मेघराज केसी

‘भारतसँग हारेपछि फुटबल संसारै अँध्यारो देखें’

कोभिड-१९ का कारण लामो सयम नेपाली फुटबल अस्त व्यस्त हुँदा उमेर समूहमा ठूलो खाडल पर्यो । जसको सिकार यु २० टिम पनि भयो । करिब दुई वर्ष घरेलु फुटबल ठप्प रहँदा उमेर समूहको संरचना नै हरायो ।

तर, कोभिड महामारीपछि लयमा फर्किरहेको नेपाली फुटबल टिम अहिले उमेर समूहका प्रतियोगिताहरू लगातार खेलिरहेको छ, खेल्ने तयारीमा पनि छ ।

यसका लागि खुला छनोटबाट आएका खेलाडी लिएर मुख्य प्रशिक्षक मेघराज केसीले गत महिना भारतको भुवनेश्वरमा सम्पन्न साफ यु २० च्याम्पियनसिप खेलाएका थिए । जसमा नेपालले अपेक्षित नतिजा ल्याउन त सकेन नै । भारतसँग ८-० को लज्जास्पद हारसमेत बेहोर्नुपर्यो ।

सोही हारबाट विछिप्त बनेका मुख्य प्रशिक्षक केसी यसै महिनाको अन्त्यमा बहाराइनमा हुने एएफसी यु २० एसियन कप छनोटका लागि तयारी गरिरहेका छन् ।

३१ खेलाडीलाई बन्द प्रशिक्षणमा राखेका मुख्य प्रशिक्षक केसीसँग साफ च्याम्पियनसिपको अनुभव र एसियन कप छनोटको तयारीसँग सम्बन्धित रहेर खेलाडी डटकमका उमेश दाहालले गरेको अन्तर्वार्ताको सम्पादित अंश:

१. तयारी कस्तो भइरहेको छ ?

हामी साफ च्याम्पियनसिपबाट फर्केदेखि नै निरन्तर ट्रेनिङ गरिरहेका छौं । साफमा देखिएको राम्रो पक्षलाई निरन्तरता दिँदै त्यसै बेला देखिएका कमजोरीहरू सुधार्ने कोसिस गरिरहेका छौं । विशेष ध्यान त्यसैमा दिइरहेका छौं । समग्रमा ट्रेनिङ राम्रो भइरहेको छ ।

२. साफ च्याम्पियनसिप खेलेका खेलाडीहरू सबै नआएका भन्ने सुनिन्छ नि ?

हामीले यु २० टिम तयार गर्दा यो प्रोग्राम चार-साढे चार महिनाको थियो । हामीले समग्रमा सबैलाई प्राथमिकतामा राखेर टिम तयारी गरिरहेका हौं । हामीले साफ र एएफसी यु २० एसियन कप छनोटलाई नै सोचेर टिम बनाएका हौं । साफ खेल्दा हामीले २३ खेलाडी लगेका थियौं ।

साफबाट फर्केर आएपछि अझै खेलाडी थप्ने भन्ने पहिले नै योजना बनिसकेको थियो । त्यसैले प्रतियोगिता परिवर्तन हुँदा केही खेलाडी परिवर्तन हुनु सामान्य र स्वाभाविक हो । फेरि हामीले यु २० टिम तयार पार्दा उमेर समूहको खेलहरू कोभिडका कारणले धेरै वर्ष ग्याप भयो । र, हामी पनि धेरै खेलाडीमा आशा राखेका थियौं । तर, निश्चिन्त थिएनौं ।

खेलाडीको विषयमा यो साफले हामीलाई के सिकायो भने कतिपय खेलाडीहरू ट्रेनिङमा राम्रो भए पनि म्याचमा थेग्न नसक्दा रहेछन् । त्यसैले उनीहरूको विकल्प पनि यो टिमबाट खोजेका छौं । त्यसैले साफ खेलेका सबै खेलाडी टिममा हुँदैनन् पनि ।

३. साफ च्याम्पियनसिपमा नराम्रो नतिजापछि पनि पहिलो रोजाइमा परिवर्तन नहुनु बेन्च कमजोर हुनु हो ?

त्यसरी पनि नबुझौं । हाम्रो टिममा लगेका २३  खेलाडीहरू प्रायः १९/२० नै थिए । तर, मैले अघि भनें नि ? यो टिमका खेलाडीहरूमा अनुभवको कमी, म्याच एक्सपोजरको कमी, टिममै पनि अनुभवको कमी हुँदा पनि हाम्रो दुई वटा खेलमा राम्रो रिजल्ट आएको छ भनेर तिनै खेलाडीलाई निरन्तरता दियौं । साफको एउटा खेलले हाम्रो कमजोर पक्षहरू पनि धेरै देखाइदियो ।

त्यसैले बेन्च बलियो नभएको पनि नभनौं । खेलाडीहरू अलि परिवक्व नभएको चाहिँ पक्कै हो । विस्तारै यो टिम र खेलाडीहरू पनि परिवक्व हुँदै जान्छन् । र, पक्कै पनि राम्रो रिजल्ट आउँछ । किनभने, केही चिजका लागि केही समय त कुर्नैपर्छ । त्यसमा हामी पूर्ण आशावादी छौं ।

४. अब चाहिँ कसरी बेन्च बलियो बनाउनु हुन्छ त ?

हामीले तयारीका लागि करिब २५ दिन पाएका छौं । यसमा साफमा भएका टिम, प्रशिक्षक र खेलाडीहरूको गल्ती सुधार्ने कोसिस गरिरहेका छौं । कतिपय खेलाडीको विकल्प खोजेर त्यो स्थानमा सेट गर्ने कोसिस गरिरहेका छौं ।

५. भारतसँग धेरै गोल खाएर पनि बंगलादेशविरुद्धको खेलमा गोलकिपर उसैलाई मौका दिनुभयो । के अन्य गोलकिपरमा भरपर्न सकिने नभएर हो ?

होइन होइन । पक्कै त्यो होइन । हामीले तीन गोलकिपर लिएर गएका थियौं । तीनमध्ये एक गोलकिपरले दुई खेलमा राम्रो प्रदर्शन गरेको थियो । भारतसँग खेल्दा जुन पहिलो गल्ती गर्यो, त्यसपछिका गोलहरूमा गोलकिपरको धेरै गल्ती थिएन ।

टिमकै ब्यालेन्स बिग्रिएर धेरै गोल खान पुग्यौं । फुटबलमा कस्तो हुन्छ भने उदीयमान खेलाडीको एउटा सानो गल्तीलाई पनि ठूलो बनाइदियो भने उनीहरूको करियरको पनि कुरा आउँछ । ऊ त्यो स्तरको गोलकिपर नै होइन । उसलाई हामीले त्यतिविश्वास पनि गरेका थियौं । त्यसबेलामा उसको मानसिक तनाव हामीले भुलाउन नसकेको भए ऊ हराउन पनि सक्थ्यो ।

समग्रमा भन्नुपर्दा हामीसँग भएका सबै राम्रो गोलकिपर हो । तीमध्ये पनि उसको प्रदर्शन र अलिकति भए पनि ए डिभिजन लिगको अनुभवले गर्दा पनि उसलाई धेरै विश्वास गरिएको हो ।

त्यसो भन्नुको अर्थ अरू गोलकिपर चाहिँ नराम्रो भन्ने पनि होइन । अर्को कुरा भारतविरुद्ध उसलाई परिवर्तन गर्न नसक्नुको कारण त्यो अवस्था आएपछि सब्स्टिच्युट बाँकी पनि राख्नुपर्ने भयो । गोल खाइरहेको थियो र त्यो बेलामा सब्स्टिच्युट बाँकी नभएको भए हामीलाई गाह्रो पनि हुन्थ्यो । त्यसैले उसलाई हामीले परिवर्तन गर्न सकेनौं ।

समग्रमा भन्नुपर्दा हामीसँग भएका सबै राम्रो गोलकिपर हो । तीमध्ये पनि उसको प्रदर्शन र अलिकति भए पनि ए डिभिजन लिगको अनुभवले गर्दा पनि उसलाई धेरै विश्वास गरिएको हो ।

६. साफ च्याम्पियनसिप अगाडि क्लबबाट भन्दा खुला छनोटबाट धेरै खेलाडी छनोट गर्नुभयो नि ?

यो उमेर समूहको खेल हो । यसमा खेलाडी ल्याउँदा सुरुमा उमेर मिल्दो हुनुपर्यो । ए डिभिजन लिग खेलेका धेरैजसो खेलाडीको उमेर कटिसकेको हुन्छ । उनीहरू त्यसमा मेल नै नखाने भएपछि हामीसँग जे छ, त्यसैबाट त लिने हो । अर्को कुरा खेलाडी छनोटको विषयमा कस्तो हुन्छ भने ट्रेनिङमा उनीहरूको प्रदर्शनको आधारमा लिइन्छ ।

पहिला त यो खेलेको थियो, थिएन भन्ने जस्ता पहिलेका कुराहरूको गन्ती हुँदैन जस्तो लाग्छ ।

७. प्रतियोगिताकै दौरान फाइनल पुर्याउन नसके राजीनामा दिन्छु भन्दा तपाईं धेरै महत्त्वाकांक्षी हुनुभएको होइन ?

यस्तो हुँदो रहेछ.... हामी अहिले जहाँ जसरी जे काम गरिरहे पनि हामीमा मानवीय स्वभाव हुन्छ । त्यो अवस्था नेपाली फुटबलर, फ्यानहरू कसैले पनि कल्पनान गरेको अवस्था सिर्जना भयो । झन् म त पूर्ण रूपमा टिमको जिम्मेवारी लिएको मान्छे, मेरो दिमाग पूरै ब्लान्क भएको थियो । मैले त्यो बेला मेरो फुटबलको संसार नै अँध्यारो देखें ।

फुटबलमा लाग्ने जो-जो हुनुहुन्छ, उहाँहरूले हौसला नै दिनुभयो र एन्फाले पनि त्यो एउटा क्षण भुलेर अगाडि बढ्न प्रेरित गर्नुभयो । हाम्रो टिम त्यो स्तरको पनि होइन, त्यो खराब क्षणबाट हामी आसन्न एएफसी एसियन कपको छनोटबाट सुधार गर्न सक्छौं भनेर फेरि लागिपरेको छु ।

र, मेरो त्यो (राजीनामा दिने) निर्णय साँच्चै नै गर्छु भन्ने थियो । तर, त्यो ठाउँमा मैले छाडेर त आउन सक्दिनथिएँ । यहाँ आइसकेपछि जति पनि फुटबलप्रेमी, एन्फा र मिडियाले पनि एकप्रकारको हौसला दिएर तपाईंको फुटबल करियर एउटा रिजल्टले सकिँदैन भन्नुभयो । अर्को कुरा साढे चार महिनाको प्रोग्रामबीचमा नछोड्दा टिमलाई राम्रो हुन्छ भनिसकेपछि फेरि फर्किन सजिलो भयो ।

फुटबलमा लाग्ने जो-जो हुनुहुन्छ, उहाँहरूले हौसला नै दिनुभयो र एन्फाले पनि त्यो एउटा क्षण भुलेर अगाडि बढ्न प्रेरित गर्नुभयो । हाम्रो टिम त्यो स्तरको पनि होइन, त्यो खराब क्षणबाट हामी आसन्न एएफसी एसियन कपको छनोटबाट सुधार गर्न सक्छौं भनेर फेरि लागिपरेको छु ।

८. नेपाली फुटबलमा मेघराज केसीको बोली अकाट्य हुन्छ भन्ने छ, त्यसको त अपमान भयो नि ?

मैले भनें नि... म अझै पनि त्यो अवस्थाबाट पूर्ण रूपमा बाहिर निस्किन सकेको छैन । तर, फुटबलका जति पनि मसँग सम्बन्धित मानिस हुनुहुन्छ, उहाँहरूले यो प्रोग्राम नछाड्नुस् भन्नुभयो । फेरि मसँग धेरै कुरा जोडिएका छन्, ती पनि कारण हुन् ।

९. भारतमा तपाईंको कोचिङ करियरकै नराम्रो नतिजा आयो, अब बहराइनमा कसरी त्यसलाई सुधार्नुहुन्छ ?

हामी धेरैजसो दक्षिण एसिया रिजनमै खेलिरहेका हुन्छौं । हामी दक्षिण एसियाली टिमहरूलाई नै लक्ष्य बनाइरहेका हुन्छौं । तर, एएफसी एसियन कप छनोटमा कतार र बहराइन पनि छ । उनीहरू हामीभन्दा पक्कै माथि छ । साफ खेल्ने बेला अनुभवको कमी थियो, तर साफ पछि हाम्रो राम्रो र नराम्रो पक्ष नियाल्न पाएका छौं । त्यसलाई सुधारेर यो टिम दक्षिण एसियाली स्तरभन्दा माथि खेल्न सक्छ भन्ने प्रमाणित गर्न मिहिनेत गरिरहेका छौं ।

१०. अन्य विपक्षी टिमबारे कत्तिको जानकार हुनुहुन्छ ?

हामीले बहाराइन, कतारको यु २० टिमको विषयमा उनीहरूले खेलिरहेको गेमहरू पनि हेरिरहेका छौं । उनीहरूको तयारी कसरी भइरहेको छ ? कुन स्तरको टिम छ र हामीकहाँ छौं ? हाम्रो लेभल कसरी बढाउने ? भन्नेमा केन्द्रित छौं । हामीले लक्ष्यमात्रै राखेर हुँदैन, हामी कति सक्षम छौं र समग्र देशको फुटबलको स्तर कहाँ छ भन्ने पनि भुल्नुहुँदैन । त्यसैले जे जति हतियार छ, त्यसलाई पूर्ण रूपमा तयार पारेर उनीहरूसँग पनि राम्रो नतिजा ल्याउने कोसिसमा छौं ।

११. ‘सरप्राइज्ड’ २३ सदस्यीय टिम सार्वजनिक हुनसक्छ ?

परिवर्तन त अवश्य हुन्छ नै । तर, त्यसको अर्थ २३ जना नै परिवर्तन हुने होइन । मैले अघि भनेजस्तै साफमा हामीले सुधार गर्न नसकेका कुरा यहाँ सुधार्ने प्रयासमा छौं । त्यसका लागि आवश्यक परिवर्तन अवश्य हुन्छ ।