काठमाडौं । महिला राष्ट्रिय फुटबल टोलीको कप्तानी गर्दै आएकी रेनुका नगरकोटे चोटका कारण मैदानबाहिर थिइन् । रेनुकाको विकल्पमा दीपा राईले गजबको प्रदर्शन गरिरहेकी थिइन् । तर, दीपा चोटका कारण स्वाभाविक लयमा भने थिइनन् ।
अनुभवी खेलाडीहरूलाई चोटले सताएपछि प्रशिक्षक कुमार थापा चिन्तित थिए । त्यसबीच थापाले प्रीति राई र दीपा शाहीलाई प्लेमेकरको रूपमा परीक्षण गरे । २०७८ साल भदौमा बंगलादेशविरुद्ध डेब्यु गरेकी प्रीति प्रशिक्षक थापाको मन जित्न सफल भइन् । सँगै दीपा शाहीले पनि आफूलाई निखार्दै गइन् ।
|
छैटौ संस्करणको साफ महिला च्याम्पियनसिप नजिकिँदै गर्दा १६ वर्षमात्रै लागेकी दीपा (शाही) प्रशिक्षक थापाको रणनीतिमा ‘फिट’ हुँदै गइन् । ५८ सदस्यीय प्रारम्भिक सूचीमा स्थान बनाएकी दीपा पहिलो पटक राष्ट्रिय टोलीमै स्थान बनाउन सफल भइन् ।
२३ सदस्य हुँदै ‘प्लेइङ सेट’मा स्थान बनाएकी दीपाले आफ्नो प्रदर्शनमा थप निखारता ल्याइन् । फलस्वरुप प्लेइङ सेटमै आफूलाई स्थापित गराइन् । दीपा २०७८ साल कात्तिकमा भएको उपमेयर कप राष्ट्रिय महिला लिग छनोटबाट घरेलु प्रतियोगितामा छाएकी खेलाडी हुन् ।
एक वर्षको अवधिमै अहिले दीपाको चर्चा चुलिएको छ । उनी अहिले राष्ट्रिय टोलीकी नियमित र महत्त्वपूर्ण सदस्य बनेकी छन् । डेब्युसँगै चार क्याप जितेकी दीपाले एक गोलसमेत गरिसकेकी छन् । भदौ २१ देखि असोज ३ सम्म दशरथ रंगशालामा भएको साफ महिला च्याम्पियनसिपबाट दीपा शाहीको उज्यालो करियर सुरु भएको हो ।
प्रशिक्षक थापाले दीपालाई भुटानविरुद्धको उद्घाटन खेलमा डेब्यु गराए । नेपालले ४-० को जित पाएको खेलमा दीपाले पूरा समय मैदानमा बिताइन् । जुन खेल उनका लागि सधैं सम्झनायोग्य बन्नेछ ।
|
‘पहिलो पटक राष्ट्रिय टिमबाट खेल्दा बिग्रिन्छ कि भन्ने डर थियो । तर, अभ्यास राम्रो भएकाले त्यति गाह्रो हुन पाएन । साथै दिदीहरूले मनोबल बढाइराख्नुभयो । डेब्यु खेलमा सोचेभन्दा मलाई धेरै सहज भयो,’ दीपाले खेलाडीसँग सुनाइन् । दोस्रो खेलमा नेपालले श्रीलंकालाई ६-० ले पराजित गर्यो । जुन खेलमा दीपाले मैदानमा ७६ मिनेट बिताइन् । जहाँ प्रीतिले उनलाई स्थानान्तरण गरेकी थिइन् । श्रीलंकाविरुद्ध पहिलो हाफको इन्जुरी समयमा गोल गर्दै दीपाले आफ्नो भविष्य उज्ज्वल रहेको जनाउ दिइन् ।
सेमिफाइलनमा भारतविरुद्ध ऐतिहासिक १-० को जित निकाल्दा दीपाले आफू सक्षम प्लेमेकर पनि प्रमाणित गरिदिइन् । पूरा समय मैदानमा बिताएकी उनले भारतीय खेलाडीलाई आफ्नै बक्ससम्म पुगेर रोक्न पनि भ्याइरहिन् । काउन्टरमा गएर दबाब सिर्जना गर्न त्यत्तिकै खटिइन् ।
फाइनलमा पनि उत्कृष्ट प्रदर्शन गरेर उपाधि जित्ने दीपाको सुनौलो योजना थियो । तर, बंगलादेशले ऐतिहासिक सफलता हासिल गर्दा दीपाको त्यो योजना पूरा हुन पाएन । घरेलु मैदानमा उनले आफ्नो लक्ष्य पूरा गर्न सकिनन् । अरू खेलाडीजस्तै दीपाको पनि आफ्नै भूमिमा उपाधि जित्ने योजना अधुरै रह्यो ।
‘भारतविरुद्ध ऐतिहासिक जित हासिल गर्दै फाइनल पुगेका थियौं । राष्ट्रिय टिममा पहिलो पटक खेलेकी थिएँ र मेरो प्रदर्शन पनि राम्रो भएको थियो । तर, घरेलु मैदानमा उपाधि जित्ने योजना अधुरै रह्यो,’ दीपाले दुःखी हुँदै सुनाइन् । फाइनलमा नेपाल बंगलादेशसँग ३-१ ले पराजित हुँदा पहिलो पटक साफ च्याम्पियनसिप जित्ने एक अर्को अवसरबाट टाढा हुनपर्यो । नेपाल यसअघि चारपल्ट फाइनलमा पराजित हुँदै उपाधिबाट वञ्चित हुन पुगेको थियो ।
हुम्लादेखि राष्ट्रिय टिम
१७ वर्षअघि दीपाको जन्म हुम्लाको खार्पूनाथमा भएको हो । दीपाको स्कुल पढ्दाताका नै खेलकुदप्रति रुचि बस्यो । जसले गर्दा गाउँका दाजुभाइसँग उनले भलिबल र फुटबल खेल्न थालिन् । विस्तारै स्कुलका प्रतियोगिताहरूमा सहभागिता जनाइन् । तर, घरपरिवारले खेलकुदमा लागेको मन पराउने अवस्था थिएन । छोरीको जातलाई छोराको लात्ता लाग्छ भन्दै फुटबल खेल छोड्न दबाब नदिएका होइनन् । तर, दीपाको मन मानेन ।
तीन वर्षअघि माध्यमिक तह पूरा गरेसँगै उच्च शिक्षा (प्लस टु) हासिल गर्न खार्पूनाथ छोड्दै काठमाडौं हिँडिन् । काठमाडौंमा होस्टेलमा रहेर प्लस टु अध्ययन पूरा गरिन् । हल्काफुल्का खेल पनि जारी राखेकी थिइन् ।
|
त्यही समय महिला फुटसल लिग हुने भयो । दीपाको मन फुरुङ्ग भयो । त्यसमा सहभागिता जनाइन् । राम्रै प्रदर्शन गरिन् । त्यसपछि ०७८ कात्तिक पहिलो साता अखिल नेपाल फुटबल संघ (एन्फा)ले उपमेयर कप आयोजना गर्ने भयो । दीपा झापाको कन्काई नगरपालिका टिमसँग अनुबन्धित भइन् ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको प्रतियोगितामा हुम्लाकी चेलीले उत्कृष्ट प्रदर्शन गरिन् । टोलीलाई सेमिफाइनलसम्म पुर्याउन विशेष भूमिका खेल्दा दीपा मैदानमा उपस्थितको मन जित्न पनि सफल भइन् ।
प्राविधिक टोलीले दीपालाई नजिकबाट नियाल्ने अवसर पायो । जसले गर्दा बंगलादेशमा आयोजित यु-१९ महिला साफ च्याम्पियनसिपको प्रारम्भिक चरणमा उनले स्थान बनाइन् । त्यहाँ आफूलाई अझ निखारिन् र टोलीमा स्थान पक्का गरिन् । ०७८ मंसिरमा देशको प्रतिनिधित्व गर्दै ढाकामा पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता खेलिन् । अञ्जना रानामगरको कप्तानीमा रहेको नेपाली टिम फाइनल पुग्न सफल भएन । जुन प्रतियोगिता सिंगल राउन्ड रोबिन लिगका आधारमा भएको थियो । शीर्ष दुई टोली फाइनल पुगेको थियो ।
दीपाले त्यसपछि फागुनमा भारतको जम्सेदपुरमा भएको यु-१८ साफ च्याम्पियनसिप खेलिन् । प्रीति राईको कप्तानीमा रहेको नेपाल समूह चरणभन्दा अगाडि बढ्न सकेन । उमेर समूहमा उत्कृष्ट प्रदर्शन गरिरहेकी दीपालाई त्रिभुवन आर्मी फुटबल क्लबले महिला फुटबल लिगका लागि टोलीमा समावेश गर्यो । चैतमा चितवनमा पहिलो चरणको लिग सकिँदा आर्मीका लागि दीपाले दुई गोल गरिसकेकी छन् । लिगमा प्रभावशाली प्रदर्शनसँगै दीपा चीनमा आयोजना हुने १९औ एसियन खेलकुदको बन्द प्रशिक्षणमा परेकी थिइन् । त्यसपछि दीपा साफ च्याम्पियनसिपका लागि पहिलो पटक ‘कल’ भएकी हुन् ।
प्रचुर सम्भावना
महिला टोलीका प्रशिक्षक थापा पनि कम उमेरमै दीपाको प्रदर्शन देखेर छक्क छन् । उनले दीपाको फुटबल भविष्य राम्रो देख्छन् । ‘उसले (दीपा) फुटबल खेल्न थालेको एक वर्ष त भयो । उसमा प्रचुर क्षमता भएर नै विश्वास गरिएको हो । ऊ मिहिनेती छे । मैले आफूलाई चाहिएजस्तो खेलाडी भेटेको छु,’ दोस्रो पटक टिम हेरेका प्रशिक्षक थापाले प्रशिक्षण दौरान भनेका थिए, ‘दीपाको खेल्ने शैली नै धेरै राम्रो छ । गति एकदमै राम्रो छ, स्किल छ, त्यत्तिकै उर्जावान । प्रीति (राई) पनि भर्सटाइल खेलाडी हो । तर, दुईमध्ये छान्दा दीपा अगाडि आउँछिन् ।’
कप्तान एन्जिला तुम्बापो सुब्बासमेत दीपाको खेलबाट मन्त्रमुग्ध छिन् । दीपाजस्ता युवा खेलाडीको प्रदर्शनले अरूलाई समेत महिला फुटबलमा लाग्न प्रेरित हुने एन्जिला सुनाउँछिन् । ‘थोरै समयमा दीपाले धेरै मिहिनेत गरिन् र आफूलाई सिद्ध गर्न सफल भइन्,’ पहिलोपल्ट टोलीको कप्तानी गरेकी एन्जिलाले भनिन्, ‘दीपाजस्ता खेलाडी टोलीमा आउँदा अन्य युवा खेलाडीलाई समेत फुटबल खेल्न पे्ररित गर्छ ।’