खेल पत्रकार

भाषाका ‘डाक्टर’ ध्रुव

काठमाडौं । ध्रुव तुलाधरलाई कसैले मायाले ‘डाक्टर’ भनेर बोलाउँदा अचम्म मान्नेहरूको कमी छैन । अनि यस्तै प्रश्नहरू उठ्ने गर्छन् । खासमा उनी डाक्टर नै हुन् । तथापि उनी न एमबिबिएस पढेका चिकित्सक डाक्टर हुन् न त विद्यावारिधि गरेका ठुलाबडा नै । उनी त भाषाका ‘डाक्टर’ हुन् । उनी कसैले लेखेका समाचारका शब्दहरु चिरफार गर्छन् । तिनै शब्दलाई जोडजाड पनि गर्छन् । कतै कुनै रूप, शैली बिग्रेको छ भने सपार्छन् । अनि साँच्चै भएनन् त भाषाका डाक्टर ?

नेपालमा खेल पत्रकारिताको इतिहास लामै छ । कति पत्रकार आए । गए । त्यसमध्ये अहिलेसम्म उत्तिकै सक्रिय रहेकामा औंलामा गन्न सकिनेमध्ये एक हुन्, ध्रुव । चल्तीको भाषामा ‘सिनियर’ । कसैको यसमा विमति हुनसक्छ । तर नियमित रूपमा रिपोर्टिङमा हिँड्ने जति छन्, तिनलाई कम्तीमा भावनात्मक रूपमा लाग्छ, यिनै ध्रुव दाइ हुन् सबैभन्दा अनुभवी । फेरि आफूलाई जुन विधामा दखल छ, त्यसले व्यक्तिको विशेषता झल्काउँछ ।

खेलकुद समाचारको आफ्नै साहित्य छ । यी समाचारलाई श्रृंगार गर्ने आफ्नै विशिष्ट शैली छन् । ध्रुवलाई महारत प्राप्त यसैमा हो । सम्भवतः अहिलेका पुस्ताका खेल पत्रकारमध्ये त्यस्ता कोही छैनन् होला, जसले लेखेका खेलकुद समाचार ध्रुवले छोएर त्यसलाई राम्रो नबनाएको होस् । खेलकुद भनेपछि नाक खुम्च्याउनेहरूलाई लाग्न सक्छ, यससँग जोडिएका पत्रकारको भाषा, शैली कमजोर हुँदो हो । तिनलाई भाषा साहित्यबारे थाहा नहुन सक्छ ।

तर होइन, खेल पत्रकार पनि उम्दा छन् । अनि तिनलाई पर्दा पछाडिबाट उम्दा बनाउने यिनै हुन् । उनी भन्छन्, ‘खेल पत्रकार पनि कम्तीका छैनन् । फरक शैलीमा मिठास फस्कने पत्रकारहरु खेलकुदमै छन् ।’ खेल पत्रकारिता वृत्तमा भाषा साहित्यलाई लिएर जति-जति बेला कुनै बहस हुन्छ, जति बेला समस्या हुन्छ, सबैले सम्झने भनेका यिनै ध्रुव त हुन् । वास्तवमै उनी नेपाली खेलपत्रकारिताका ‘ध्रुवतारा’ हुन् । उनीसँग संगत गर्नेलाई थाहा छ, यिनी कम बोल्छन् । बोल्दा पैसा खर्च होला जस्तो गर्छन् ।

कसैले केही भन्यो भने लामो लय तानेर ‘हँ’ भन्छन् । फेरि उनको बोली पनि अलि वजनदार सुनिन्छ । त्यसैले कसैलाई उनीसँग बोलिहाल्न पनि डर हुन्छ । तर, उनी पक्कापक्की ‘जेन्टलम्यान’ पनि हुन् । अचेल उनी कान्तिपुर दैनिकसँग आबद्ध छन् । त्यसअघि नागरिक दैनिकमा थिए । त्योभन्दा पनि अगाडि नेपाल समाचारपत्र र महानगर दैनिकमा थिए । सुरुआत भने छलफल साप्ताहिकबाट भएको थियो । ध्रुवले डेस्कमा बसेर यसरी खेल पत्रकारिता सम्हालेको केही नभए पनि २० वर्ष पुगेको हुनुपर्छ ।

तर, उनको ‘पत्रकारिता जर्नी’ भनेको ०५० सालदेखिकै हो । जतिबेला उनी छलफलमा थिए । के यो एउटा सिंगै इतिहास होइन र ?

नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले हालै मात्र उनलाई सम्मान गरेको छ, नेपाली खेल पत्रकारितामा पुर्याएको योगदानका लागि । ‘क्या बात !’, ध्रुवले सम्मान थाप्दा सबैको यस्तै धारणा थियो । फेरि एउटा तथ्य के पनि हो भने उनी चाहिएको बेला उत्तिकै राम्रो रिपोर्टिङ पनि गर्छन् । उनी कम रिपोर्टिङ गर्छन् । जतिबेला गर्छन्, फेरि राम्रै गर्छन् । उनको ‘बाइलाइन’ बोकेका समाचार खोजेर पढ्नु । कम्तीका छैनन्, ती सबै ।

समस्या कहाँनिर छ भने उनी साँच्चै कमै मात्र रिपोर्टिङ गर्छन् । ध्रुव यो अर्थमा साह्रै अल्छी छन् । उनलाई यस्तो भन्दा केही फरक पर्दैन । किन यस्तो ? यही प्रश्न उनलाई गर्ने हो भने उत्तर आउने गर्छ, त्यही ‘हँ’ । सकियो । प्रतिक्रिया यत्तिकै मात्र हो । बरू अरूले लेखेका समाचार मिलाउँदैमा खुसी । सायद यही बानीले ‘डेस्क पत्रकारिता’मा उनलाई विशेष बनाएको छ । अब उनकै मुखबाट सुनौं न भाषाको दृष्टिकोणले मूलधारको नेपाली खेलकुद पत्रकारिता कता छ ?

उनलाई के लाग्दो हो । यो क्षेत्रमा रोगचाहिँ के छ ? उनी भन्छन्, ‘नेपाली खेल पत्रकारिता आफैंमा पछाडि छ भन्ने होइन । यसमा संलग्न पत्रकार पनि अरू विधाका पत्रकारभन्दा कम छैनन् । केही खेल पत्रकारको भाषा र साहित्यमा दखल पनि कम्तीको छैन । यस क्षेत्रमा नयाँ पुस्ता जति थपिएका छन्, तिनमा पनि केही सिक्ने र राम्रो गर्ने इच्छा छ । यही सिक्ने सिकाउने काम भने धेरै बाँकी छ । चाहे त्यो भाषाकै कुरामा किन नहोस् या समाचार लेखनमै ?’

अन्त्यमा ध्रुव स्वयं कसरी यो खेल पत्रकारितामा मोडिए त ? यो प्रश्न पनि उत्तिकै महत्वको छैन र ? खेल पत्रकारहरू दुईथरीका छन् भनिन्छ । पहिलो हुन्, खेललाई मन पराएर यता छिरेका । अर्कोथरी पत्रकारिता पढेर यो क्षेत्रमा प्रवेश गरेका । उनी पहिलो थरीका हुन् । धेरैलाई थाहा नहुन सक्छ । किशोर उमेरमा उनी पनि खेलाडी थिए । तर टोलेमात्र । रनिङ, हाइजम्प, लङजम्प जस्ता विधामा रूचि राख्थे । स्कुल र गाउँटोलमा खेल्थे । तर, त्यतिबेला उनले वास्तविक खेलाडी बन्ने बाटो पहिल्याउन सकेनन् ।

उनी यसलाई संयोग मान्छन् । धादिङ कल्लेरीमा जन्मेहुर्केका यिनी जब काठमाडौं क्याम्पस पढ्न आए । तब गंगालाल तुलाधर (पूर्वमन्त्री÷ठूलो बाका छोरा) ले यिनलाई पत्रकारितातिरको बाटो देखाइदिए । जब पत्रकारितामा छिरे, सुरुमा अरू बिटमै काम गरे । पछि उनलाई लाग्यो, आफूलाई मनपरेको खेलक्षेत्र किन नरोज्ने ? 

उनले सही निर्णय गरे । समग्र नेपाली पत्रकारिताले नै पायो, भाषामा राम्रै दखल भएका एक खेल पत्रकार । अर्थात् ‘डाक्टर’ ध्रुव ।
खेलाडीले दिएको सम्मानका अवसरमा हामी सबैको पनि ‘डाक्टर’लाई धेरै धेरै बधाई तथा शुभकामना ।