भारतीय फुटबल

भारतीय फुटबलको रोडम्यापः एसियाको शीर्ष १० मा पर्ने

काठमाडौं । भारतीय फुटबल संघ (एआइएफएफ)ले अघिल्लो शनिबार दीर्घकालिन फुटबल योजना सार्वजनिक गर्यो । जसलाई ‘भिजन २०४७’ भनिएको छ । यो योजना अन्तर्गत एआइएफएफले ‘रािष्ट्रय फुटबल फिलोसपी’ निर्माण गर्ने बताएको छ । एआइएफएफका अनुसार यसरी निर्माण हुने फिलोसपीको केन्द्र ‘साइन्स र डाटा’ लाई बनाइनेछ ।

भारतले फुटबल सम्बन्धी बहुवर्षे योजना बनाएको यो पहिलो पटक होइन । उसले सन् २०१२ मा ‘लक्ष्य २०२२’ योजना सार्वजनिक गरेको थियो । जसको मुख्य लक्ष्य थियो, सन् २०२२ को विश्वकपमा छनोट हुने । तत्कालिन प्राविधिक निर्देशक रोबर्ट बानले बनाएको यो ‘ब्लुप्रिन्ट’ लागू गर्न नसकेकोमा एआइएफएफको बारम्बार आलोचना हुने गरेको छ ।

एआइएफएफले फिफा र एएफसीसँग मिलेर सन् २०१९ मा पनि नयाँ रोडम्याप सार्वजनिक गरेको थियो । तर यो रोडम्याप घरेलु लिगलाई व्यवस्थित बनाउने लक्ष्यमा सीमित थियो । त्यही अनुरुप इन्डियन सुपर लिगलाई पहिलो र आइ-लिगलाई दोस्रो श्रेणीको लिगका रुपमा स्थापित गरिएको थियो ।

यसपालि एआइएफएफले ल्याएको नयाँ योजना सन् २०२३ देखि २०४७ सम्मका लागि हो । २५ वर्षको यो योजनालाई तीन-तीन वर्षमा विभाजन गरिएको छ । कुल ११ शीर्षकमा बाँडिएको योजनाबारे यहाँ चर्चा गरिएको छ ।

राष्ट्रिय टिम

पुरुष र महिला राष्ट्रिय टिमका लागि फरक फरक लक्ष्य गरिएको छ । सन् २०२६ भित्र महिला टिमलाइ एसियाली वरीयताको शीर्ष आठमा पार्ने भनिएको छ । पुरुष टिमका लागि भने लक्ष्य, शीर्ष १० भित्र पर्ने छ । हाल महिला टिम १२र्औ स्थानमा छ भने पुरुष टिम १९औँ स्थानमा छ ।  

प्रतियोगिता

सधैँ के भनिँदै आइएको छ भने, भारतीय घरेलु फुटबलमा पर्याप्त प्रतियोगिता छन् । लिगहरू व्यवस्थित छैनन् । यस्तो गुनासोको समाधान पनि यही नयाँ योजनाले गर्ने प्रयास गरेको छ । सन् २०२६ भित्र भारतमा पुरुष फुटबलतर्फ पाँच श्रेणीको लिग सञ्चालन गरिनेछ । पहिलो श्रेणीमा इन्डियन सुपर लिग (आइएसएल) रहनेछ । दोस्रो श्रेणीमा आइ-लिग र तेस्रोमा आइ-लिग टु रहनेछन् । त्यसभन्दा तल पाँच क्षेत्रीय लिग र ३६ राज्य स्तरीय लिग रहनेछन् । आइएसलमा १४, आइ-लिगमा १४, आाइ-लिग टूमा १२, क्षेत्रीय लिगमा १२/१२ र राज्यस्तरका लिगमा १०/१० टिमले प्रतिस्पर्धा गर्नेछन् ।

महिला फुटबलतर्फ भने चार श्रेणीका लिग सञ्चालन गरिनेछन् । महिला इन्डियन सुपर लिग शीर्ष श्रेणीको लिग हुनेछ । जहाँ १० टिम हुनेछन् । दोस्रो श्रेणीको लिगमा आठ टिम, तेस्रो श्रेणीको पाँच क्षेत्रीय लिगमा कुल ३० टिम र राज्य स्तरीयको लिगमा कुल २० टिम भिड्नेछन् ।

प्रत्येक राज्यका फुटबल संघलाई बलियो बनाइने योजनमा उल्लेख छ । र ती सबै संघले महिला फुटबललाई विशेष प्राथमिकतामा राख्नु पर्नेछ ।

ग्रासरुट

एआइएफएफ ग्रासरुट फुटबल कार्यक्रममार्फत एक सय गाउँका करिब साढे दुई करोड बालबालिकासम्म पुग्ने लक्ष्यमा छ । सुरुमा ग्रासरुट कार्यक्रमा १० जिल्लामा सञ्चालन गरिनेछ । भारत जस्तो ठूलो देशमा यो परियोजना सानो देखिन्छ । तर एकैचोटी ठूलो जनसंख्या र धेरै क्षेत्रफलमा पुग्न नसकिने एआइएफएफको निस्कर्ष छ ।

प्रशिक्षक

एआइएफएफले भारतीय फुटबलमा प्रशिक्षकको संख्या कुल जनसंख्याको अनुपातमा कम रहेको स्वीकार गरेको छ । प्रशिक्षकको संख्या बढाउन बढीभन्दा बढी तालिमको व्यवस्था गर्ने, प्रशिक्षकलाई प्रशिक्षण दिने ‘एजुकेटर’ को संख्या बढाउने एआइएफएफको योजना छ । हाल भारतमा ५८ ‘एजुकेटर’ छन् । एआइएफएफले ‘एजुकेटर’ को संख्या दुई सय पुर्याउने बताएको छ । त्यसैगरी भारतभर तीन सय २४ प्रशिक्षक रहेको बताइन्छ । एआइएफएफको योजना प्रशिक्षकको संख्या २५ सय पुर्याउने छ ।

युवा खेलाडीको वृत्तिविकास

युवा खेलाडीको वृत्तिविकास कसरी गर्न सकिन्छ ? यसका फरक फरक मोडल छन् । भारतमा भने माटो सुहाउँदो मोडलको खोजी भइरहेको धेरै भयो । भारतीय फुटबलमा धेरै सुनिने गुनासामध्ये एक हो, युवा खेलाडीले पर्याप्त खेल्ने मौका पाउँदैनन् । नयाँ योजना अनुसार एक सिजनमा पुरुष युवा खेलाडीले ३५ र महिला युवा खेलाडीले १४ खेल खेल्न पाउनेछन् ।

एआइएफएफले ४-१२ वर्ष उमेर समूहको ‘बेबी लिग’ र १२-१७ वर्ष उमेर समूहको ‘युथ लिग’ आयोजना गर्ने बताएको छ । प्रत्येक उमेर समूहभित्र एक सय-एक सय टिमलाई सहभागी गराइनेछ । प्रत्येक खेलाडीको आइडी बनाइनेछ । क्लबहरुले जिल्ला/सहरमा हुने युथ लिगमा ती खेलाडीको स्काउटिङ गर्नेछन् । त्यसैगरी राज्यका फुटबल संघले राज्यस्तर र एआइएफएफले एलिट युथ लिगमा खेलाडी पहिचान गर्नेछ ।

क्लब

नयाँ योजना अनुसार देशभर रहेका क्लबमध्ये २० प्रतिशतले आवसीय एकेडेमी सञ्चालन गर्नेछन् ।

रेफ्री उत्पादन

एआइएफएफले प्रशिक्षक जस्तै रेफ्रीको संख्या बढाउन ध्यान दिने आफ्नो योजनामा उल्लेख छ । जस अनुसार रेफ्रीका लागि पाँच तालिम केन्द्र स्थापना गरिनेछन् ।

पूर्वाधार

पुरुष तथा महिला टिमको नियमित अभ्यासका लागि नयाँ तालिम केन्द्र (नेसनल सेन्टर अफ एक्सिलेन्स) स्थापना गरिनेछ । इङ्ल्यान्ड, जर्मनी, बेल्जियम, सर्बिया आदि देशले आफ्ना राष्ट्रिय टिमहरुको अभ्यासका लागि राष्ट्रिय तालिम केन्द्र सञ्चालन गरिरहेका छन् । भारतले त्यही मोडल रोजेको हो । एआइएफएफले सन् २०२६ सम्ममा एउटा ‘मेगा फुटबल पार्क’, एक स्मार्ट र दुई फिफा स्टान्डर्ड रंगशाला निर्माण गरिसक्ने पनि बताएको छ ।

एआइएफएफले फुटबल एप्लिकेसन निर्माण गर्ने बताएको छ । भारतीय फुटबलका सबै स्टेकहोल्डरले प्रयोग गर्नसक्ने भनिएको यो एप्लिकेसनमा उलब्ध हुने डाटाको सहयोगमा खेलाडी स्काउट गर्न सकिने बताइएको छ ।

एआइएफएफले आगामी पाँच वर्षभित्रमा फुटबलकबाट अहिलेकोभन्दा पाँच सय प्रतिशत बढी आम्दानी गर्ने महत्वकांक्षी योजना पनि बनाएको छ ।