पल्सर स्पोटर्स अवार्ड

खेलकुदको बलियो खम्बा ‘पल्सर स्पोर्ट्स अवार्ड’

विश्व खेलकुदको नक्सामा नेपाललाई खोज्न निकै कठिन छ । किनकि यसले ओगट्ने भाग निकै सानो छ । अन्तर्राष्ट्रिय खेलकुदमा नेपालको कमजोर उपस्थिति कसरी प्रभावकारी र गौरव गर्न लायक बनाउने ? भन्ने प्रश्नको उत्तर खोज्न नघोत्लिने खेल प्रशासक सायदै होलान् ।

दुई पटक कार्यकारी प्रमुख सदस्यसचिवको पदमा रहेर राष्ट्रिय खेलकुद परिषदलाई नेतृत्व गरिसकेको र महासचिव तथा अध्यक्षको हैसियतमा पछिल्लो चार कार्यकालदेखि नेपाल ओलम्पिक कमिटीको नेतृत्वमा रहिरहँदा यही प्रश्नले मलाई पनि पछ्याइरहेको छ । नेपाली खेलकुदमा केही पनि नभएकै हो त ? पक्कै होइन । समयक्रमसँगै तुलनात्मक रूपमा विगतभन्दा नेपाली खेलक्षेत्र विकास हुँदै गएको छ । जुन गतिमा अगाडि जानुपर्ने हो, त्यसअनुसार नभएको भने पक्कै पनि हो ।

स्पोर्ट्स लिडर्स समिटको तयारीमा व्यस्त भइरहँदा नेपाल खेलकुद पत्रकार मञ्चले बर्सेनि गर्ने पल्सर स्पोर्ट्स अवार्डबारे लेख्न अनुरोध आएपछि फेरि समग्र नेपाली खेलकुदको अवस्थाबारे त्यो प्रश्नले घच्घच्यायो । जीवनको अधिकांश उर्जावान समय खर्चिएको खेलकुदलाई निकै गुण लगाएको अवार्डबारे लेख्न अनुरोध गरिनु मात्र पनि मेरा लागि एउटा सम्मान थियो । नेपाली खेलकुदमा मैले केही योगदान गरेको छु भन्ने सोचेर खेलाडी डटकमले मलाई यस्तो सम्मान गरेको थियो होला । यही कारण राजनीति र नेपाली खेलकुदको सिपाही भए पनि मैले आफ्ना भावना लिपिबद्ध गर्ने आँट गरेको हुँ ।

खासमा खेलकुद वा अरू कुनै पनि क्षेत्रको अवस्था, इतिहास र भविष्यको विश्लेषण त्यसलाई छुट्टै राखेर गर्न खोजियो भने सही निष्कर्षमा नपुग्ने सम्भावना बलियो रहन्छ । नेपाली खेलकुदको हकमा पनि यसलाई आइसोलेसनमा राखेर चर्चा गर्नु सही हुँदैन । खेलकुदको विकासक्रमलाई समग्रतामा देशसँग जोडेर हेरियो भने मात्र त्यसले सही दृश्य देखाउँछ र स्पष्ट मार्गनिर्देशन पनि गर्छ ।

नेपालमा खेलकुदको इतिहास लामो भए पनि यसले अपेक्षाकृत ढंगबाट विकासको उचाइ हासिल गर्न सकेको अवस्था छैन । देशको राजनीतिमा धेरै खालका उतारचढाव हुँदै आए । राजनीति सधैं अस्थिर भइरह्यो । जसको प्रभाव प्रत्यक्ष रूपमा खेलकुदमा पनि भयो । विकासका लागि बेलाबेलामा प्रयासहरू भए पनि स्थिर ढंगले त्यसको निरन्तरता हुन पाएन । राजनीति र देशको समग्र अवस्थाका कारण आफैं पनि उतारचढावका साथ अगाडि बढ्नुपर्दा खेलकुदमा भएका विकासका त्यस्ता प्रयासहरूले अपेक्षित नतिजा दिन सकेनन् ।

समग्रमा खेलकुद भनेपछि यसको मुख्य पात्र खेलाडी नै हुन् । र, हामी चुक्दै आएको क्षेत्र पनि यिनै खेलाडीलाई निर्धक्कसँग खेलकुदमा लाग्ने वातावरण दिन नसकेकोमा हो । अझभन्दा खेलकुदमा लाग्न हानाथाप सिर्जना गर्न सक्नुपर्थ्यो, जुन हामीले सकिरहेका छैनौं । खेलाडीलाई खेलकुदमा प्रवेश गराउने र टिकाइराख्ने कुरा निकै महत्त्वपूर्ण हुन्छ । हाम्रो देशको अनुभवले प्रवेश गराउने पक्षमा व्यापकता जस्तो देखिए पनि टिकाइराख्ने कुरा निकै चुनौतीपूर्ण बनेको छ । पछिल्लो समय त यो चुनौती झनै बढ्ने क्रममा छ ।

एउटा स्तरसम्म पुगेका खेलाडीहरू खेल क्षेत्रमात्र होइन, देशै छोडेर पलायन हुने क्रम बढिरहेको छ । यसको मुख्य कारण भनेको नेपाली खेलकुदको आकर्षणले खेलाडीलाई बाँधिरहन नसक्नु नै हो । खेलकुदमा लागेपछि खेलाडीले केही अपेक्षा गरेको हुन्छ । खेलकुदमा लागेवापत व्यक्तिगत सन्तुष्टि खेलाडीको पहिलो चाहनाको विषय हो । त्यसपछि उसले सामाजिक पहिचान र उज्ज्वल भविष्य पनि अपेक्षा गरेको हुन्छ । तर समग्रतामा खेलाडीको उज्ज्वल भविष्यको ग्यारेन्टी, खेलाडीलाई उत्साहित बनाउने, सन्तुष्टि दिने र सामाजिक पहिचान दिने खालका विषयमा नीतिगत तथा कार्य क्रमिक रूपमा केही गर्न सकेको अवस्था छैन ।

स्वयं राज्य र सम्बन्धित खेल प्रशासनले उपयुक्त वातावरण सिर्जना गर्न नसकिरहेका बेला नेपाल खेलकुद पत्रकार मञ्चले गर्दै आएको एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डले खेलाडी, खेलकर्मी र समग्र नेपाली खेलकुदलाई प्रेरणा प्रदान गर्दै आफ्नो विशिष्ट स्थान बनाएको छ । माथिको भूमिका नेपाली खेलकुदमा स्पोर्ट्स अवार्डको महत्व बुझ्न सजिलो होस् भनेर उल्लेख गरिएको हो । कम्तीमा मैले चाहिँ स्पोर्ट्स अवार्डलाई यसैगरी बुझेको छु ।

अवार्डले खेलाडी र खेलकर्मीलाई आशा जगाउने, उत्साहित बनाउने, प्रेरित गर्ने काम निरन्तर रूपमा गरिरहेको छ भन्ने मेरो अनुभव हो । यो अवार्ड प्राप्त गर्ने खेलाडीलाई समाजे सेलिब्रेटीको रूपमा हेर्ने र चिन्ने काम भइरहेको छ । खेलजीवनमा प्रवेश गरेर आफूलाई समाजमा चिनाउन सक्ने आधार खेलाडी र खेलकर्मीले यो अवार्डमार्फत प्राप्त गरेका छन् । समग्रमा यो नेपाली खेलकुदको एउटा प्रेरणा स्रोत बनेको छ । सबै क्षेत्रमा खेलाडीलाई उत्साहित बनाउन भूमिका खेल्नुपर्ने सन्देश निरन्तर प्रवाह गरिरहेको छ ।

यसबाटै प्रेरित भएर अरू पनि थुप्रै अवार्ड स्थापित भइरहेका छन् । तर सबै अवार्डको बीचमा पल्सर स्पोर्ट्स अवार्डको छुट्टै पहिचान र स्थान छ । यही कारण मैले आफू राखेपको सदस्यसचिव हुँदा अवार्डलाई सरकारको तर्फबाट गर्ने सहयोग रकम वृद्धिका लागि प्रस्ताव गरेको थिएँ । खेलाडीलाई उत्प्रेरणा दिने काम गर्नुका साथै खेलजगतलाई नै चिनाउने र खेलको महत्व बढाउने काम गरेकाले अवार्डलाई अझै प्रमोट गर्नुपर्छ भन्ने उद्देश्यबाट सहयोग बढाउन निर्णय गरेको थिएँ । अहिले नेपाल ओलम्पिक कमिटीको नेतृत्वमा हुँदा पनि स्रोतको सीमितताका कारण आर्थिक रूपमा धेरै गर्न सकेका छैनौं । तर, सोलिडारिटी कायम छ ।

नेपाल खेलकुद पत्रकार मञ्च र यसले गर्ने स्पोर्ट्स अवार्ड भनेपछि झट्ट दिमागमा आउने अर्को सकारात्मक पक्ष नेपालमा ओलम्पिक अभियानको प्रवद्र्धनमा मिलेको सहयोग हो । ओलम्पिक अभियानको प्रवर्धन र सञ्चालनमा एनएसजेएफ र यो अवार्डको ठूलो योगदान छ । मञ्च अन्तर्राष्ट्रिय खेलकुद पत्रकार महासंघ (एआइपिएस)को सदस्य हो । एआइपिएस आइओसीसँग आबद्ध छ । त्यसैले एआइपिएस र मञ्चले ओलम्पिक अभियान प्रमोसनको निरन्तर काम गरिरहेका छन् ।

अवार्डले खेलकुदको महत्व बढाउने, खेल क्षेत्रसँग आबद्धताका लागि प्रेरित गर्नेजस्ता काम गरिरहेको छ । यो सबै ओलम्पिक अभियानकै उद्देश्य हो । किनभने सबै मानिसलाई गतिशील बनाउने, खेलकुदमा संलग्न हुुनुपर्छ भन्ने सन्देश प्रवाह गरेर समाजलाई लाभान्वित बनाउने काम ओलम्पिक अभियानका उद्देश्य हुन् । लैंगिक समानता, मानवअधिकार, एकता, भाइचारा, विकास जस्ता सन्देश खेलकुदको माध्यमबाट दिने भन्ने ओलम्पिक अभियानको उद्देश्यलाई अवार्डले प्रत्यक्ष रूपमा अगाडि बढाइरहेको छ ।

पल्सर स्पोर्टस अवार्डको सुन्दरता भनेकै यो लैंगिक रूपमा समान छ । कुनै विभेद छैन । फरक क्षमता भएकाको पनि यहाँ सम्मान हुन्छ । पाका खेलकर्मीदेखि युवासम्मलाई यसले समेटेको छ । नेपाली खेलकुद र खेल पत्रकारिताको प्रवर्धनमा योगदान गर्ने विदेशी पत्रकारलाई समेत सम्मान गर्दा अवार्डले  देशमा मात्र सीमित नभई विश्वव्यापी हुन अग्रसर बनेको छ । नेपाली खेलकुदलाई अन्तर्राष्ट्रियकरण गर्न योगदान गरिरहेको छ । समग्रमा नेपालमा मात्र सीमित नभएर अन्तर्राष्ट्रिय स्तमा ओलम्पिक अभियान प्रवर्धन गरिरहेको छ । यसले नेपाली खेलकुदको सन्देश विश्वव्यापी रूपमा फराकिलो बन्दै छ ।

विभिन्न राजनीतिक, आर्थिक, सामाजिक र भौतिक सीमितता र समस्याका कारण खेलकुद स्वाभाविक रूपमा अगाडि बढ्न नसकिरहेको अवस्थामा यो अवार्डले समग्रमा नेपाली खेलकुदलाई ब्रान्डिङ गर्ने काम पनि गरिरहेको छ । अवार्डलाई अवार्डको रूपमा मात्र हेरिनुहुन्न । खेलकुदको महत्वलाई जति उजागर गरियो त्यति नै व्यावसायिक प्रतिष्ठानहरू आकर्षित हुने हो । खेलाडीलाई उसको प्रदर्शनका आधारमा सम्मानित गरिरहँदा अवार्डले सँगसँगै खेलकुदलाई प्रवर्धन गरिरहेको हुन्छ । समग्रमा ओलम्पिक अभियान अगाडि बढाइरहेको हुन्छ ।

देशको राजनीतिक कारणले खेलकुदमा देखिएका अस्थिरताका र उतारचढावका बीच पनि स्थापनाकालदेखि नै खेलाडीलाई उत्साहित बनाउने, खेलजगतलाई नै प्रवर्धन गर्ने उद्देश्यले निरन्तर आयोजना भइरहनु निकै सकारात्मक कुरा हो । कोभिड-१९ को विश्वव्यापी महामारीको समयमा सबथोक रोकिँदा पनि पल्सर स्पोर्ट्स अवार्डले निरन्तरता पायो । यो निकै प्रशंसनीय पक्ष हो । खेलजगतका लागि यो एकदमै सुखद पक्ष हो । यसले जस्तोसुकै उतारचढावबीचमा पनि आफ्नो कर्म गर्दै गयो भने त्यसले उचाइ प्राप्त गर्छ । त्यसले एउटा सबैलाई सन्देश दिने र सफल हुने कुरा निश्चित हुन्छ भन्ने प्रमाणित गरेको छ ।

अन्तमा, यो अवार्ड प्रत्येक वर्ष निखारिँदै आएको छ । यो क्रमले आगामी दिनमा पनि निरन्तरता पाओस् । अझ आधुनिक र प्रविधिमैत्री हुँदै जाओस् । नेपाली खेलकुद विकासक्रमको एउटा बलियो खम्बाका रूपमा एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड स्थापित होस् ।

(नेपाल ओलम्पिक कमिटीका अध्यक्ष श्रेष्ठ पूर्व पर्यटनमन्त्री तथा राखेपका सदस्यसचिव पनि हुन्)