जतिबेला कोही कसैले सहिद स्मारक लिग ‘ए’ डिभिजन ०७८ को चर्चा गर्नेछ, त्यतिबेला ठ्याक्कै अगाडि आउने नाम हो, विशाल श्रेष्ठ । मछिन्द्र क्लबले लगातार दोस्रोपल्ट जितेको माथिल्लो डिभिजनको लिग उपाधि क्रममा धेरैले आ–आफ्नो स्थानबाट योगदान दिएका छन् । त्यसमध्ये पनि सबैभन्दा अगाडि आउने नाम हो, विशाल । यी गोलरक्षकले मछिन्द्रको गोलपोस्टलाई यसरी सम्हाले कि टिमले पूरा प्रतियोगितामै गोल खानै बिर्सेको थियो ।
पूरा लिगमा मछिन्द्रले जम्माजम्मी दुई गोल खाएको थियो । त्यसमध्ये पहिलो गोल पहिलो खेलमै थियो । त्यो पनि एनआरटीसँग । दोस्रो गोल अन्तिम खेलमा थियो, त्यो एपीएफसँग । दुवै खेलमा मछिन्द्र २–१ ले विजयी रह्यो । यसबीचका ११ खेलमा मछिन्द्रले कुनै गोल खाएन र लगातार क्लिन सिट राख्यो ।
अब यस्तो प्रदर्शनपछि कुनै क्लबले लिग उपाधि नजिते कसले पो जित्छ र ? समयका आधारमा विश्लेषण गर्दा गोलकिपर विशालले लगातार १ सय ९४ मिनेट कुनै गोल खाएनन् ।
नेपाली लिगबारे जति पनि तथ्यांक उपलब्ध छन्, त्यस आधारमा यो नयाँ कीर्तिमान हो । यस अगाडि पुलिसका रितेश थापाले वर्ष ०६६÷०६८ को लिगका ७ खेलमा कुनै गोल खाएका थिएनन् । अबदेखि कसैले सबैभन्दा बढी समय गोल नखाएको कीर्तिमानबारे प्रश्न गर्छ भने विशालको नाम मज्जाले भन्न सकिन्छ । यो उपलब्धिमा निश्चित रूपमा डिफेन्डका खेलाडीहरूको पनि भूमिका हुन्छ । तर यस्तो कीर्तिमानमा अधिकांश समयको श्रेय गोलरक्षकलाई नै जान्छ ।
यसका लागि हामीले विशालको प्रशंसा गर्नु नै पर्छ । मछिन्द्रले वर्ष ०७६ मा लिग जित्दा पनि उनी गोलरक्षक थिए । यस लिग उपाधिको यात्रामा पनि उत्तिकै प्रमुख भूमिका खेले । यसरी मछिन्द्रले मात्र होइन, विशालले पनि लगातार दुईपल्ट लिग उपाधि जितेका छन् । यतिमात्र कहाँ हो र ? विशालले लिग उपाधि जितेको यो लगातार चौथोपल्ट हो । यो पनि आफैंमा अविश्वसनीय कीर्तिमान हो । यसरी लगातार लिग जित्ने अवसर सजिलै कसरी तयार हुन्छ र ?
एन्फा एकेडेमीको चौथो ब्याचका यी खेलाडीले यसअघि वर्ष ०७० र ०७५ मा मनाङ मस्र्याङ्दीका लागि पनि लगातार लिग उपाधि जितेका थिए । यस्तो भन्न कर लाग्छ, विशाल गोलरक्षकका रूपमा अब्बल रहेका छन् । धेरै अर्थमा उनलाई पछिल्लो समय नेपाली घरेलु फुटबलका गोलरक्षकमध्ये नम्बर एक हुन् भन्न सकिन्छ । उनी जत्तिको अब्बल प्रदर्शन हाम्रो घरेलु फुटबलमा अन्य गोलरक्षकले गरेका छैनन्, अझ त्यसको छेउछाउ पनि पुगेका छैनन् ।
र, यी सबै चर्चा गर्दा विशालको खेलजीवनको एक अर्को पाटो पनि छ । यो हो नेपालका लागि खेल्न नपाएको पीडा । जतिबेला उनको खेलजीवन सुरु भयो, त्यस बेलादेखि नेपाली टिमका किरण लिम्बु गोलरक्षकका रूपमा उपलब्ध छन् । अहिले त उनी कप्तानसमेत हुन् । नेपाली टिममा उनको स्थानबारे बिरलै दुईमत हुनसक्छ । यस्तोमा उनी नेपाली राष्ट्रिय टिमका नम्बर एक गोलरक्षक हुन् । उनकै उपस्थितिका कारण विशालले मौका नै पाएका छैनन् भन्दा हुन्छ ।
विशालले जम्माजम्मी एकैपल्ट मात्र नेपालका लागि खेल्न पाएका छन् । डर थियो, नेपालका लागि कतै बेन्चमा मात्र बसेर उनले आफ्नो खेलाडी जीवन टुंग्याउन त होइनन् । तर भारतविरुद्धको मैत्रीपूर्ण खेलमा उनले मौका पाएका छन् । यो एक क्याप नै उनका लागि खुबै भावनात्मक रहेको छ । किरणले भने घरेलु नेपाली फुटबलमा कमै खेलेका छन् । त्यसको फाइदा भने विशाललाई प्राप्त भएको छ । त्यसैले फेरि दोहो¥याएर भन्न सकिन्छ, उनी अहिले तत्कालका घरेलु गोलरक्षकमध्ये नम्बर एक हुन् ।