ललितकृष्ण श्रेष्ठ

फुटबलले असल अभिभावक गुमाएको यो ७ वर्ष

प्रत्येक वर्ष फेरिने क्यालेन्डरले कहिल्यै नआओस् जस्तो लाग्ने ‘जेठ २९’ ल्याइरहन्छ । यो त्यही दिन हो, जुन दिन नेपाली फुटबलमा सबैका प्रिय नेता ललित दाइ (ललितकृष्ण श्रेष्ठ)को भौतिक शरीरलाई नियतिले चुँडेर लगेको थियो । आफ्नै निर्माणाधीन घरमा साइत छोप्ने पूजापछि करेन्ट लागेर ललित दाइको निधन भएको थियो । नेपाली फुटबलको मियोलाई नियतिले चुँडेर लगेको पनि ७ वर्ष पूरा भइसकेछ ।

हो, बाक्लै आउजाउ हुने एन्फा ललित दाइको अवसानसँगै धेरै खेल पत्रकारका लागि बिरानो बनिसकेको थियो । ललित दाइको निधन भएको पहिलो वार्षिक पुण्यतिथिमा एन्फा मुख्यालय परिसरमा उनको एउटा सालिक स्थापना गरिएको थियो । आक्कलझुक्कल एन्फा पुग्दा त्यही सालिकबाट ललित दाइले हात हल्लाउलान जस्तो लाग्थ्यो ।

अखिल नेपाल फुटबल संघ (एन्फा)को सातदोबाटोस्थित मुख्यालय पुग्दा सधैं एउटा हँसिलो अनुहार स्वागतका लागि तम्तयार हुन्थ्यो । तर ७ वर्ष भइसक्यो त्यो अत्यन्तै उर्जाशील अनुहार निर्जिव सालिकमा परिणत भएको । एन्फामा हुने सबैखाले पत्रकार सम्मेलन तथा कार्यक्रमअघि निरन्तर ललित दाइको ९८५१०७७७५८ नम्बरबाट फोन आउने क्रम बन्द भयो । दिनहुँजसो भेटेर घण्टौं गफिएका क्षणहरू स्मरणमा सीमित भए । ललित दाइ नहुँदा कुनै बेला नजिक लाग्ने नेपाली खेलकुदकै सबैभन्दा व्यस्त एन्फा मुख्यालय पनि धेरै टाढा सरेजस्तो भयो ।

हो, बाक्लै आउजाउ हुने एन्फा ललित दाइको अवसानसँगै धेरै खेल पत्रकारका लागि बिरानो बनिसकेको थियो । ललित दाइको निधन भएको पहिलो वार्षिक पुण्यतिथिमा एन्फा मुख्यालय परिसरमा उनको एउटा सालिक स्थापना गरिएको थियो । आक्कलझुक्कल एन्फा पुग्दा त्यही सालिकबाट ललित दाइले हात हल्लाउलान जस्तो लाग्थ्यो । अचेल एन्फा आगामी चारवर्षे कार्यकालका लागि चुनावको मुखैमा छ । रिपोर्टिङका लागि धेरै पछि एन्फा पुग्दा ललित दाइको नियास्रो मेटाउने त्यो सालिक पनि ढालिइसकेको रहेछ । अर्कै ठाउँमा राख्ने तयारी भइरहेको पदाधिकारीहरूले सुनाए ।

नेपाली फुटबलमा केही गर्नुपर्छ भन्ने भावनासहित सधैं उत्साही देखिने ललित दाइको नियास्रो मेट्न त्यही सालिकले पनि थोरै भूमिका खेलिरहेको थियो । त्यसैले होला, एन्फा पदाधिकारीहरूले अर्को बनाउनका लागि त्यो भत्काएको बताए पनि मेरो मनले मानेन । कम्तीमा अर्को तयार भइसकेपछि पो भत्काउनुपर्छ ।

हो, मेरा लागि ललित दाइसँगको सम्बन्ध एउटा पत्रकार र फुटबल अधिकारीबीचमा मात्र सीमित थिएन । त्योभन्दा धेरै माथि थियो हाम्रो सम्बन्ध । ललित दाइ मेरा लागि एउटा यस्तो अभिभावक थिए, जोसँग म ढुक्कले आफ्ना सबैखाले दुःखसुख साट्न सक्थेँ । उनी पनि मेरो समस्यालाई आफ्नै ठानेर समाधान निकाल्न इमान्दार प्रयास गर्थे । अर्थात ललित दाइ मैले सबैभन्दा बढी भर गरेका अभिभावकमध्ये एक थिए ।

सायद, ललित दाइका लागि पनि म त्यस्तै भाइ थिएँ । त्यसैले उनी पनि मसँग व्यावसायिक, पारिवारिक र सामाजिक सबैखाले कुरा सेयर गर्थे । मेरा लागिमात्र नभई ललित दाइ जीवित हुँदा खेल पत्रकारितामा संलग्न सबैको उनीसँग विशेष सम्बन्ध थियो । पत्रकारमात्र होइन, एन्फाका पदाधिकारीहरू, खेलाडी, प्रशिक्षक, रेफ्री सबैका लागि प्रिय थिए ललित दाइ ।

करेन्ट लागेर निधन हुनुभन्दा केही घण्टा अघिमात्रै मलाई ललित दाइको फोन आएको थियो । ललित दाइको त्यही दिन ललितपुर भैंसेपाटीमा निर्माणाधीन घरको पूजा थियो । घर पूरा तयार भइनसके पनि ज्योतिषीले पूजाका लागि त्यही दिनको साइत निकालेका थिए । ज्योतिषीले त्यो दिन पूजा नगरे अर्को साइत धेरै महिनापछि मात्र भएको बताएका कारण उनी हतारिएका थिए ।

त्यस्तो अभिभावक गुमाएको सात वर्ष पुगिसक्दा पनि मैले भने ललित दाइको परिवारका लागि वा उनको नाममा केही गर्न सकेको छैन । यसबाट सधैं पछुतोभाव भइरहन्छ । त्यसो त ललित दाइबाट जीवनमा धेरै फाइदा उठाएका, उनलाई प्रयोग गरेर धेरै महत्त्वाकांक्षा पूरा गरेकाहरूको व्यवहार देख्दा झनै उदेक लाग्छ । ललित दाइको मृत्युमा सबैभन्दा बढी टाउको ठोक्नेहरू, आँसुको भेल बगाउनेहरू अचेल उनै ललित दाइको आत्मालाई समेत रुवाउँदै फुटबलको चिरहरणमा मस्त छन् । उनीहरूको आँखाबाट त्यतिबेला निस्किएका गोहीका आँसु सुकिसकेका छन् । तर ललित दाइ महान थिए, माथि कतैबाट सबथोक हेरेर पनि तिनलाई माफी दिइरहेका छन् ।

करेन्ट लागेर निधन हुनुभन्दा केही घण्टा अघिमात्रै मलाई ललित दाइको फोन आएको थियो । ललित दाइको त्यही दिन ललितपुर भैंसेपाटीमा निर्माणाधीन घरको पूजा थियो । घर पूरा तयार भइनसके पनि ज्योतिषीले पूजाका लागि त्यही दिनको साइत निकालेका थिए । ज्योतिषीले त्यो दिन पूजा नगरे अर्को साइत धेरै महिनापछि मात्र भएको बताएका कारण उनी हतारिएका थिए । ज्योतिषीले शुभ भनेको साइत ललित दाइ, उनको परिवार, ललित दाइले कार्यबाहक अध्यक्षका रूपमा नेतृत्व गरिरहेको एन्फा, थ्री स्टार क्लब र सम्पूर्ण नेपाली फुटबल परिवारका लागि अत्यन्तै अशुभमा परिणत भयो ।

ललित दाइको नाम स्मरण गर्दा पनि भावनाले बगाइहाल्छ । त्यसैले उनका बारेमा लेख्ने प्रयास जहिल्यै कठिन भयो । शब्दहरू कहिल्यै संगठित भएर बग्न चाहेनन् । अहिले पनि किबोर्डमा औंलाहरू विना योजना बजारिइरहेकै छन् । खासमा त्यो दिन ललित दाइले मलाई फोन गर्नुको कारण थियो । म नागरिक दैनिकमा खेलकुद ब्युरो सम्पादकको भूमिकामा थिएँ । खेलकुद सम्पादक भने पनि फुटबलमा मेरो लगाव अलि बढी थियो । त्यो कुरा ललित दाइलाई पनि राम्ररी थाहा थियो । त्यही भएर त ललित दाइ हामीसँग नेपाली फुटबलका विभिन्न विषयमा नियमित सल्लाह गरिरहन्थे ।

कार्यबाहक अध्यक्षका रूपमा एन्फा नेतृत्व गरिरहँदा ललित दाइलाई आफूले नै अध्यक्षका रूपमा कुनै दिन एन्फा हाँक्नुपर्ने थाहा थियो । त्यसैले उनी फुटबलको सर्वाङ्गीण विकासका लागि प्रतिबद्ध थिए । कुनै बेला नेपालका विभिन्न युवा टोलीका साथै राष्ट्रिय टोलीमा पनि सफल नेतृत्व गरेका पाका प्रशिक्षक श्याम थापाप्रति ललित दाइको ठूलो आशा थियो ।

हो, त्यो दिन पनि उनले त्यस्तै एउटा योजनाका लागि मलाई फोन गरेका थिए । शुक्रबारको दिन थियो । शनिबार बिहानको खाना सँगै खानका लागि उनले मलाई प्रस्ताव गरे । एन्फामा जुनसुकै पदमा भए पनि ललित दाइको भूमिका नेतृत्वदायी रहने गथ्र्यो । नेपाली फुटबलको समग्र विकाससँगै राष्ट्रिय टिम बलियो बनाउनुपर्छ भन्नेमा उनको विशेष चासो थियो ।

कार्यबाहक अध्यक्षका रूपमा एन्फा नेतृत्व गरिरहँदा ललित दाइलाई आफूले नै अध्यक्षका रूपमा कुनै दिन एन्फा हाँक्नुपर्ने थाहा थियो । त्यसैले उनी फुटबलको सर्वाङ्गीण विकासका लागि प्रतिबद्ध थिए । कुनै बेला नेपालका विभिन्न युवा टोलीका साथै राष्ट्रिय टोलीमा पनि सफल नेतृत्व गरेका पाका प्रशिक्षक श्याम थापाप्रति ललित दाइको ठूलो आशा थियो ।

संयोगले थापा त्यतिबेला नेपाल आएको समय थियो । नागरिकताका कारण प्राविधिक रूपमा भारतीय भए पनि रूपन्देही भैरहवाका थापाको नेपाली मनबारे पनि ललित दाइ पूर्ण रूपमा जानकार थिए । थापाले प्राविधिक पक्ष सम्हालिदिए नेपाली फुटबलले फड्को मार्ने उनको विश्वास थियो । त्यसैले २०७२ साल जेठ ३० गते शनिबार बिहानको खाना श्याम दाइ र मसँग खाने उनको योजना थियो । दक्षिण एसियाली फुटबलकै पहिलो सुपर स्टार छवि बनाइसकेका श्याम दाइसँगको सम्बन्धका आधारमा ललित दाइले त्यस्तो प्रस्ताव गरेका थिए । किनकि त्यसअघि पनि नेपाली फुटबललाई माथि उकास्ने विषयमा श्याम दाइ, ललित दाइ, सञ्जीव दाइ (सञ्जीव मिश्र) र मेरो बीचमा थुप्रै पटक लामा–लामा कुराकानी भएका थिए ।

नेपाली फुटबलमा सन् २००४ देखि झन्डै चार वर्ष प्रेरणादायी नेतृत्व गरिसकेपछि निराश भएर थापा भारत फर्किएका थिए । तर ललित दाइ त्यही लन्च मिटिङमा थापालाई प्राविधिक प्रमुखका रूपमा नेपाल फर्किन मनाउने योजनामा थिए । तर, ललित दाइलाई के थाहा, नेपाली फुटबल उकास्ने योजनामाथि श्याम दाइसँग छलफल गर्न नभ्याउँदै आफू नै धर्तीमा रहन्न भनेर ।

ललित दाइको मनमा नेपाली फुटबलबाहेक केही थिएन भन्ने कुरा मसँगको त्यो अन्तिम फोनवार्ताले पनि प्रमाणित गर्छ । यही कारण ललित दाइले छोडेर गएको ७ वर्ष भइसक्दा उनीसँगको त्यो अन्तिम कुराकानी यहाँनिर प्रासंगिक छ । एन्फामा चुनावी ज्वरो रन्किइरहेका बेला त झन ललित दाइको स्मरण अनिवार्य बन्छ ।

ललित दाइलाई त्यो दुर्घटनाले नलगेको भए अहिले नेपाली फुटबलको माहोल कस्तो हुन्थ्यो होला ? एन्फा चुनावको जोडघटाउ के हुन्थ्यो होला त ? देशभरका फुटबलकर्मी चुनावका लागि काठमाडौंमा जम्मा भएको महिना दिनभन्दा बढी हुन लागिसक्यो । आ–आफ्नो प्यानलका ‘क्लोज क्याम्प’मा दिनहुँ भोज चलिरहेको छ । यसैबीच ललित दाइको प्रसंग पनि कोट्टिन्छ र यिनै प्रश्नहरू दोहोरिइरहन्छन् ।

हो, ललित दाइ जीवित भएको भए सबैभन्दा पहिला एन्फामा सालिक होइन, स्वयं ललित दाइ हुन्थे । नेपाली फुटबलको सुप्रिमोको हैसियतमा हँसिलो अनुहार, अरूलाई पनि उर्जा सञ्चार गराउने उत्साही चालढाल र फुटबलका लागि नयाँ–नयाँ योजनाका कुरा चलिरहन्थे ।

तर, तीतो सत्य के हो भने ललित दाइ यो धर्तीमा छैनन् । र, त एन्फामा यति धेरै भाँडभैलो छ । ललित दाइ छैनन् र त दुई पक्ष चुनावी रस्साकस्सीमा छन् । ललित दाइ हुँदा हुन त एन्फा सीधा रेखामा चलिहरेको हुन्थ्यो । अहिले चुनावी स्पर्धामा रहेका दुवै पक्ष ललित दाइको नेतृत्व स्वीकारेर फुटबल विकासको महाअभियानमा सामेल भइरहेका हुन्थे ।

समन्वयकारी भूमिकामा रहेर फुटबलका सबैजसो विवादहरू निमेषभरमै मिलाउने ललित दाइ भएको भए राष्ट्रिय टोलीको अहिलेको विवाद छरपस्ट हुँदैनथ्यो । आमसमर्थकको बीचमा समेत छताछुल्ल भएको यो समस्या एन्फाकै पनि थुप्रै पदाधिकारीलाई समेत पत्तै नदिई उनले मिलाइसक्थे । दुई ध्रुवमा विभाजित नेपाली फुटबल पदाधिकारीहरू सायद एकै खेमामा हुन्थे वा ललित दाइले एन्फाको नेतृत्व गरिरहेका हुन्थे ।

तर, तीतो सत्य के हो भने ललित दाइ यो धर्तीमा छैनन् । र, त एन्फामा यति धेरै भाँडभैलो छ । ललित दाइ छैनन् र त दुई पक्ष चुनावी रस्साकस्सीमा छन् । ललित दाइ हुँदा हुन त एन्फा सीधा रेखामा चलिहरेको हुन्थ्यो । अहिले चुनावी स्पर्धामा रहेका दुवै पक्ष ललित दाइको नेतृत्व स्वीकारेर फुटबल विकासको महाअभियानमा सामेल भइरहेका हुन्थे ।

श्रद्धासुमन ललित दाइ !! तपाईंको महान् आत्माले नेपाली फुटबललाई सत्मार्गमा लाग्न प्रेरित गरिरहोस् ।