नेपाली फुटबल

फुटबलर धमाधम विदेशतिर, एन्फाको पारा ‘ताजुब’

काठमाडौं ।  नेपाली समर्थकमाझ फुटबल र क्रिकेट सबैभन्दा लोकप्रिय खेल पर्दछन् । आम मानिसको चासो, प्रतियोगितामा हुने दर्शक उपस्थिति, प्रायोजकले दिने महत्व, अन्तर्राष्ट्रिय निकायबाट आउने सहयोगलगायत सबै विषयमा फुटबल र क्रिकेट नेपालमा अन्य खेलहरूको दाँजोमा अगाडि छन् ।

यसै कारण नेपाली खेलकुदमा सदाबहार चर्चामा रहने खेल यिनै दुई हो । पछिल्लो समय पनि नेपाली खेलकुदमा फुटबल र क्रिकेटको चर्चा व्याप्त छ । चियापसलदेखि विभिन्न चोक र गल्लीमा खेलकुदसँग सरोकार राख्नेबीच भेट हुँदा यही दुई खेलको चर्चा सुरु भइहाल्छ ।

तर, अहिले त्यहाँ खेलाडीको प्रदर्शन र प्रगतिका कुरा हुँदैन । मैदानभित्रको खेल त समर्थकले बिर्सने बेला भइसक्यो । भविष्यप्रति आस गर्ने ठाउँ देखिन्न । कुरा हुन्छ त बेथिति, भ्रष्टाचार, मिलेमतो, आन्तरिक कलह, शक्तिसंघर्षको फोहोरी राजनीति, गुटबन्दी आदि इत्यादि विषयमा ।

नेपाल क्रिकेट संघ (क्यान)कै आयोजनामा पहिलोपल्ट भएको नेपाल टी-२० फ्रेन्चाइज लिग क्रिकेट पछिल्लो एक महिना आलोचना र विवादमा तानिरह्यो । बेटिङ र स्पट फिक्सिङको विषयमा छानबिन गरेर नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले केहीलाई कारबाहीको दायरामा ल्याइसकेको छ । कारबाहीको दायरामा नआइसके पनि यस घटनामा धेरैजना संलग्न रहेको अनुमान गरिएको छ । एकातिर खेलाडीले पारिश्रमिक पाएका छैनन् भने अर्कोतिर टिमलाई पुरस्कार पनि दिइएको छैन । प्रतियोगिता दौरान देशको कानुन पटक-पटक मिचिएको थियो । त्यसमाथि राष्ट्रिय खेलकुद परिषद्ले पनि छानबिन समिति बनाएर अनुसन्धान गर्यो । समितिले अनुसन्धान गरेर प्रतिवेदन पनि बुझाइसकेको छ । उता आइसिसीले पनि दुई सदस्यीय टोली पठाएर बेटिङबारे अनुसन्धान गरेर फर्केको छ ।

समग्रमा भन्नुपर्दा नेपाली क्रिकेट इतिहासमै सबैभन्दा कलंकित अवस्थामा पुग्यो । यता फुटबलको पनि अवस्था त्योभन्दा खास फरक छैन । फुटबल पनि अहिले भ्रष्टाचार, विश्वकप टिकट दुरुपयोगलगायतका विवादमा नराम्ररी फसेको छ । अँध्यारा कोठाहरूमा षड्यन्त्रका तानाबुना निरन्तर बुनिइरहेका छन् भने मैदानभित्र पर्याप्त फुटबल गतिविधिहरू छैनन् । कुनै दिन सुध्रिएला भन्ने आसलाग्दा गतिविधिहरू पनि छैनन् । यही खेलमा जीवन समर्पण गर्नेहरूले भविष्य उज्यालो देख्ने अवस्था छैन ।

यही कारण अहिले नेपाली फुटबलले अर्को लाजमर्दो अवस्था सामना गरिरहेको छ । भविष्य अन्धकार देखेर राष्ट्रिय स्तरका खेलाडीहरू भटाभट विदेशिन थालेका छन् । अघिल्लो सिजन शीर्ष डिभिजनको लिग खेलेकामध्ये चार दर्जनभन्दा बढी खेलाडी एन्फाले फागुनमा हुने घोषणा गरेको ‘ए’ डिभिजन लिगमा नहुने पक्का भइसकेको छ ।  

दिन दुई गुणा रात चौगुणा भनेझैं अस्ट्रेलियादेखि विभिन्न देशमा पलायन हुने नेपाली खेलाडीको संख्या थपिँदै छ । पछिल्लो समयमात्र ३५ भन्दा बढी खेलाडीले देश छाडिसकेका छन् । राष्ट्रिय टोलीमा निरन्तर खेलिरहेका र युवा टोलीमा प्रतिनिधित्व गरिसकेका दुई दर्जन खेलाडी अस्ट्रेलिया पुगेका छन् ।

पछिल्लो समय घरेलु प्रतियोगिता घट्दै जानु, एन्फा राजनीतिमा मुछिँदै जानु र घरपरिवार पाल्न समस्या हुँदै जान थालेपछि आफूहरू पलायनको बाटो रोजिरहेको खेलाडीहरू स्वयं बताउँछन् । अस्ट्रेलियामा श्रम गरेर राम्रो आम्दानी गर्ने भएपछि खेलाडीले सोच परिवर्तन गरेका छन् ।

‘खासमा फुटबल त हाम्रो करियर नै होइन रहेछ । हामीले त सोखको भरमा खेलेका रहेछौं । अब सोख छाडेर घरपरिवार र आफ्नो भविष्य हेर्ने बेला भयो । देशभित्र प्रतियोगिता हुने कुनै ग्यारेन्टी छैन । भए नि वर्षभर तलब पाइन्न । कतिपय अवस्थामा तीन महिनाको तलब पाउन पनि गाह्रो छ,’ हालै अस्ट्रेलिया पुगेका राष्ट्रिय टोलीका एक खेलाडीले भने, ‘नेपालमा फुटबल भनेको खेलाडीलाई मात्र चाहिएको रहेछ । त्यहाँ फुटबल विकास गर्छु भनेर एन्फामा पुगेकालाई आफ्नै दुनो सोझ्याउनमै फुर्सद छैन । त्यसैले बरू अस्ट्रेलियामा भूइँ पुछ्न तयार भएर आएका हौं ।’

दशकौं मैदानमा बिताएका नेपाली खेलाडीहरू अस्ट्रेलिया पुगेपछि सातामा एक दिन फुुटबल खेल्ने र बाँकी समयमा श्रम गरेर उज्ज्वल भविष्य खोजिरहेका छन् । विदेशी भूमिमा मजदुरीको विकप्प रोज्न बाध्य हुनेमा नेपालको प्रतिनिधित्व गर्दै दक्षिण एसियाली खेलकुद (साग), बंगबन्धु गोल्डकप, एएफसी सोलिडारिटी कप च्याम्पियन भएका खेलाडीसमेत छन् । साथै नेपालको प्रतिनिधित्व गरेर यु-१४, १५, १६, १७, १९ र यु-२३ टोलीमा सहभागी अधिकांस खेलाडी पनि अस्ट्रेलियाको भिसा पर्खाइमा छन् ।

‘देशका लागि भनेर धेरै वर्ष खेल्यौं । तर, खेलेर मात्रै घरपरिवार पाल्न गाह्रो हुँदोरहेछ । नेपालमा प्रतियोगिता केहिलेकाहीं मात्रै हुने, क्लब र एन्फाले समेत दिनुपर्ने पारिश्रमिक नदिएपछि सुन्दर भविष्यको खोजीमा अस्ट्रेलिया आएका हौं,’ सिड्नीको एक व्यावसायिक भवनमा सफाइको काम थालिसकेका एक खेलाडीले दुखेसो पोखे, ‘हामीले यहाँ पनि शून्यबाटै मिहिनेत गर्नुपर्छ । केही समय खेल्छौं सँगसँगै श्रम पनि गर्छौं । यहाँ गरेको श्रम र मिहिनेतको कदर छ । नेपालमा त त्यो हुन छाड्यो ।’

केही वर्षअघिसम्म पनि नेपालमा खेलाडीको इज्जत हुने गरेकामा अचेल अवस्था फेरिएको उनले तर्क छ । पछिल्लो समय राष्ट्रिय खेलाडी छनोट गर्दा पनि एन्फामा राजनीति हाबी हुन थालेकोप्रति उनको दुखेसो थियो ।

‘पहिला खेलाडीलाई कुन पक्षको भनेर हेरिँदैनथ्यो । तर अचेल त खेलाडी पनि आफ्नो पक्षको नभए राष्ट्रिय टोलीमा नपर्ने भयो । राष्ट्रिय टोली एउटा साझा थियो । त्यो पनि भागबण्डा गरे । प्रशिक्षक नियुक्तिका बेला यो हाम्रो पक्षको हो । यसलाई गर्नैपर्छ । त्यो विपक्षी हो, त्यसलाई गर्नहुन्न जस्ता कुरा एन्फा पदाधिकारीबीच हाकाहाकी छलफलको विषय बन्न थालिसक्यो । अब हामीजस्ता खेलाडीले केका लागि नेपाल बस्ने ?,’ उनले प्रश्न गरे, ‘ठूलो संख्यामा खेलाडीहरू विकल्प खोज्दै विदेशिन थालेपछि अचेल नेपालमा यसको चर्चा हुन थालेको रहेछ । एन्फाका पदाधिकारीहरू अहिले पनि राज्य र सरकारलाई दोष दिन थालेका छन् । तर, खास कुरा त्यसो होइन । एन्फा सही ढंगमा चल्ने हो भने कोही पनि आफूले त्यति धेरै माया गरेको खेल छाडेर यहाँ भाँडा माझ्न आउँदैनन् ।’

नेपालबाट केही वर्षअघिसम्म जगजित श्रेष्ठ र विमल बस्नेत अस्ट्रेलिया पुगेका थिए । पछि यो संख्या थपिँदा एलन न्यौपाने र हेमन गुरुङ त्यसतर्फ पुगे । तर, यस वर्षमात्रै राष्ट्रिय टोलीको प्लेइङ सेटमा खेल्ने दर्जन खेलाडी अस्ट्रेलियाको बाटो समातिसकेका छन् । युवा स्टारहरू अभिषेक रिजाल, सुमन अर्याल, तेज तामाङ, दिनेश राजवंशी, आशिष लामा, राजन गुरुङ, नितिन थापा, हेमन्त थापामगर, गौतम श्रेष्ठ, मिक्छेन तामाङ, दर्शन गुरुङ लगायत खेलाडी अस्ट्रेलिया पुगेका छन् । नेपालको यु-१९ र यु-२३ टोलीबाट खेलेका रेजिन सुब्बामात्रै अस्ट्रेलियाको स्थानीय लिग खेलेर फर्किएका छन् ।  

नेपालले केही महिनापछि बंगलादेशमा १४औं साफ च्याम्पियनसिप खेल्दै छ । तर, टोलीका अधिकांश खेलाडी अस्ट्रेलियामा पुगेका छन् । जसको असर राष्ट्रिय टोलीको प्रदर्शनमा पर्ने पक्कापक्की छ । अब बन्ने टोली पूर्ण नयाँ अनुहारका हुनेछन् ।

एन्फा भने सुखद भविष्य खोज्न जाने खेलाडीलाई ‘एयरपोर्ट गएर रोक्न सकिँदैन,’ भन्दै नालायकी प्रदर्शन गरिरहेको छ । ठूलो संख्यामा खेलाडी विदेसिँदा पनि एन्फा भने अरूलाई दोष थोपर्नमै मस्त छ । एन्फाका महासचिव किरण राई खेलाडी आफूखुसी अस्ट्रेलिया गएको र एन्फालाई कुनै जानकारी नभएको भन्दै पन्छिन खोज्छन् ।

‘खेलाडीले अस्ट्रेलिया जाँदा कुनै जानकारी गराएका छैनन् । हामीले लिग गर्ने भनेका छौं । क्लबले अनुबन्ध गरेकै छन् । यति गर्दा पनि खेलाडी आफूखुसी अस्ट्रेलिया जान्छन् भने हामी केही गर्न सक्दैनौं,’ एन्फा नेतृत्वमा पुगेपछि खेलाडी र खेलका लागि ठूलै गुन लगाएझै छ उनको लवज ।

साबिक लिग विजेता मछिन्द्र फुटबल क्लब, विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लब, विभागीय टोली एपिएफ फुटबल, नेपाल पुलिस क्लब, एनआरटी, मनाङ मस्र्याङ्दी क्लब, थ्री स्टार, सातदोबाटो युथ, हिमालयन शेर्पा, जावलाखेल युथ, संकटाबाट सहिद स्मारक ‘ए’ डिभिजन लिग खेलेका खेलाडीले देश छाडेका छन् । २०७८ सालमा भएको लिगमा विदेशी खेलाडीसहित १४ टोलीले ३ सय ८३ खेलाडी अनुबन्ध गरेका थिए । लिगमा सहभागीमध्ये  ३७ नेपाली खेलाडीले देश छोडिसकेका छन् । बाँकी डेढ दर्जनभन्दा बढी भिसा पर्खाइमा रहेको बताइन्छ ।

अस्ट्रेलियामा रहेका नेपाली समुदायका विभिन्न क्लबले अर्धव्यावसायिक ढाँचाको स्थानीय लिग खेल्दै आएका छन् । तिनै प्रतियोगिताका लागि सम्बन्धित नेपाली क्लबले खेलाडीको भिसा प्रक्रिया गर्ने गरेको पाइएको छ । प्रतियोगिता अवधिभरका लागि फुटबल खेल्ने भिसा लाग्छ । तर, त्यहाँ पुगेपछि खेलाडीले आफ्नो भिसालाई विद्यार्थी र श्रम भिसामा परिणत गर्ने गरिरहेको एक क्लबका पदाधिकारीले सुनाए ।

‘अरु सामान्य नेपाली युवाहरूले जस्तै खेलाडीले पनि भिसा थप्दै जान्छन् र अस्ट्रेलिया बसाई लम्ब्याउँदै जान्छन्,’ उनले भने ।

पछिल्लो समय विदेसिएका फुटबल खेलाडी 

अभिषेक रिजाल– मछिन्द्रआशिष लामा– एपिएफ  
दर्शन गुरुङ– एनआरटी सन्तोष तामाङ– आर्मी
सुमन अर्याल– आर्मीतेज तामाङ– नेपाल पुलिस
दिनेश राजवंशी– मनाङगौतम श्रेष्ठ– आर्मी
नितिन थापा– मनाङ हेमन्त थापामगर– थ्रीस्टार
मिक्छेन तामाङ– थ्रीस्टारराजन गुरुङ– एपिएफ
शिव गुरुङ– एनआरटी आकाश बुढामगर– सातदोबाटो
नवीन गुरुङ– एनआरटी विमल राना– मनाङ
सुमन लामा– नेपाल पुलिसरुमेश बर्ताैला– च्यासल युथ
अमिर श्रेष्ठ– जावलाखेल रञ्जन विष्ट– एनआरटी
अमृत चौधरी–एपिएफरोशन खड्का– नेपाल पुलिस
राजेन्द्र रावल– जावलाखेल विश्व अधिकारी– मनाङ
अजित प्रजापति– एनआरटी प्रविण सैंजु– थ्रीस्टार
सन्जोक राई– थ्रीस्टाररोहित कार्की– संकटा
विवेक बस्नेत– आर्मी सूर्य अधिकारी– मछिन्द्र
नीरज बस्नेत– संकटारुपबहादुर लामा– जावलाखेल
त्रिदेव गुरुङ– हिमालयन शेर्पा रवि थिङ– एपिएफ
मानबहादुर तामाङ– सातदोबाटो अभियान प्रधान– मछिन्द्र
सरोज कोइरालाएलन न्यौपाने
विमल बस्नेतजगजित श्रेष्ठ
रवि थापा