१९औं एसियाली खेलकुद

१९ औं एसियाली खेलकुद - नेपालबाट कुन खेलमा कसको सहभागिता ? (भाग -१)

काठमाडाैं । चीनको हाङचाउमा अबको केही सातापछि १९ औं संस्करणको एसियाली खेलकुद सुरु हुँदै छ । त्यसमा नेपालले २९ खेलमा सहभागिता जनाउने पक्का भएको छ । त्यसमा खेल्ने खेलाडी संख्या रहेको छ २ सय ५३ । यो अहिलेसम्मकै एसियाली खेलकुदमा नेपालको ठूलो सहभागिता हो । अघिल्लो संस्करणमा इन्डोनेसियाको जकार्ता २०१८ मा नेपालले १ सय ८७ खेलाडीलाई सहभागिता गरेको थियो । 

यी खेलाडी को-को हुन् त ? तिनले खेल्ने खेल कुन हो त ? अझ तिनले प्रतिस्पर्धा गर्ने स्पर्धा कुन हो ? खेलाडी डटकमले यसबारे सबै विवरण शृंखलाबद्ध रूपमा प्रस्तुत गर्नेछ ।

यसको पहिलो भागमा ५ खेलको पूर्ण विवरण तयार पारेका छौं । हामी खेलको पनि विस्तारमा विवरण दिने नै छौं । यसपल्ट हामी केन्द्रित हुने ५ खेल हुन् । त्यसमा आर्चरी, एथलेटिक्स, ब्याडमिन्टन, बास्केटबल र बक्सिङ छन् ।

आर्चरी

सबैभन्दा पहिले आर्चरी । यो खेलमा चार खेलाडीको सहभागिता रहनेछ । महिलामा दुई र पुरुषमा दुई । महिलामा मन्जु बजगाईंले रिकर्भ इन्डिभिजुयल र रिकर्भ मिक्स्ड टिममा खेल्नेछिन् ।

इमायुङ राईले भने कम्पाउन्ड इन्डिभिजुयल र कम्पाउन्ड मिक्स्ड टिममा खेल्नेछिन् । पुरुषतर्फ तिलक पुन मगरले रिकर्भ इन्डिभिजुयल र रिकर्भ मिक्स्ड टिममा खेल्नेछन् । 
योगेन्द्र शेरचनले भने रिकर्भ इन्डिभिजुयल र रिकर्भ मिक्स्ड टिममा खेल्नेछन् ।

एथलेटिक्स


एथलेटिक्समा महिलातर्फ पुष्पा भण्डारीले म्याराथन तथा राजुपरा पछाईंले १० हजार र ५ हजार मिटर दौडमा चुनौती पेस गर्नेछन् ।

यस्तै फुलमती रानाले १५ सय र ८ सय मिटर दौड तथा सन्तोषी श्रेष्ठले ५ हजार र १० हजार मिटर दौडमा सहभागिता जनाउने छन् । पुरुषतर्फ दीपक अधिकारीले ५ र १० हजार मिटर दौडमा प्रतिस्पर्धा गर्नेछन् ।

अर्का धावक सोमबहादुर कुमालले ४ सय र ८ सय, गोपीचन्द्र पार्कीले ५ हजार र १० हजार मिटर दौड तथा राजन रोकायाले म्याराथनमा नेपालको प्रतिनिधित्व गर्नेछन् ।

ब्याडमिन्टन


ब्याडमिन्टनमा आठ खेलाडीले एसियाडमा खेल्नेछन् । महिलातर्फ नीता लम्सालले डबल्स र टिम इभेन्ट, रसिला महर्जनले सिंगल, डबल्स र टिम, अनुमाया राईले सिंगल, डबल्स र टिम तथा नङ्सलादेवी तामाङले डबल्स, टिम र मिक्स्ड डबल्समा खेल्नेछन् ।

पुरुषतर्फ जीवन आचार्यले डबल्स, टिम र मिक्स्ड डबल्स, प्रिन्स दाहालले सिंगल्स, डबल्स, मिक्स्ड डबल्स र टिम, सुनील जोशीले सिंगल्स, डबल्स र टिम तथा विष्णु कटुवालले डबल्समा प्रतिस्र्पा गर्नेछन् ।

बास्केटबल


बास्केटबलमा महिला थ्री बाई थ्रीमा मात्र नेपालको सहभागिता जनाउने भएको छ । त्यसमा खेल्ने चार खेलाडीमा मीना गुरुङ, श्रेया खड्का, रिन्छेन मोक्तान र गरिसा सिलवाल छन् ।

बक्सिङ


बक्सिङमा नेपालले पूरा कोटामा सहभागिता जनाउँदै छ । पुरुषतर्फ ७ र महिलातर्फ ६ तौल समूहमा नेपाली बक्सर रिङमा उत्रनेछन् । 
महिलातर्फ मीनु गुरुङले ५४ केजी, सरस्वती रानाले ७५ केजी, संगीता सुनारले ६० केजी, सुष्मा तामाङले ५० केजी, चन्द्रकला थापाले ५७ केजी र विनिता थापामगरले ६६ केजी तौल समूहमा भिड्ने छन् ।

पुरुषतर्फ रविन थापाले ५१ केजी, बुद्ध लामाले ५७ केजी, भूपेन्द्र थापाले ६३.५ केजी, दिपेश लामाले ७१ केजी, दीपक श्रेष्ठले ८० केजी, रविन नेपालले ९२ केजी र आशिष दवाडीले ९२ केजीमाथि तौल समूहमा प्रतिस्पर्धा गर्नेछन् ।