोरेट हाउस जोडिएको थियो । त्यो पनि नेपालकै सबैभन्दा ठूला चौधरी ग्रुपको रूपमा । दोस्रो महत्त्वपूर्ण तथ्य, वर्ष ०६२ को कार्यक्रम काठमाडौको सोल्टी होटलमा आयोजना गरिएको थियो । त्यसलाई पहिलोपल्ट ‘गाला डिनर’ को रूपमा प्रस्तुत गर्ने प्रयास भएको थियो ।
फेरि यो नै टेलिभिजनबाट प्रत्यक्ष प्रसारित भएको पहिलो कार्यक्रम थियो । यही कार्यक्रमदेखि मञ्चले आयोजना गरेको अवार्ड कार्यक्रमको उचाइ पनि खुबै बढेको थियो अनि उत्तिकै लोकप्रियता । त्यसै वर्षदेखि पुरस्कारले अवार्डको रूप लियो अनि त्यसको नाममा सिधै स्पोर्टस अवार्ड जोडियो । वर्ष ०६२ मा पाँच विधामा अवार्ड दिइएको थियो । ती सुरुआती दिन थिए, जतिबेला यो अवार्डले अहिलेको रूप लिन प्रयास गरिरहेको थियो । अहिले स्पोर्टस अवार्ड १८ औं संस्करण सम्पन्न हुने संघारमा छ ।