काठमाडौं । नेपाली टेलिभिजनमा त्यो खेल पत्रकारिताको सुरुआती समय जस्तै थियो । जतिबेला, योपेश प्रधान कान्तिपुर टेलिभिजनका लागि रिपोर्टिङ गरिरहेका थिए । काँधमा क्यामेरा बोकेर योपेश जताततै दौडिरहेको भेटिन्थे ।
दिनभर काँधमा सात-आठ किलोको क्यामेरा बोकेर हस्याङफस्याङ गर्दै दौडिनुको आनन्द त्यही साँझ मिल्थ्यो । इन्स्ट्यान्टली । साँझ घरको सोफामा बसेर कान्तिपुर टेलिभिजन ट्युन गर्दा आफ्नो नाम सुनेपछिको खुसी बयान गर्न उनीसँग अहिले पनि शब्दको खडेरी लाग्छ । कान्तिपुर जस्तो प्रभावशाली टेलिभिजनको समाचारमा आफ्नो नाम चर्चा हुँदा दंग नपर्नु पनि किन ? एउटै समाचारले महिनौं दिनसम्म प्रभाव पार्ने समय थियो त्यो ।
क्यामेरा चलाउन जानेका कारण सन् २००३ मा स्थापना भएकै वर्ष योपेश कान्तिपुर टेलिभिजनमा जोडिएका थिए । यो उनको टेलिभिजन यात्रामा पहिलो पाइला थियो । सबै बिटमा काम गर्नुपथ्र्यो । तर, योपेश विशेषगरी खेलकुद रिपोर्टिङमा व्यस्त हुन्थे । खेलकुद ब्युरो फुटबलका पुराना खेलाडी अमनप्रताप अधिकारीको नेतृत्वमा थियो । ब्युरोमा गायक सुदिन पोखरेल पनि खेल पत्रकारको भूमिकामा थिए । केही समयपछि अन्तर्राष्ट्रिय खेलकुदका इन्साइक्लोपेडिया जस्तै भाष्कर ज्ञवाली पनि जोडिए । त्यसपछि नवीन खतिवडा । यसो फर्केर हेर्दा टेलिभिजन खेलकुद पत्रकारिताको ‘ग्यालेक्टिकोस’ जस्तै । सबै एकसेएक ।
त्यो समयले नेपाली खेलकुदमा समर्थकको आधार जसरी फराकिलो पार्यो, उसैगरी योपेशजस्ता ‘प्यासनेट’ खेलप्रेमीलाई एउटा फगत जागिरेबाट दीर्घकालसम्मका लागि खेलकुद सेवकको रूपमा रूपान्तरित गर्यो । ‘खेल देखाउने’ सिपाही बनायो ।
‘हामी कन्तिपुरका पहिलो ब्याचका सदस्य हौं । अमन, सुदिन र मैले खेलकुद बिट हेर्थ्यौं । नेपाली टेलिभिजनमा त्यो एउटा नयाँ सुरुआत थियो । हामीले मिहिनेत पनि खुबै गर्यौं । यही कारण हो, दर्शकबाट ठूलो माया पाइन्थ्यो,’ योपेश स्मरण गर्छन्, ‘समाचारमा ‘क्यामेरामा योपेश प्रधानका साथ’ भनेर सम्बोधन गर्दा छुट्टै आनन्द मिल्थ्यो । त्यतिबेला टेलिभिजनमा प्रत्यक्ष रूपमा प्रस्तुत नभए पनि मलाई सबैले कान्तिपुरको होइन ? भनेर सोध्ने गर्दथे, गर्व लाग्थ्यो ।’
वर्तमान खेल पत्रकारिता वा प्रशारण पत्रकारिताको जग हालिएको समय थियो, त्यो । र, योपेश तत्कालीन टेलिभिजन खेल पत्रकारिताका एक यस्ता पात्र हुन्, जसबाट त्यो बेलाको आधिकारिक इतिहास बुझ्न सकिन्छ । यसकारण विगतका प्रसंग सान्दर्भिक छन् ।
नेपालको टेलिभिजन खेल पत्रकारितामा ती दिनहरूले छुट्टै महत्व बोकेका छन् । तिनै दिनहरूले त हो, नेपाली खेलकुदप्रति निश्चित ‘फ्यानबेस’ बनाएको । समाचारका अन्तिम सेकेन्डहरू कुरेर बस्ने जमात अहिले पनि सानो छैन । टेलिभिजन क्षेत्र चलायमान अवस्थामा आइपुग्दासम्म समर्थकको सीमित संख्यालाई विस्तार गर्न ती दिनहरूमा योपेशहरूले गरेको मिहिनेतले ठूलो भूमिका खेलेका छन् ।
त्यो समयले नेपाली खेलकुदमा समर्थकको आधार जसरी फराकिलो पार्यो, उसैगरी योपेशजस्ता ‘प्यासनेट’ खेलप्रेमीलाई एउटा फगत जागिरेबाट दीर्घकालसम्मका लागि खेलकुद सेवकको रूपमा रूपान्तरित गर्यो । ‘खेल देखाउने’ सिपाही बनायो ।
एउटा ब्रान्डका लागि काम गर्ने योपेश २० वर्षको अन्तरालमा आफैं ब्रान्ड बनिसकेका छन् । उनी आज पनि उत्तिकै जोसका साथ नेपाली खेलकुदका लागि दौडिरहेका छन् । खेलकुद एउटा लत नै हो, एकचोटि फसेपछि उम्किन गाह्रो । योपेशलाई पनि खेलकुदको यो लतले गाँज्यो । तर उनको जिम्मेवारी भने फेरिएको छ । अचेल उनलाई आफै क्यामेरा बोकेर दौडिएको खासै देखिन्न । अचेल त उनी क्यामेरा बोक्ने, माइक बोक्ने, स्विचर चलाउने, तार तान्ने अनि अरू थुप्रै प्राविधिकहरूलाई मार्गदर्शन गर्न हस्याङफस्याङ गरिरहेका हुन्छन् । मौखिक रूपमा कुरा बुझाउन नसके आफै गएर बुझाइरहेका भेटिन्छन् ।
‘खेलले नै मलाई चिनाएको हो । भित्री मनदेखि नै भावुक भएँ । आँसु थाम्नै सकिनँ,’ उनी भन्छन्, ‘हामी जिम्मेवारीमा रहँदा नेपाललाई साथ दिन्छु भन्ने हुँदैन । निष्पक्ष हुनुपर्छ । मैले कहिल्यै खेलमा पक्षपात गरेको छैन । तर, मन न हो कहिलेकाहीँ नमान्दो रहेछ ।’
देशभित्र हुने सबैखाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ठूला प्रतियोगिताहरू टेलिभिजनको पर्दासम्म पुर्याउने काममा उनको जबरजस्त उपस्थिति नभएका अवसर नगन्य जस्तै हुन्छ । विशेष गरी उनको व्यस्तता फुटबल र क्रिकेटका ठूला प्रतियोगितामा हुन्छ । अर्थात दशरथ रंगशाला र कीर्तिपुर अनि मूलपानी रंगशालाका घाँसका लागि पनि योपेश परिचित नाम बनिसक्यो । नेपाली खेलकुदमा निर्विकल्प प्रसारण निर्देशक अर्थात ‘खेल देखाउने मान्छे’ हुन्, उनी । नेपालीले पनि गुणस्तरीय प्रत्यक्ष प्रसारण देखाउन सक्छ है भन्ने कुराको उदाहरण उनको कामले दिएको छ ।
कान्तिपुरमा सात वर्ष बिताएका योपेश २०१० मा अमेरिका लागे । जहाँ उनले न्युयोर्क फिल्म एकेडेमीमा ६ महिने कोर्स गरे । अमेरिकाबाट फर्केपछि दुई वर्ष फ्रिलान्सरका रूपमा काम गरेका उनले त्यसपछि एपी वान टेलिभिजनमा केही वर्ष बिताए । एपी वान छाडेयता भने पूर्ण रूपमा फ्रिलान्सिङ गर्दै आएका छन् ।
यसबीच उनले धनगढी प्रिमियर लिग (डिपिएल)को पहिलो, दोस्रो र तेस्रो सिजन, एभरेस्ट प्रिमियर लिग (इपिएल)को पहिलो र दोस्रो सिजन, घरमै भएको १३औं दक्षिण एसियाली खेलकुद (साग), एसिसी पुरुष प्रिमियर कप २०२३, आइसिसी क्रिकेट विश्वकप लिग टु, नेपाल सुपर लिग (एनएसएल)को पहिलो र दोस्रो सिजनलगायत करिब ६ सय खेलको प्र्रत्यक्ष प्रसारणमा निर्देशन गरिसकेका छन् ।
योपेशको कामले दिनप्रतिदिन प्रयोगात्मक बाटो लियो । त्यसैको परिणाम आजको दिनमा देखिएको उनी मान्छन् । ‘डिपिएलबाट पहिलो पटक फ्रिलान्सिङ सुरु गरेको थिएँ । जतिबेला हामीसँग न रिप्ले मेसिन थियो न त पर्याप्त ज्ञान नै । थियो त केबल ४–५ जना जागरुक मान्छेहरू । क्यामेराम्यानलाई क्रिकेट भन्ने कुरा केही पनि थाहा थिएन । आयोजना स्थलमा इक्विप्मेन्ट्स राख्ने ठाउँ पनि थिएन । ३८ देखि ४० डिग्रीको प्रचण्ड गर्मीबीच एउटा पालमा बसेर हामीले पहिलो काम गरेका थियौं,’ सुरुआती दिन सम्झँदा योपेश रोमाञ्चित हुन्छन्, ‘आज कम्तीमा पनि हामी हेर्नलायक प्रसारण प्रस्तुत गर्न सक्ने अवस्थामा पुगेका छौं । क्रिकेटका खेलहरू अपलोड भएको दुई घण्टामै युट्युबमा १० लाख दर्शकले हेरिसक्छन् । एकदमै खुसी लाग्छ ।’
यो सफलता योपेशले प्राविधिक समस्या, रंगशालामा भएका सीमित पूर्वाधारमा सम्झौता गर्नुपर्ने बाध्यताबीच हासिल गरेका हुन् । जसलाई नेपाली समर्थकले पनि खुलेरै साथ दिएका छन् । यो सबै कुरा उनमा भएको खेलकुदप्रतिको मायाले पनि सम्भव भएको हो । उनले खेलकुदलाई सधैं पहिलो नम्बरमा राखे । खेलकुदमा प्रसारण निर्देशकको भूमिका उनको व्यवसाय हो । तर नेपाली खेलकुदका उनी खाँटी समर्थक पनि हुन् नि । त्यसैले कहिलेकाहीँ खुसीको आँसु झरेको पनि पत्तो पाउँदैनन् ।
‘ठ्याक्कै ३५ जनाको टोली छ । सबैलाई आफ्नो कामअनुसार प्रशिक्षण दिएको छु । जतिन (तण्डुकार)ले सबै प्राविधिक कामको जिम्मा लिँदा केही सजिलो महसुस गर्छु । अरू पनि आफ्नो काममा सिद्ध छन् । त्यही भएर त हो नि अहिले हामी १२ वटा कोणबाट रिप्ले देखाउने भइसक्यौं,’ योपेशको आँखामा गर्वको भाव झल्कन्छ, ‘तलब दिन कहिल्यै ढिला गरेका छैनौं ।’
योपेश सम्हालिन नसकेका केही त्यस्ता अवसर छन्, जहाँ उनी व्यवसाय बिर्सेर भक्कानिएका थिए । दिन थियो, २०८० कात्तिक १७ गते शुक्रबार । ठाउँ थियो, मूलपानी क्रिकेट मैदान । अवसर थियो, २०२३ ट्वान्टी-२० विश्वकप एसियाली छनोटमा नेपाल र युएईबीचको सेमिफाइनल खेल । खेल जितेको खण्डमा नेपाल आगामी वर्ष अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रूपमा आयोजना हुने विश्वकपलाई छानिन्थ्यो । १३५ रनको लक्ष्य पछ्याएको नेपालले ६७ रन हुँदा दुई विकेट गुमाएको थियो । त्यसपछि सम्हालिएको नेपालले १०० रन बनाएपछि जित्ने लगभग पक्का जस्तै भएको थियो । ठीक त्यति नै बेला योपेशले आफूलाई सम्हाल्नै सकेनन् । आँसु झारिहाले । उनका सहकर्मीहरूले उनलाई सम्हाल्न खोजे तर, सकेनन् ।
‘खेलले नै मलाई चिनाएको हो । भित्री मनदेखि नै भावुक भएँ । आँसु थाम्नै सकिनँ,’ उनी भन्छन्, ‘हामी जिम्मेवारीमा रहँदा नेपाललाई साथ दिन्छु भन्ने हुँदैन । निष्पक्ष हुनुपर्छ । मैले कहिल्यै खेलमा पक्षपात गरेको छैन । तर, मन न हो कहिलेकाहीँ नमान्दो रहेछ ।’
योपेश भर्खरै सम्पन्न एनएसएल फुटबलको फाइनलमा पनि रोएका थिए । यसपटक भने उनी दशरथ रंगशालामा सहकर्मीसँग नभई परिवारसामु भक्कानिए । ‘सुरु–सुरुमा दर्शक नै आएनन् । हामीले दर्शकलाई ल्याउन अनेकौं प्रयास गर्यौं । फाइनल खेलमा एकदमै दबाब थियो । तर, सबै आरामले भयो । हामीले दुई घण्टा अगाडि प्रसारण सुरु गरेका थियौं । होला, नहोला भन्ने डर र अनिश्चितताबीच सबै कुरा राम्रै भयो,’ नोस्टालजिक मुडमा योपेशले सुनाए, ‘श्रमती र दुई छोरा खेल हेर्न आएका थिए । पुरस्कार वितरण समारोह सकिँदा मैले गरें है मैले भन्ने महसुुस भयो । अनि थाहै नपाई आँसु झरिहाल्यो ।’
रंगशालामा योपेशको आँसुुको अर्थ यो मात्रै होइन कि कार्यक्रमको समापन राम्ररी भएको हो, यसका पछाडि अनेकौं कारण छन् । धेरै त सम्झौता र बलिदानीहरू । उनकै भनाइमा, कुनै पनि प्रतियोगिताको जिम्मा लिएपछि पहिलो दिन यति दबाबमा हुन्छ कि बिहान ३ बजे नै आँखा खुल्छ । फेरि सपना पनि त्यस्तै देख्ने गाडी छुटेको, गाडी बिग्रिएको, समयमा मैदान नपुगेको । यस्तै-यस्तै ।
उनको यो लगाव देखेर श्रीमतीको मुखबाट अनायसै बेलाबेला निस्कने शब्द हो, ‘हरे !’ अनि अर्को कुरा यो क्षेत्रमा उनलाई एउटै गुनासो छ, त्यो उनीसँग परिवारलाई दिन पर्याप्त समय छैन । उनी भन्छन्, ‘काममा लागेपछि परिवार एकदमै मिस हुँदोरहेछ । कहिलेकाहीं त झगडा पनि पर्छ । तर, परिवारले पनि बुझेको छ, मेरो कामका बारेमा । मेरा दुई साना छोराहरू पनि यसबारे अनभिज्ञ छैनन् । समय-समयमा कार्यकक्षमै ल्याउने गरेको छु । उनीहरू पनि दंग पर्छन् । यसरी पो हो, बुवाले सबैलाई क्रिकेट देखाउने भनेर सोध्छन् ।’
व्यक्तिगत भावना पोख्दै गर्दा योपेश सबैभन्दा धेरै जस चाहिँ आफ्नो काम गर्ने टिमलाई दिन्छन् । बलियो र अनुशासित टिम पाएमात्र एउटा निर्देशक सफल हुने उनको बुझाइ छ । यो मामलामा समर्पित टोली पाएका कारण उनी आफूलाई भाग्यमानी ठान्छन् ।
‘ठ्याक्कै ३५ जनाको टोली छ । सबैलाई आफ्नो कामअनुसार प्रशिक्षण दिएको छु । जतिन (तण्डुकार)ले सबै प्राविधिक कामको जिम्मा लिँदा केही सजिलो महसुस गर्छु । अरू पनि आफ्नो काममा सिद्ध छन् । त्यही भएर त हो नि अहिले हामी १२ वटा कोणबाट रिप्ले देखाउने भइसक्यौं,’ योपेशको आँखामा गर्वको भाव झल्कन्छ, ‘तलब दिन कहिल्यै ढिला गरेका छैनौं ।’
प्रसारणको क्षेत्रमा काम गरेको लामो अनुभव बोकिसक्दा योपेशको टिम एउटा परिवारजस्तै बनेको छ । जहाँ गाली र ताली दुवै स्वीकार्य हुन्छ । योपेश आफैं काम भनेजस्तो नहुँदा गाली गर्न हिच्किचाउँदैनन् । गालीमात्र होइन, उनी राम्रो गर्न सधैं सहकर्मीलाई हौस्याइरहन्छन् । काम सकिएपछि ‘यस वी डिड इट टुगेदर’ अर्थात हामीले मिलेर गर्यौं है भन्ने भावना सञ्चार गराउँछन् । त्यसैले माया लुकेको उनको गालीलाई सहकर्मीहरू सहजै नजर अन्दाज गरिदिन्छन् ।
कमेन्टेटर तथा प्रस्तोता अभिनव जोशी भन्छन्, ‘योपेश दाइसँग काम गर्दा जहिल्यै मज्जा आउँछ । पूरा टिम नै एउटा परिवारजस्तो अनुभव हुन्छ । कसैका लागि काम गरिरहेको छु जस्तो लाग्दै लाग्दैन । योपेश दाइले टिममा पूरा पारिवारिक वातावरण ल्याउनु हुन्छ । उहाँ मेरा लागि ठूलो दाइ समान हुनुहुन्छ । उहाँबाट धेरै कुरा सिकिरहेको छु ।’
योपेशले सन् १९९२ मा इमरान खानले पाकिस्तानका लागि विश्वकप क्रिकेट जित्दा टेलिभिजनमा प्रत्यक्ष प्रसारण हेरेका थिए । त्यही बेलादेखि नै उनमा खेलकुदको मोह पलाएको थियो । ती त्यस्ता दिन थिए, जब उनी पाँच दिन कतै नहल्ली दूरदर्शनमा टेस्ट म्याच हेर्थे । आज उनी नेपाली खेलकुद क्षेत्रको ब्रान्ड बनेका छन् । नेपालमा खेल देखाउने निर्विकल्प पात्र बनेका छन् । तर अझै सन्तुष्ट छैनन् । भन्छन्, ‘अहिले त हामीले के नै पो गर्न सकेका छौं र ? विश्व खेलकुद र प्रविधि धेरै अगाडि बढिसक्यो । हामीले पनि गर्नुपर्ने धेरै बाँकी छन् । आगामी दिनहरू अझ परिस्कृत बनाएर थप स्तरीय प्रसारण खेलप्रेमीसम्म पुर्याउने अभियानमा लगाउने छौं ।’