- देवेन्द्र बस्नेत (तत्कालीन जचुकालि खेलाडी)
त्यतिबेला त्रिभुवन च्यालेन्ज सिल्ड नेपाली फुटबलमा निकै प्रतिष्ठित प्रतियोगिता थियो । घरेलु समर्थकका बीच त्यति ठूलो प्रतियोगिताको फाइनल अनि बंगलादेशी प्रतिद्वन्द्वी मुक्तिजोद्धा । त्योभन्दा रोचक जनकपुर चुरोट कारखाना लिमिटेड (जचुकालि) का लागि के हुनसक्थ्यो र ?
|
जनकपुर चुरोट कारखना, रोयल नेपाल एयरलाइन्स (आरएनएसी) जस्ता संस्थामा प्राय: नेपाली राष्ट्रिय फुटबल टोलीका खेलाडीको बाहुल्य रहन्थ्यो । यहाँ आबद्ध भएपछि खेल्नुका साथै आकर्षक रोजगारीको पनि अवसर मिल्थ्यो । घर धान्ने सहज माध्यम थियो फुटबल ।
२०४४ साल फागुन २९ गते शनिबारको दिन दिउँसो साढे २ बजे । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा त्रिभुवन च्यालेन्ज सिल्डको फाइनल पुगेका जनकपुर चुरोट कारखाना र बंगलादेशी टोली मुक्तिजोद्धाबीचको खेल हेर्न दर्शक खचाखच थिए ।
घरेलु समर्थकको साथमा जनकपुरका खेलाडी उत्साही थिए । जनकपुरको त्यो उत्साहको अर्को कारण पनि थियो । सेमिफाइनलमा जनकपुरले गणेश थापाको कप्तानीमा रहेको आरएनएसीलाई हराएको थियो । तर त्यो उत्साह खेलको १८ मिनेटसम्म मात्र कायम रह्यो । त्यसपछि यस्तो कहालीलाग्दो घटना भयो, जसले त्यो दिनलाई नेपाली फुटबलकै कालो दिनको रूपमा स्थापित गर्यो ।
खेल सुरु भयो । मलाई यति नै मिनेट भन्ने त थाहा छैन । तर हामी १–० ले पछि परिसकेका थियौं । म रक्षापंक्तिबाट खेल्थें । अचानक सुरु भएको हावाहुरी र असिनापानीका कारण खेल जारी राख्न सम्भव भएन । खेल सञ्चालन गरिरहेका फिफा रेफ्री श्याम श्रेष्ठले खेल तत्काल रोके । मैदानमा असिनाका डल्लाका कारण बल अघि बढाउन नसकिएपछि खेल रोकिएको थियो ।
त्यो बेला अहिले जस्तो सुविधासम्पन्न ड्रेसिङ रूम थिएन । खेलसम्भव नभएपछि हामी रंगशालामै रहेको एउटा कोठाभित्र बस्यौं । केही समय खेलाडी र प्रशिक्षकबीच कुराकानी भयो । हामीलाई बाहिर कस्तो अवस्था छ र के भइरहेको छ भन्ने अन्दाज नै भएन । हामी मैदानबाट आफूहरू बसेको भोटेबहालस्थित होटलमा गयौं । मैले होटलको नाम चाहिँ अहिले बिर्सिएँ ।
मैदानबाट होटलमा पुग्दासम्म हामीलाई त्यही रंशगालामा भएको त्यति ठूलो दुर्घटनाको सुइँको समेत भएको थिएन । होटलमा गएर टिभी हेर्न थाल्यौं । त्यो बेला काठमाडौंमा नेपाल टेलिभिजनमात्र हेर्न पाइन्थ्यो । राति ८ बजे टेलिभिजनको समाचार हेर्दा पो हामी सबैको होसहवास उड्यो ।
हामीले त ‘खेल रोकियो, अब कहिले फाइनल खेल हुन्छ होला’ भन्नेमात्र सोचेका थियौं । होटल पुगेपछि हामी साथीहरूबीच पनि त्यस्तै कुरा भएको थियो । अहिले जस्तो केही घटना भयो कि मोबाइलबाट थाहा पाइहाल्ने अवस्था थिएन । त्यसैले राती ८ बजेको समाचार कुर्नुपर्थ्यो ।
त्यो दिन समाचार हेर्दा जुन भयावह दृश्य देखियो, त्यो त्यही रंगशालाको थियो, जहाँबाट हामी केही घण्टा अघि मात्र होटल फर्किएका थियौ । मैदानमा भागदौड मच्चिदा त्यहीं च्यापियर ७३ जनाको निधन भएको थाहा पायांै ।
खाना खान ठिक्क परेर बसेका हामीमा बेचैनी बढ्यो । आफू खेलेको खेल हेर्न आएका त्यति धेरै समर्थकको ज्यान गएको घटनाले खाना खानसक्ने अवस्था रहेन । कतै हामीले चिनेजानेका खेलाडी वा साथीभाइ पनि त्यो घटनामा पर्यो कि भनेर चिन्तित भयौं । सबैको सल्लाहमा हामी वीर अस्पताल र टिचिङ अस्पताल पुग्यौं । त्यहाँ लाइन लगाएर राखिएका लास देख्दा हामी आत्तियौं । मृत्यु भएका सबै प्रायः २३–२४ वर्षका र कोही त्यो भन्दा कम उमेरका थिए । आफन्तहरू रोइकराइ गरिरहेका थिए ।
अस्पतालको त्यस्तो कारुणिक दृश्य देखेपछि मेरो मनमा पनि घरपरिवारमा के बितिरहेको होला भन्ने पर्यो । कहिले परिवारको सम्पर्कमा पुगौंलाझै भयो ।
अहिले जस्तो हातहातमा मोबाइल थिएन । टेलिफोन बुथमा गएर लाइन बसेर फोन गर्नुपर्थ्यो । परिवारसँग कुरा गरेपछि भने मन ढुक्क भयो ।
त्यसपछि पनि दशरथ रंगशालामा धेरै फुटबल खेलें । तर त्यसपछि हरेक पटक मैदानमा उत्रिँदा मेरो मानसपटलमा त्यही घटना आइरहन्थ्यो । त्यसले मेरो पूरा खेलाडी जीवनलाई भावुक बनाउँथ्यो ।
त्यतिबेला नेपाली फुटबल पनि अहिले जस्तो थिएन । अहिले जस्तो सामुदायिक क्लबले आकर्षक तलब दिएर खेलाडी राख्ने चलन थिएन । जनकपुर र आरएनएसीले भने खेलाडीलाई जागिर दिएरै टिम बनाएको थियो । त्यसैले जनकपुर र आरएनएसीप्रति सबै खेलाडीको विशेष आकर्षण रहन्थ्यो ।
लिगमा जनकपुर र आरएनएसीले खेल्न पाउँदैनथे । मैले फ्रेन्ड्स र मनाङ मर्स्याङ्दीबाट लिग खेलें । तर त्रिभुवन च्यालेन्ज सिल्डको त्यो फाइनलपछि म जहिले पनि मैदान उत्रन्थें, त्यही घटना मनमा आइरहन्थ्यो । खेल जिते पनि कहिल्यै मन प्रफुल्ल हुन सकेन । सधैं त्यही दुर्घटना सम्झिएर मन खल्लो जस्तो हुन्थ्यो ।
खेल सकिएपछि मैदानबाहिर रहेका होटलमा चिया र खाजा खान जाँदा स्थानीयले रंगशालाभित्रबाट रोइरहेको कराइरहेको आवाज आउँछ भन्थे । भूतप्रेतका कुरा गर्थे । त्यस्तो सुन्दा डर अझै बढ्थ्यो । २०४० सालमा व्यावसायिक फुटबल खेल्न सुरु गरेको थिएँ । २०५५ सालसम्म खेलें । तर सधैं त्यही भय, त्रास र भावनाको छायाँमा मेरो खेलाडी जीवन परिरह्यो ।
अहिले म काठमाडौंभन्दा बढी विराटनरमा बस्छु । कहिलेकाहीं दशरथ रंगशालामा फुटबल हेर्न पुग्छु । तर त्यो दुर्घटनाको ‘ट्रमा’ बाट सायद म अहिलेसम्म पनि निस्कन सकेको छैन जस्तो लाग्छ । त्यसैले होला अहिले पनि रंगशाला पुगेपछि फर्किंदा मन खल्लो भइरहन्छ ।
(खेलाडीका लागि आशिष पुडासैनीसँगको कुराकानीमा आधारित)