नेपालविरुद्ध मोरिसस

मोरिससविरुद्ध ती मैत्रीपूर्ण खेल

काठमाडौं । कोभिड–१९ को तेस्रो लहर फैलिँदै गर्दा दशरथ रंगशालामा नेपाली राष्ट्रिय फुटबल टोलीले मोरिससलाई दुई मैत्रीपूर्ण खेलको आतिथ्यता दिने निश्चित भयो ।

‘फिफा डे’मा अफ्रिकी टोलीलाई कोभिड–१९ ले सिर्जित भयावह अवस्थामा पनि नेपाल बोलाउनु पछाडि नेपालको खास स्वार्थ थियो । र, एक हिसाबले त्यो स्वार्थ पूरा गर्न नेपाली टोली सफल भयो ।

जारी सहिद स्मारक ‘ए’ डिभिजन लिगको बीचमा परेको ‘फिफा डे’मा मैत्रीपूर्ण खेल खेल्ने र आफ्नो फिफा वरीयता सुधार्ने नेपालको लक्ष्य थियो । वरीयतामा आफूभन्दा मुनिको भए पनि शारीरिक हिसाबले फरक क्षमता भएको टोलीलाई नेपालले मैत्रीपूर्णका खेलका लागि निम्तो दिएको थियो । दुवै खेलमा पाएको जितले त्यो लक्ष्य पूर्ण रूपमा हासिल भएको मान्न सकिन्छ ।

साफ च्याम्पियनसिपको तयारीस्वरुप भारतविरुद्ध सेप्टेम्बर ५ मा खेलेयता नेपाली राष्ट्रिय टोली दशरथ रंगशालामा उत्रिएको थिएन । करिब चार महिनापछि दशरथ रंगशालामा नेपाली टोली उत्रँदा नेपाली समर्थकहरू कोरोना त्रासबाट प्यारापिट पुग्नबाट रोकिएन ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले दिएको खोप कार्ड अनिवार्य गरेर एकतिहाइ दर्शक राख्ने अनुमतिबाट आयोजक अखिल नेपाल फुटबल संघ (एन्फा) ले भरपूर फाइदा उठायो । एकतिहाइ भनिए पनि करिब सामान्य समयमा जस्तै दर्शक उपस्थिति रह्यो । यसले रंगशालामा खेलाडीलाई भरपूर उर्जा दियो । 
नेपालले लामो समयपछि दशरथ रंगशालामा जित निकाल्दै मैत्रीपूर्ण शृंखला टुग्याएको छ । प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीका लागि पनि यो मैत्रीपूर्ण खेल विशेष रह्यो । यस अर्थमा विशेष रह्यो कि अब्दुल्लाहले नेपाली फुटबलको ‘होम’ (दशरथ रंगशाला) मा पहिलो जितको स्वाद लिन पाए ।

दुई टोलीको तयारी: फरक अभ्यास

मोरिससविरुद्धका दुई मैत्रीपूर्ण खेलका लागि तयार गरेको टोलीबाट नेपालले यसपालि फरक अभ्यास ग¥यो । कोरोना संक्रमण जोखिम र ‘स्क्वाड डेप्थ’लाई ध्यान दिँदै मुख्य प्रशिक्षक अल्मुताइरीले ३४ खेलाडीलाई दुई टोलीमा विभाजन गरेर खेलाएका थिए । दुवै खेलका लागि तयार गरिएको टोलीमा कप्तान किरण चेम्जोङसहित दिनेश राजवंशी, अञ्जन विष्टलगायतका खेलाडी परेका थिए । अधिकांश त नयाँ खेलाडी थिए ।

तीन खेलाडीको डेब्यु

मोरिससविरुद्धका दुई मैत्रीपूर्ण खेलमा तीन खेलाडीको राष्ट्रिय टोलीको जर्सी लगाएर दशरथ रंगशालामा उत्रने सपना पूरा भएको छ । डेब्यु पाएका खेलाडीमा दुई मिडफिल्डर सुदीप गुरुङ, आकाश बुढामगर र नवीन गुरुङ रहेका छन् । सुदीप र आकाशले पहिलो खेलको अन्त्यतिर मैदान प्रवेश गर्ने अवसर पाउँदा नवीनले दोस्रो खेलको सुरुआती ११ मै मौका पाएका थिए । उनीहरूसँगै पहिलो पटक राष्ट्रिय टोलीमा परेका १० मध्ये ७ खेलाडीले डेब्यु गर्ने अवसर पाएनन् ।

विमलको स्वर्णिम पुनरागमन

नेपाली फुटबलको पछिल्लो समयका चर्चित युवा खेलाडी हुन्, विमल घर्तीमगर । तर, विभिन्न कारणले लामो समय मैदानबाहिर रहेका विमलले मोरिससविरुद्धको पहिलो खेलमा पुनरागमन गरे । सन् २०१९ को अक्टोबरमा विश्वकप छनोटअन्तर्गत जोर्डनविरुद्ध खेलेयता विमल टोलीमा थिएनन् । झन्डै साढे दुई वर्षपछि विमलले राष्ट्रिय टोलीमा पुनरागमन गरे । पुनरागमन खेलमै उनले गोल गरे । जुन राष्ट्रिय टोलीमा उनको फर्काइ सुखद बन्यो ।

पहिलो खेलको सुरुआती ११ मा परेका विमल दोस्रो खेलमा पनि सब्स्टिच्युटका रूपमा मैदान उत्रिएका थिए । उनले मोरिससविरुद्ध पहिलो खेलमा गरेको निर्णायक गोल राष्ट्रिय टोलीबाट नवौं गोल हो । र, राष्ट्रिय टोलीमा रहेका खेलाडीमा विमल नै धेरै गोल गर्नेमा अगाडि छन् ।

जगजित ७ वर्षपछि राष्ट्रिय जर्सीमा

राष्ट्रिय टोलीको बन्द प्रशिक्षण जारी रहँदा सन्तोष तामाङ बाहिरिएपछि जगजित श्रेष्ठलाई प्रशिक्षक अल्मुताइरीले बोलाए । कुनै समय राष्ट्रिय टोलीका नियमित सदस्य रहेका जगजितले सात वर्षपछि पुनः राष्ट्रिय जर्सीमा उत्रने मौका पाए । पहिलो खेलको ६१औं मिनेटमा सुनील बलको स्थानमा मैदान छिरेका जगजितले गोलका लागि केही मौका पनि सिर्जना गरिदिएका थिए । तर, आफैं गोल नजिक पुगेर अभाग्यशाली बने । यद्यपि घरेलु मैदानमा लामो समयपछि राष्ट्रिय जर्सीमा उत्रन पाउँदा उनको मुहारमा खुसी छाएको थियो ।  

मैत्रीपूर्ण खेलमा घम्साघम्सी

मैत्रीपूर्ण भनिए पनि दशरथ रंगशालामा नेपाल र मोरिससबीचको खेल कुनै प्रतियोगिताको फाइनलभन्दा कम भएन । त्यसमा पनि दोस्रो खेलमा दुवै टोलीले जितका लागि हरसम्भव प्रयास गरे । त्यसबाहेक पनि मैदानमा देखिएका पृथक दृश्य र कार्डको वर्षाले पनि यसलाई प्रस्ट्याउँछ । दोस्रो खेलमा ८० मिनेट बितिसकेको थियो । सुजल श्रेष्ठले गरेको गोलबाट नेपालले अग्रता लिएको थियो । यो उनले राष्ट्रिय टोलीका लागि लामो समयपछि गरेको गोल हो ।


नेपालले अग्रता लिएको खेलमा अन्तिम समयतिर भने दुई टोलीका खेलाडीबीच घम्साघम्सी नै चल्यो । माहोल तनावपूर्ण देखियो र यत्तिकैमा नेपाली टोलीका गोलकिपिङ कोच विकास मल्ल आक्रामक शैलीमा मैदानमा प्रवेश गरे । फलस्वरुप प्रशिक्षक मल्लसहित मिडफिल्डर पुजन उपरकोटीले रातो कार्ड पाए । अर्कातिर मोरिससका एक खेलाडीले सोही समयमा रातो कार्ड पाए । त्यसपछि सुचारु खेलको ८४औं मिनेटमा पुनः मोरिससका अर्का खेलाडीले रातो कार्ड पाए । ११ पहेँलो र चार रातो कार्ड देखाउनुपरेको खेल सौहाद्र्रपूर्ण मैत्री बन्न सकेन ।

पेनाल्टी बचाउ, सुजलको गोल

दोस्रो खेलमा नेपालले १०औं मिनेटमा सुजलको गोलबाट अग्रता लिएको थियो । तर त्यसको एक मिनेट नबित्दै मोरिससका कप्तान एन्डी सोफीलाई लडाएपछि भ्रमणकारी टोलीले पेनाल्टीको अवसर पायो । सुरुमै पछाडि परेको मोरिसससामु पुनरामगनको राम्रो मौका थियो । तर, नेपाली टोलीका कप्तान तथा अनुभवी गोलरक्षक किरण चेम्जोङले त्यसलाई विफल पारिदिए । सोफीले नै प्रहार गरेको पेनाल्टी किरणले डाइभ हानेर रोकिदिए ।

पृथक भूमिकामा मैदान उत्रिएका सुजल श्रेष्ठले गरेको गोलमा नेपालले दोस्रो खेलमा जित निकालेको हो । प्रायः मिडफिल्डरको भूमिका निभाउने गरेका सुजललाई यसपालि प्रशिक्षकले लेफ्ट ब्याकको जिम्मेवारी दिएका थिए । नेपालका लागि निर्णायक बनेको सुजलको त्यो गोल राष्ट्रिय टोलीबाट उनले ६ वर्षपछि गरेको गोल थियो । यसअघि सुजलले सन् २०१६ मा सोलिडारिटी कपको फाइनलमा लाओसविरुद्ध गोल गरेका थिए ।

किरणको २५औं ‘क्लिन सिट’

नेपालले मोरिससविरुद्धका दुवै खेलमा गोल खाएन । र, नेपाली टोलीका कप्तान रहेका गोलकिपर किरणका लागि क्लिन सिट संख्या २५ पुग्यो । नेपाली राष्ट्रिय टोलीबाट सर्वाधिक क्याप जित्ने खेलाडी किरणले ८१ खेलमा २५ क्लिन सिट राखिसकेका छन् । मोरिससविरुद्धका दुई खेलअघि किरणको नाममा २३ क्लिन सिट थियो । त्यो आँकडा सुधार्न किरणले यसक्रममा एक पेनाल्टीको पनि बचाउ गरे ।