वर्ष २०७९

खेलको मर्म र उद्देश्य भूलिएको वर्ष

काठमाडौं । २०७९ सालमा मुख्यतः फुटबल र क्रिकेट नै सबैभन्दा बढी चलायमान रहे । अनि सबैभन्दा विवाद पनि यी दुई खेलमै भए । नेपालमा दुवै खेलका अन्तर्राष्ट्रिय प्रतियोगिता भए । सिनियर मात्र होइन, युवा टिमहरू पनि विदेशी भूमिमा खेल्न जाने सिलसिला चलिरह्यो ।
 
वर्षको सुरुमै राष्ट्रिय फुटबल टिममा विवाद छि¥यो । तत्कालिन मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीसँगको झगडाका कारण १० खेलाडीले बन्द प्रशिक्षण छाडे । एसियन कप छनोट अन्तर्गतको तेस्रो चरणको तयारीका लागि बन्द प्रशिक्षण काठमाडौंमा राखिएको थियो । बन्द प्रशिक्षण छाड्नेमा रोहित चन्द, अन्जन विष्ट, अनन्त तामाङ, सुजल श्रेष्ठ, विशाल राई, विमल घर्ती मगर, तेज तामाङ, दिनेश राजवंशी, विशाल श्रेष्ठ र सुमन लामा थिए ।  

कुवेतमा भएको तेस्रो चरणको छनोट खेल्ने नेपाली टिममा यी कुनै पनि खेलाडी परेनन् । साथै नियमित कप्तान किरण कुमार लिम्बुलाई समेत अलमुताइरीले टिममा बोलाएनन् । यसको कारण थियो, किरणले बन्द प्रशिक्षण छाडेका १० खेलाडीलाई समर्थन गर्नु । बन्द प्रशिक्षण छाड्ने ती १० खेलाडीमध्ये ६ ले आखिरमा फरक फरक समयमा देश नै छाडे ।

एसियन कपको दोस्रो चरणको छनोटमा नेपाल समूह ‘बी’ मा थियो । समूहमा रहेका पाँच टिममध्ये नेपाल चौथो बन्यो । तेस्रो चरणमा भने नेपाल समूहको पुछारमा रह्यो । नयाँ स्वरुपको राष्ट्रिय टिमले कुल १३ गोल खाँदा जम्मा एक गोल फर्काउन सक्यो ।

अखिल नेपाल फुटबल संघ (एन्फा) भित्र धारावाहिक रुपमा चलिरहने आन्तरिक कलहबाहेक नेपाली फुटबललाई चोट दिने अर्को कारण थियो, खेलाडीको पलायन । वर्षको सुरुदेखि अन्त्यसम्मै खेलाडी विदेश लागिरहे । सहिद स्मारक ए डिभिजन लिग सुरु भइसकेपछि पनि खेलाडी विदेशीन छाडेनन् । संकटा क्लबका कप्तान सुनिल बल त पहिलो खेल खेलेको भोलिपल्ट अस्ट्रेलिया उडे । उनी नभएपछि कप्तानको जिम्मेवारी पाएका सरोज दाहाल पनि त्यतै हानिए । खेलाडी पलायनको यो सिलसिला यो वर्ष पनि रोकिनेवाला छैन ।



२०७९ को भदौमा नेपालले साफ महिला च्याम्पियनसिप आयोजना गर्यो । कुमार थापाको नेतृत्वमा नेपाली टिम फाइनल पुग्यो । दशरथ रंगशालामा भएको उपाधि भिडन्तमा भने नेपाल बंगलादेशसामु निरी साबित भयो । साफ महिला च्याम्पियनसिपमा नेपाल र बंगलादेशबीचको भिडन्तले एउटा महत्त्वपूर्ण सन्देश दियो । जुन थियो, बंगलादेश महिला फुटबल विकासमा गम्भीर बनिसकेको छ । यो सन्देशलाई बंगलादेशी खेलाडीहरू मैदानमा प्रवाह गरिरहेका थिए ।

तीव्र गतिमा खेल्ने प्राविधिक रुपमा कुशल बंगलादेशी खेलाडीहरुलाई रोक्न न त नेपाली खेलाडीहरुको जुझारुपनले सक्यो, न त कुमार थापाकै रणनीति बाधक बन्यो । नेपाल साफ महिला च्याम्पियनसिपमा उपविजेतामा सीमित भएको यो चौथो पटक थियो । सधैँ भारत च्याम्पियन बन्दै आएको प्रतियोगितामा बंगलादेश पहिलो पटक विजेता बन्यो ।

फाइनलमा बंगलादेशसँग निराश हुनु परे पनि नेपाली टिमले सम्झनलायकको एउटा नतिजा आत्मसाथ गर्यो, भारतमाथि पहिलो पटक जित । पुराना संस्करणहरुमा भन्दा कमजोर देखिएको भारतलाई नेपालले सेमिफाइनलमा पराजित गरेको थियो ।

महिला फुटबलमै नेपालले खेलेको अर्को अन्तर्राष्ट्रिय प्रतियोगिता थियो, साफ यु-१७ महिला च्याम्पियनसिप । बंगलादेशमा आयोजित यो प्रतियोगितामा कुल पाँच टिम सहभागी थिए । तीमध्ये नेपाल चौथो बन्यो । यही उमेर समूहको पुरुष साफ च्याम्पियनसिप फाइनलमा नेपाल भारतसँग पराजित भयो । क्षेत्रीयबाट महादेसीयस्तरको प्रतियोगितामा पुग्दा नेपाली युवा टिमको प्रदर्शनमा व्यापक ह्रास आयो । भियतनाममा भएको एसियन कप छनोटमा नेपालले एकै खेल पनि जितेन ।

२० वर्ष मुनिको महिला टिम बंगलादेशी भूमिमै भएको साफ च्याम्पियनपसिपमा उपविजेता बन्यो । चार टिम सम्मिलित प्रतियोगिताको उपाधि भिडन्तमा नेपाल बंगादेशसँग पराजित भएको थियो । यही उमेर समूहको एसियाली छनोटको पहिलो चरण नेपालले पार गरिसकेको छ ।

पुरुषतर्फको यु-२० साफ च्याम्पियनसिपमा भने नेपाल तेस्रो स्थानमा रह्यो । एसियन कप छनोटमा पनि नेपालले गतिलो प्रदर्शन गर्न सकेन । बहराइनमा भएको छनोट प्रतियोगितामा त नेपाल भुटासँग समेत हार्यो । युवा फुटबल परियोजनालाई आवश्यक नठान्ने फुटबल संघ भएको नेपालले उमेर समूहका कुनै पनि दक्षिण एसियाली प्रतियोगिता नजित्नु अस्वाभाविक थिएन ।

नेपाली पुरुष सिनियर टिमले दशरथ रंगशालामा बंगलादेश, पाकिस्तान, लाओस, भुटान लगायतका टिमसँग मैत्रीपूर्ण खेल खेल्यो । फरक फरक प्रशिक्षकको नेतृत्वमा खेलेको नेपाल यी कुनै पनि खेलमा हारेन । यद्यपि भुटानसँग भने इतिहासमा पहिलो पटक बराबरीमा रोकियो, नेपाल । दीपकराज सिंह ठकुरीले खेलको उत्तरार्धमा गोल नगरेको भए नेपालले नयाँ मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनिसको नेतृत्वमा कहिल्यै बिर्सन नसकिने कीर्तिमान रच्थ्यो, भुटानसँगको पहिलो पराजय ।

त्यसैगरी महिला टिमले भारतसँग दुई मैत्रीपूर्ण खेल खेल्यो । भारतको चेन्नईमा भएका दुई खेल बराबरीमा सकिएका थिए । महिला टिमले वर्षको उत्तरार्धमा ओलिम्पिक छनोट पनि खेल्यो । भियतनामसँग खेलिएका ती दुवै खेलमा नेपाल पराजित भयो । दशरथ रंगशालामा भएका ती दुई खेलमा भियतनाम क्रमशः ५-१ र २-० ले विजयी भएको थियो ।
 
२०७९ मा क्रिकेट विवादमा पर्नुको मुख्य कारण नेपाल क्रिकेट संघ (क्यान) आफैँ थियो । पहिल्यैबाट आन्तरिक राजनीतिका कारण थलिएको क्यान नेपाल टी-२० लिग आयोजना गर्दा विवादित बन्यो । कारण थियो, लिग आयोजना अधिकार एक भारतीय कम्पनी सेभेन थ्री स्पोर्ट्सलाई दिँदा आवश्यक प्रक्रिया नपुर्याउनु । पुसमा आयोजित यो लिगले स्पट फिक्सिङका कारण सम्मान पनि गुमायो । नेपाल प्रहरीले स्पट फिक्सिङमा संलग्न भएको आरोपमा पूर्वराष्ट्रिय खेलाडी महबुब आलमसहितका कयौँ व्यक्तिलाई पक्राउ गर्यो ।

हुलमुलमा सक्ने प्रयास गरिएको लिगमा सहभागी क्लबहरुले खेलाडीहरुलाई समयमै तलब उपलब्ध नगराउँदा नेपाली क्रिकेट बदनाम बन्यो । ती क्लबहरुको स्वामित्वकर्ताहरुकै बारेमा आवश्यक जानकारी बाहिर ल्याइएको थिएन । यसरी आयोजना गरिएको लिगका कारण नेपाली क्रिकेट फिक्सरहरुको चंगुलमा फसेको भन्ने सन्देश गयो ।



दर्शकको ध्यान तान्न नसकेको नेपाल टी-२० लिगको उपाधि लुम्बिनी अल स्टार्सले जितेको थियो । पहिलो संस्करणमा च्याम्पियन बन्न लुम्बिनीले फाइनलमा विराटनगर सुपर किंग्सलाई २४ रनले पराजित गरेको थियो ।

यही वर्ष नेपाली क्रिकेट गम्भीर नैतिक संकटमा पर्यो । एक १७ वर्षीया नाबालिकाले तत्कालीन कप्तान सन्दीप लामिछानेले जबरजस्ती करणी गरेको भन्दै प्रहरीमा उजुरी दिइन् । प्रहरीले सन्दीपविरुद्ध काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गर्यो । जिल्ला अदालतले उनलाई थुनामा पठाइदियो । त्यहाँ एक सय दिन बिताएका सन्दीप उच्च अदालत, पाटनको आदेशमा धरौटीमा छाडिए ।

मुद्धा छिनोफानो नहुँदै क्यानले सन्दीपमाथिको निलम्बन फुकुवा मात्र गरेन, राष्ट्रिय टिममै बोलायो, खेलायो । क्यानको यस्तो क्रियाकलापले नेपाली क्रिकेटको नैतिक पतन सुरु भयो । आइसिसी विश्वकप लिग-२ अन्तगर्तको शृंखला खेल्न नेपाल आएको स्कटिस टिमका कसैले पनि खेलअघि र पछि सन्दीपसँग हात मिलाएनन् । यौन दुर्व्यवहारको मामलामा शून्य शहनशीलता अपनाउनु पर्ने सामान्य चलनलाई नमानेको क्यानलाई स्कटिस खेलाडीहरुले सन्दीपसँग हात नमिलाएर दह्रो झापड हाने ।

मैदानबाहिरको यो लज्जालाई मैदानभित्रको प्रदर्शनले केही हदसम्म ओझेलमा पार्ने प्रयास गर्यो। यो प्रयासको केन्द्रमा देखिए, मोन्टी देशाई । उनी माघ २३ मा नेपाली पुरुष राष्ट्रिय टिमको मुख्य प्रशिक्षकमा नियुक्त भएसँगै प्रदर्शनमा नाटकीय सुधार भयो । एकदिवसीय मान्यता गुम्ने अवस्थामा रहेको नेपाललाई उनले विश्वकप छनोटसम्म पुर्याए । लिग-२ को शीर्ष तीनमा रहेपछि एकविदसीय मान्यता त स्वतः सुरक्षित भइहाल्यो ।

सिनियर टिम विश्वकप छनोटमा मात्र पुग्दा युवा टिमले भने विश्वकपमै स्थान पक्का गर्यो । संयोग कस्तो भने, नेपाल र संयुक्त अरब इमिरेट्स (यूएई) एकै दिन दुई खेलमा आमनेसामने भए । दुवै खेल यूएईकै मैदानमा भए । सिनियर टिम पराजित हुँदा युवा टिमले भने छक्क पार्नेगरी जित दर्ता गरेको थियो । जितका लागि १५ बलमा आठ रन चाहिएको यूएईलाई नपालले रोकेको थियो ।



आइसिसी यु-१९ महिला टी-२० विश्वकप छनोटमा नेपालले निराशाजनक प्रदर्शन गर्यो । ६ टिम सम्मिलित एसियाली छनोटमा नेपाललाई यूएई र थाइल्यान्डले पछि पारे । अन्तर्राष्ट्रिय महिला क्रिकेटमा नेपालको खस्किँदो प्रदर्शनको कारण कमजोर घरेलु संरचना भएको कतै लुकेको छैन । सीमित प्रतियोगिता, त्यसमाथि पनि खाली २० ओभरको प्रतियोगिता आयोजना गर्ने क्यानले यो वर्ष पनि बानी फेरेन ।

इटहरीमा आयोजित प्रधानमन्त्री कप महिला राष्ट्रिय ट्वान्टी-२० क्रिकेटको उपाधि सुदूरपश्चिम प्रदेशले जित्यो । फाइनलमा सुदूरपश्चिमले कोशी प्रदेशलाई ६ विकेटले हराएको थियो । महिला क्रिकेटरहरूले खेल्न पाएको अर्को प्रतियोगिता थियो, तेस्रो वुमेन्स ललितपुर मेयर्स कप ट्वान्टी-२० । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैैदानमा भएको प्रतियोगिता एपीएफ क्लबले जित्यो ।

यही वर्ष गण्डकी प्रदेशले नवौँ राष्ट्रिय खेलकुद आयोजना गर्यो । भद्रगोल पारामा आयोजना हुँदै आएको राष्ट्रिय खेलकुद कम्तीमा व्यवस्थापकीय हिसाबले आहा भन्न लायकको थिएन । राष्ट्रिय खेलकुदको उपदेयतामाथि कयौँ वर्षदेखि प्रश्न उठिरहेको छ । यस्तो प्रश्नको जवाफ राष्ट्रिय खेलकुद परिषद्ले राष्ट्रिय खेलकुदको भव्य आयोजना गरेर दिन सक्थ्यो । तर राखेपले भव्यताको अर्थ फगत उद्घाटन र समापन समारोह तडकभडक बनाउनु पर्छ भन्नेमै सीमित भयो । त्यसमा पनि राखेप पूर्ण रुपमा फ्लप भयो ।

खैर भद्रगोलका बाबजुद सहभागी खेलाडीहरुले उत्साह नमारी खेले । सदाझैँ यसपटक पनि पदक तालिकामा विभागीय टिमहरुको वर्चस्व रह्यो । ११ टिमसम्मिलित राष्ट्रिय खेलकुदमा त्रिभुवन आर्मीले १७२ स्वर्णसहित ३७१ पदक जित्दा शीर्षस्थानमाथि कब्जा जमायो । त्यसैगरी दुई स्वर्ण जितेको कर्णाली अन्तिम स्थानमा रह्यो ।

मुख्यगरी पोखरामा आयोजित राष्ट्रिय खेलकुद विवादमुक्त भने रहन सकेन । एनआरएनले राष्ट्रिय फुटबल स्टारहरूलाई खेलाएपछि उजुरी परेको थियो । बुद्धिचाल, एथ्लेटिक्स, बक्सिङ लगायतका खेलका स्पर्धामा पनि पटक पटक विवाद भए । यस्ता विवादले विभिन्न स्पर्धामा बनेका कीर्तिमान भने ओझेलमा परेनन् । कीर्तिमान सधैँ विशेष हुन्छन् । त्यसमाथि एथ्लेटिक्समा जयरानी थारु र भारोत्तोलनमा तारादेवी पुनले बनाएका कीर्तिमान झनै विशेष रहे ।



भलिबलले पनि यस वर्ष नेपाललाई खुसी हुने बहाना दियो । घरेलु भलिबल संरचनामा आयोजना हुँदै आएका प्रतियोगिताले निरन्तरता पाए । यस्तोमा केएनपी राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि न्यु डायमण्ड एकेडेमीले हात पार्यो ।

थाइल्यान्डमा भएको एएसबिसी यू-२२ बक्सिङ च्याम्पियनसिपमा ऐतिहासिक रजत पदक जितेर बक्सर सुष्मा तामाङले सैबलाई छक्क पारिन् । ४८ केजी तौल समूहको फाइनलमा सुस्मालाई उज्वेकिस्तानकी फोजिलोभा फार्जोनाले पराजित गरेकी थिइन् । रजत पदक भित्र्याएर सुस्माले महिला बक्सिङलाई गम्भीर रुपमा लिन सन्देश दिएकी छन् ।

साउदी अरेबियामा भएको विश्व पारा तेक्वान्दो ग्राँपिमा नेपालकी सिर्जना घिसिङले ऐतिहासिक स्वर्ण हात पारिन् । उनले ५२ केजी मुनि के-४४ स्पर्धामा विश्व नम्बर १ खेलाडी टर्कीकी मेर्येम बेटुललाई १२-० ले हराएकी थिइन् । फाइनल पुग्नुअघि सिर्जनाले सेमिफाइनलमा ब्राजिलकी क्रिस्टियन नासिमेन्टो र क्वार्टरफाइनलमा मेक्सिकोकी जेसिका क्विजानोलाई पन्छाएकी थिइन् । विश्व पारा तेक्वान्दो ग्राँपिमा नेपालले जितेको यो पहिलो स्वर्ण थियो ।  यो प्रतियोगितामा पलेसा गोवर्धनसहित दुई खेलाडीको सहभागिता थियो ।

बंगबन्धु सेख मुजिब ढाका म्याराथानमा पुष्पा भण्डारीले नेपाललाई स्वर्ण पदक दिलाइन् । साफ एलिट महिलातर्फको प्रतिस्पर्धामा पुष्पाले २ घण्टा ४८.०२ मिनेटमा दौड पूरा गरेकी थिइन् । नेपालकै वृन्दा श्रेष्ठले २ घण्टा ५२.२२ मिनेटमा दौड पूरा गरेर तेस्रो स्थानमाथि कब्जा गरेकी थिइन् । पुरुषतर्फको हाफ म्याराथनमा नेपालका गोपीचन्द्र पार्कीले कांस्य जितेका थिए ।