काठमाडौं । नेपालको फुटबल संरचना यही खेलका सरोकारवालाबीचमै आलोचित छ । सहिद स्मारक लिगको संरचनामाथि त आ-आफ्ना राजनीतिक दुनो सोझ्याउन आलोचनात्मक चेत देखाउनेको संख्या अझ बढी छ । आलोचकहरू यसलाई काठमाडौं उपत्यकाको लिग भनेर अपनत्व लिँदैनन् । पछिल्लो समय केही फुटबलकर्मीले यसलाई दुई जिल्ला (काठमाडौं र ललितपुर) को लिग भनेर धारेहात लगाउन थालेका छन् ।
सबैका लागि खुला भए पनि नेपाली लिगको संरचना धेरै हदसम्म केन्द्रीकृत भएको भने साँचो हो । जसलाई समयक्रममा सुधार गर्दै जानुको विकल्प नेपाली फुटबल प्रशासनसामु छैन । हो, शीर्ष डिभिजनको लिगमा अहिले काठमाडौं र ललितपुरबाहिरका कुनै क्लब छैनन् ।
तीन विभागीय टिम (नेपाली सेनाको त्रिभुवन आर्मी फुटबल क्लब, नेपाल प्रहरीको नेपाल पुलिस क्लब र सशस्त्र प्रहरी बलको एपिएफ फुटबल क्लब) सँगै काठमाडौंबाट ५ तथा ललितपुरबाट ६ टोली सहिद स्मारक ‘ए’ डिभिजन लिगमा छन् । काठमाडौंबाट हिमालयन शेर्पा, मनाङ मर्स्याङ्दी, संकटा, मछिन्द्र र एनआरटी तथा ललितपुरबाट जावलाखेल युथ, फ्रेन्ड्स, थ्री स्टार, चर्च ब्वाइज, सातदोबाटो र खुमलटार युथ क्लब शीर्ष डिभिजनको लिगमा छन् ।
|
आलोचकहरुकै लहैलहैमा लाग्ने हो भने सहिद स्मारक ‘ए’ डिभिजन लिगमा ललितपुरको उपस्थिती सबभन्दा बलियो छ । अघिल्लो वर्ष शीर्ष डिभिजनबाट ललितपुरका दुई क्लब ब्रिगेड ब्वाइज र च्यासल युथ रेलिगेसनमा पर्दा जिल्लाको प्रभाव कम हुने अनुमान थियो । तर ‘बी’ डिभिजनबाट बढुवा हुने दुवै टोली चर्च ब्वाइज र खुमलटार युथ क्लब ललितपुरका रहे । जसले शीर्ष डिभिजनमा ललितपुरको रवाफ कम हुन दिएन ।
नेपाली फुटबलमा बलियो इतिहास बोकेको लतिलपुरको प्रभाव अझ माथिल्लो स्तरमा स्थापित गर्ने उद्देश्यसहित सुरु भएको क्लब हो खुमलटार युथ । आफैं फुटबल खेलेका अनि फुटबलको लत लागेका स्थानीय युवाको जमातले सुरु गरेको एउटा फुटबल अभियान भएकाले पनि खुमलटारबाट सकारात्मक योगदानको अपेक्षा गर्न सकिन्छ ।
स्थानीय खेलाडी र केही व्यापारिक प्रतिष्ठानमा कार्यरत युवाले १६ वर्षअघि व्यावसायिक रूपमै फुटबल खेल्ने निर्णयसहित क्लब दर्ता गरेका थिए । त्यसले शीर्ष डिभिजनमा चुनौती पस्कने पहिलो गन्तव्य हासिल गरिसकेको छ । पहिलो पटक शीर्ष डिभिजनको लिग खेल्ने तयारीमा रहेको टोलीको उद्देश्य पहिलो सिजन नै उपाधि उचाल्ने रहेको छ ।
‘फुटबलमै केही गर्ने योजनासहित दर्ता भएर आएका हौं । त्यसैले पनि पहिलो सहभागितामै लिग जित्ने योजना बनाएका छौं । क्लबका पदाधिकारी, शुभचिन्तक, सहयोगी संघ-संस्था सबैले आ-आफ्नो क्षेत्रबाट लिग जित्ने अभियानमा योगदान गरिरहेका छौं,’ क्लबका सचिव बुद्धि गुरुङ भन्छन् ।
लिगको माहोल राम्ररी तात्न भ्याएको छैन । अझै पनि केही क्लब र अखिल नेपाल फुटबल संघ (एन्फा) बीचको असमझदारी उस्तै छ । केही क्लबहरु लिग नगरौं भन्ने मनस्थितिमा छन् । एन्फा स्वयं पनि लिग गर्नेमा इमान्दार साबित भइरहेको छैन । दोष कस्ले बोक्ने भन्ने मात्र हो, लिग गराउने पक्षमा व्यवहारिक रूपमा एन्फा र क्लब दुवै देखिँदैनन् । आयोजक एन्फाको तयारी निकै सुस्त छ ।
लिगको अन्योलबीच पनि नवप्रवेशी खुमलटारको जोस भने उत्साहजनक छ । टोलीले केही विदेशी खेलाडीसहितको टिम बनाएर नेपाली फुटबलको माहोल तताउने प्रयास गरिरहेको छ । यसक्रममा टोलीले अघिल्लो सिजन राम्रो प्रदर्शन गरेका र उमेर समूहबाट देशको प्रतिनिधित्व गरिसकेका नेपाली र चार विदेशी खेलाडीसँग सम्झौता गरिसकेको छ ।
खुमलटारले विदेशी खेलाडीमा मेसुके ओलोमोउ, स्टेफन बिनोङ र थिओफिल्स एपोलाई अनुबन्ध गरिसकेको छ । दक्षिण एसियाली कोटामा भारतको आइएसएल खेलेका एक खेलाडीसँग पनि टोलीले सम्झौता गरिसकेको छ । तर, भारतीय खेलाडीको नाम भने टोलीले गोप्य नै राखेको छ ।
दुई वर्षअघि भएको नेपाल सुपर लिग (एनएसएल) मा पहिलो पटक नेपाली फुटबलमा देखिँदा नै सनसनी मच्चाएका मेसुके र स्टेफन एनआरटीबाट खुमलटार लागेका हुन् । यिनै दुई फरवार्डको उच्च प्रदर्शनमा काठमाडौं रेजर्सले एनएसएल जितेको थियो भने शीर्ष डिभिजनको लिगमा एनआरटीले तेस्रो स्थान हासिल गरेको थियो । एपो भने पहिलो पटक नेपाली लिगमा देखिँदैछन् ।
|
शीर्ष डिभिजनमा आफ्नो पहिलो सिजनका लागि खुमलटारले युवा खेलाडी शिशिर लेखी, जय गुरुङ, पदक भट्टराई, रोहित सुब्बा, नितिन थापा, राजीव लोप्चाङ, मनीष थापा र एन्जल गुरुङमाथि विश्वास राखेको छ । प्रशिक्षकमा एएफसीको ‘ए’ लाइसेन्सप्राप्त अनुभवी यम गुरुङ छन् । नितिन राष्ट्रिय टोलीका सदस्य हुन् भने शिशिर, जय, राजीव र मनीषले राष्ट्रिय टोलीको बन्द प्रशिक्षणको अनुभव बटुलिसकेका छन् ।
‘हामीले यसपालि राष्ट्रिय टोली खेलाडीमा धेरै ध्यान दिएका छैनौं । विदेशी खेलाडी राम्रा छन् । नेपालका युवा खेलाडीमा एउटा भोक छ । केही गरौं भन्ने देखिन्छ । यी खेलाडीले केही गर्न सक्छन् । तर, खेलाडी दर्ता समय रहँदासम्म हामी निरन्तर समिक्षाका आधारमा आवश्यकताअनुसार खेलाडी थप्न सक्छौं,’ खेलाडीका रूपमा क्लबलाई ‘बी’ डिभिजन लिगसम्म पुर्याउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेका गुरुङ भन्छन् ।
शीर्ष डिभिजनसम्मको यात्रा
२०६३ साल असोज २ गते विधिवत रूपमा दर्ता भएको क्लब ‘सी’ डिभिजन लिग छनोटको पहिलो सहभागितामै उपविजेता भएको थियो । तर, त्यो बेला विजेताले मात्रै डिभिजनको हैसियत पाउने नियम थियो । ‘सी’ डिभिजन लिगमा छनोट हुन टोलीले ०६८–६९ साल सम्म कुर्नुपर्यो। ०७० मा ‘सी’ डिभिजनमा टोली उपविजेता भयो । ०७०-७१ मा ‘सी’ डिभिजन लिगको विजेता भएर ‘बी’ डिभिजनमा बढुवा भएको टोलीले दोस्रो श्रेणीमा चार वर्ष बितायो ।
२०७५ सालमा क्लबले पहिलो पटक ‘बी’ डिभिजन लिग खेलेको थियो । बिना रेलिगेसनको लिगमा क्लबले कुनै उत्साह नहुँदा लगानी नै गरेन । राजेश शाहीको प्रशिक्षणमा लगातार पाँचौं खेल जितेको खुमलटार २०७७ सालको लिगमा ‘ए’ डिभिजनमा उक्लने अवस्थामा थियो । तर, कोभिड-१९ को महामारीका कारण लिग रोकियो । खेलाडी घर फर्किए ।
रोकिएको लिग पुनः सुरु त भयो । तर, क्लबले पुरानो लय भेट्टाउन सकेन र उपविजेतामा सीमित हुँदा माथि चढ्न सकेन । २०७८ सालमा रानीपोखरी कर्नर टिम (आरसिटी)लाई पछि पार्दै खुमलटारले शीर्ष डिभिजनको हैसियत हासिल गर्ने पहिलो गन्तव्य प्राप्त गर्यो ।
टोलीले यसैपालि एएफसी क्लब लाइसेन्स लिने योजना बनाएको छ । त्यसका लागि तयारी पूरा गरिसकेको सचिव गुरुङ बताउँछन् । योजनाअनुसार लाइसेन्सिङ प्रक्रिया पूरा भए टोली खुमलटार फुटबल क्लब बन्नेछ ।
|
‘हाम्रो लक्ष्य लिग च्याम्पियन बन्ने हो । एएफसी कप खेल्न लाइसेन्स अनिवार्य हुनुपर्छ । हामी त्यही प्राप्त गर्न कोसिस गरिरहेका छौं,’ सचिव गुरुङ भन्छन् ।
लिग च्याम्पियन बन्ने लक्ष्य राखेका खुमलटारको प्रशासनमा बैंकिङ, शिक्षा, अस्पताल, इन्जिनियरिङ क्षेत्रमा कार्यरत व्यावसायिक व्यक्तित्वहरूको उपस्थिति छ । विभिन्न कमिटीअन्तर्गत सबैलाई जिम्मेवारी दिइएको छ । खेलाडी अनुबन्ध गर्ने छुट्टै प्राविधिक कमिटी, मार्केटिङका लागि छुट्टै कमिटी बनाइएको छ । विभिन्न कमिटीले गरेको निर्णय नै अन्तिम बन्ने गरेको छ ।
क्लबले यसपटक लिगको खर्च दुई करोड रुपैयाँ नाघ्ने अनुमान गरेको छ । खेलाडी अनुबन्धन, प्रशिक्षण, यातायातलगायत सबै खर्च जोड्दा यस्तो अनुमानित बजेट निस्किएको सचिव बुद्धि गुरुङ बताउँछन् ।
‘हामीले २ करोडभन्दा माथि खर्च हुने अनुमान गरेका छौं । हाम्रो टोली ठूलो छ । महानगरदेखि विभिन्न सहयोगी संस्थाहरू पनि हुनुहुन्छ । हामी व्यवस्थित भएर आएका छौं । पहिलो सहभागितामै च्याम्पियन बन्ने लक्ष्य छ ।’