पल्सर स्पोर्ट्स अवार्ड

स्पोर्ट्स अवार्ड र फैलिएको आयतन

काठमाडौं । एउटा समय थियो, नेपाली खेल पत्रकारको छाता संगठन नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) भर्खर संगठित भएको थियो । आर्थिक रूपमा निकै कमजोर । सांगठनिक रूपमा परिपक्व पनि थिएन । तर, सोच भने ठूलो थियो ।

समग्र खेल पत्रकारलाई संगठित गर्दै उनीहरूको सशक्तीकरणको अभियान थाल्नुपर्ने जिम्मेवारी थियो । अनि त्यतिमात्र नभई निकै भद्रगोल अवस्थामा घिस्रिइरहेको नेपाली खेलकुदलाई पनि सही बाटो देखाउनुपर्ने थियो । अभावको भूमरीमा रुमल्लिएर ओइलाएका नेपाली खेलाडीलाई प्रोत्साहनको उर्जा थप्ने महत्त्वाकांक्षी सपना थियो ।

त्यही सपनाले जन्माएको हो स्पोर्ट्स अवार्डलाई । २०५२ सालमा मञ्च स्थापना भएपछि दुई वर्षमै पहिलो पटक अवार्ड भएको इतिहास छ । त्यसपछि लामो समयसम्म अवार्ड स्लिप मोडमा गयो ।

२०६० सालमा निरञ्जन राजवंशीको नेतृत्वमा मञ्चमा नयाँ नेतृत्व आएपछि स्लिप मोडमा पुगेको अवार्डरुपी सपना फेरि ब्युँताउने निर्णय भयो । तर, आर्थिक रूपमा मञ्चको अवस्था निकै दयनीय थियो । बैंक खातासमेत थिएन । तथापि नेपाली खेलकुदलाई उत्प्रेरणा जगाउने आवश्यकता थियो । त्यसको जिम्मेवारी लिनुपर्छ भन्नेसम्मको चेत पनि सरकार र सम्बन्धित निकायमा थिएन । जुनसुकै मूल्यमा यसको नेतृत्व लिने दृढ सोचसामु मञ्चलाई आर्थिक दुरावस्थाले रोक्न सकेन ।

२०६० को त्यो संस्करण सफल पार्न मञ्चका कार्यसमिति सदस्यहरूले जनही एक हजार रुपैयाँ उठाएका थिए । व्यावसायिक प्रतिष्ठानको साथ शून्य थियो । राष्ट्रिय खेलकुद परिषद (राखेप) र तत्कालीन समयको सबैभन्दा चलायमान र सवल संघ अखिल नेपाल फुटबल संघ (एन्फा)ले ५/५ हजार रुपैयाँ सहयोग गरे । बेइजिङ डक गार्डेन रेस्टुरेन्टले हल निःशुल्क उपलब्ध गराइयो अनि सम्भव भयो, अवार्डको दोस्रो संस्करण ।

कार्यसमिति सदस्यले एक/एक हजार रुपैयाँ उठाएर २५ हजार रुपैयाँको बजेटमा सुरु भएको अवार्ड अहिले करिव तीन करोड बराबरको इभेन्ट भइसकेको छ । नेपाली खेलकुदको मात्र नभई समग्र देशकै सर्वोत्कृष्ट इन्डोर इभेन्टमा स्थापित छ । खेलाडीमात्र नभई समग्र खेलकर्ममा लागेकालाई प्रोत्साहित गर्ने प्रतिष्ठित कार्यक्रम बनिसकेको छ । खासमा भन्दा नेपाली खेलकुदमा खेलकर्मीले गरेका योगदानहरूको मापन गर्ने आधिकारिक थलो बनेको छ ।

खेल पत्रकारको तीव्र चाहनाबाट सुरु भए पनि अवार्ड शून्यबाट उठेर प्रतिष्ठाको शिखर पुग्न मञ्चको प्रयासमात्र पर्याप्त पक्कै थिएन । खेलकुदका सरोकारवालाहरूको विश्वासमात्रले पनि स्पोर्ट्स अवार्ड यहाँसम्म ल्याइपुर्याएको होइन । अवार्डलाई ‘नेपाली खेलकुदको मापक’ हैसियतमा पुर्याउनका लागि सच्चा सारथिका रूपमा विभिन्न व्यावसायिक प्रतिष्ठानहरूले दिएको साथ महत्त्वपूर्ण मान्छन् मञ्चका पूर्वअध्यक्ष निरञ्जन राजवंशी ।

‘अवार्डप्रतिको हाम्रो लगाव र उद्देश्यबाट व्यावसायिक प्रतिष्ठानहरू प्रभावित भए । हामीले सुरु गरेको तेस्रो वर्ष २०६२ मै चौधरी ग्रुपको एलजीबाट साथ पायौं,’ तीन कार्यकाल मञ्चको नेतृत्व सम्हालेका राजवंशीले सुनाए, ‘त्यसपछि हंशराज हुलासचन्द एन्ड कम्पनीको पल्सर मोटरसाइकलले निरन्तर मुख्य प्रायोजकका रूपमा हाम्रो अवार्डमा सहकार्य गरिरहेको छ ।’

एसियाली खेल पत्रकारहरूको छाता संगठन एआइपिएस एसियाका कोषाध्यक्षसमेत रहेका राजवंशीले पल्सरसँगै सूर्य नेपाल र नेपाल सरकारको साथलाई पनि अवार्डको मेरुदण्डका रूपमा बयान गरे ।

राजवंशीले स्मरण गरेजस्तै अवार्डले नेपाली खेलकुदको सबैभन्दा ठूलो इभेन्टका रूपमा पहिचान स्थापित गर्ने क्रममा विभिन्न समयमा विभिन्न व्यावसायिक प्रतिष्ठानको साथ पाएको छ । कतिपय सहयोगीहरू निरन्तर अवार्डसँग सहकार्य गरिरहेका छन् भन् कतिपयले आर्थिक रूपमा नियमित साथ दिन सकेका छैनन् । तर, भावनात्मक रूपमा भने अवार्डको अभियानसँग एकपटक जोडिएपछि सबैको साइनो अटुट बनेको राजवंशी बताउँछन् ।

उनी भन्छन्, ‘कतिपय प्रायोजकहरूले आर्थिक अवस्थाका कारण कुनै वर्ष गर्न सक्नुहुन्न । तर उहाँहरू भौतिक र भावनात्मक रूपमा चाहिँ अवार्ड सफल पार्न हामीसँग सहकार्य गरिरहनुभएको छ ।’

तीन वर्षसम्म सह-प्रायोजकका रूपमा अवार्डसँग जोडिएको केल्मेका निर्देशक उत्तम न्यौपाने खेलाडीको सम्मानका लागि मञ्चले गरेको प्रयासबाट प्रभावित भएर सहकार्य गरेको बताउँछन् ।

‘यो खेलाडीका लागि मात्र नभई समग्र खेलकुद क्षेत्रमै ठूलो कदम हो । सरकार र उनीहरू आफै आबद्ध रहेको संघ सम्मान गर्न पछि परिरहेको समयमा मञ्चको यो अवार्डले उनीहरूमा विशेष उर्जा दिने गरेको छ । निजी क्षेत्रबाट हुने यस प्रकारका कार्यक्रमले खेलाडीहरूको हौसता बढाउने छ । यस कदमका लागि मञ्चलाई धन्यवाद दिन चाहन्छु,’ यसपालि प्रत्यक्ष रूपमा संलग्न नभए पनि अवार्डसँग भावनात्मक रूपमा निकट रहेको न्यौपाने सुनाउँछन् ।

आसन्न १९ औं संस्करणको स्पोर्ट्स अवार्डमा केल्मेलाई स्थानान्तरण गर्दै सहप्रायोजकका रूपमा सम्झौता गरेको एडिडासका लागि नेपालको आधिकारिक बिक्रेता रुट्स ग्रुपका प्रबन्ध निर्देशक सञ्जिव तुलाधर नेपालकै प्रतिष्ठित अवार्डसँग फेरि जोडिन पाएकोमा खुसी व्यक्त गर्छन् ।

‘खेलाडी र खेलकर्मीको सम्मानमा जोडिन पाउँदा हामीले आफूलाई गौरवान्वित ठानेका छौं । यसअघि पनि हामीले मञ्चसँग सहकार्य गरेका थियौं । तर, विविध कारण बीचमा सहकार्य निरन्तर हुन सकेन । आगामी वर्षहरूमा पनि हाम्रो सहकार्यले निरन्तरता पाउने विश्वास छ,’ तुलाधर भन्छन् ।

खेल सामग्री उत्पादक कम्पनी एडिडास १० वर्षपछि फेरि यसपालि यही मंगलबार हुने अवार्डको १९औं संस्करणसँग जोडिएको हो । आरजे स्पोर्ट्स, साहस स्पोर्टस र केल्मेले त्यसबीचमा अवार्डलाई सघाएका थिए । अवार्डसँग सूर्य नेपाल, रोयल सिंगी होटल र होटल प्लाजा ग्रुपको निरन्तर साथ रहँदा यसलाई माथि उचाल्नका लागि गोल्ड स्टार, डिस मिडिया नेटवर्क, नबिल बैंक, मेगा बैंक, ईसेवा, रुस्लान, बाह्रसिंगे, मायोज चाउचाउ, न्यु होराइजन कार्पेटलगायतको साथ रहेको थियो ।

लगातार १३ संस्करणदेखि मुख्य प्रायोजकका रूपमा अवार्डसँग सहकार्य गरिरहेको हंशराज एन्ड हुलासचन्द कम्पनीका निर्देशक अभिमन्यू गोल्छा सरकारले खेलाडीहरूलाई उचित सम्मान गर्न चुकिरहेको अवस्थामा खेलकुद पत्रकारले थालेको सकारात्मक पहल भएकाले निरन्तर साथ दिएको बताउँछन् । खेलकुद देशलाई जोड्ने माध्यम भएकाले पनि विभिन्न बहानामा समाज विभक्त भएको अवस्थामा अवार्डको आवश्यकता अझ बढी देख्छन् उनी ।

भन्छन्, ‘खेलकुद भनेको देशलाई अन्तर्राष्ट्रिय रूपमा प्रस्तुत गर्ने राम्रो माध्यम हो । यसले देशलाई एकताको सूत्रमा जोड्छ । अनि हामीले खेलकुद पत्रकार मञ्चसँगको सहकार्यमा गर्दै आएको अवार्डले त्यसमा केही योगदान गरेको छ भन्ने अनुभूत गर्न पाउँदा गर्व लाग्छ ।’

अवार्डको सह–प्रायोजक सूर्य नेपालकी मार्केटिङ एक्जुकेटिभ असिस्टेन्ट मेरिना श्रेष्ठ खेलाडीको सम्मानका लागि गरिने सबैभन्दा प्रतिष्ठित अवार्डमा प्रत्येक वर्ष सहकार्य गर्न पाउँनु आफ्ना लागि पनि अवसर भएको बताउँछिन् । ‘यो अवार्डले खेलाडीहरूलाई थप उत्कृष्ट प्रदर्शन गर्न हौसला प्रदान गर्ने गरेको छ,’ उनको बुझाइ छ ।