दुनियाँ बैगुनी छ । त्यसैले प्रायः सम्झाउने गरिन्छ चन्द्रमामा पहिलो पाइला राख्ने निल आम्स्ट्रङलाई त सबैले सम्झने गर्छन् । तर त्यसपछि दोस्रो को हो, कसैलाई मतलब हुने गर्दैन । उत्कृष्टको होडमा दोस्रो हुनुको नमज्जा यही त हो । युरोपेली क्लब फुटबल सिजन सन् २०२१–०२२ हालै टुंगिएको पनि एक साता भइसकेको छ, तर यसबारे चर्चा भने अहिलेसम्म कायम छ । यो चर्चाको एउटा मूल विषय हुने गरेको छ, लिभरपुलको दृष्टिकोणबाट यो सिजन कस्तो रह्यो ?
|
लिभरपुल धेरै अर्थमा उत्कृष्ट दोस्रो नै रह्यो । केही समयपछि सबैले सम्झने यत्तिमात्रै हो । यो सिजन इंग्लिस प्रिमियर लिग म्यानचेस्टर सिटीले जितेको थियो अनि युरोपेली च्याम्पियन्स लिगको उपाधि रियल म्याड्रिडको नाममा रह्यो । यी दुवैमा दोस्रो को त ? यो प्रश्नको जवाफ प्रश्नमै राम्रो । किन दोस्रो हुनेको नाम सम्झिरहनुपर्यो भनेर ? क्लब स्वयं र यसका समर्थकका लागि दुःख यसैमा रहनेछ । लिभरपुल यी दुई ठूला उपाधिको धेरै नजिक त पुग्यो ।
तर, अन्त्यमा भन्न करै लाग्यो । यो त अझै कति धेरै टाढा रहेछ । यो अर्थमा लिभरपुलका लागि सन् २०२१–०२२ को सिजन असफल भन्दा पनि पीडादायी रह्यो । प्रिमियर लिगमै लिभरपुल दोस्रोमा रह्यो । उपाधि जितेको सिटीसँग उसको दूरी थियो एक अंकमात्रै । लिग उपाधि गुमाएयता व्यवस्थापक योर्गन क्लोप भन्थे, लिग जित्न नसकेको दुःख च्याम्पियन्स लिग जितेर भुल्नेछौं । तर यस्तो केही भएन, उल्टै लिभरपुल रियलको हातबाट १–० ले पराजित रह्यो ।
यो अर्को झिनो अन्तरको हार रह्यो । क्लोपको नेतृत्वमा लिभरपुलले च्याम्पियन्स लिगका तीन फाइनल खेलिसकेको छ । त्यसमध्ये दुईमा पराजित रहेको यही रियलसँग नै हो । पेरिसमा भएको खेलअगाडि टिमका प्रमुख खेलाडी मोहम्मद सलाह बदला लिने रणनीति बुनिरहेका थिए । तर यो बदलाको भावनामै मात्र सीमित रह्यो, मैदानमा देखिएन । भावनामा बगेर भन्दा मज्जाले भन्न सकिन्छ, सायद यो खेल लिभरपुलले उल्टै ठूलो अन्तरले जित्न सक्थ्यो ।
अझ भन्न त के पनि सकिन्छ भने प्रिमियर लिगका केही खेलमा लिभरपुलले आफूअनुकूल नतिजा निकालेको भए सायद सिटी विजेता रहने थिएन । तर, यस्ता भावनात्मक कुराको अर्थ नै के छ र भने ? त्यस अर्थमा भन्न कर लाग्छ, लिभरपुलका लागि यो सिजन वास्तवमै उत्कृष्ट रहेन । पूरा सिजन लिभरपुलको प्रदर्शन दमदार रह्यो । फेरि भन्न कर लाग्छ, यसलाई पछि कसैले सम्झने छैनन् । लिभरपुलले एकै सिजन ठूला चार उपाधि जितेको भए के हुन्थ्यो त ?
त्यसो भएको भए यो सिजन लिभरपुलका लागि अमरत्व प्राप्त यात्रा नै हुन्थ्यो । फेरि ‘तर’ जोडेर भन्नुपर्ने हुन्छ, लिभरपुल मात्र लिग कप र एफए कप जित्न सफल रह्यो । यी दुई प्रतियोगिताको महत्त्व र यसलाई जित्नुको सार के हो, त्यो अलग्गै बहसको विषय भयो । लिभरपुल आफैंले अब सोच्नुपर्ने भनेको अर्को सिजनका लागि हो । किनभने अबको सिजन उसका लागि निकै गाह्रो हुनसक्छ । गाह्रो किन हुन्छ भने यो सिजन सामना गरेको दुःखले लिभरपुललाई गलाउने छ ।
फुटबलमा यस्ता धेरै इतिहास छन्, जसमा एक सिजन राम्रो गरेर पनि खासै जित्न नसकेको टिमलाई अर्को सिजन प्रायः गाह्रो हुने गर्छ । डर हो, कतै लिभरपुल यही रोगबाट गल्ने त होइन । त्यसमाथि टिमका केही प्रमुख खेलाडीको भविष्यलाई लिएर अझै अन्योल छ । साडियो माने र सलाह अर्को सिजन कहाँ हुनेछन्, त्यसको ठ्याक्कै उत्तर आइसकेको छैन । उनीहरू ढिलोचाँडो अन्यत्र जाने छन् नै, यसको विकल्प लिभरपुलले के कस्तो सोचेको छ ? अब यो महत्त्वपूर्ण हुनेछ ।
धन्न, क्लोप आफैंले क्लबसँग नयाँ अनुबन्ध गरिसकेका छन् । आधुनिक फुटबलमा क्लोपलाई वास्तवमै उत्कृष्ट प्रशिक्षक मान्ने धेरै छन् । सिटीका पेप ग्वार्डिओला पनि मान्छन्, क्लोप छन् र पो मज्जा छ, नत्र के को मज्जा ? ग्वार्डिओला आफैं राम्रा प्रशिक्षक हुन्, त्यसैले उनका शब्द कम्तीमा तत्कालका लागि मीठो सुनिन सक्छ, तर ध्रुवसत्य के हो भने तिनै क्लोपले पनि लिभरपुललाई घरेलु लिग र च्याम्पियन्स लिगको उपाधि त दिलाउन सकेनन् नै ।
सायद अब अर्को सिजन । विश्वास, आशा र सम्भावना, यिनै तीन तत्त्वमा त फुटबल रमाउँछ ।