- इन्द्रमान तुलाधर
ललित दाइ फुटबलमा मात्रै होइन, मेरो सामाजिक जीवनमा पनि आफ्नै दाइ जस्तै हुनुहुन्थ्यो । फुटबलमा हाम्रो व्यवहार अलग्गै होला । किनभने उहाँ फरक क्लबको अध्यक्ष हुनुहुन्थ्यो । म फरक क्लबको अध्यक्ष थिएँ ।
|
तर, उहाँले फुटबलमा पुर्याउनुभएको योगदान अत्यन्त अविस्मरणीय छ । जहिले पनि अन्यन्त मिलनसार । जोसँग पनि मिल्न सक्ने र कन्भिन्स गर्न सक्ने उहाँको खुबी थियो । उहाँ गणेश (थापा) दाइको पक्षमा हुँदा हामीले क्लबहरूको अधिकारका लागि आन्दोलन गर्यौं । त्यतिखेर उहाँले बीचमा बसेर क्लबहरूको भूमिकालाई पनि मिलाएर र एन्फाको पनि भूमिकालाई मिलाएर एउटा बीचको बाटो खोजी राख्नुहुन्थ्यो ।
एन्फाको संस्थापन पक्षसँग हाम्रो बोलचाल नै नहुँदा पनि उहाँ मध्यमार्गी सेतुको रूपमा सधैं रहनुहुन्थ्यो । आफैंले फोन गरेर भेट्न आउनुहुन्थ्यो । उहाँ एकदमै मिलनसार र अरूको भावना पनि बुझ्न सक्ने मान्छे हुनुहुन्थ्यो ।
फुटबलमा मात्रै होइन, सामाजिक रूपमा केही पर्यो भने पनि उहाँले सहयोग गर्नुहुन्थ्यो । उहाँको फुटबलमा हुँदाहुँदै पनि राजनीतिक पार्टीका नेताहरूसँग पनि राम्रो सम्बन्ध थियो । जेसुकै पर्दा पनि ललित दाइ सहयोगका लागि तयार रहनुहुन्थ्यो । रगत चाहियो भने पनि.. ललित दाइ.. भन्ने बित्तिकै व्यवस्था मिलाइदिनु हुन्थ्यो । अस्पतालमा बेड पाइएन भने पनि उहाँले व्यवस्था गरिदिनु हुन्थ्यो । जतिखेर आफूलाई अप्ठ्यारो पर्दा ललित दाइ भन्यो भने नाइँ कहिल्यै भन्नुभएन । त्यसैले फुटबलको मात्रै होइन, हाम्रो सामाजिक सम्बन्ध थियो ।
यदि ललित दाइ ज्युँदै हुनुहुन्थ्यो भने एन्फा अध्यक्षमा उहाँको विकल्प थिएन । किनभने उहाँमा कर्माजी र पंकजजी दुवै जनालाई समेट्न सक्ने क्षमता थियो । नरेन्द्र दाइलाई पनि एक ठाउँ दिनुहुन्थ्यो होला । उहाँ भइराख्नुभएको भए अहिले फुटबलमा देखिइरहेको अन्योल–विवाद हुने थिएन कि भन्ने मलाई लागिरहन्छ । मलाई सबैभन्दा धेरै खड्किरहने विषय चाहिँ ललित दाइले फुटबलका लागि यति धेरै गर्नुभयो, तर फुटबलले चाहि उहाँलाई न्याय गरेन कि भन्ने मेरो आफ्नो बुझाइ छ ।
उहाँकै समकक्षीहरू जति पनि हुनुहुन्छ, कलेजका वा टोलको साथीहरू धेरै प्रतिष्ठित ठाउँमा हुनुहुन्छ । उहाँले नाम कमाउनुभयो, सबैको ललित दाइ बन्नुभयो, तर आर्थिक रूपमा उहाँलाई कमजोर पाएँ मैले । किनभने बित्दाखेरि मैले उहाँको क्लब पनि ऋणमै छ भन्ने सुनें । घर पनि ऋणमै छ भन्ने सुन्छु । उहाँले आफ्नो जीवनकालमा पनि कहिल्यै राम्रो गाडी चढेर हिँडेको मैले देखिनँ ।
फुटबलमा यत्रो लगानी गर्नुभएको मान्छे, यति त्यो लगानी अन्य क्षेत्रमा गर्नुभएको भए सायद आर्थिक स्तर सुधार्न सक्नुहुन्थ्यो होला । तर, अन्तिममा उहाँको परिवार अहिले पनि एन्फाले दिएको प्रतिमहिना ५० हजार रुपैयाँमा आश्रित हुनुपरेको छ । त्यसैले ललित दाइको त्यो त्याग, त्यो समर्पणको न्याय फुटबलले गरेन कि भन्ने मलाई लागिरहन्छ ।
|
ललित दाइको श्रद्धाञ्जली कार्यक्रममा पहिलेको सम्झना आइसकेपछि म कति ठाउँमा बोल्नै सकिनँ । अझैसम्म पनि म ललित दाइलाई सम्झिँदा भावुक हुन्छु । दाइले खेलाडीलाई गर्नुहुने माया... । मैले अस्ति भर्खर एन्फा एकेडेमीको पहिलो ब्याचका खेलाडी प्रदीप महर्जनलाई भेटेको थिएँ । उसलाई ललित दाइको सम्झना कत्तिको आउँछ भनेर सोध्दा प्रदीपको आँखामा पनि आँसु थियो । र, उसले भन्थ्यो, ललित दाइलाई त हामी कहिले पनि बिर्सनै सक्दैनौं । आफ्नो छोराभन्दा धेरै हामीलाई माया गर्नुहुन्थ्यो । बरू घरपरिवारलाई पर्दा ललित दाइ कहिलेकाहीँ हुनुभएन होला, तर हामीलाई पर्दा सधैं हुनुहुन्थ्यो ।
पहिलो ब्याचमा र... ललित दाइले यो भवन (एन्फा मुख्यालय) बनाइराख्दा पनि म सम्झिन्छु । बार्दलीमा लगाउने त्यो सुराई किन्दा एउटामा ५० पैसा जोगाउन पनि ललित दाइ धेरै ठाउँमा घुम्नुभएको मैले देखेको थिएँ । किनभने म पनि त्यतिबेला उहाँसँग अप्रत्यक्ष रूपमा सम्बन्धित थिएँ । मलाई युथ एकेडेमीको सदस्य बनाइएको थियो । त्यसैले यो एकेडेमीमा हुँदा पनि उहाँको भूमिका एकदमै महत्त्वपूर्ण थियो ।
फुटबलबाहेक पत्रकारसँग पनि उहाँको सम्बन्ध एकदमै राम्रो थियो । मैले अहिलेसम्म एन्फाका कसैको पनि सम्बन्ध पत्रकारसँग उहाँको जस्तो राम्रो देखेको छैन । उहाँलाई फुटबल संघको प्रवक्ता भनेर पनि चिन्थे होला । उहाँको विरुद्धमा समाचारहरू कहिल्यै आएनन् । र, उहाँका बारेमा कसैको गुनासो मैले सुनेको छैन ।
एन्फा वा फुटबललाई पनि पत्रकार र मिडियासँग उहाँले व्यवस्थित रूपमा सूचना पुर्याउनुहुन्थ्यो । पत्रकारको पनि सूचना नपाएको गुनासो उहाँसँग कहिल्यै रहेन । उहाँजस्तो नेता, एउटा दाजुलाई गुमाउनुपर्दा स्वाभाविक रूपले भावुक भइन्छ नै । किनभने म जुनबेला फुटबल खेल्थें, त्यो बेला उहाँ अफिसियल हुनुहुन्थ्यो । मैले खेल्दै गर्दाको उहाँसँगको सम्झना चाहिँ, हामी तालिम केन्द्रमा लिग खेलिरहेका थियौं । त्यसको कोर्डिनेटर ललित दाइ हुनुहुन्थ्यो । म खेलाडी थिएँ । पानी सिमसिम परिरहेको थियो, तर एम्बुलेन्स थिएन । एम्बुलेन्स नभई हामी फुटबल खेल्दैनौं भन्यौं । अनि उहाँले एम्बुलेन्स बिना पनि फुटबल हुन्छ भन्ने कुरा गर्नुभयो, मैले मानिनँ ।
त्यसपछि गणेश दाइले किन एम्बुलेन्स चाहियो, मेरो गाडी छ भन्नुभयो । तालिम केन्द्र र टिचिङ अस्पताल नजिकै भएकाले त्यसो भए हुन्छ भन्यौं । तर, डाक्टर त चाहियो नि भन्यौं । फेरि डाक्टर भनेर एउटा सेतो एप्रोन लगाएको मान्छे पनि ल्याउनुभयो । अनि गेम सुरु भयो । तर, सातै मिनेटमा संकटाका गोलकिपर अशोक वज्राचार्य ठोक्किएर मैदानमा ढले, बेहोस नै भए । ठोक्किएको ठाउँबाट रगत आएर कानमा पसेको रहेछ, तर मलाई रगत कानबाट आएजस्तो लाग्यो । कानबाट रगत आएपछि मान्छे मर्छ भन्ने सुनेको थिएँ मैले । त्यसपछि मैले आफूलाई रोक्नै सकिनँ । अनि त्यो तालिम केन्द्रको मैदानमा मैले ललित दाइलाई दुई फन्को लखेटेको थिएँ । किन तपाईंले डाक्टर–एम्बुलेन्स राख्नुभएन भनेर ।
|
त्यो डाक्टर भनेर सेतो एप्रोन लगाएको मान्छे त आयो मैदानमा तर त्यसले मेडिकल बक्स पनि खोल्न सकेन । मैले लात हानेपछि त्यो मेडिकल बक्सचाहिँ खुल्यो । त्यो बेलामा त्यसरी पनि फुटबल चल्थ्यो । त्यो घटना गणेश दाइले पनि सम्झनुहुन्थ्यो, ललित दाइले पनि भनिरहनुहुन्थ्यो । त्यसपछि इन्द्रमानले यत्रो कुरा उठाएपछि ललित दाइले एम्बुलेन्स र डाक्टर नभई फुटबल गर्दिनँ भनेर भन्नुभएको थियो । त्यसपछि एम्बुलेन्स र डाक्टर राखेर मात्रै फुटबल चलाउने भयो ।
ललित दाइसँग जस्तोसुकै अवस्थामा पनि उहाँको धैर्य कायम रहन्थ्यो । उहाँ सबैका कुरा सुन्नुहुन्थ्यो । उहाँमा नेतृत्वमा हुनुपर्ने गुण थियो । मैले फुटबलको राजनीति नै उहाँबाट नै सिकें जस्तो लाग्छ । उहाँको जुन गुण थियो, त्यसलाई मैले समाउन खोजेको छु । त्यसैले म महासचिव भइरहँदा पनि मान्छेहरू रिसाउँछन्, कराउँछन् । तर, म ललित दाइलाई नै सम्झेर हाँसेर, टारेर कुरा गर्छु । त्यसैले पनि ललित दाइको कुरा आउँदा म निकै नै भावुक हुन्छु ।
उहाँले सबैको भावनाको कदर गर्न सक्नुहुन्थ्यो । सबैलाई समेटेर राख्न सक्नुहुन्थ्यो । जुन कुरा अहिलेको नेतृत्वमा देखिँदैन । एउटालाई पूरै बन्देज नै गर्ने । एउटा प्यानललाई पूरै सिध्याउने खालको राजनीति फुटबलमा राम्रो होइन । किनभने, फुटबल संघ धेरै ठूलो संस्था हो । यहाँ पदाधिकारी चाहिन्छ, खेलाडी चाहिन्छ । मिडिया, दर्शक सबैलाई मिलाउन छाती पनि ठूलो भएको, त्यसलाई बुझ्ने मान्छे चाहिन्छ । त्यो क्षमताचाहिँ अहिलेको नेतृत्वमा कमी छ भन्ने लागेर नै मैले एन्फाको निर्विकल्प अध्यक्ष उहाँ हुनुहुन्थ्यो भनेको हुँ । योभन्दा अगाडिको निर्वाचनमा पनि ललित दाइ नै अध्यक्ष हुनुहुन्थ्यो र अहिले पनि निरन्तर रूपमा उहाँ नै अध्यक्ष हुनुहुन्थ्यो । र, कोही साथीभाइ पनि यसरी छुट्टिएर, एकअर्कामा आरोप प्रत्यारोपमा लाग्नुपर्ने वातावरण आउन ललित दाइले दिनुहुन्नथ्यो ।
उहाँसँगका धेरै घटना छन् मसँग । अझै ताजै छन् । एक पटक हामी विदेश जाँदाखेरी यहाँ राजाले वडाध्यक्ष–मेयरहरू नियुक्त गरिराख्दा हामी प्लेनमै थियौं । हामी कतैबाट फर्किरहेका थियौं । उहाँलाई पनि जनप्रतिनिधि नियुक्त गर्छ कि भन्ने आशा जगाउनुभएको थियो । त्यस्तै, उहाँ एकदमै रमाइलो मान्छे हुनुहुन्थ्यो । गीत गाउन नजाने पनि रमाइलो गर्नका लागि गीत पनि गाइदिनुहुन्थ्यो । ललित दाइले नाइँ कहिले पनि भन्न जान्नुभएन । ललित दाइका ती कुराहरू एकदमै मिस हुन्छ । फुटबलमा त्यस्तो मान्छे भइदिएको भए अहिले असाध्यै राम्रो हुन्थ्यो भन्ने मलाई लाग्छ ।
म खेलाडी नै हुँदा ललित दाइलाई अफिसियलको रूपमा पहिलो पटक देखेको थिएँ । त्यो भन्दा अगाडि मैले ठ्याक्कै भन्न सकिनँ । मैले खेल्दा खेल्दै एन्फाको सह–सचिव हुनुभएको थियो जस्तो लाग्छ । पछि हामी एउटै कार्यसमितिमा बसेर पनि काम गर्यौं । म केन्द्रीय सदस्य भएँ, त्यसपछि सिइओ भएँ उहाँसँगै कार्यसमितिमा हुनुहुन्थ्यो । त्यसरी काम गर्ने मौका पाएँ र उहाँबाट नै मैले फुटबलको राजनीति सिकें ।
ललित दाइ बित्नु अगाडि हामी दिनदिनै भेटिरहेकै थियौं । तर, उहाँले त्यो घर बनाएको कुरा भन्नुभएको थिएन । केही न केही नयाँ कुरा गरिरहनुभएको छ भन्ने हामीलाई थाहा थियो । अरूबाट बुझ्दा घर बनाइसकेर सबै जनासँग घरमै भेट्ने योजना बनाउनुभएको थियो रे । एक दिनअगाडिसम्म पनि हामीले भेटेका थियौं ।
|
अर्को दिन एक्कासि सन्जिव सिल्पकारले मलाई फोन गर्नुभएको थियो । असाध्यै नराम्रो घटना भयो भन्नुभयो । त्यो बेला पानी असाध्यै ठूलो परिरहेको थियो । तैपनि म तत्कालै अस्पताल पुगें । त्यहाँ पुग्दा लासको रूपमा मात्रै मैले उहाँलाई देखें । अन्तिम पटक भनेर गाह्रो भयो वा बिरामी भन्ने सुनिएन । ललित दाइलाई मैले उद्दार गर्न केही पनि प्रयास गर्न पाइनँ ।
म जीवनमा आफन्त बित्दा मात्रै १३ नै दिन दुःखमा बसेको छु । बुबा–आमा बित्दा मात्रै बसें । अरू पनि नजिकका धेरै बिते । तर, ललित दाइ बित्दा क्रिया बस्ने ठाउँमा हामी १३ दिनमा बरू १५ पटक पुगें होला । तर, नपुगेको दिन भएन । त्यसरी परिवारसँगै दुःखमा बस्यौं । त्यसबेला म मात्रै होइन, फुटबल संघको कार्यसमितिमा भएका करिब सबै साथीहरू दिनको एक पटक क्रियापुत्री भएको ठाउँमा समवेदनाका लागि पुग्थ्यौं ।
अन्त्यमा पनि मलाई त्यही फुटबलले ललित दाइलाई न्याय गरेन भन्ने मात्रै लागिरहन्छ । यदि उहाँलाई फिफा वा एएफसीको कुनै कमिटीमा राखेको भए बैठकमा गएको भत्ता भए पनि पाउनुहुन्थ्यो नि । त्यसले पनि उहाँलाई आर्थिक स्तर सुधार्न सहयोग पुग्थ्यो । त्यसैले उहाँलाई आर्थिक रूपले फाइदा हुने ठाउँ जस्तै म्याच कमिस्नरको रूपमा नियुक्त गरेको भए... उहाँमा क्षमता नभएको पनि होइन । म्याच कमिस्नर भएको भए पनि विदेशमा गएर कमाउने मौका पाउनुहुन्थ्यो । तर, त्यो मौका नै ललित दाइले पाउनुभएन, जसको उहाँ हकदार हुनुहुन्थ्यो ।
ललित दाइ एन्फाले अहिले परिवारलाई मासिक ५० हजार रुपैयाँ दिनुपर्ने लेभलको मान्छे हुनुहुन्न थियो । आफैं स्थापित हुनसक्ने मान्छे फुटबलमै जीवन समर्पण गर्नुभयो । मोटरसाइकल पनि एन्फाकै चढ्नुहुन्थ्यो । आफ्नो मोटरसाइकल पनि थिएन उहाँसँग गाडीको त के कुरा । त्यस्तै मान्छेलाई फुटबलले न्याय गर्न सकेन भन्ने पीर परिराख्छ । राम्रो मान्छेलाई फुटबलले केही दिन सकेन ।
(कुराकानीमा आधारित)