इङ्लिस प्रिमियर लिग

त्यो आर्सनल, यो आर्सनल

काठमाडौँ । इङ्लिस प्रिमियर लिगको इतिहासमा सबैभन्दा बलियो टिम कुन हो ? अरुले नभए पनि उत्तरी लन्डनले हतपत दाबी गरिहाल्छ, आर्सनल । हुन पनि सन् २००३/०४ को त्यो आर्सनल टिम साँच्चै बलियो थियो । तब त त्यसलाई ‘इन्भिन्सिबल्स’ भन्निछ । अर्थात कसैसँग नहार्ने । आर्सन वेंगरको प्रशिक्षणमा आनर्सनलले एकै खेल नहारी प्रिमियर लिग जितेको थियो ।

त्यसबेला आर्सनलले ३८ खेलमध्ये २६ मा जित हासिल गरेको थियो । बाँकी १२ खेल चाहिँ बराबरीमा टुंगिएका थिए । आर्सनलले ४-४-२ को संरचनामा खेल्थ्यो । खेल्दा खेल्दै ४-२-३-१ मा सर्थ्यो । यी दुईमध्ये जुन संरचनामा खेले पनि डेनिस बर्गक्याम्पको पोजिसन भने सधैँ एउटै हुने गर्थ्र्यो, नम्बर १० ।

त्यो आर्सनलका धेरै विशेषता थिए । जसमध्ये एउटा थियो, आक्रामक । करियरको उत्कर्षमा रहेका थिएरी अनरी स्ट्राइकरको भूमिकामा थिए भने बर्गक्याम्प उनको पछाडि रहन्थे । फ्रेड्डी जुङबर्ग र रोबर्ट पिरेजले विंग सम्हाल्दा गिल्बर्टो सिल्भा र प्याट्रिक भिएराको जिम्मेवारीमा मिडफिल्ड थियो ।

आर्सनललाई च्याम्पियन बनाउन अनरीले ३० गोल गरेका थिए । उनीपछि सर्वाधिक गोल गर्ने खेलाडी पिरेज रहे । लेफ्ट विंगबाट खेल्ने पिरेजले त्यस सिजन १४ गोल गरेका थिए । करियरको उत्तरार्धमा रहे पनि बर्गक्याम्पको भूमिका अहम थियो । उनको प्लेमेकिङ क्षमताकै कारण अनरी र पिरेजले त्यत्तिका गोल गर्न सकेकोमा शंका छैन ।

सर्वाधिक गोल गरेको आर्सनलले त्यो सिजन सबैभन्दा कम गोल खायो । गोल गर्ने र गोल रोक्ने आर्सनलको दक्षतामा सेन्ट्रल मिडफिल्ड हाक्ने भिएराको क्षमता असाध्यै अहम रह्यो । सेन्ट्रल डिफेन्समा खेलेका सोल क्याम्बेल र कोलो टुरेलाई जति भिएराको महत्त्व अरु कसलाई होला र ?

टुरे र क्याम्पबेलसँगै फुलब्याकद्वय एस्ले कोल र लाउरेन आर्सनलको रक्षापंक्तिका सदस्य थिए । इङ्ल्यान्डका कोल र क्यामरुनका लायरेन रक्षात्मक रुपमा बलियो त छँदै थिए, आक्रामक क्षमता पनि ती दुईमा भरपूर थियो ।

भाग्यमानी फुटबलहरुको सूची बनाउने हो भने को को पर्लान् ? फरक फरक नाम आउँलान् । त्यसमा जेन्स लेहम्यान पनि पर्नेछन् । किनभने आर्सनल पुगेकै सिजन उनी प्रिमियर लिग च्याम्पियन बन्न सके । आर्सनल जानुअघि उनी बोरुसिया डर्टमन्डबाट खेलिरहेका थिए ।

आर्सनलले कसरी त्यस्तो ऐतिहासिक सफलता हासिल गर्यो ? कतिले भन्लान्, खेलाडीको क्षमता र व्यक्तित्वका कारण । यो सत्य हो । तर आर्सनललाई यति दुई चिजले मात्र च्याम्पियन बनाएको होइन । खेल शैलीका कारण पनि आर्सनल कसैले छुन नसक्ने बनेको थियो । खासमा भन्दा आर्सनल एट्लेटिको मड्रिड जस्तै थियो, जब्बर रक्षापंक्ति र मिडफिल्ड भएको टिम ।

ब्राजिलका सिल्भा र भिएराको उपस्थितिका कारण आर्सनलको मिडफिल्ड सजिलै कसैले छिचोल्न सक्दैन थियो । यी दुईका कारण नै फुलब्याक कोल र लाउरेन ओभरल्यापमा जान पाउँथे । यसो गर्दा उनीहरु आफ्नो रक्षात्मक भूमिका भने भुल्दैन थिए । यी दुई र अहिलेका फुलब्याकहरुबीच फरक ठ्याक्कै यही हो । उता पिरेज र जुङबर्ग समेत रक्षापंक्तिलाई सहयोग गर्न आफ्नो बक्समा आइपुग्थे ।

मिडफिल्ड र रक्षापंक्तिले रक्षात्मक जिम्मेवारी नभुल्ने भएकैले आर्सनलले सन्तुलन कायम गर्न सकेको थियो । त्यसबेलाको आर्सनलको अर्को बलियो पक्ष काउन्टर अट्याकलाई पनि मान्न सकिन्छ । बल पाउनासाथ काउन्टर अट्याकको नेतृत्व गर्ने अनरीको क्षमता वास्तवमै अद्भूत थियो ।



बेलायतको अखबार द गार्जियनका प्रसिद्ध फुटबल पत्रकार केभिन मिचेलले लेखेका थिए, विपक्षीको रणनीति समयमै बुझ्ने मामलामा आर्सन वेंगर जत्तिको चलाख प्रशिक्षक अर्को छैन । हुन पनि वेंगर आफ्नो समयभन्दा अघि देखिन्थे । त्यतिबेलाको प्रिमियर लिगमा वेंगरले नयाँ नयाँ प्रयोग गरे । उनको अभ्यास गराउने शैली पृथक मानिन्थ्यो । खेलाडीको फिटनेस र खान्कीमा अरु प्रशिक्षकको भन्दा बढ्ता नै ध्यान दिन्थे । उनका यी बानीलाई लिगका अरु प्रशिक्षकले पनि अपनाए ।

कुनैबेला प्रिमियर लिगमा यस्तो चलन थियो, खेल जित्ना साथ चिल्लो खाना खाँदै, बियर पिउँदै खुसीयाली मनाउने । वेंगरले आर्सनलमा खुसीयाली मनाउने यो शैलीमा पूर्णबिराम लगाइदिए । यसको प्रभाव अरु क्लबमा पनि पर्यो ।

आर्सनलले वेंगरलाई सन् १९९६ मा प्रशिक्षक बनाएको थियो । त्यसबेला वेंगरको उमेर थियो, ४६।  फ्रान्सका दुई क्लब नान्सी र मोनाकोलाई प्रशिक्षण दिएपछि वेंगर सन् १९९५ मा जापान पुगेका थिए । नागोया क्याम्पसमा एक वर्ष रहेपछि वेंगरलाई आर्सनलले इङ्ल्यान्ड पुर्याएको थियो ।

प्रशिक्षण करियर सुरु गरेको धेरै समय नभई वेंगर निकै कुरामा पोख्त भइसकेका थिए । जस्तै खेलाडी पहिचान । उनले त्यस्ता धेरै खेलाडी खरिद गरे, जसलाई विश्व फुटबलले चिनेकै थिएन । तर वेंगरले तिनलाई स्टारमा परिणत गरे । उनले टुरेलाई आइभरी कोस्टको स्थानीय क्लबबाट आर्सनल पुर्याएका थिए । त्यो पनि जम्मा डेढ लाख पाउन्ड तिरेर । पछि टुरे विश्वस्तरीय रक्षकका रुपमा स्थापित भए । त्यसैगरी जुङबर्गलाई वेंगरले स्विडेनको हाल्मस्टाडबाट ३० लाख पाउन्डमा अनुबन्ध गरेका थिए ।

वेंगर २२ वर्ष आर्सनलमा रहे । त्यसबीचमा लन्डनको यो क्लबलाई तीन पटक लिग च्याम्पियन बनाए । आखिरमा एकदिन उनले निराशाजनक बर्हिगमनको सामना गर्नुपर्यो । म्यानचेस्टर सिटीको उदयसँगै इङ्ल्यान्डमा फुटबलको शक्ति सिफ्ट हुँदै थियो । आर्सनल लगातार आरोलो लाग्दै थियो । त्यहीबीचमा वेंगरले आर्सनलबाट बिदा लिए । सन् २०१७/१८ सिजन नै उनका लागि आर्सनलको प्रशिक्षकका रुपमा अन्तिम रह्यो ।

जबजब ‘इन्भिन्सिबल्स’ आर्सनलको कुरा आउँछ तबतब त्यस टिमको मुख्य खेलाडी को थिए भन्ने बहस हुन्छ । सायद धेरैले दिने जवाफ हो, अनरी । उसो त प्रिमियर लिग युगकै सर्वोत्कृष्ट खेलाडी अनरी हुन् भन्नेको संख्या पनि कम छैन । फेरि यो सूचीमा एलन सियरर र रायन गिग्सको पनि नाम आउँछ । क्रिस्टियानो रोनाल्डो पनि छँदैछन् ।

आर्सनलको इतिहासमा भने अनरी निर्विवाद रुपमा सर्वकालिन महान् खेलाडी हुन् । आर्सनलका समर्थक मतदान गरेरै यो निष्कर्षमा पुगेका हुन् । अनरी के के गर्न काबिल थिए ? प्रश्न यो होइन । प्रश्न के हो भने, उनी के के गर्न काबिल थिएनन् ? गोल गर्न, पास मिलाउन, तीव्र गतिमा काउन्टर अट्याक गर्न, नेतृतवदायी भूमिका निर्वाह गर्न, उनी हरेक पक्षमा पोख्त थिए ।

मोनाकोमा अनरीलाई सिनियर टिममा मौका दिने प्रशिक्षक अरु कोही होइन, वेंगर थिए । तर वेंगरको प्रशिक्षणमा अनरीले जम्मा एक सिजन खेल्न पाए । सन् १९९४ मा वेंगर जापानतिर लागे भने अनरी पाँच वर्षपछि युभेन्टस । तर इटालीमा अनरी टिक्न सकेनन् । आधा सिजन त्यहाँ खेलेपछि उनी आर्सनल पुगे, वेंगरको आग्रहमा ।

आर्सनल पुग्दैगर्दा अनरी स्टार भइसकेका थिएनन् । यद्यपि उनका लागि आर्सनलले एक करोड १० लाख पाउन्ड तिरेको थियो । जुन त्यसबेला सस्तो स्थान्तरण थिएन । आर्सनलमा अनरी चम्किए । उनी र बर्गक्याम्पबीचको साझेदारी आर्सनललाई लिग च्याम्पियन बनाउन महत्त्वपूर्ण साबित भयो । बर्गक्याम्प बल संकलन गर्न मध्यमिडफिल्डमा झर्ने गर्थे । अनरी चाहिँ विपक्षीको क्षेत्रमा बल र बर्गक्याम्पलाई पर्खन्थे । यी अनरी र बर्गक्याम्प विपक्षीको क्षेत्रमा ‘अनमार्क्ड स्पेस’ खोज्न माहिर थिए । तीव्र गतिमा खेल्न सक्ने भएकाले यी दुई खेलाडी विपक्षी रक्षकलाई सजिलै छक्याउँथे, पछाडि पार्थे । त्यसकारण विपक्षी रक्षक सधैँ अलमलमा हुन्थे, कसलाई रोक्नमा ध्यान केन्द्रित गर्ने भनेर ।

आर्सनलमा आर्टेटा

सन् २०११ को अगस्ट वेंगरका लागि खराब समाचार लिएर आयो । किनभने यो त्यही महिना थियो, जब आर्सनलले सेस फाब्रिगास र सामिर नासरीलाई गुमायो । फाब्रिगास बार्सिलोना फर्किए भने नासरीलाई सिटीले खोस्यो । त्यसमाथि नयाँ सिनको तेस्रो खेलमा आर्सनल युनाइटेडसँग ८-२ ले पराजित भयो ।

अप्ठ्यारोमा परेका वेंगरले रातारात मिकेल आर्टेटालाई अनुबन्ध गरे । एभर्टनमा भरपर्दा मिडफिल्डरको छवि बनाएका आर्टेटाले आर्सनलमा ‘क्रिएटिभ मिडफिल्ड’ को जिम्मेवारी लिनुपर्यो । फाब्रिगासको बर्हिगमनका कारण सिर्जना भएका अभावलाई पूर्णरुपमा पूर्ति गर्न आर्टेटा सक्षम भए भएनन्, यो बहसको विषय हो । यद्यपि वेंगर आर्सनल करियरको उत्तराद्र्धमा रहँदा आर्टेटा मुख्य खेलाडी बने ।

आर्टेटा आर्सनलमा कुल पाँच सिजन रहे । सुरुका तीन सिजन आर्सनलको पहिलो एघारमा परिरहे पनि बाँकी दुई सिजन भने उनले बेन्चमा बिताए । अन्ततः उनले मे, २०१६ मा संन्यासको घोषणा गरे । ३४ वर्षको उमेरमा सक्रिय खेल जीवनमा पूर्णविराम लगाएका उनलाई तत्कालै केही क्लबले युवा टिमको प्रशिक्षक बन्न प्रस्ताव राखे । त्यस्तो प्रस्ताव राख्नेमा आर्सनल पनि थियो ।

तर आर्टेटाले सिटी रोजे । यो त्यहीबेला थियो, जब पेप ग्वािर्डओला सिटीसँग आबद्ध हुँदै थिए । एक त लामो समय प्रिमियर लिगमा बिताएको, त्यसमाथि स्पेनिस, ग्वार्डिओलाले आर्टेटाभन्दा सही सहायक प्रशिक्षक पाउनेवाला थिएनन् ।

आर्टेटा सिटीमा तीन वर्षभन्दा बढी सहायक प्रशिक्षक रहे । डिसेम्बर, २०१९ मा उनी आर्सनल फर्किए, प्रशिक्षकका रुपमा । युनाई इमरेलाई बर्खास्त गरेपछि आर्सनलले आफ्ना पूर्वखेलाडीलाई प्रशिक्षक बनाउने निर्णय गरेको थियो । सुरुका दुई सिजन आर्टेटाले आर्सनललाई आठौँ बनाए । अनि गत सिजन पाँचौँ ।

प्रशिक्षकका रुपमा आर्टेटाको यो चौथो सिजन हो । अनि सबैभन्दा सफल पनि यही हुनसक्छ । किनभने उनको प्रशिक्षणमा आर्सनल हाल प्रिमियर लिगको शीर्षस्थानमा छ । त्यो पनि च्याम्पियन सिटीलाई पाँच अंकले पछि पारेर । त्यसमाथि आर्सनलले एक खेल कम खेलेको छ ।

हुन त प्रिमियर लिगका लगभग आधा मात्र खेल सकिएका छन् । यसकारण विजेता को बन्छ भन्ने यकिन साथ भन्न सकिने अवस्था छैन । तर यति चाहिँ प्रस्ट छ, आर्सनल मुख्य दाबेदार हो ।

यो सिजन आर्सनलले जम्मा एक खेल हारेको  ।  युनाइटेडसाग ३-१ ले पराजित हुनुअघि आर्सनलले कोहीसँग हारेको थिएन, न त त्यसपछि नै हारेको छ । यो बीचमा आर्सनलले लिभरपुल, चेल्सी, टोटनहम जस्ता बलिया टिमलाई पन्छाएको छ । चैल्सी र टोटनहमले त आर्सनलविरुद्ध गोल नै गर्न सकेनन् ।

लिगमा सबैभन्दा बढी गोल गर्ने टिमको सूचीमा आर्सनल दोस्रो स्थानमा छ । कम गोल खाने क्लबको सूचीमा पनि उसले दोस्रो स्थान नै ओगटेको छ । सन्तुलित देखिएको आर्सनलले साँच्चै लिग उपाधिको खडेरी तोड्न सक्छ । किनभने सन् २००४ पछि आर्सनल इङ्ल्यान्डको च्याम्पियन बन्न सकेको छैन । त्यसयता उसले जितेको उपाधि भनेको एएफए कप हो । आर्टेटा आफैँले पनि आर्सनललाई एफए कप जिताएका छन् ।

१९ वर्षअघि आर्सनल लिग विजेता हुँदा मुख्य रक्षक कोल र टुरे २२-२३ वर्षका थिए । अनरी, जुङबर्ग जस्ता खेलाडी २६ वर्ष भएका थिए । कप्तान भिएरा, सिल्भा, क्याम्पबेल ३० पुगेका थिएनन् । पिरेज भर्खर ३० वर्ष पुगेका थिए ।

अहिलेको टिमका मुख्य खेलाडी त ‘इन्भिन्सिबल्स’ आर्सनलको तुलनामा कलिला छन् । कप्तान मार्टिन ओडेगार्ड भर्खर २४ का भए । रक्षापंक्तिका विलियाम सलिबा २१ कटेका छैनने भने बेन ह्वाइट, २४, केही पाका छन् । त्यसैगरी गाब्रियाल मागालहेइस र किइरन टेर्नी २५ वर्षका छन् ।
 
अग्रपंक्ति सम्हालिरहेका बुकायो साका, एमिल स्मिथ रो, गाब्रियल मार्टिनेली २१-२२ वर्षका भए । आर्सनलको सबैभन्दा पाका खेलाडी ग्रानिट जाका हुन् । पूर्वकप्तान जाका ३० वर्ष पुगे ।

आर्टेटाको आर्सनलमा मार्टिनेली र साका विंग सम्हाल्छन् भने मुख्य स्ट्राइकर गाब्रियल जेजुस हुन् । ब्राजिलका जेजुस सिटी छाडेर यही सिजन आर्सनल आएका हुन् । उनले आर्सनलमा ठिकठाक प्रदर्शन गरेका छन् । लिगका पछिल्ला चार खेल चोटका कारण गुमाएका उनी अझ केही समय मैदानबाहिर रहने छन् । १४ खेलमा पाँच गोल र ६ असिस्ट गरेका जेजुसको स्थान अहिलेका लागि एड्डी नेकेटियाले लिएका छन् ।



मुख्य गोलकर्ता जेजुस टिममा नहुँदा आर्सनलका लागि गोलको स्रोतलाई सुक्न नदिन कप्तान ओडेगार्ड र दुई विंगरले सक्दो प्रयास गरेका छन् । जेजुसको अनुपस्थितिमा ४-३-३ को संरचनामा खेलिरहेको आर्सनलका लागि नर्वेजियन प्लेमेकर ओडेगार्डले आठ गोल गरिसकेका छन् । त्यसैगरी मार्टिनेली र साकाको नाममा सात तथा ६ गोल छ ।

वेंगरको च्याम्पियन आर्सनल र उनका चेला आर्टेटा नेतृत्वको आर्सनलबीच केही मुख्य फरक छन् । जस्तै, खेल शैली । यो आर्सनल बढीभन्दा बढी समय बल आफ्नो नियन्त्रणमा राख्न चाहन्छ । उसो त आधुनिक फुटबलमा धेरैजसो युवा प्रशिक्षक आफ्ना टिमलाई ‘पोसेसन डोमिनेन्ट’ टिम बनाउन चाहन्छन् । तर सबैसँग त्यसका लागि उपयुक्त खेलाडी हुँदैनन् । प्राविधिक रुपमा कुशल खेलाडी भएकाले आर्सनल भने यो मामलामा सफल छ ।

त्यो आर्सनलको मुख्य हतियार काउन्टर अट्याक थियो भने यो आर्सनल काउन्टर प्रेसिङ गर्न मन पराउँछ । सामान्य भाषामा भन्दा, बल गुमाउन साथ विपक्षीबाट बल खोस्न समूहगत प्रयास गर्ने । दुई रक्षक मागालहेइस र सलिबा अनि फुलब्याकद्वय अलेकजान्डर जिन्चेन्को र बेन ह्वाइट ऊर्जाशिल भएकाले पनि आर्सनल काउन्टर प्रेसिङ टिम बनेको हो ।

यो आर्सनलसँग पहिलेको जस्तो भिएरा छैनन् । तर जाकाको बल पास गर्ने क्षमता र थोमस पार्टेको रक्षात्मक क्षमताका कारण आर्सनल मिडफिल्डमा सन्तुलित छ । त्यसमाथि ओडेगार्डको प्लेमेकिङले त आर्सनललाई ‘अनप्रेडिक्टेबल’ टिम बनाएको छ । उनी एकदसम्म बर्गक्याम्पको भूमिकामा छन्, जो स्ट्राइकरको सामीप्यमा रहेर खेल्ने गर्छन् । उनी जुनसुकै क्षेत्रबाट विपक्षीको बक्ससम्म पुग्ने सामथ्र्य राख्छन् । असाध्यै कुशल ‘ड्रिब्लर’ भएका कारण पनि उनी यसो गर्नसक्छन् । अग्रपंक्तिका तीन खेलाडीका लायि सटिक पास निकाल्ने क्षमता भएकाले पनि उनी आर्सनलका लागि ‘ड्राइभिङ फोर्स’ साबित भएका छन् ।

वेंगरको त्यो आर्सनल टिममा फुटबल विश्वले चिन्न बाँकी खेलाडीको बाहुल्य थियो । बर्गक्याम्प र भिएरा जस्ता ठूला स्टारको संख्या कम थियो । त्यस्ता ठूला नाम अहिलेको आर्सनलमा छैनन् । जो थिए, तिनले पनि आर्सनल छाडिसके । जस्तै केही वर्षअघि मेसुट ओजिल । त्यसपछि पेयर एमरिक आबुमेयाङ । अनुभवी खेलाडीको संख्या कम भए पनि यो आर्सनलमा प्रतिबद्धताको कमी छैन । प्रतिबद्धता आर्सनललाई लिग च्याम्पियन बनाउने । लामो समयदेखि गिज्याइरहेका प्रतिद्वन्द्वी क्लब र तिनका समर्थकलाई चुप लगाउने । आर्सनलको छवि परिवर्तन गर्ने । र, सन्देश प्रवाह गर्ने, अब आर्सनल शीर्ष चारका लागि मात्र लड्दैन ।