फुटबलका राजा पेले

महान खेलाडीका पाँच उत्कृष्ट खेल

काठमाडौं । पेलेले अन्तिम विश्वकप जितेको ५२ वर्षभन्दा धेरै भइसक्यो । तर उनको निधन अगाडिसम्म पनि उनको गुनगान उत्तिकै भइरह्यो । पेलेको खेल शैली, उनको फुटबल कौशल, फुटबलप्रति उनको योगदान, उनले छाडेका छापहरुको चर्चा हिजो सम्म पनि भइरहे । र यो पछिका दिनसम्म पनि भइरहनेछन् ।

बिहिबार राति सर्वकालिन महान खेलाडी पेलेले संसारबाट बिदाई लिए । ब्राजिललाई तीन पटक विश्वकपको उपाधि जिताउन उल्लेखनीय भूमिका खेलेका पेलेले गत वर्ष कोलोन क्यान्सरको शल्यक्रिया गराएका थिए । नोभेम्बर दोस्रो साताबाट साओ पाउलोस्थित अल्बर्ट आइनस्टाइन अस्पतालमा उपचाररत रहेका पेले त्यही क्रममा बिहीबार संसारबाट बिदा भए । पेलेको निधनसँगै सारा विश्व शोकमा डुबेको छ ।

पेले फुटबलका हस्ती थिए । एक असाधारण । तीन पटक विश्वकप जित्नु आफैमा एउटा कीर्तिमान हो । पेलेका व्यक्तिगत कीर्तिमानहरुले पनि उनी कत्तिको असाधारण थिए भन्ने देखाउँछ । पेलेले खेलेका खेलहरु अहिले विरलै देख्न पाइन्छ । देख्न पाए पनि भिडियोको गुणस्तर एकदमै कम हुन्छन् । पेलेका राम्रा फुटेज नै नभएका भने होइन । यी फुटेजहरुमा प्रस्ट देख्न सकिन्छ, पेले कस्ता थिए भन्ने बारे ।

पेले १५ वर्ष विश्व फुटबलको शीखरमा रहे । पेलेका खेलहरु प्रत्यक्ष हेरेकाहरु पेलेलाई फुटबलको भगवान मान्छन् । उनिहरु भन्थे, ‘पेले एक अविश्वसनीय खेलाडी थिए ,जसले फुटबललाई नयाँ उचाईमा लगे । उनी विपक्षी रक्षापंक्तिलाई कमजोर पार्थे र कीर्तिमानहरु थप्दै जान्थे ।’

पेलेका पाँच यस्ता खेल जसले उनको महानतालाई परिभाषित गर्छ ।

१९५८ विश्वकप सेमिफाइनल, ब्राजिल ५-२ फ्रान्स

क्वार्टरफाइनलमा खेलको एकमात्र निर्णायक गोल गरेका पेलेले फ्रान्सविरुद्धको अन्तिम चार खेलमा पनि ब्राजिलका लागि नायकको भूमिका निर्वाह गरे । फ्रान्सविरुद्धको त्यही खेलले नै हो, विश्व फुटबलमा १७ वर्षीय पेलेको उदय भएको । फ्रान्सविरुद्ध पेलेले करियरकै पहिलो ह्याट्रिक पूरा गरे । पहिलो दुई गोल नजिकको दुरीबाट गरेका पेलेले तेस्रो गोल १८ यार्डबाट गरेका थिए । पेलेले करियरमा ब्राजिलबाट सात ह्याट्रिक गरेका थिए । फाइनलमा ब्राजिलको भेट आयोजक स्वीडेनसँग भएको थियो ।

१९५८ विश्वकप फाइनल, स्वीडेन २-५ ब्राजिल

फाइनलमा भाभाको दुई गोलमा ब्राजिल आयोजक स्वीडेनमाथि २-१ ले अगाडि थियो । तर त्यो फाइनल पेलेका अविस्मरणीय गोलको कारण यादगार बन्यो । दोस्रो हाफको १०औं मिनेटमा पेलेले पेनाल्टी बक्समा बललाई नियन्त्रण गरे र विपक्षी रक्षकलाई झुक्याएर उत्कृष्ट भली प्रहार गरे । जसको जवाफ गोलरक्षक केल स्भेन्सनसँग थिएन । ९०औं मिनेटमा पेलेले अर्को गोल थपे । खेल ब्राजिलले ५-२ ले जित्यो र पहिलो पटक विश्वकपको उपाधि जित्यो । पेलेले गरेको पहिलो गोल वास्तवमै कलात्मक थियो । त्यस गोलसँगै पेले विश्वकप फाइनलमा गोल गर्ने सबैभन्दा कान्छा खेलाडी बनेका थिए । पेले त्यतिबेला जम्मा १७ वर्ष दुई सय ४९ दिनका थिए । आजसम्म पनि पेलेको यो कीर्तिमान कसैले तोड्न सकेको छैन ।

अन्तरमहादेशीय कप फाइनल, दोस्रो लेग, बेन्फिका २-५ सान्तोष

विश्वकप १९६२ मा ब्राजिलले उपाधि रक्षा गर्दा पेलेको भूमिका चार वर्ष अगाडि जस्तो उल्लेखनीय थिएन । कारण उनी चोटबाट सताइएका थिए । तर १९६२ फाइनलको तीन महिनापछि सेप्टेम्बर र  अक्टोबरमा उनले सान्तोषलाई अन्तरमहादेशीय  कपको उपाधि जिताउन महत्त्वपूर्ण भूमिका खेले ।

घरेलु भूमिमा भएको पहिलो लेगमा पेलेको दुई गोलको मद्दतमा सान्तोसले युरोपियन च्याम्पियन बेन्फिकालाई ३-२ ले पराजित गरेको थियो । कोपा लिबरटेडर्स विजेता सान्तोषले लिस्बनमा सम्पन्न दोस्रो लेगमा ५-२ को फराकिलो जित दर्ता गर्यो र अन्तरमहादेशीय कपको उपाधि जित्यो । दोस्रो लेगमा पेलेले सानदार ह्याट्रिक गरेका थिए ।

पेलेको ड्रिबल, गति र बलको बेन्फिकासँग कुनै जवाफ थिएन । बेन्फिकासँग इयुसेबियो थियो । तर पेलेका अगाडि उनी निरीह बनेका थिए । बेन्फिकाका पूर्व खेलाडी एन्टोनियो साइमोसले केही समय अगाडि मात्र भनेका थिए, ‘आज सम्म पनि विश्व फुटबलका उत्कृष्ट खेलाडी को हो भन्ने मान्छेहरुको प्रश्नमा म पेले नै भन्ने गर्छु । मैले पेले जस्तो खेलाडी कहिल्यै देखिन । उनले मैदानमा देखाउने कला सायदै कसैले गर्न सक्ला । बेन्फिका युरोपियन च्याम्पियन थियो । तर सान्तोस विश्वकै उत्कृष्ट थियो ।’

१९६३, रोका कप, दोस्रो लेग, ब्राजिल ५-२ अर्जेन्टिना

कुनै समय ब्राजिल र अर्जेन्टिनाबीच रोका कप प्रतियोगिता हुने गर्थ्यो । यो प्रतियोगिता १९१४ देखि १९७६ सम्म चलेको थियो । १९६३ को रोका कप पेलेका कारण अहिले पनि उत्तिकै चर्चित छ । पेलेले त्यतिबेला दोस्रो लेगमा ह्याट्रिक गरेका थिए ।

मोरुम्बी रंगशाला, साओ पाओलोमा भएको पहिलो लेगमा अर्जेन्टिना ३-२ ले विजयी भएको थियो । दोस्रो लेगमा करिब एक लाख तीस हजार दर्शकबीच पेलेले माराकाना रंगशालामा दुई पेनाल्टी सहित तीन गोल गरे । अतिरिक्त समयसम्म गएको दोस्रो लेग अन्त्यमा ५-२ ले ब्राजिलको पक्षमा गयो । र, समग्रमा ब्राजिलले ७-५ को जित दर्ता गर्यो ।

१९७० विश्वकप फाइनल, ब्राजिल ४-१ इटाली

१९६६ मा पेले र ब्राजिल लगातार तेस्रो विश्वकप जित्ने सोचमा थिए । तर समूह चरणमा पोर्चुगलविरुद्ध पेले घाइते हुन पुग्दा ब्राजिलको सपना पहिलो चरणमै सीमित भएको थियो ।

त्यसको चार वर्षपछि मेक्सिकोमा कार्लोस अल्बर्टोको नेतृत्वमा ब्राजिलले फेरि विश्वकप उपाधि जित्यो, फाइनलमा इटालीलाई ४-१ ले हराएर । प्रतियोगितामा तीन गोल गरिसकेका पेलेले हेडरमार्फत इटालीविरुद्ध गोलको खाता खोलेका थिए । जर्जिन्होको तेस्रो गोलमा उनले पास मिलाइदिएका थिए । आफ्नो तेस्रो विश्वकप उपाधिको एक वर्षपछि उनले अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिए ।