काठमाडौँ । विश्व फुटबलमा सर्वकालिन महान खेलाडी को हो ? २१औँ शताब्दीले धर्ती टेकेपछि यो बहस अली बढी नै भएको छ । हुन त यही बहस सन् १९८० को दशकमा पनि भएको थियो । विशेषगरी सन् १९८५ देखि १९९० को बीचमा । यो त्यही समय जब डिएगो म्याराडोना करियरको उत्कर्षमा थिए ।
पछिल्लो एक दशकभन्दा बढी समय चाहिँ सर्वकालिन महान् खेलाडीको दौडमा लियोनल मेसी र क्रिस्टियानो रोनाल्ल्डो मिसिएका छन् । मेसी र रोनाल्डो आधुनिक फुटबलले पाएका दुई ठूला स्टार हुन् । हुन त यी दुई जत्तिका प्रतिभाशाली खेलाडी अरु पनि नभएका होइनन् । तर लामो समय उही स्तरको प्रदर्शन गर्नेसक्ने क्षमता यी दुईमा अरुभन्दा बढी देखिएकै हो ।सर्वकालिन महान् खेलाडीको बहस र दौडमा हाल मेसी अगाडि छन् । कम्तीमा कतार विश्वकपपछि । रोनाल्डो सम्मिलित पोर्चुगल क्वार्टरफाइनलबाट बाहिरिए पनि मेसी कप्तान रहेको अर्जेन्टिना भने फाइनलसम्म पुग्यो । फ्रान्सलाई हराएर उपाधि पनि जित्यो । क्लब फुटबलमा एकछत्र दबदबा कायम गरेका यी दुईलाई तलमाथि पार्न राष्ट्रिय टिमका लागि जितेको उपाधि खोजिन्थ्यो । अब यो मामलामा मेस्सी अगाडि पुगेका छन् । किनकी उनी विश्वकप विजेता हुन् ।
अर्जेन्टिनाका युवा समर्थक त अब के भन्न थालेका छन् भने मेसी म्याराडोनाभन्दा महान् भइसके । सर्वकालिन महान् खेलाडीको सूचीमा पेलेलाई उछिनिसके ।
को भन्दा महान को ? यसको जवाफ दिन सजिलो छैन । कतिसम्म भने रियाल मड्रिडका प्रशिक्षक कार्लो एन्सेलोट्टी समेत यो प्रश्नको जवाफ दिनबाट पछि हटेका छन् । वा उनले गरेको इन्कार नै जवाफ हो ।
‘विश्व फुटबलमा सबैभन्दा महान् खेलाडी को ? यो प्रश्नको जवाफ मेरो मुखबाट कदापी निस्किने छैन । किनभने म निक्कै धेरै फुटबलरको खेलमा रमाएको छु । मैले बालन डी’अर जितेका खेलाडीलाई तालिम गराएको छु । हो मैले डी स्टेफानोको खेल हेर्न पाइनँ । तर योहान क्रायफ र म्याराडोनालाई भने नजिकबाट नियाल्न पाएँ । यसकारण सबैभन्दा उम्दा खेलाडी को हो, मलाई थाहा छैन । फेरि प्रत्येक कालखण्डले उत्कृष्ट खेलाडी विश्व फुटबललाई दिएको छ,’ एन्सेलोट्टीले भने ।
एन्सेलोट्टीको यो भनाइ बुधबार राति आएको हो । मतलब पेलेको निधनभन्दा दुई दिनअघि । पेलेले ८२ वर्षको उमेरमा धर्ती छाडेका छन् । उनको बिदाइले सर्वकालिन महान् खेलाडीको बहस रोकिने छैन। बरु बढ्न सक्छ ।
मेसीलाई पेलेसँग तुलना गर्नेको संख्या बढ्दो छ । हुन त पेलेसँग दाँजिन प्रत्येक कालखण्डमा कोही न कोही आइपुगेकै छन् । म्याराडोना त भइगए । उनीबाहेक ब्राजिलका सोक्रेट्स र जिको, फ्रान्सका मिचेल प्लाटिनी, ब्राजिलकै रोनाल्डो नाजारियो, रोनाल्डोका समकालिन जिनेदिन जिदान अनि रोनाल्डोन्हिो पनि । यी सबै खेलाडी आ-आफ्ना समयका जादुगर थिए । प्रत्येक पुस्ताले एकसेएक खेलाडीले दिएको भए पनि मेसीसँगको तुलना भने सबैभन्दा गम्भीर छ ।
विश्वकपको पहिलो संस्करणबाटै सहभागी हुँदै आएको टिम हो ब्राजिल । चौथो संस्करणमा पहिलो पटक फाइनलमा पुग्यो । त्यसबेलाका नायक थिए, एडेमिर । ब्रजिलियन फुटबल इतिहासकै उत्कृष्ट स्ट्राइकरको सूचीमा पर्ने एडिमिरको पेलेसँग तुलना हुँदैन । किनभने उनी पेलेभन्दा अघिको पुस्ताका थिए ।
बरु पेलेसँग उनका साथी गारिन्चाको भने खुबै तुलना हुनेगर्छ । किनभने ब्राजिलले सन् १९५८ र १९६२ मा विश्वकप जित्दा पेले र गारिन्चाले सँगै खेलेका थिए । मे, २०१३ मा पेलेले सामाजिक सञ्जाल टुइटरमा आफ्ना समर्थकलाई जानकारी दिएका थिए, त्यो पनि प्रश्नको शैलीमा । ‘थाहा छ, म र गारिन्चा सँगै खेल्दा हामीले कुनै खेल हारेको छैन ?’ यी दुईले ब्राजिलका लागि ४० खेलसँगै खेलेका थिए । नतिजा, ३६ जित र चार बराबरी थियो । यी खेलमा पेले र गारिन्चा मिलेर ४४ गोल गरेका थिए ।
ब्राजिलमै पेलेसँग तुलना भएका खेलाडीको सूची लामो छ । आफूसँग खेलेकादेखि पछिका पुस्तासम्म। तर ब्राजिलबाहिर, त्यो पनि अहिलेसम्म तुलना भइरहेका खेलाडी मेसी नै हुन् ।
मेसीले विश्व फुटबलमा सर्वाधिक प्रतिष्ठित व्यक्तिगत अवार्ड मानिने बालन डी’अर सातपल्ट जितेका छन् । जुन पेलेलाई दिइएभन्दा एक बढी हो । हुन त पेले खेल्दा बालन डी’अर गैर युरोपियन खेलाडीलाई दिने चलन थिएन । यो सिलसिला सन् १९५५ सम्म कायम रह्यो । सन् २०१४ मा मात्र हो, बालन डी’अर प्रदान गर्ने फ्रान्स म्यागजिनले पेलेलाई सन् १९५८, १९५९, १९६०, १९६१, १९६३, १९६५ र १९७० का लागि विश्वको उत्कृष्ट खेलाडी ठहर गरेको ।
फ्रान्स म्यागजिनको यो निर्णय र ढिलोगरी दिएको पुरस्कारलाई मान्यता दिने हो भने पेले सबैभन्दा कम उमेरमा बालन डी’अर जित्ने खेलाडी हुन् । किनभने उनी सन् १९५८ मा १७ वर्षका मात्र थिए ।
पेलेलाई सधै भलाद्मी खेलाडी मानियो । उनले आफ्नोबारे बढाइचढाई कहिल्यै गरेनन् । उनले के चाहिँ भनेका छन् भने अहिलेभन्दा आफ्नो पालामा फुटबल खेल्न कठिन थियो । ‘त्यसबेला बल, बुट शुद्ध छालाका हुन्थे । प्रत्येक पल्ट प्रहार गर्दा खुट्टा दुख्थ्यो । ती दुवै असाध्यै भारी हुन्थे । भिजेको मैदानमा खेल्नु पर्दा बल प्रहार गर्न कम्ती ग्राहो हुँदैन थियो,’ पेलेले ‘ओस गारोटोस डो ब्रास्रिल’ पुस्तकमा भनेका छन् ।जब पेलेको पुस्ता खेल्थ्यो, तब मैदान अहिलेको जस्तो स्तरीय हुने सम्भावना थिएन । खाल्डाखुल्डी परेको मैदानमा स्थानीय स्तरमा बनाइएको तुलनात्मक रुपमा भारी वजन भएका जर्सी र कट्टु लगाएर खेल्न सजिलो थिएन ।
लगातार तीन पटक विश्वकप जित्ने एक्ला खेलाडी हुन् पेले । उनले यस्तोबेला यो कीर्तिमान राखे, जब फुटबलमा कार्डको नियम थिएन । फिफाले मे, १९७० बाट मात्रै कार्डको व्यवस्था ल्याएको हो । कार्डको व्यवस्था नभएकाले टिमहरुको मुख्य रणनीति हुन्थ्यो विपक्षी टिमका प्रमुख खेलाडीमाथि फाउल गर्ने, घाइते बनाउने । के भनिन्छ भने ब्राजिलियन घरेलु फुटबलमा त्यसबेला सान्तोषविरुद्ध खेल्दा ‘नम्बर १०’ लाई निगरानीमा राख्न भनिन्थ्यो । करिब १५ वर्ष पेलेले यो वातावरणमा खेले । अहिलेको फुटबल फरक छ । विपक्षी टिमका प्रत्येक खेलाडीका सबल र कमजोर पक्ष केलाइन्छ, भिडियो र ट्याक्टिकल एनलाइसिस गरिन्छ अनि आफ्ना खेलाडीलाई तयार पारिन्छ ।अहिलेको फुटबलमा प्रतिद्वन्द्विता दुई खेलाडीमा सीमित छ । ती हुन्, मेसी र रोनाल्डो । तर पुरानो फुटबलमा फर्कने हो भने, बग्रेल्ती स्टारबीचको प्रतिद्वन्द्विता पाइन्छ । डी स्टेफानो, पुस्कास, बबी चाल्टर्न, गारिन्चा, एभारिस्टो, कोपा, फोन्टाइन, इसुबियो, गर्ड मुलर, टोस्टाओ, जैरजिन्हो, योहान क्रायफ आदि । यत्तिका एकसेएक खेलाडी हुँदा पनि सबैले पेलेलाई नै महान् माने । अहिले मेसी र रोनाल्डोलाई टक्कर दिने खेलाडीको सूची लामो छैन ।पेलेले आफ्नो करियरमा कति गोल गरे ? यसको हिसाबकिताब सर्वमान्य छैन । तर ‘पेले’ पुस्तकका अनुसार पेलेले सात सय ८६ खेलमा १२ सय ८३ गोल गरेका थिए । तीमध्ये सात सय ४३ गोल चार सय ४९ आधिकारीक खेलमा भएको बताइन्छ । मेसीले गरेको गोलको पछिल्लो तथ्यांक हो सात सय ९१ ।
मेसी, उनका प्रतिद्वन्द्वी रोनाल्डो अनि अन्य स्टार खेलाडी आधुनिक फुटबलमा रमाइरहेका छन् । मानौँ अहिलेको फुटबल राजमार्ग हो । पेले खेल्दा फुटबल फगत घोडेटो बाटो थियो । यसलाई चौडा पार्ने, मज्जाले हिड्न सक्ने बनाउने काम पेले र उनको पुस्ताले गरेको हो । के तर्क गरिन्छ भने आधुनिक फुटबल खेलिरहेका खेलाडी कौशलका हिसाबले उत्कृष्ट छन् । तर तिनलाई एर्लिङ हालान्डले जवाफ दिएका छन्, ‘अहिलेका खेलाडीले जे जे गरिरहेका छन्, त्यो कुनै जमानामा पेलेले गरिसकेका थिए ।’