इसाक

कस्ता छन् कीर्तिमानी मूल्यका इसाक ?

लन्डन । न्युक्यासल युनाइटेडले कुनै बेलाका अद्भूत बालक अलेक्जेन्डर इसाकलाई कीर्तिमानी ५९ मिलियन पाउन्डमा अनुबन्ध गरेको छ ।

स्विडिस राष्ट्रिय टिमका प्रमुख सदस्य बनिसकेका २२ वर्षीय इसाक स्विडिस क्लब आइक फुटबलका सबैभन्दा कान्छा गोलकर्ता हुन् । १६ वर्षकै उमेरमा डेब्यु गरेको खेलमै आइकले गोल गरेका थिए ।

१७ वर्ष हुँदा बोरुसिया डर्टमन्डमा अनुबन्धित इसाकले आफ्नो उमेरका अरू फरवार्डको तुलनामा धेरै अनुभव बटुलिसकेका छन् । इसाक डर्टमन्ड गएको अर्को वर्ष लोनमा डच क्लब विलेम पुगेका थिए ।

त्यसपछि तीन वर्ष स्पेनिस क्लब रियल सोसिडाडमा बिताएर इसाक प्रिमियर लिगको क्लब न्युक्यासल आइपुगेका हुन् ।

गत वर्ष युरो २०२० मा गरेको प्रदर्शनका कारण उत्कृष्ट युवा फरवार्डको रूपमा आफूलाई स्थापित गरेका इसाकले त्यसै सिजन सोसिडाडबाट ३७ खेलमा १७ गोल गरेका थिए ।

अग्लो कद, बलिया र छरिता फरवार्ड इसाक पछिल्ला वर्षमा ‘बज क्रिएट’ गरेका फरवार्ड हुन् । तर, गत सिजन भने अपेक्षित प्रदर्शन गर्न नसकेकै कारण न्युक्यासलले उनलाई भित्र्याउन सफल भयो ।

किनभने पछिल्ला वर्षहरूमा उनीमाथि च्याम्पियन्स लिग र युरोपा लिग खेलिरहेका क्लबहरूले उनीमाथि चासो देखाएका थिए । यही ट्रान्सफर विन्डोमा आर्सनलको नाम जोडिएको थियो । तर, आर्सनलले म्यानचेस्टर सिटीका फरवार्ड गाब्रियल जिससलाई चुन्यो ।

न्युक्यासलको हकमा भने आफूहरूले पहिलो प्राथमिकतामा राखेका फरवार्ड भित्र्याउन टोली सफल भएको छ । क्लब व्यवस्थापन, खेलाडी र प्रशिक्षकबीचको छलफलमा इसाक भने एडी होवेको पहिलो प्राथमिकतामा थिए ।

जुलाईदेखि नै न्युक्यासल र इसाकको नाम जोडिए पनि सोसिडाड ७६ मिलियन पाउन्डमा अटल रह्यो । न्युक्यासलले इसाक भित्र्याउन बार्गेनिङ गरेर अन्नत: ५९ मिलियन पाउन्डमा अनुबन्ध गरेको हो । जुन सोसिडाडले पहिले माग गरेभन्दा करिब २० मिलियन थोरै हो ।

किन उत्साही छ न्युक्यासल ?

गत वर्ष यही समयमा इसाक युरोपेली फुटबलका ‘हट-केक’ थिए । तर, त्यसपछि अपेक्षित प्रदर्शन गर्न नसक्दा नर्थ-इस्ट क्लबका लागि बाटो खुल्यो ।

न्युक्यासलको नजर इसाकको उमेरमै छ । किनभने एउटा खराब लयले उनका अन्य सकारात्मक पक्ष उपेक्षित गर्न सक्दैन ।

न्युक्यासलका स्काउट प्रमुख स्टिभ नेक्सन र प्रशिक्षक होवे इसाक युरोपेली फुटबलका उत्कृष्ट फरवार्ड हुन् भन्नेमा विश्वस्त छन् । उनले राम्रो प्रशिक्षण र राम्रो वातावरण पाए अझै उत्कर्षमा पुग्ने आस न्युक्यासललाई छ ।

होवेले आफ्नो सिस्टममा चाहेका र फिट हुने उत्कृष्ट विकल्पको रूपमा हेरेका खेलाडी हुन् इसाक ।

दुवै खुट्टाले समान प्रहार र पास गर्न सक्ने धेरै फरवार्ड छैनन् । इसाकको प्रभावशाली देब्रे खुट्टा हो अनि देब्रे खुट्टाले उनी सहजै पास खेल्न र प्रहार गर्न सक्छन् ।

इसाकको आगामनसँगै न्युक्यासलले एकै खेलाडीलाई धेरै स्थानमा प्रयोग गर्ने विकल्प पाएको छ । इसाक प्राय: सेन्टर फरवार्डको भूमिकामा देखिन्छन् । तर, उनी फ्लान्कबाट आक्रमण गर्न रुचाउँछन् । जुन युवा अवस्थाका थिएरी अनरीसँग मिल्दो शैली हो ।

उनको फिनिसिङ अझै निखारिन बाँकी छ । तर, जब उनले फाइनल थर्डमा मौका पाउँछन्, लङ रेन्ज प्रहारदेखि ट्याप-इनसम्म सबैखाले गोल गर्न सक्छन् ।

युवा फरवार्ड इसाकसँग अझै तीक्ष्ण हुने सम्भावना छ । र, न्युक्यासल भनने उनले आफूलाई अझै सुधारेर नयाँ उचाइ हासिल गर्ने आसमा छ ।

इसाकले के लिएर आए ?

न्युक्यासलसँग प्रिमियर लिगका उत्कृष्ट नम्बर ९ कालुम विल्सन छन् । तर, इंग्लिस फरवार्ड विल्सन सिजनभर फिट रहन्छन् भनेर न्युक्यासल विश्वस्त हुन सक्दैन । ह्यामस्ट्रिङको सिकार भएका ३० वर्षीय विल्सन कम्तीमा तीन साताका लागि मैदानबाहिर रहने निश्चित भइसकेको छ । यसअघि पनि उनी केही महिनाका लागि नै बाहिर बस्नुपरेको इतिहास छ ।

त्यसले न्युक्यासलमा समस्या पैदा भएको थियो । विल्सनभन्दा उत्कृष्ट सेन्टर फरवार्ड खोज्नु कठिन र महँगो पथ्र्यो । त्यसैले न्युक्यासलले विल्सन उपलब्ध नहुँदा बीचबाट पनि खेल्न सक्ने र उनी फिट हुँदा सँगै खेल्न सक्ने विकल्प हेरेको हो ।

फिनिसिङको हकमा विल्सन जत्तिकै नभए पनि उमेरका कारण इसाक अझै प्रभावशाली हुन सक्छन् । छरिता इसाक बलसँग हुँदा झन डरलाग्दा फरवार्ड हुन् । उनी विल्सनको तुलनामा अझै ‘क्रिएटिभ’ एट्याकर हुन् । इसाक ‘क्लासिक सेन्टर फरवार्ड’ झैं फाइनल थर्डमा पाएको बल पास गर्न भन्दा प्रहार गर्न रुचाउँछन् ।

इसाक मुख्य फरवार्डभन्दा पछाडि बसेर खेल्न रुचाउँछन् र आवश्यक पर्दा आफ्नै नम्बर ९ पोजिसनमा पनि खेल्ने क्षमता राख्छन् ।

होवेको आगमनपछि देखिएको न्युक्यासलको प्रमुख समस्या राइट फ्लान्कमा देखिएको थियो । बायाँतर्फ एलान सेन्ट म्याक्सिमिनको तुलनामा दायाँ पक्ष कमजोर देखिन्छ । इसाकको आगमनले न्युक्यासलको फ्रन्टलाइन सशक्त बनाउने निश्चित छ ।

(एजेन्सीको सहयोग)