किशोर केसी

महिलाको दाबेदार छवि गुम्ने त होइन !

नेपाली महिला फुटबल टोलीसामु साफ महिला फुटबल च्याम्पियनसिपको पछिल्लो दुई संस्करणमा आफ्नै भूमिमा उपाधि राख्दै उपविजेताको ट्याग हटाएर च्याम्पियन बन्ने सुनौलो अवसर थियो ।

तर, दुवै अवसरमा नेपाल चुक्यो । सन् २०१९ मा विराटनगरमा भएको साफ च्याम्पियनसिपको पाँचौ संस्करणको उपाधि भारतलाई सुम्पिएको नेपालले यसै साताको सोमबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बंगलादेशलाई नतिजा सुम्पियो ।

गत वर्ष दशरथ रंगशालामै बंगलादेशसँग दुई मैत्रीपूर्ण खेलमध्ये एकमा जित र एकमा बराबरीको नतिजा निकालेको नेपालले त्यसको करिब एक वर्षपछि सोही मैदानमा बंगलादेशलाई इतिहासमै पहिलो पटक नतिजा सुम्पियो । जुन हार नेपालको साफ महिला च्याम्पियन बन्ने सुनौलो अवसर खोस्न पर्याप्त रह्यो ।

‘पुरुषको तुलनामा दक्षिण एसियामा हाम्रो महिलाको इतिहास राम्रो छ । तर हामी उपाधि जित्न भने यस पटक पनि असफल भयौं । यसअघिका संस्करणमा नेपालका लागि सबैभन्दा ठूलो चुनौती भारत थियो । जोसँग हामी चारपल्ट फाइनल र एकपल्ट सेमिफाइनलमा निराश भएका थियौं । यसपालि हामी सेमिफाइनलमा भारतको चुनौती अन्त्य गर्न सफल त भयौं । तर, उदाउँदो शक्ति बंगलादेशको चुनौती हामीले पार गर्न सकेनौं ।’

समूह चरणमा भुटान र श्रीलंकाजस्तो सहज प्रतिद्वन्द्वी पाएको नेपालले सेमिफाइनलमा भारतलाई हरायो । जुन साफ च्याम्पियनसिपको इतिहासमा नेपालले भारतमाथि निकालेको पहिलो जित थियो । नेपालले त्यसअघि पाँचमध्ये चारपल्ट फाइनल र एकपल्ट सेमिफाइनलमा भारतसँग हार भोग्दै उपाधि सुम्पिएको थियो ।

सन् २०१० बाट सुरु भएको महिलाको साफ च्याम्पियनसिपमा नेपाल र भारतलाई सधैं उपाधि दाबेदारका रूपमा लिइँदै आएको थियो । तर अब त्यो स्थिति रहेन । अबका संस्करणमा भने नेपालले समूह चरणमै कठिन चुनौतीको सामना गर्नुपर्ने सम्भावना देखिएको छ । सुरुआती संस्करणबाटै आफूलाई बलियो टोलीको रूपमा उभ्याउँदै आएको नेपाली टोली अहिले भने त्यो छवि गुमाउने संघारमा पुगेको छ ।

महिला फुटबलमा नेपालले आफूलाई साफ च्याम्पियनसिपको पहिलो संस्करणबाटै सधैं बलियो टोलीको रूपमा उभ्याउँदै आएको थियो । तथापि दक्षिण एसियाली च्याम्पियन बन्न सकेन । सन् २०१२ मा महिला राष्ट्रिय टोलीको प्रशिक्षण सम्हालिसकेका पूर्वप्रशिक्षक किशोर केसी भन्छन्, ‘पुरुषको तुलनामा दक्षिण एसियामा हाम्रो महिलाको इतिहास राम्रो छ । तर हामी उपाधि जित्न भने यस पटक पनि असफल भयौं । यसअघिका संस्करणमा नेपालका लागि सबैभन्दा ठूलो चुनौती भारत थियो । जोसँग हामी चारपल्ट फाइनल र एकपल्ट सेमिफाइनलमा निराश भएका थियौं । यसपालि हामी सेमिफाइनलमा भारतको चुनौती अन्त्य गर्न सफल त भयौं । तर, उदाउँदो शक्ति बंगलादेशको चुनौती हामीले पार गर्न सकेनौं ।’

बंगलादेशले उमेर समूहलाई प्राथमिकतामा राख्दै बढीभन्दा बढी प्रतियोगिता खेलेका कारण नै साफ च्याम्पियनसिपको उपाधि जितेको प्रशिक्षक केसीको बुझाइ छ । दक्षिण एसियाका अन्य राष्ट्रले महिला फुटबललाई प्राथमिकतामा राख्दै त्यसैअनुरुप दीर्घकालीन योजनासहित अघि बढे पनि नेपालमा महिला फुटबल प्राथमकितामा नराखिएको उनको गुनासो छ ।

‘बंगलादेशले यो प्रतियोगिताका लागि एक डेढ महिनामात्र प्रशिक्षण गरेको होइन, उनीहरू ८–९ वर्षदेखि सँगै खेलिरहेका छन्,’ प्रशिक्षक केसीले भने, ‘धेरैभन्दा धेरै खेल खेल्दै अनुभव बटुलिरहेका छन् । उमेर समूहलाई प्राथमिकतामा राखिएको छ । लगानी सोहीअनुरुप छ । यो नै उनीहरूको सफलताको सूत्र हो ।’

भारतको महिला फुटबलको अवस्थाबारे हामीले केही भन्नै नपर्ने उनको तर्क छ । पाकिस्तानले पनि आठ वर्षपछि पुनरागमन गरेको छ । प्रशिक्षक केसी भन्छन्, ‘उनी (पाकिस्तानी)हरू पनि आगामी वर्षहरूमा थप आक्रामक भएर आउनेमा कुनै दुविधा छैन । भुटानले पनि महिला फु्टबललाई प्राथमिकता राखेको छ । तर नेपालको अवस्थामा केही परिवर्तन छैन । यहाँ महिला फुटबल प्राथमिकतामा छैन । हाम्र्रो स्तर जहाँको त्यहीं छ । न लगानी छ न त उनीहरूका लागि संरचना तयार छ ।’

केसीले सन् २०१० मा साफ च्याम्पियनसिपको पहिलो संस्करण खेल्दा नेपालमा महिला फुटबलको संरचना जस्तो थियो, १२ वर्षपछि पनि त्यसमा कुनै परिवर्तन देखेका छैनन् । भन्छन्, ‘वर्षमा महिला खेलाडीका लागि एउटा लिग हुन्छ, त्यो पनि गतिलोसँग आयोजना गरिँदैन । विभागीय टोलीले केही नकआउट प्रतियोगिता गर्छन । त्यसकै भरमा कहिलेसम्म नेपाली महिला फुटबल थेगिने ?’

आफूभन्दा तल्लोस्तरका सार्क राष्ट्रले महिला फुटबलमा दीर्घकालीन योजनासहित अघि बढ्दा नेपाल भने त्यही एउटा लिगमा निर्भर छ । अन्य राष्ट्रले उमेर समूहबाटै महिला फुटबल अघि बढाइरहेका छन् । नेपालमा भने उमेर समूहको संरचना नैै छैन । संरचनाविना सधैं नतिजाको आसमात्र गर्नुको कुनै तुक नरहने केसीको बुझाइ छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा)ले महिला फुटबलका लागि प्रत्येक वर्ष आयोजना गर्ने महिला राष्ट्रिय लिगको छनोट र महिला राष्ट्रिय लिगमात्र हो । त्यसपछि भने विभागबाहेकका अन्य टिमका खेलाडी फुटबल गतिविधिबाटै हराउने गर्छन ।

विभागीय टोलीको भरमा मात्र सधैं नेपाली फुटबल नथेगिने केसी सुनाउँछन् । ‘महिला खेलाडी वर्षमा जम्मा दुई पटक फुटबल गतिविधिमा व्यस्त हुन्छन्,’ केसीले भने, ‘विभागमा रहेका खेलाडी त वर्षभर नै प्रशिक्षणमा हुन्छन् तर त्यसबाहेक नगरपालिकाबाट आएका खेलाडीहरू भने फुटबल गतिविधिबाटै हराउने गर्छन् । राष्ट्रिय लिगमा राम्रो प्रदर्शन गर्ने खेलाडी विभागको नजरमा परे र त्यहाँ खेल्ने अवसर पाए भने उनीहरूले फुटबलमा निरन्तरता पाउने भए । अन्यथा उनीहरू आफ्नो सुनौलो भविष्यका लागि अन्य पेसा रोज्न बाध्य हुन्छन् ।’

यसबारे एन्फा कहिले गम्भीर नबनेकोमा चाहिँ प्रशिक्षक केसीको गुनासो छ । जसले गर्दा साफ च्याम्पियनसिपका आगामी संस्करणमा नेपालले आफ्नो उपाधि दाबेदार छवि विस्तारै गुमाउँदै जाने सम्भावना देख्छन् उनी ।