सहिद स्मारक ‘ए’ डिभिजन लिग

ए डिभिजन ‘रेलिगेसन ब्याटल’

सहिद स्मारक ‘ए’ डिभिजन लिगको उपाधिमा साबिक विजेता मछिन्द्र फुटबल क्लबले उपाधि रक्षा अभियान सफल पारिसकेको छ ।

लिगमा अब दुई चरणका खेलमात्र बाँकी छन् । लिग विजेताको टुंगो लागिसकेकाले अब सबैको ध्यान रेलिगेसन क्षेत्रतर्फ मोडिएको छ । रेलिगेसन संघारमा रहेका टोलीले ‘ए’ डिभिजन हैसियत कायम गर्छन् वा गुमाउँछन्, त्यसका लागि दुई चरणका खेल हेर्न बाँकी छ ।

तर, रेलिगेसन संघारमा रहेका चार टोली च्यासल युथ क्लब, ब्रिगेड ब्वाइज क्लब (बिबिसी), फ्रेन्डस क्लब र जावलाखेल युथ क्लबमध्ये दुई टोलीको ‘बी’ डिभिजनमा घटुवा हुने निश्चित छ ।

जावलाखेल ११औं स्थानमा छ । टोलीसँग १० अंक छ । जुन रेलिगेसन क्षेत्रमा रहेको टोलीभन्दा मात्र ३ अंक बढी हो । सम्भवतः १२औं चरणको खेलले रेलिगेसनमा पर्ने टोलीबाट स्पष्ट पार्नेछ ।

११औं चरणको समाप्तिमा च्यासल युथ क्लब १ जित, ३ बराबरी र सात हारको नतिजापछि ६ अंकसहित १४औं स्थानमा छ । समान खेलमा एक जित, ४ बराबरी र ६ हारको नतिजापछि बिबिसी १३औं स्थानमा छ । फ्रेन्डसको कथा पनि उस्तै छ । फ्रेन्डस ११ खेलमा १ जित, ४ बराबरी र ६ हारको नतिजापछि ७ अंकसहित १२औं स्थानमा छ ।

समान खेलमा जावलाखेल युथको २ जित, ४ बराबरी र ५ हारको नतिजापछि १० अंकसहित ११औं स्थानमा छ । ११औं चरणमा बिबिसी र च्यासल आमनेसामने भएका थिए । दुवै टोलीको लक्ष्य स्पष्ट ३ अंक बटुल्दै रेलिगेसन क्षेत्रबाट माथि उठ्ने थियो तर दुवै टोलीको लक्ष्यले पूर्णता पाउन सकेन ।

च्यासल युथ क्लब लिगको चौथो चरणसम्म १०औं स्थानमा थियो । दोस्रो चरणमा आठौं र तेस्रो नवौं चरणमा स्थानमा रहेको च्यासल पाँचौं चरणबाट भने लगातार १३औं स्थानमा रह्यो ।

आफूहरूसँगै रेलिगेसनबाट बच्न संघर्षरत फ्रेन्डस क्लब पनि बराबरीमा रोकिएपछि भने यी दुई टोलीले राहतको सास फेरेका थिए ।

लिगका सुरुआती तीन खेलमा लगातार ३ हार बेहोरेको एपिएफ त्यसपछि ८ खेलमा अपराजित रहँदै आएको छ । सुरुआतमा रेलिगेसन दाबेदार देखिएको एपिएफले रेलिगेसनको संकटलाई टारिसकेको अवस्था छ । त्यस्तै नेपाल पुलिस क्लबले पनि रेलिगेसन संकट टारिसकेको छ ।

च्यासल युथ क्लब लिगको चौथो चरणसम्म १०औं स्थानमा थियो । दोस्रो चरणमा आठौं र तेस्रो नवौं चरणमा स्थानमा रहेको च्यासल पाँचौं चरणबाट भने लगातार १३औं स्थानमा रह्यो ।

सन्तुलित टोली भए पनि च्यासलले आशातित प्रदर्शन गर्न सकेको छैन । शनिबार १२औं चरणमा फ्रेन्डस क्लबविरुद्ध हुने खेलले च्यासलको ‘ए’ डिभिजन लिग हैसियत जोगिन्छ वा खोसिन्छ भन्ने निर्धारण गर्नेछ । उक्त खेल बराबरीमा रोकिए मात्र पनि च्यासल यस सिजन ‘बी’ डिभिजनमा घटुवा हुने पहिलो टोली बन्नेछ ।

लिगको दोस्रो चरणसम्म दोस्रो स्थानमा रहेको बिबिसी तेस्रो, चौथो र पाँचौं चरणमा क्रमश: आठौं, सातौं र नवौ स्थानमा रहेको थियो । त्यसपछि भने बिबिसी निरन्तर छैटौंदेखि नवौं चरणसम्म १२ स्थानमा पुग्यो । १० र ११औं चरणबाट भने बिबिसी १३औं स्थानमा छ । बिबिसीले १२औं चरणमा सातदोबाटो युथ क्लबको सामना गर्नेछ ।

बिबिसीका प्रशिक्षक सनोज श्रेष्ठ ११औं चरणमा फ्रेन्डससँग  हारेपछि टोली घटुवाको संघारमा पुगेको स्वीकार्छन् ।

फ्रेन्डस क्लबको रेलिगेसन संघर्ष भने छुट्टै छ । फ्रेन्डसका प्रशिक्षक मृगेन्द्र मिश्रले लिगअघिको पत्रकार सम्मेलनमा आफूहरू टोली पुनर्निर्माणको अभियानमा रहेकाले यस सिजन आफूहरूको लक्ष्य रेलिगेसन संकट टार्नु मात्र रहेको बताएका थिए ।

फ्रेन्ड्सको प्रदर्शन भयो पनि त्यस्तै । सुरुआती तीन चरणमा क्रमश: नवौं, दसौं र ११औं स्थानको फ्रेन्डस पाँचौंदेखि नवौं चरणसम्म १४औं स्थानमा रह्यो । १०औं चरणमा बिबिसीमाथिको जितले फ्रेन्डस रेलिगेसन क्षेत्रबाट माथि उठेको थियो । ११औं चरणमा फ्रेन्ड्सले जावलाखेल युथ क्लबविरुद्ध उत्कृष्ट पुनरागमनसहित हारको संकट टारेपछि रेलिगेसनबाट बच्ने सम्भावना कायम राखेको हो ।

शनिबार १२औं चरणमा च्यासलविरुद्ध आउने नतिजाले फ्रेन्डसको ‘ए’ डिभिजन हैसियतको स्पष्ट चित्र कोर्नेछ ।

सन्तुलित टोली भए पनि जावलाखेल पनि लिगको सुरुआती खेलबाटै संघर्षरत रह्यो ।

चौथो चरण सम्म १३औं स्थानमा रहेको जावलाखेल अहिले ११ चरणको समाप्तिमा ११औं स्थानमा छ । तर जावलाखेलको रेलिगेसन सम्भावना पूर्ण रूपमा टरिसकेको छैन । ११औं चरणमा फ्रेन्डसविरुद्ध ३-१ को अग्रता लिए पनि इन्जुरी समयमा सम्हालिन नसक्दा जावलाखेल रेलिगेसनको खतरामा परेको हो ।

लिगमा यसअघिका सिजनहरूमा ‘बी’ डिभिजन विजेताको हैसियतमा ‘ए’ डिभिजनमा बटुवा हुने टोली नै रेलिगेसन दाबेदार मानिन्थ्यो ।

तर यसपल्ट नवप्रवेशी सातदोबाटोले त्यो परम्परामा पूर्णविराम लगाइदिएको छ । थ्री स्टार र मनाङका साथै एपिएफ र पुलिसलाई निराश पारिसकेको सातदोबाटोले शीर्ष डिभिजनको हैसियत मात्र जोगाए । आफूलाई यस सिजनको ‘जायन्ट किलर’को रूपमा समेत स्थापित गर्यो ।