आन्तरिक संघर्ष, भ्रष्टाचार, कुशासन, अदुरदर्सिता र लगातारका विवाद नेपाली फुटबलको नियमितता हो । नेपाली फुटबलको सर्वोच्च निकाय अखिल नेपाल फुटबल संघ (एन्फा) आवधिक निर्वाचनको संघारमा छ । त्यसो त एन्फामा चुनाव लागेको धेरै भइसक्यो, तर अहिले चुनावी रस्साकस्सी चरमोत्कर्षमा छ । स्वाभाविक त्यो रस्साकस्सीको ‘बाइ प्रोडक्ट’का रूपमा बुनिन थालेका षड्यन्त्रका विभिन्न खाले तानाबुना सतहमा प्रकट हुन थालेका छन् ।
यसैबीच यही चैत २५ देखि हुने भनिएको नेपाल सुपर लिग (एनएसएल) फ्रेन्चाइज फुटबल प्रतियोगिता पनि विवादमा मुछिएको छ । खेलाडी अनुबन्धनको विषयलाई लिएर सहिद स्मारक ‘ए’ डिभिजन लिगका चार क्लबले गम्भीर असहमति जाहेर गरिरहेका छन् ।
एन्फाले एनएसएलको मागअनुसारकै चैत २५ देखि जेठ १ गतेसम्म प्रतियोगिता गर्न स्वीकृति प्रदान गरिसकेको छ । तर स्वीकृतिप्राप्त भएपछि एनएसएल र त्यसका १० टोलीले एन्फा र सहिद स्मारक लिगका क्लबबाट असहयोग भएको आरोप लगाउँदै निर्धारित मितिमा प्रतियोगिता गर्न नसक्ने ‘धम्की’ दिएका छन् ।
सर्वोच्च निकायले एनएसएल विवाद समाधानका लागि भन्दै एउटा कार्यदल बनाए पनि प्रभावकारी रूपमा कुनै काम गर्न तत्परता देखाइरहेको छैन । त्यसो त एनएसएलले पनि एन्फाको निर्देशन अटेर गर्दै खेलाडी अक्सन गरेर सर्वोच्च निकायको हुर्मत लिइसकेको थियो ।
सतहमै प्रकट यिनै एनएसएल विवाद, एन्फाको राजनीति, शक्ति संघर्षलगायतका विषयमा नेपाली फुटबलका पुराना सिपाही मनाङ मर्स्याङ्दी क्लबका संस्थापक एवं एन्फाका मानार्थ अध्यक्ष टासी घलेसँग खेलाडी डटकमका लागि अजय फुयालले गरेको कुराकानीको सम्पादित अंश:
– विभिन्न भूमिकामा रहेर फुटबलमा लामो समय काम गर्नुभयो । अहिले फुटबलबाट टाढिनुभएको हो ?
टाढा छैन । हेर्दै छु । एन्फामा मानार्थ अध्यक्ष भएर बसिरहेको छु । उहाँहरूले मानार्थलाई कार्यसमितिको बैठकमा नबोलाउने भनेर निर्णय गर्नुभएको रहेछ । हेर्दै छु, सुझाव दिइरहेको छु ।
– एनएसएल विवादमा तपाईं संस्थापक रहेको मनाङलगायत चार क्लबले गम्भीर चासो व्यक्त गरिरहेका छन् । तपाईंलाई के लाग्छ ?
खासचाहिँ नेपालमा यो सुपर लिग भएको एकदमै राम्रो हो । क्लबहरूले वर्षभर खेलाडी पाल्न नसकेर पनि एनएसएलले खेलाडीहरूका निम्ति र फुटबल विकासका लागि ठूलो टेवा दिन्छ । तर पोहोर साल नै अलिकति यो सिस्टम मिलेको थिएन । विवाद आउँछ भन्ने थाहा भइसकेको थियो ।
मेरो छोरा सोनाम विराटनगर क्लबमा इन्भल्भ थियो, भाइहरू एमएमसीमा थिए । त्यो बेला पनि गोल्डकपहरूमा अलिकति डिस्टर्विङ भइरहेको थियो । यतातिर सुपर लिगको टिमले अभ्यासमा बोलाउने, अर्को क्लबले उता प्रतियोगिता खेल्न बोलाउने कारण खेलाडीहरूलाई गाह्रो भइरहेको थियो । त्यही भएर मैले पोहोर साल नै समय मिलेन भनेर भनेको थिएँ । यो सिस्टम मिलेन, यसलाई मिलाउनुपर्छ । पछि समस्या हुन्छ, विवाद हुन्छ भनेर मैले पोहोर नै भनेको थिएँ ।
यस्ता समस्या आउँदा मिलाउने काम एन्फाको हो । म स्वयं एन्फामा मानार्थ अध्यक्ष छु । लामो समयपछि केही दिनअघि भएको एन्फाको बैठकमा म गएको थिएँ । एनएसएलका बारेमा बैठक बोलाइएको थियो । क्लबहरूले विज्ञप्ति जारी गरेपछि सबैलाई बोलाएर एन्फाले सुझाव मागेको थियो । त्यहाँ हामीले एनएसएलको सम्झौता हेर्यौं, क्लबहरूको कुरा सुन्यौं । महासचिवले पनि सुपर लिगलाई केही दिन अक्सन रोक्न पत्र काटेको थियो रे । तर त्यो पत्रको कुनै औचित्य नराखेर उनीहरूले आफ्नो अक्सन समयमा गरिदियो । त्यो सानो कुरामा कसैले कसैलाई नटेरेर काम गरेपछि त विवाद आइहाल्छ नि होइन र ?
– एन्फा सर्वोच्च निकाय भएपछि एन्फालाई अटेर गर्न मिल्छ र ?
पक्कै पनि एन्फालाई अटेर गर्नु भनेको ‘फाउल प्ले’ हो । यो एनएसएलको कमिटीमा अलि बढी क्रिकेटमा इन्भल्भ भएका साथीहरू छन् जस्तो लाग्छ । उहाँहरू खेलकुदमै लागेको त हो, तर क्रिकेटको ज्ञान भएका मानिस भएकाले केही समस्या भएको हो । अब फुटबलको मानिसले क्रिकेट चलाउन सक्दैन नि त । जस्तो म फुटबल क्लब चलाएर आएको, एन्फामा त्यत्रो वर्ष भइसक्यो । तर मलाई क्रिकेटको जिम्मा दियो भने त गाह्रो हुन्छ नि ! क्रिकेटको विज्ञहरूसँग मिलेर क्रिकेट चलाउन त मैले मिल्दैन नि ?
त्यहाँ सुपर लिगमा त्यत्रो राम्रो चिज भइरहेकामा फुटबलको विज्ञहरू गएनन् । मैले बैठकको दौरान हाम्रो एन्फाबाट को गएको छ भनेर सोधें । हाम्रो एन्फाबाट उपाध्यक्ष उपेन्द्रमान सिंहलाई पठाएको छ भनियो । उपेन्द्रमान पहिला एउटा खेलाडी र प्रशिक्षक हो । अनि उहाँ चाहिँ त्यहाँ गएर म्याच कमिस्नर भएर भत्ता खाएर बसिरहेको रहेछ । उहाँ म्याच कमिस्नर, एउटा स्टाफ भएर गएको हो कि, एउटा एन्फाको विज्ञ भएर गएको ? बुझ्न सकिएन ।
त्यसकारण यो हरेक कुरामा राम्रोसँग गरेन भने विवाद आउँछ । क्लबहरूको पनि जायज कुरा हो । त्यत्रो लिग खेलिरहेको बेला, लिगकै तीन/चार वटा खेल बाँकी हुँदा अक्सन हुन्छ भनेर घोषणा गरेपछि खेलाडीहरू अक्सनमा केन्द्रित भएर लिगमा ध्यान दिँदैनन् नि ।
लिग च्याम्पियन भएकाहरूले मात्र एएफसी कप खेल्न पाउने हो । बाँकी त हामीले केही खेल्न पाउने छैन । जिल्ला जिल्लामा गोल्डकप मात्र खेल्ने हो । भनेपछि खेलाडीहरूले पनि चाहेकै सुपर लिग हो । खेलाडीहरू पनि अक्सन घोषणा हुनेबित्तिकै खुट्टा जोगाउनतिर लागे । अनि क्लबहरू रिसाउनु जायज हो नि त ।
– यो सबै व्यवस्थापन गर्न नसक्नु त एन्फाको कमजोरी होला नि ?
हो, एन्फाकै कमजोरी हो । एन्फाले नै जिम्मा लिनुपर्छ । किनकि एन्फाले वर्षभरको क्यालेन्डर बनाउँदा के–के गर्ने भन्ने कुरा प्रस्ट हुनुपर्यो र एउटा कार्यक्रमले अर्कोलाई नबिथोल्ने गरी आवश्यक ग्याप राख्नुपर्यो नि । यो काम एन्फाले गरेन र समस्या सिर्जना भयो ।
कोभिड–१९ का कारण कुनै चिज भएन । यो साँचो हो । तर त्यहीअनुसार सबै कुरामा त्यहीअनुरूप रिसेड्युल गर्नुपर्ने थियो । तर लिगका दौरान एक महिना मोरिसससँग मैत्रीपूर्ण खेल खेल्ने भनेर लिग स्थगित गर्यो । त्यसले पनि प्रभाव पार्यो । एन्फाले एक महिनापछि धकेलेपछि लिग नसकिँदै एनसेलको अक्सन आयो । त्यसले गर्दा गाह्रो भयो । त्यही कारण व्यवस्थापन हुन सकेन ।
– तपाईं मानार्थ अध्यक्ष भनेको एन्फाको अभिभावक । तपाईंले घच्घच्याउनुपर्ने होइन र ?
अब मेरो कुरा त सुनुवाई नै हुँदैन । मैले फोन गरेर केही कुरा गरे पनि कसैले सुन्दैनन्, एन्फामा सबजना एकसेएक छन् । अस्ति पनि एन्फामा ४ बजे मिटिङ बोलाएको थियो । साना दुई कि तीन एजेन्डा थिए । तर ती एजेन्डा राति १० बजेसम्म पनि टुंग्याउन सकेनन् ।
|
मैले सुपर लिगको विषयमा एन्फाको साथीहरूमै दुई प्रस्ट धार देखें । एउटा समूह यो सुपर लिगलाई जसरी पनि सफल पार्ने र राष्ट्रिय लिग नखेलाउने भन्ने देखें । अर्को समूह यो सुपर लिग खेलाउनै हुँदैन भन्ने खाले छ । मलाई त अचम्म लाग्यो । एन्फाका साथीहरूभित्रै दुई ग्रुप देखेर म त हेरेको हेर्यै भएँ ।
एन्फाको यो ध्रुवीकरण मलाई थाहा थिएन । किनभने बीचमा बैठकमा म गएको थिइनँ, बोलाउँदैनथ्यो पनि । त्यही भएर म फोनबाट सुझाव दिने आफ्नो धर्म भने पूरा गरिरहेको थिएँ । तर त्यसको सुनुवाई हुँदैनथ्यो ।
मैले क्लबहरूको समस्या यति धेरै सार्वजनिक भइसक्यो, पत्रपत्रिकामा त्यति धेरै आइसक्यो यसकारण एउटा कार्यदल गठन गरेर यो समस्या समाधान गर्नुपर्छ भनें । बरू कोही अघि नबढे म गर्छु भनें । तर नेपाल फुटबलको विकासका निम्ति कर्पोरेट हाउसले सुपर लिग सुरु गरिसकेपछि हामीले जसरी भए पनि यसलाई माथि लैजानुपर्छ । यसलाई छोड्नुहुन्न । यसलाई राम्ररी गरेन भने कर्पोरेट हाउस पछि हट्छ । त्यसो भयो भने नेपाली फुटबल जहाँ छ त्यहीं बस्छ ।
– लामो समयदेखि नेपाली फुटबलमा योगदान गरिरहेका क्लबहरूले गम्भीर चासो राखेका छन् । अर्कोतिर यति ठूलो प्रतियोगिताको दोस्रो संस्करणको तयारी भइरहेको छ । हरेक दिन छलफल र बैठक भए पनि सहमति निस्किएको छैन । यसको समाधान के हो, तपाईंको विचारमा ?
अब यस वर्षका लागि तत्कालीन समाधान भनेको सुपर लिगलाई अलिकति पछि सार्ने, अलिकति... । क्लबहरूको खेलाडीसँग सम्झौता कति अवधिसम्म छ, क्लबहरूको कुन कुन गोल्डकप खेल्ने इच्छा छ त्यो सबै सकाउनुपर्यो । त्यो सब सकेपछि सुपर लिग सुरु गरे केही फरक पर्दैन ।
यसपालि चाहिँ यो गर्ने, अर्को वर्ष चाहिँ के गर्ने भन्नेमा पनि सहमति गर्नुपर्छ । हामीले भारतको पनि हेर्नुपर्छ । भारतको सुपर लिगमा पनि सुरुमा विवाद भएको हो । इस्ट बंगाल र मोहन बगानले अदालतमा मुद्दा हालेर दुई वर्ष त सुपर लिग हुनै सकेन । आजको दिनमा त्यहाँ मर्ज भएर मोहन बगान, इस्ट बंगाल सबै मर्ज भएर आइएसएल खेलिरहेका छन् ।
|
भारतमा उनीहरूले बेलायत र अस्ट्रेलियाबाट विज्ञहरू बोलाएरर फुटबल विकासका लागि के गर्ने त भनेर ठूलो रिसर्च गरेर समाधान निकालेको हो । अब हामीले त्यही कपी गर्न खोजिरहेका छौं । हुनुपर्ने पनि त्यही हो ।
तर यहाँ मेरो विचारमा कर्पोरेट हाउसको टिम पनि धेरै भयो । १० टिम थाम्न सक्दैन । हामीकहाँ खेलाडी नै धेरै छैन । पोहोर साल सात टिम थियो, त्यो नै ठीक थियो । भविष्यमा पूर्वाधार थप्दै गयो, होम एन्ड अवे खेल हुन थाल्यो, एकै दिनमा चारवटा खेल हुने अवस्था आयो भने थप्दा ठीक हुन्छ । अहिलेलाई तीन टिम थपेको ठीक होइन ।
अर्को कुरा एक महिनामात्र होइन, लामो प्रतियोगिता गर्नुपर्छ । एनएसएल र सहिद स्मारक लिगका क्लबहरू मर्ज गरेर एकेडेमी चलाएर अघि बढ्नुपर्छ । एनएसएलमा एकेडेमीबाट पनि निश्चित संख्यामा खेलाडी खेलाउनै पर्ने व्यवस्था हुनुपर्छ । मर्ज भएको ‘ए’ डिभिजन क्लबका निश्चित खेलाडी खेलाउनै पर्ने जस्ता व्यवस्था गर्यो भने वर्षभर खेलाडी राख्न पाउने व्यवस्था हुन्छ । कुनै पनि खालको मोडालिटी बनाएर ‘ए’ डिभिजन लिगका ठूला टिम र एनएसएलका टिमहरू मर्ज गरेर गयो भने चाहिँ नेपाली फुटबल विकासका लागि एकदमै राम्रो हुन्छ ।
– त्यसको मतलब सहिद स्मारक लिग र सुपर लिग पनि मर्ज गर्ने भन्न खोज्नुभएको हो ?
होइन, अब एनएसएललाई प्रिमियर डिभिजन लिग बनाउने र ‘ए’ डिभिजन लिगलाई पनि निरन्तरता दिनुपर्छ ।
– लामो समयदेखि नेपाली फुटबललाई योगदान गरिरहेका ‘ए’, ‘बी’ र ‘सी’ डिभिजन लिगका क्लबलाई अन्याय हुँदैन ?
त्यसो गर्दा कसरी अन्याय हुन्छ ? उनीहरूको दर्जा त कायम रहन्छ नि । एएफसी र फिफाले दिएको र्याङकिङ कायम रहन्छ । एएफसी र फिफाका प्रतियोगिता पनि खेल्न पाउँछन नि ! सहिद स्मारक लिग पनि निरन्तरता हुन्छ । उनीहरूको अहिलेको गतिविधि कसैले रोक्ने कुरा त आउँदैन । तर हामीले माथि गएर प्रिमियर डिभिजन कसरी गर्ने भन्ने कुरा भयो ।
– एनएसएलको यति धेरै विवाद भइरहेको छ, यसमा एन्फा चुनावको पनि ठूलो प्रभाव छ भन्छन् नि ?
हुनसक्छ, यो पक्कै हुनसक्छ । राजनीतिमा जे पनि सम्भव छ । एन्फामा भएका साथीहरू सबै राजनीतिमा संलग्न छन्, नभएको होइनन् । धेरैजसो साथीहरू बीसौं वर्षदेखि एन्फामा यही राजनीति गर्ने, आन्दोलन गर्ने र विवाद ल्याउने काम गरिरहेको छ । त्यही व्यक्तिहरू अहिले पनि एन्फामै छन्, हामी ।
दुर्भाग्य के भयो भने नयाँ सिस्टम, नयाँ मान्छे खोज्नेतिर सक्दै सकिएन । पछिल्लो समय म एन्फामा धेरै गएको पनि छैन, अस्ति एक दिन गएँ । तर मैले सुनेअनुसार एउटा पक्षचाहिँ जसरी पनि सुपर लिग राम्रो गर्ने, अर्को पक्ष गर्नै नदिने भन्ने सुनिन्छ । हुनसक्छ चुनाव आउन लागेका बेला उनीहरूले आ–आफ्नो फाइदाका लागि गरेको हुनसक्छ ।
– तपाईं पनि फुटबल राजनीतिका पुराना खेलाडी, आफैं नेतृत्वमा आउने विषयमा केही योजना छैन त ?
मैले नेतृत्व लिने भन्ने विषयमा एउटा प्रश्न छ क्या । म किन एन्फाको साथीहरूसँग जहिले पनि टाढा हुन्छु भने निर्वाचित भएर आउनेले भत्ता खान पाउँदैनन् भन्ने मेरो नारा हुन्छ । खेलाडी, कोच र फुटबल विकासका लागि आएको पैसा त्यहीं खर्च हुनुपर्छ भन्ने मेरो मान्यता छ । तर अहिले नेपालमा ९० प्रतिशत फुटबलमा लागेका एन्फा र क्लबका पदाधिकारीहरू भत्ता खानेहरू छन् । अनि भत्ता खानेहरू र नखानेबीच चुनाव हुँदा मतदान भयो भने त म कहिल्यै पनि जित्दिनँ नि ! कसरी जितिन्छ ? प्रस्ट छ ।
– भनेपछि यसपालि पनि तपाईं किङमेकर नै बन्ने ?
किङमेकर हुन पनि सक्छ, नहुन पनि सक्छ । मैले फुटबलमा छोडेपछि विगतका हरेक चुनावमा इन्भल्भ भएँ । मेरो अलिकति प्रभाव पनि पर्यो । मैले जसलाई समर्थन गर्यो, उसैले जितेर पनि आयो ।
तर यसपालि चाहिँ उहाँहरू पनि स्पष्ट भइसके । यो ‘टासी घले’ आएपछि हामीलाई भत्ता खान दिँदैनन् । यो मान्छे त ल्याउनै हुँदैन भन्ने पक्ष छन् । यो चेन्ज एन्फा भनेर चुनाव जितेर आयो नि, कार्यसमितिको पहिलो बैठकमै टासी घलेलाई मानार्थ अध्यक्षमा नल्याउने, उहाँलाई ल्याउनुहुन्न भनेर क्याम्पिङ गरेर सुरु गरेका थिए ।
|
धेरैजसो साथीले टासी दाइले यति धेरै गर्नुभएको छ, एन्फामा ल्याउनुपर्छ भन्दा सुरुमै विवाद भएको थियो । विवाद भएपछि त्यहाँको काम गर्ने तरिका, चलनचल्ती सबै देखेपछि म त वाक्क भएँ । म त गयो भने कसैलाई दाजुभाइ होस् कि आफ्नै छोरा होस्, आफ्नो मान्छे भनेर हेर्दिनँ । त्यहाँ पुगेपछि जसले गल्ती गर्यो, त्यसलाई गल्ती नै ठहर्याउँछु म । तर त्यहाँको धेरैजसो साथीहरू, खासगरी भत्ता खानेहरू यसलाई कुनै हालतमा ल्याउनुहुन्न भनेर लाग्छन् जस्तो लाग्छ मलाई ।
– वर्तमान कार्यसमितिलाई चार वर्षअघि चुनाव जिताउन तपाईंको ठूलो भूमिका थियो । यो कार्यकालको समीक्षा गर्नुपर्दा के भन्नुहुन्छ ?
हुनुपर्ने धेरै राम्रो थियो । फिफा, एएफसी, नेपाल सरकार, नेपाली फुटबल समर्थक, खेलकुद पत्रकारहरू सबैले एन्फा र फुटबल भनेपछि खेलकुदको सबैभन्दा ठूलो निकाय भनेर मानेका छन् । हो, पनि । तर एक दुईवटा मैत्रीपूर्ण खेल जितेकामा सन्तोष गर्ने चलन छ । त्यो एक किसिमको राम्रो पनि हो । तर, म त्यसमा मात्र सन्तोष छैन ।
आजको दिनमा कुनै पनि खेल खेल्दा व्यावसायिकता हुनैपर्छ । हाम्रो २२ जना राष्ट्रिय टिममा पर्छ भने त्यसमध्ये ११ जना विदेशमा व्यावसायिक फुटबल खेलेको हुनुपर्छ । आज बल्लबल्ल किरण चेम्जोङ, रोहित चन्द र अहिले अनन्त तामाङ गरी तीन खेलाडी विदेशको लिग खेल्ने पुगेका छन् ।
हामी ११/१२ जना खेलाडी बाहिर, कम्तीमा भारतमा मात्र व्यावसायिक खेलेको भए हाम्रो टिमलाई केही गर्नै पर्दैन । एक हप्ता क्याम्प राखेको भरमा जुनसुकै टिमसँग खेल्न सकिन्छ । तर यहाँ व्यावसायिकता नै भएन । क्लबमा गयो क्लबमै विवाद, एन्फामा गयो त्यहीं विवाद छ ।
|
गतवर्ष पनि सुपर लिगको दौरानमा जुन एउटा एउटा टिमलाई एक/एक खेलाडी छान्न दियो नि मार्की भनेर त्यहाँ अनन्त तामाङ कसैले छानेन । त्यसपछि उसले लिस्टमा नपरेपछि म खेल्दै खेल्दिनँ भन्यो । त्यो लिस्ट तयार गर्ने नै होइन । ओपन छोड्नुपर्यो नि ।
अक्सन पनि मलाई मनपरेको छैन । आफूलाई मनपरेको खेलाडीलाई जति पैसा पनि तिरेर ल्याउन पाउनुपर्यो नि । अनन्त तामाङ जस्तो नेपालको नम्बर एक रक्षकलााई सातै टिमभित्रै प्रशिक्षकले नपारेपछि त चित्त दुख्छ नि बिचरा । उसले गतवर्ष सुपर लिग नै खेलेन । त्यसकारण हरेक कुरामा म स्वयं एन्फाको मानार्थ अध्यक्ष भएको हुनाले गल्ती सबै एन्फाकै हो भनेर स्वीकार्छु ।
– अब यो कसरी सुधार्ने त ? तपाईंसँग केही उपाय छ ?
अहिले एन्फामा साथीहरूको दुई पक्षबीच जुन झगडा भइरहेको छ, त्यही दुई पक्षमध्ये एकजना अध्यक्ष बन्ने उनीहरूको चाहना देखिन्छ । त्यो भयो भने सुध्रिँदैन । यो सिस्टम चेन्ज होला भन्ने छैन ।
अब नयाँ खोजीतिर लाग्नुपर्यो । म अब नयाँ अनुहार खोज्नेतिर सोच्दैछु बल्ल । एन्फाको अस्तिकै बैठकको उदाहरण लिउँ, एकअर्कालाई गाली गर्ने, टेबुल ठोक्ने, झगडा गर्ने राम्रो देखिएन क्या । त्यही एन्फाको कार्यसमितिको साथीहरूमध्येबाट फेरि एउटा अध्यक्ष बन्ने भन्ने चाहना छ । त्यहाँबाट फर्केपछि मैले सोचें । त्यसपछि होइन यो नेपालको फुटबल विकासका लागि एउटा नयाँ अनुहार चाहिन्छ भन्ने लाग्यो मलाई ।
– अन्त्यमा, केही भन्न चाहनुहुन्छ ?
एन्फाका साथीहरू, सुपर लिग चलाउने साथीहरूलाई म के अनुरोध गर्न चाहन्छु भने क्लबलाई पनि मर्का नपरोस् र सुपर लिगलाई पनि डिस्टर्भ नगरोस् । यो दुवैलाई सँगसँगै मिलाएर कसरी चाहिँ नेपाली फुटबल विकासका लागि सुमधुर रूपमा सञ्चालन गर्न सकिन्छ भनेर उपाय निकालौं ।
त्यसको विषयमा कुनै पनि बेलामा मलाई सल्लाह, सुझाव र सहयोगका लागि बोलाए त्यसका लागि म तयार छु । चाहे क्लब होस्, चाहे सुपर लिग होस्, उहाँहरूलाई मेरो क्लब चलाएको र एन्फामा धेरै वर्ष बसेको अनुभवका आधारमा मैले गर्नसक्ने कुनै पनि सल्लाह र सहयोगका लागि तयार छु । आउँदो दिनमा सुपर लिग र क्लबहरू मिलेर देशको फुटबल लिग भारतको जस्तै स्तरमा जाओस् भन्ने शुभकामना दिन चाहन्छु ।